कहिल्यै नआएको तिहार

कथाकार

सि एम निरौला
न्यू ह्याम्प्सायर, अमेरिका

“……..हो भाइ यो दिनदेखि मैले तिहारको टीको ओडेको छैन”।
गाउँघर जताततै रमझम। कमेरोदेखि महँगा रङ्गीन बत्तीले सजिएका घर। जताततै लिङ्गेपिङ्ग । थरिथरिका पेपरका सजावट। पटेकाका आवाजको गुन्जायमान। रोटी , मठाई, मासुदेखी विभिन्न प्रकारका व्यनजनले मगमगाएको बस्ती। मगमगाउने फूल र तनै फूलका माला, रोटी र मासुले सुवास छरिरहेको, नयाँनयाँ लुगा लगाएका हामी सबै। न देखिन्थे भोका नाङ्गा न थियो दुर्गन्ध नै। गाउँघरमा देखिने धेरै थरिका सवारी अनि यो सवारी धपाउने हामी फुच्चे मानौं एक सुन्दर संसार र छ यहाँ जहाँ हामी पनि त्यही तरिकाले रमाउँथ्यौं। सातै दिनको हाटबजार, रङ्गिएको टोल, नयाँनयाँ कपडा अनि मगमगाएको हाम्रो देश!
“यो बेला म करीब नौ वर्षको थिएँ र मेरो भाइ छ वर्षको । हामीलाई पनि सबैलाई झैं बडो धुमधामको तहार आएको थियो, अन्य तिहारमा झैं लक्ष्मीपूजाकै दिनदेखि गाउँले दौंतरीसँग मजाले देउसी भैलो खेलियो। ”

“त्यो बेला म करिब नौ वर्षको थिएँ र मेरो भाइ छ वर्षको, हामीलाई पनि सबैलाई झैँ बडो धूमधामको तिहार आएको थियो, अन्य तिहारमा झैँ लक्ष्मीपूजाकै दिनदिनै देखि गाउँले दौँतरीहरूसँग मज्जाले देउसी भैलो खेलियो ।
“अलि ठूला ममबत्ती देख्नासाथ चोर्नै पर्ने र आफूसँग सबै भन्दा ठूलो भएको धाक दिनै पर्ने । कति खेर साँझ पर्ला र धेरै पैसा राख्ने घरमा पहिले पुगौँला भन्ने बिहानै देखि सर्सल्लाह हुन्थ्यो ।”

“कसलाई देउसी टिममा समावेश गर्ने र कसलाई नगर्नेमा निक्कै कसरत हुन्थ्यो । खोजी खोजी गाउँघरमा मीठो परिकार खानु पर्ने, देउसीको पैसा साथीले लुकाउला र आफूलाई भागीमा कम्ती पर्ला, वा मलाई आज बेलुका आफूलाई समावेश नगराउने पो हुन् कि ? वा देउसी पश्चात् दान दिँदा चामलमा आएको ढक्की उसले मात्र लान्छ, त्यस्तै त्यस्तै दिन बित्थ्यो र साँझ पर्नासाथ सिमेटे बोराको झोला र टुकी बोकेर गाउँतिर लागी हाल्नु पर्ने ।”
“आमाले पछ्याउँदै आएर बाँदरे टोपी र बाबाले सिसौको लाठी दिनै पर्ने । गाउँघरकाले उनीहरूको सानेको ख्याल राख्ने दबाब दिने देखि अबेरसम्म देउसीमा नरमाउन सबै अभिभावकको सल्लाह ! त्यो दिनसम्म हामीले पनि तिहारको टिका लगाउँदै आएका थियौँ ।” उनी एकलै बोली रहे ।

“घर हिँड ! एउटाी बहिनी ब्याईदिउँला, टिका नलाउँदा मर्छस भने मर । थुक्क तेरो भाज्ञ ।” तिहारको टिकाको दिन आमाले रुँदै गालामा थप्पड हानेको अझै झल्झली याद आउँछ । त्यो चिसोले कठ्याङ्ग्रिएको गालामा कान नै रननन गर्ने गरी हानेको थप्पड हरेक तिहारमा ताजा स्मरण बनेर सताउँछ ।”

“हामी दुई दाजु भाइ। चेलीको अभाव तल्लो घरकी शर्मिला बहिनीले निधार रङ्गिन बनाउनजेल कहिल्यै परेन।
हुन त न आजसम्म उनको हातबाट मेरो निधारमा सप्तरङ्गी टिको परो न त उसले तीजको आभास नै गर्न पाईँन । हरेक तिहारमा म जति दुखी हुन्छु तिजमा उनी त्यति नै रुँदी हुन् ।”
…..”अँ दुईदिन अघि हाम्री आमा र शर्मिलाकी ममुको पानी धारामा लाप्पा खेलेका थिए रे अनि घरमा आएर पनि मज्जाले बाजेका रे तर हामी स्कूलबाट आउँदासम्म सदा झैँ शान्त थियो गाउँ । त्यस पछि त……”,  “गाउँघर तिर थुप्रै भैँसी ल्याए तर मेरो तिहार खल्लाको खल्लै। न त चेली भन्न पाएँ न त शर्मिलाले उनले मानेका दाइहरू देख्न, उनीहरू त्यहाँबाट बसाई सरेपछि बहिनीहरूसँग भेट हुन्छ त फेसबुकमा मात्र । बहिनी कै कारण आमाले बाबालाई कान्छी थप्न कच् कच् नगरेको पनि होइन तर दुईटी हुँदाको बेहाल तल्लाघरे टङ्कै बाउको हालत देखेर बाबा मान्नु भएन । गाउँघरको कस्तो चलन, छोराकै लागि सौता थप्ने अनि भोलिपल्टबाट घरलाई रणमैदान बनाउने । कान्छीबाट छोरा नै जन्मन्छ भन्ने के विश्वास ? आजसम्म पनि बुझ्न सकेका छैन ।

“त्यसो त आमाले निकैवटा तिहारमा हाम्रो निधारमा सप्तरङ्गी टिका नभरेको पनि होइन, तर आमा कोठामा
पसेको बेला भने हामी कैयौँ पटक धेरै रोएका छौ”।
“भाइले मलाई, मैले भाइलाई त कहिले एैनामा हेरेर पनि तिहार मनाउन कोसिस नगरेको होइन तर ….” कोसी बाँध फुट्न लागेझैँ टल्पलाएका उनका आँखा देखेर म बोल्न सकिनँ ।

“भाइ, पहिला-पहिला त सबैका परिवार भेला भएर,हाँसीखुशी रमाएको देख्दा, अरूले निधार रङ्गाएर बगैँचा र बारीमा फोटो खिचेको देख्दा पनि ईर्ष्या जाग्थ्यो र धर्म नै परिवर्तन गरौँ कि जस्तो पनि लाग्थ्यो ।”
“यतिखेर त खासै वास्ता पनि लाग्दैन, सबैको घरमा तिहार आएको देख्दा नरमाइलो त अवश्य नै लाग्छ तर बानी परिसकेँ ! अँ पोहोर साल आमा दबाइको कारण निकै मोटाउनु भएको थियो, जिस्क्याई राखेर भागेँ | ….
“ओ भाइ, तिमी त रुन पो थाल्यौ कि क्या, हट् …..” हेर, ब्रेकको समय सकिएर सबै काम तिर फर्केछन् । हिँड, जाऊँ । छोरा मान्छेको आँखामा पनि आँसु ? सुहाएन है ।” खल ल ल ल ल हाँस्दै थिए उनी । जुरुक्क उठेर अङ्कमाल गरेँ, एकछिन दुवैजना रोयौँ । म निक्कै भाव बिवहल भएछु, पत्तै पाइँन । बुद्ध दाइलाई तिहार कहिले नआएको कुरा उनकै मुखबाट सुन्दा त मलाई यति छोयो। झन् उनलाई हरेक वर्ष कस्तो हुँदो होला ?

“दाइ, यति सरल हुन्छ र तिहारमा तपाइको मन ?”
लामो श्वास तान्दै बुद्ध दाइ, ”हे मेरो भाइ ! समुन्द्रको गहिराई थाहा पाउन त डुबुल्की मार्नु पर्छ । तिमी जस्तो किनारमा बसेर माछा मार्नेलाई के थाहा समुन्द्रको गहिराई ? फेरि बगैँचामा लटरम्म आँप फलेको किसानलाई आँपको स्वाद सोध्ने ? आ…… होस ! छोडिदेऊ यी कुरा । तर भाइ, चाहे जतिवटा छोरा हुन्, बरु आमाले बाबालाई कर गरेझैँ कान्छी थपिन्छ तर छोरी त जन्माइन्छ, जन्माइन्छ । तिमीलाई थाहा हुन्न । तिम्रो त घरभरि लक्ष्मी छन् । जुन गाउँमा नदी छैन नि, त्यहाँका किसानलाई मात्र थाहा हुन्छ परिश्रम के हो भनेर । सहरको मुटुमा बस्नेलाई के थाहा गाउँ भाइ?”

“म त बिच बाटोमै हराए दाइ !”

“थाहा छ मलाई”, आँखामा पिलपिल आशु….. अनुहारमा साँझ परेको…. थोरै पसिना… शरीर हल्का कामेको…. निकै उदासीन ऊ ।

मैले फेरि बोल्ने वातावरण नै देखिनँ। शान्त वातावरण रहिरह्यौ। …न त मैले कुनै प्रश्न सोध्ने चेष्टा गरेँ न त दाइ बोले ! हामी हाल भारत र पाकिस्तान जस्ता थियौँ, सुनसान मन्द मन्द छातीको धड्कन मात्र सुनिरहेको। फेरि मनमनै यसपालिको दाइको तिहारमा हरियाली छाओस् भन्ने कामना गरिरहेँ। सम्झनु, पगेर्नो भएको त्यो मनमा चमत्कार भएर बहिनीको आगमन होस, दाइको जीवनमा प्रार्थना गरिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *