‘कान्छा बा’को अनुहार’
भक्त घिमिरे
पेन्सिलभेनिया, अमेरिका
दुइवर्षसम्म साम्ची भूटानको परदेश बसाईबाट म घर फर्कीरहेको थिएँ । आलीपुरद्वार छेउ बाह्रबिसाको चियाचमेना गर्ने बिसौंनीमा बस रोकियो । बसबाट ओर्लेपछि गाउँले रामनाथ बाजे भेटिए । उनी गाउँकै ठूला पण्डित । बाजे फुञ्छोलिङमा आफ्ना छोरी-ज्वाइँ भेटेर फिर्दै रहेछन् । हामीले संक्षेप भलाकुसारी गऱ्यौं । दिन ढल्किसकेको थियो । बाजे घरबाहिर हुँदा आफ्ना चेलाबाहेकले बनाएको केही नखाने; दमकलको पानी पिएर सन्तोष लिए । मैले चिया र सिंगडा मगाएर खाँदै थिएँ ।
“पहिलेको के कुरा गरौं, हिँज-अस्तिसम्म तपाईंहरुकै घरमा पनि पतिले आफूलाई ‘शिरको स्वामी र पत्नीले आफूलाई चरणकी दासी’ भन्ने चलन थियो । पुरुष र नारीको विभेद । त्यसपछि प्रविधिको विकास र उन्नति हुनथाल्यो । जो मामिसहरु विज्ञान र प्रविधिमा लागेका थिए, जसले फलामका औजारहरु बनाउँथे, जसले तामा र सिल्वरका भाँडा-वर्तनहरु बनाउँथे, सारा उपयोगी सामान बनाउँथे, जसले देवी-देउताका मूर्तिहरु कुँद्थे, तिनीहरुचाहिं अपवित्र, अछूत भए-जसले त्यही तामाको भाँडोमा जौ-तील छर्केर पवित्र बनाएँ भन्दै त्यसैमा पकाएर खाए-उनीहरुचाहिं पवित्र भए ! सृजनाका काम गर्न नसक्ने, भोगमात्र गर्नेहरु मालिक भए अनि जो उत्पादन गर्छन्, श्रम गर्छन्, तीचाहिं दास भए ।”
“ल अब यहाँदेखि उता गाडी जाँदैन । सबै यात्रुहरुले आ-आफ्नो सामान झार्नु र बाटो लाग्नूहोला !” बसको सहचालकले भन्यो ! तैं चुप मै चुप; सबै आ-आफ्ना झोला समातेर दर्गादिशा लागे । त्यहाँ धेरैबेर बसिरहे पुलिसले व्यर्थै सताउला – त्रासले हाम्रो मनलाई धोबीले लुगा पिटेझैं पिटीरहेको थियो । हामी दुइ पनि गन्तव्यहीन बाटो लाग्यौं ।
बाह्रबिसासम्म बंगाल पर्ने भएर सार्वजनिक यातायात चलेको रहेछ । आसाममा बोडो र उल्फाको पृथकतावादी आन्दोलन चरममा थियो । बन्द बन्द बन्द ! सबैतिर बन्द । गाडी, रिक्शा र साइकलमात्र होइन; चरा-मुसा पनि बन्दबाट प्रभावित झैं लाग्ने ! मान्छेले सास फेर्न पनि बन्दकर्ताकै अनुमति लिनपर्ला झैं चकमन्न, सुनसान् ! विद्रोहीहरु जोसुकै भेटिए पनि ‘आन्दोलनमा सहयोग’ को नाम लिएर सबै थैली, पोल्टा र गरगहना लुटी दिन्थे । यता पुलिस पनि बाटोमा भेटिएका जोसुकैलाई ‘विद्रोहीका सहयोगी’ भन्दै सताउनु सताउँथ्यो ! हुर्मत काडेर कसैलाई छोडिदिन्थ्यो त कसैलाई लगेर थुन्थ्यो !
“राम राम राम; कुन जन्मका पापले यो कष्ट भोग्न पऽरो !” रामनाथ बाजे गन्गनाउन थाले । वर्षायामको समय सकिएकै होस्, आकाशबाट पानी नपरेकै होस् ! तथापि आसाम क्षेत्रमा जमीनको पानी सुकेको हुँदैन । धान पाक्नै लाग्दा पनि हिलाम्मे खेत, आली ठिम्याउन कठिन् । खेतका गराको हिलोमा चोबलिँदै हामी आली ठिम्याउन कोशिश गरिहेका थियौं । रामनाथ बाजे र म हुर्दुराउँदै त्यो रातको बास काट्न नेपाली परिवारको घर खोजीरहेका थियौं ।
“हे राम, कतै बाँच्ने ठाम छैन । अब कता जाने हो ? ए भुवन, कोही चिन्या छैनस् ? मार्छन् क्यार हौ यी कच्छाडीले !” रामनाथ बाजेले लामो स्वास तान्दै भने । म केही बोलिनँ ! खेतको हिलोमा भिजेर निथ्रुक्क हुँदै निक्कै माथि पुगेपछि एउटा घर देखियो । दोसाँझ भइसकेको बेला छ । बाहिर मझेरीमा पारीजातको बोट । दैलोमा सयपत्रीको पैराहार माला छ । दैलोको ठीक माथिपटि अलिकति गोबरमाथि दुबो, कञ्ची पैसा र अछेताको टीका पनि छ । घर त नेपालीकै हुनुपर्छ-अड्कल लगाएँ !
‘कसको घर होला हजूर ? आजको बास पाइन्छ कि ?’ अनुनयपूर्वक भनें । एक अधवैंशे व्यक्ति निस्केर नबोली हाम्रा अनुहार राम्ररी हेरिरहे । मैले नमस्कार गरें । रमानाथ बाजे अन्यमनस्क यताउता हेर्दैथिए । अर्धकालो वर्ण, तर, उज्यालो मोहडाका ती मानिसले मुसुक्क मुस्कान छर्दै भने-“बास किन नपाउनु हजूर, नेपालीको घरमा नेपाली आउनु भो । हार्दिक स्वागत छ तपाईंहरुलाई ! बरु कहाँबाट पाल्नु भो, को हुनुभो ?”
आ-आफ्ना विवरण हामी दुवैले पेश गऱ्यौं । हामीलाई नजिकैको मेचमा बस्न अनुरोध गरिराखेर ती मानिस अलिकति कोल्टे फर्कीए र मुस्कुराउँदै फुत्त घरबाट निस्किए । हामी दुइ अलमल्ल, विलखबन्द पऱ्यौं ।
“कसको घर हो, के जातिका, थरीका हुन् ! भोकले हिरिक्क भइया छ, के खान दिनी हुन् ?” पण्डित बाजेले अत्यास व्यक्त गरे ।
मैले पण्डित बाजेलाई चुप लाग्ने संकेत गरें । यतिकैमा ती मानिस उनकै छिमेकी हुनुपर्छ-एकजना नानीलाई लिएर आइपुगे ।
ती नानी हेर्दा गाढा कालो वर्णकी । हिस्सी परेकी तिनले पनि चम्किला दन्तलहर देखाउँदै हामीलाई सांकेतिक अभिवादन गरिन् । मैले नमस्कार जवाफ फर्काएँ ! रामनाथ बाजे भने अठवत्र माला जप्न एकाग्र थिए । ती आगन्तुक नानीको अनुहार नियालेर हेरें- अहँ, नेपाली त हुँदै होइनन् । भारतको आसामतिर सतार जातिको बाहुल्यता छ । शायद सतारकी छोरी-बुहारी हुनुपर्छ-मैले अनुमान लगाएँ ।
आगन्तुक नानीलाई चुल्हातिर पठाएर ती मानिस हाम्रै छेउ अर्को मेचमा बसे । ‘यो गाउँ-ठाउँ र यहाँको परिचय पाउँ न !’ सुस्तरी मैले प्रश्नात्मक नजर उनीतिर पोख्तै भनें । उत्तर दिँदै उनले भने,‘यो हाम्रो कोक्राझार जिल्लाको कछुगाउँ पर्छ; मेरो नाम गोपाल । हामीलाई नेपाली समाजले तल्लो जातको, अछूत भन्छ । म सार्कीको छोरो हुँ ।’
गोपाल सार्कीले परिचय दिने क्रम सकिएकै थिएन; बाजे जिरिङ्ग भए; अत्तालिँदै मन्त्रोच्चारण गर्नथालेः-
“ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोअपि वा ।
यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ।।”
घरधनीको परिचयपछि वातावरणमा पुर्णतः सन्नाटा छायो । मौनता तोड्ने हिसाबमा मै शुरु भएँ,‘अनि घरमा को को हुनुहुन्छ त गोपालजी ? ती अघि आउने नानी को हुन् ?’
मेरो प्रश्न शब्दमा ओर्लना साथ गोपालले आफ्नो उत्तर पेश गरिहाले, “हामी चारजना छौं । गृहणी बजार गएकी छन् । छोरो र छोरी यहाँको स्थानीय बिहु भन्ने चाड मनाउन कोक्राझार गएका छन् । यो बिरानो समुदायमा रहेर पनि हामीले आफ्नो भाषा-संस्कृतिप्रतिको मोह त्याग्न सकेका छैनौं । नेपाली संगीत गर्छन् मेरा छोरा-छोरी । स्थानीय पर्वको उत्सवमा भाग लिँदै नेपाली संगीतकला सुनाउन गएका हुन्। सबैजना आइपुग्ने बेला हुँदैछ ।”
हल्का सुस्केरा लिएर उनी फेरि बोल्नथाले,“मेरो पनि ससुराली भूटानतिरै हो । त्यताका गाउँघरमा जातपातको साह्रै खोजी हुने, छुवाछूतको चलन कट्टर रूपमा रहेको मैले बुझेको छु । त्यही भएर तपाईंहरुलाई खाना बनाउने भनेर ती छिमेकी नानीलाई बोलाएँ । उनीहरु सतार हुन् । हामी वर्षौंदेखि एक परिवारझैं मिलेर बसेका छौं । अन्यथा नलिइदिनुहोला । यहाँहरु आफैं बनाएर खानुहोस् भन्न पनि सक्थें । तर, कहाँदेखि पैदल हिँडेर, खेतमा भिजेर थकाइले हैरान भएका पाहुनालाई त्यसो भन्न आँट गरिनँ ।”
गोपालले आफ्नो परिवार तल्लो जातको बताएपछि अँध्यारो अनुहार लाएर ध्यानमग्नझैं बसेका रामनाथ बाजेको मुहार पनि उनको पछिल्लो विवरणपछि उज्यालो देखियो ।
‘ए उसो भा त भलो भएछ, सतार भए पनि चमार त होइन निः ! हुन्छ हुन्छ, वेशै गरेछौ बा ! नत्र त बित्यासै पऱ्या थ्यो निः ! आजसम्म अछूतका हातको काँचो पानी पनि मुख पऱ्या थिएन !’ एकै सासमा बाजेले भने !
दुवैतर्फका कुरा सुन्दा सुन्दै मेरो दिमागमा खल्बली शुरु भइसकेको थियो ।
‘सतार !’ रामनाथ बाजेका लागि ती सतारनी नानी गोपाल सार्कीभन्दा निकट कसरी भइन् ? मेरो मगजमा प्रश्नहरु तातो हाँडीमा मकै फुल उठेझैं गरी उफ्रिन थाले ।
हुन त संसारभरिकै मानवजाति एउटै वंश हो । पूर्वीय सनातन दर्शनमध्येको न्यासूत्रले भनेको छ,“समानप्रसावात्मिकाजाति !” अर्थात् अन्तरसम्बन्धमा प्रजनन् हुने एकै किसिमका प्राणीहरुलाई सजाति वा एक जातिमा गनिन्छ । यो अर्थमा ती सतारनी नानीलाई पनि मानवभन्दा बेग्लै ठान्नुपर्ने त कुनै भरिलो कारण छैन । तथापि, विभिन्न कालखण्डका पूर्वजहरुको पहिचान र सांस्कृतिक, सामाजिक हिसाबमा जसरी जातिप्रथाको पालन गरिएको छ; त्यो हिसाबमा गोपाल सार्कीभन्दा ती नानी हाम्रा लागि धेरै अलग हुन् । हामीसित उनको न भाषा मिल्छ, न त संस्कृति ! न हामीसित उनीहरुको संस्कार, चालचलन, आचरण र आवरण नै मिल्छ ! रामनाथ बाजेका लागि एउटै समाज र संस्कार-संस्कृतिका गोपाल अछूत भए तर, सतारनी नानी कसरी छूत अर्थात् शुद्ध भइन् ? म अचम्ममा परें !
गोपालसित हाम्रा गन्थन चलिरहँदा उनकी श्रीमती र छोरा-छोरी पनि आइपुगेका थिए । सामान्य परिचय आदान प्रदान गरिसकेपछि मलाई निक्कै रमाइलो लाग्यो । गोपालको ससुराली अर्थात गोपाल्नी भाउजूको माइती त मैले चिनेकै परिवार रहेछ । उनको भाइ लक्षु प्राथमिक स्कूलमा पढ्दाको मेरो समकक्षी नै रहेछ । हाम्रो प्रगाढता बढ्यो । हाम्रो असजिलोपन तोड्दै मैले भनें,‘मचाहिं भाउजुले नै पकाएको खान्छु । मेरो लागि तपाईंकी छिमेकी भान्सेभन्दा तपाईं नै आफ्नो मान्छे हो ।’
मेरो कुरो सुनेर रामनाथ बाजे अक्क न बक्क भए । गाडी छुटेपछिको पैदलयात्रा, हिलो र पानीमा भिजेर थकित भएको अवस्था । भोक र थकाइले निद्रासमेत लागिसकेको ! नखाई सुत्न पनि भोलि बिहान उठ्न नसकिने त्रास । ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बा’कै अनुहार’ भन्ने चरितार्थ भयो । निन्याउरो अनुहार पारेर उनले मलाई खुसुक्क बाहिर निस्कन अनुरोध गरे । उनको अनुरोधलाई शिरोधार्य गर्दै म बाहिर निस्किएँ । बाजे थकित यात्रीझैं बोले,“तेरो कुरा सुनेर मलाई अप्ठेरो भयो । म सोझो बाहुनलाई फँसाउने जाल नगर् न ! के उपाय गर्छस्, यो भवसागरबाट मलाई बँचाइ दे न बाबै, तेरो कल्याण हुनेछ । म आशीर्वाद दिन्छु ।”
‘भो भो, तपाईंले मलाई आशीर्वाद दिनलाई यही घटना बाँकी थियो र? अरु नै कुरामा पनि दिए हुन्छ नि आशीर्वाद”- बाजेलाई जिस्क्याउँदै भनें । तर, आफ्ना बा’ सरहका बुढामान्छे, त्यसमाथि गाउँका पण्डित; धेरै मन नदुखाउन् भनेर बाजेलाई सान्त्वना दिँदै भन्दिएँ, ‘ल बाजे उसो भा तपाईं आफैं पकाएर खानुस, स्वयंपाक्के ! त्यसो भएपछि कसैलाई पनि समस्या भएन ।’
मेरो उपायले बाजे प्रफुल्ल भए । पासोमा परेको मृगलाई मुक्ति मिलेझैं गरी बाजे फुरुङ्ग हुँदै भित्र पसे । “मलाई पहिले नचलाएका चोखा भाँडा-वर्तन र खाद्य वस्तु देऊ, तिमीहरुको चुल्होभन्दा अलग्गै आगो फुकिदेऊ, म आफैं पकाएर खान्छु”, बाजेले भने ।
उनले यति भन्दासम्म सतारनी नानीले सुक्खा रोटी र दाल पकाइसकेकी रहिछन् । ल्याएर टक्य्राइन् । बाजे फेरि पहेंलो अनुहार लाएर मतिरै हेर्नथाले । अब पऱ्यो फसाद ! ‘यो परदेश हो बाजे, चिन्ता नगरी खानुस्, म गाउँमा गएर कसैलाई भन्ने छैन’, बाजेलाई आश्वस्त पार्दै मैले भनें । भोकले रन्थनिएका बाजे, पहिलो भागपछि पनि सातवटा रोटी थपेर खाए !
परिवारसितै खानपिन गरीवरि गोपाल दाजु र म पनि कौसीको चारपाईमा बस्यौं । खाना खाइसकेपछि गाम्छा र तामुल दिने आसामको संस्कृति-हामीलाई पनि सरस्वतीले तामुल ल्याएर दिइन् । बाजेले खै पोल्टामा हाले कि कता फाले, मैलेचाहिं मुखमै राखें । ‘…ॐ अपवित्रः पवित्रो …’ मन्त्र जपिरहेका बाजे पनि हामी आइपुगेपछि सामान्य बनिसकेका थिए । तब पुनः शुरु भए हाम्रा भलाकुसारी !
रामनाथ बाजे गम्भीर हुँदै बोले,“पानी अचलका घराँ खान त के ब्राह्मणहरुले टेक्नै हुन्न भन्छन् । हाम्ले के गर्ने र बाबै, आफूले बना’ नियम हैन । उहिले भगवानकै पालाँ बन्या भन्छन् । बाबु बराजुले मान्दै ल्याए । हामीले पनि त्यही गर्दैछम् ।”
बाजेको विचारमा प्रत्युत्तरस्वरूप बोल्ने जमर्को मैले गरें,‘तपाईं सोझो हुनुहुन्छ बा’ । आफ्नो दायराभन्दा पर देख्नुभएको छैन । तपाईंलाई बाहिरी समाजमा केके हुँदैछ, जानकारी छैन । ब्राह्मणहरु अछूतकाँ आउनै नहुने भए यी दाजैको न्वारन कसले गऱ्यो, गोपाल नाम कसले राखिदियो ? सोच्नुस त ! रामले सबरीको जूठो बयर खा’थे, कथा तपाईंले नै भन्नुभा हैन र ? इन्द्र प्रस्थमा राजदरवार बनाउने विश्वकर्मा र मयदानवलाई कृष्णले श्वयं भेटेका हैनन् र ?’
मेरो कुरा सुनेपछि बाजेले मौनधारण शुरु गरे ! गोपाल दाजुको चेतनामा स्मृति पुनरावृत भएछ क्यार, सुरिएर बोल्नथाले-
“हो त ! हाम्रा बाउ पनि पहाडमा ‘अछूतले बाहुनको धारो छोइदियो’ भनेर लखेटिएपछि मुगलान पसेका रे ! मुग्लान पसेर पनि ब्रह्मपुत्रका किनारतिर बाहुनकै गोठमा भैंसी गोठालो हुन पुगेछन् । एक दिन ठिटो पाडोले हुत्याउँदा उछिट्टिएर दूध तताउन बसाएको कुँडे छुन पुगेछन् बा ! भैंसीवाला महाजनले रिसाउँदै तातेको दूध पनि पोखेर मेरा बा’लाई गोठबाट खान नदिई धपाएछन् । बाटोमा भीख माग्दै बा’ गुवहाट्टी पुगेर सोहनलाल कैयाँको सहायताले आसाम राइफल्समा भर्ती भएछन् । बा’का सेखपछि उनकै उत्तराधिकारी जागिर पाएर म पनि आसाम राइफल्समै गएको थिएँ । बा’ ले आर्जेको पौरखस्वरूप आज म पेन्शनवाला भूपू सुरक्षाकर्मी बन्न पाएको छु । पेशाले जात तय हुनेभए आज म पनि देशसेवक क्षत्री हुँ ।”
कुरो इतिहासको लर्कोतिर मोडिएला भन्ने लागेर गोपाल दाइलाई ट्र्याकमा ल्याउने जुक्ति गर्दै भने,‘हैन गोपाल दाजु, ब्राह्मण र अछूतको कुरो हुँदै’थ्यो, कहाँ तपाईं त देशसेवाको कुरातिर लाग्नु भो त ?’
सन्दर्भ समाउँदै फेरि उनी बोल्नथाले धाराप्ररवाह-
“ए अँ, हामी त पुरोहितले नाम राखिदिएको कुरा पो गर्दैथ्यौं निः भुतुक्कै कुरो अर्कोतिर लगेंछु । हो, भारतीय ब्रह्मणहरु नेपाली पहाडे संस्कृतिबाट अलि फराकिला भएका छन् । हुन त उनीहरुको पनि आफ्नै समाजभित्र सदियौंदेखिको भेदभाव कायमै छ । तर, अन्य समुदायका यजमान भएमा जुनसुकै जात होस्, हिन्दू संस्कृतिको पूजाविधि र दक्षीणाको रकम पक्का भए उनीहरुलाई पुगिहाल्छ । उनीहरुको यो व्यवहारले नेपाली समाजमा हामी अछूत भनिएकाहरुलाई उद्दार गरेको छ, हामीलाई हिन्दू संस्कार-संस्कृतिमा रहिरहन आड दिएको छ ।”
मेचको छेउमा राखेको अम्खोरा उठाएर घट्-घट् दुइ घुड्की पानी पिए उनले र पुनः बोल्नथाले,“मेरी आमा भन्थिन्, मेरो न्वारनमा गुवाहट्टीका पण्डित हरिहर मिश्र पुरोहित बनेर आएका थिए । उनले नै मेरो नाम गोपाल राखिदिएका हुन् । मेरो छोरा र छोरीको न्वारन पनि भाग्यवश उनैले गरिदिएका थिए । छोराको नाम हरि र छोरीको नाम सरस्वती उनले नै राखिदिएका हुन् । अहिले मिश्र पण्डित बिते । इतिहासले भन्छ हामी पनि आर्य नै हौं । हाम्रा थरहरु तपाईंहरुकै जस्तो दबाडी, कोइराला, लम्साल, महरा, बस्याल, सिर्मल, रमतेल, छन्त्याल, दुलाल आदि हुन्छन् । हामी पनि तपाईंहरुजस्तै कौशिक, भारद्वाज, काश्यप गोत्री हौं । वास्तवमा उहिलेका विभिन्न राजाहरुले आफूलाई शासन गर्न सजिलो पार्ने हिसाबले समाजलाई फुटाएर टुक्रा टुक्रा बनाएका थिए ।”
क्षणभर सुस्केरा लिँदै उनी बोलिरहे,“शुरुमा यो प्रथा पेशाबाट उत्पति भएको भन्छन् । तर, पछि सामाजिक सत्ताको बागडोर सधैं आफ्नो हातमा राख्ने सकिने साधन पनि यही रहेछ भनेर शासकहरुले समाजमा थप भेद गराए । आज छुवाछूतप्रथा र जातीय भेदभावको प्रसंगमा बाहुनलाई किन धेरै गाली गरिन्छ; थाहा छ ? किनभने उहिले छुवाछूतको नियम बनाउने शासकहरुका सल्लाहकार बाहुनहरु नै थिए ! अहिले पण्डितहरुलाई छुवाछूतको चलनबारे सोध्यो भने उहिलेका राजालाई देखाएर तर्किन खोज्छन् । तर, उनीहरुले चाहेमा देशको राजा नै फेरिदिन सक्थे । मगधका राजा धनानन्दसित रिसाएका ब्राह्मण कौटिल्य (चाणक्य) ले राजै फेरिदिएका थिए । उनीहरुले चाहेमा समाजको सामान्य कानून फेर्न सक्तै थे त? वास्तवमा आदिम युगपछि जब समाजमा मालिक र दासको विभाज्य वर्गीकरण गरियो, त्यसपछि शासक बाहुनहरुबाटै यो चलन शुरु भएको हो ।”
आज गोपाल दाइले मनको वह पोख्ने मौका पाएका-कति हो कति सामाजिक प्रसंगहरु केलाउन छोडेनन् । बोलिरहे उनी, बोलिरहे-“पहिलेको के कुरा गरौं, हिँज-अस्तिसम्म तपाईंहरुकै घरमा पनि पतिले आफूलाई ‘शिरको स्वामी र पत्नीले आफूलाई चरणकी दासी’ भन्ने चलन थियो । पुरुष र नारीको विभेद । त्यसपछि प्रविधिको विकास र उन्नति हुनथाल्यो । जो मामिसहरु विज्ञान र प्रविधिमा लागेका थिए, जसले फलामका औजारहरु बनाउँथे, जसले तामा र सिल्वरका भाँडा-वर्तनहरु बनाउँथे, सारा उपयोगी सामान बनाउँथे, जसले देवी-देउताका मूर्तिहरु कुँद्थे, तिनीहरुचाहिं अपवित्र, अछूत भए-जसले त्यही तामाको भाँडोमा जौ-तील छर्केर पवित्र बनाएँ भन्दै त्यसैमा पकाएर खाए-उनीहरुचाहिं पवित्र भए ! सृजनाका काम गर्न नसक्ने, भोगमात्र गर्नेहरु मालिक भए अनि जो उत्पादन गर्छन्, श्रम गर्छन्, तीचाहिं दास भए ।”
एकक्षण बिसाएर रामनाथ बाजेको अनुहारतिर नजर गाड्दै उनले भने,“कथित अछूतले बनाएको गाग्रीमा पानी ल्याएर खाएको छ, उसैले बनाएको ठेकोबाट दही बनाएको छ, भगवानलाई चढाएँ भनेको छ, तर …! उसैले सिएको लुगा लगाएको छ, त्यही सिउने अछूत ! हुँदाहुँदै गाईलाई आमा भनेको छ, पूजा गरिराखेको छ तर, आमा मरिसकेपछि काँधमा बोकेर तीर्थमा लगी दाहसंस्कार गर्नुपर्ने; अहँ, त्यसो गर्दैन ! ‘ल यो त सिनो भयो, छुनु हुँदैन’ भन्दै पन्साइदिन्छ र समाजकै एउटा वर्गलाई त्यसको व्यवस्थापन गर्न लाउँछ । कुनै कलाकारले छाला प्रशोधन गरी झोला, जुत्ता बनाएर ल्याइदिएपछि अलिकति पैसा कमाएका तपाईंहरुका छोराछोरीले नै सबैभन्दा पहिले किनेर लैजान्छन् । अहिले त छालाका जर्सी नलाउने कोही पनि देखिन्न । हामी त तपाईंहरुकी आमा (गौमाता) को दाहसंस्कार गरिदिने दाजुभाइ पो हौं त । आमाको किरिया गरिदिने बन्धु हौं, वंशको हक लाग्छ तपाईंहरुसित । माथि माथि स्वर्गलोक र वैतरणीको मात्र कुरा गर्ने, श्रमबिनाको यजमानीबाट आम्दानी गर्ने वर्गजति माथि अनि जसले उन्नति र सभ्यताको सिर्जना गरेको छ, सारा समाजको सेवा गरेको छ, त्योचाहिं तल कसरी हुन्छ ? यो त परोपकारी सेवाको दर्शनसित नमिल्ने उल्टो संस्कार भयो हौ बाजे ? स्वर्ग र बैकुण्ठमा झिलिमिलि छ, आनन्द छ भन्ने तर, आफ्नो धर्तीमा, आफ्नो समाज उज्यालो पार्न श्रम गर्नेहरुलाई नर्कको भागीदार बनाउने तपाईंहरु नै हो ! यो धर्तीलाई नै नर्क बराबर गराउने तपाईंहरु नै हो ! हाम्रो समाजले आज न्याय, स्वतन्त्रता, विकास र उन्नतिको स्वाद लिन नसकेको किन हो थाहा छ? हो यही कारण हो; यही भनेको श्रम र श्रमिकलाई घृणा गर्ने, सृजनाका आविष्कारक असल भगवान (विम्बात्मक)-लाई समाजको मूलधारबाट गलहत्याउने अनि चौतारीमा बसेर गफ् चुट्तै ट्याम्को भर्नका लागि अचल भगवानको पूजा गर्ने चलन !”
गोपाल दाइ भावुक हुँदै एकोहोरिएको बुझेर मैले उनलाई रोकेर कुरा मोड्ने जमर्को गर्दै भनें,‘रामनाथ बाजे, ब्रह्मण कति किसिमका हुन्छन्, तपाईंलाई ज्ञान भए हामी पनि जान्न पाउँ न !’
गोपाल दाइकै कुरामा रन्थनिइसकेका बाजेले मेरो प्रश्नलाई व्यंग्य बुझेछन् क्यार, च्याँठिएर भने-“म गोठमा बाह्रखरी सिकेर यसो कर्मकाण्ड गर्दै बनेको पुरोहितलाई के सोध्छस्, ठूल्ठूला शास्त्री, पण्डितलाई सोध् न ! मलाई त मभन्दा माथिका पण्डितहरुले सेवा गरेबापत पण्डित बनाइदिएका हुन् मायाले । म पढेर पण्डित भएको होइन । मलाई कर्मकाण्ड पुस्तक पढ्नबाहेक अरु बाहिरी केही ज्ञान छैन । बडा, म जान्दिनँ भनेर खिसी पो गर्दो र’छ हे, अगति मोरो !”
गोपालनी भाउजु र छोरा-छोरी पनि पर बसेर मुसुमुसु गर्दै हाम्रा कुरा चाख मानेर सुनिरहेकै थिए ।
मसित बाजे निकै झोंक्किए भन्ने पक्का पक्की भइसकेपछि गोपाल दाइले फेरि थुम्थुम्याउँदै भने,“नरिसाउनु न बाजे । तपाईंले गल्ती गर्नुभएको छैन । तपाईंलाई जो सिकाए उही गर्नुभो । तर अबचाहिं आफ्नो विवेक लगाएर सोच्न पनि थाल्नुहोस् है – अनुरोध गरेको मात्रै हो । विचार गर्नुहोस् त, हामी सार्कीलाई तपाईंहरुले अछूत अथवा पानी अचल बनाएको किन हो ? गाईको मांशभक्षण गर्छ भनेर ? तपाईंहरुको मझेरीमा मरेको गाईको क्रियाकर्म मात्र गरेका थिए हाम्रा पुर्खाले । तपाईंहरुले माता बनाएको पशुलाई पवित्र ठानेर हाम्रा पुर्खाले पनि दाहसंस्कार गरिदिएका थिए । खान त अन्य जातिले पनि गाई काटेरै खाइदिन्छन् । गाई खानेमध्येकै केही जातहरुलाई तपाईंहरुले मज्जाले पानीचल वर्गमा राख्नुभएको छ ! यस्ता कुरामा तपाईं स्वयंले पनि आफूभन्दा जान्ने, माथिल्लो दर्जाका ज्ञानी, शास्त्रीहरुसित जिज्ञासा राखिदिनुहोस्, उनीहरुबाट पाएको प्रत्युत्तर सके हामीसम्म ल्याइदिनुस, नसके पनि समाजमा प्रचार गरिदिनुहोस् भनेर अनुरोध पो गरेको त ।”
गोपाल दाइकै कुरालाई टेको दिन मैले पनि रामनाथ बाजेतिर हेर्दै थपें,“तपाईं घरी घरी रामनाम जपिरहनुहुन्छ ! रामले सबरीको जुठो बयर किन खाए-सोच्नुहोस् त ! तपाईंलाई आफ्नो जातिको गर्व, धर्म मान्नै छोड्नुहोस् भनेको होइन । मज्जाले मान्नुहोस् । वेद, उपनिषदलगायतका हिन्दू दर्शनहरुमा वैज्ञानिकता छ । चरक, सुश्रुत जस्ता चिकित्सकहरु थिए, भृगु, पराशरजस्ता खगोलबेत्ता ज्योतिषहरु थिए । आर्यभट्टहरु जस्ता आविष्कारक थिए जसले आविष्कार गरेको शून्यांककै आडमा अहिले आधुनिक विज्ञान मौलाएको छ । आफ्नै शास्त्रहरु मिहिनतले पढ्नुहोस् र तिनमा निहित मानवकल्याणका उपायहरु खोज्नुहोस् । तिनमा रहेको वैज्ञानिक तथ्यहरुको अनुसन्धान गर्नुहोस् । अरुलाई भन्दा पहिले आफूलाई र आफ्नो वर्गलाई चिन्ने शिक्षा ग्रहण गर्नुहोस् अनि अरुलाई शिक्षित गराउने ब्राह्मण कर्तव्य पालन गर्नुहोस् । तब समाजका सबै अंगको विकास हुन्छ । तब न तपाईं र तपाईंजस्ता ब्राह्मण पुरोहितहरुको कर्तव्य पनि पूरा हुन्छ ।”
झोंक्किँदै चारपाईमा पल्टिएका बाजे पासोमा परेको खरायोझैं ठूल्ठूला आँखा गरेर चुपचाप सुनिरहे । बाजेलाई निरीह प्राणी ठानेछन् क्यार गोपाल दाइ मतिर फर्किए ! म बोल्नै परेन, दाइलाई अघिकै रनाहले छोडेको थिएन, लागे वक्तव्य जारी गर्न,“हेर्नु न भाइ, उहिले कर्म र पेशाको आधारमा जाति छुटियो रे । अहिले त हाम्रा पुर्ख्यौली पेशा हामी कसैसित पनि सुरक्षित छैनन् । लुगा तपाईंहरुकै छोरी-बुहारीले सिएका छन् । हात-हतियार र औजार बनाउने कारखानामा तपाईंका छोरानाति मज्जाले तलब खाएर काम गरिरहेकै छन् । हाम्रा बन्धुहरुले गर्ने छाला प्रशोधनको उद्योग पनि तपाईंहरुकै भाइ-बन्धु र इष्टमित्रले हत्याइसके । तर हामी अछूतका अछूत ! हामीलाई सधैं अपराधबिनाको सजाय किन ? यो हाम्रो साझा पहिचानको, अस्तित्वरक्षाको सवाल हो । तपाईँहरुसित क्षमा याचना गर्दछु । यो मेरो निजी कुरा सम्झेर तपाईंहरुमाथि प्रहार गरेको नठान्दिनुहोला । बरु तपाईंहरुको आफ्नै ठाउँमा सामाजिक एकताको नयाँ सोच बनाएर परिवर्तनका लागि काम शुरु गर्नुहोला । बलियो जाति एकता बनाउनुभएन भने तपाईंहरु भूटानमा नागरिक भएर बस्ने अब धेरै समय बाँकी छैन जस्तो मलाई लागेको छ ! जाति एकताको मूलमन्त्र बनाउनुभएन भने भोलि त्यहाँको सरकारले मात्र होइन, आफ्नै भाइ-बन्धु तपाईंका शत्रु बनेर आउनेछन् । तपाईंलाई देशबाट धपाउन सरकारलाई सहयोग पुऱ्याउनेछन् तर, अज्ञानतावश उनीहरु स्वयं पनि असुरक्षित नै रहने छन् । तरेली तरेली गर्दै तपाईंका सन्तान दर सन्तान देशबाट खेदिनुपर्नेछ ।…”
गोपाल दाइ कतिबेर बोले कुन्नि, सुन्दा सुन्दै म भुसुक्कै निदाएँछु । बिहान झिसमिसमा रामनाथ बाजेले उठाए, हामी विदा मागेर हिँड्यौं ।
त्यसपछिका जम्मा जम्मी दुइवर्ष पनि नबिती भूटानबाट एउटा जनसागर बगेर सिमाना बाहिर पोखियो । एउटा देशको हैन, दुइटा देशका सिमाना कट्ने गरी छाल बगेर गयो । समुद्रमै पुगेर पनि अब मिसिने हो कि कतै छेउतिर आहाल जमेर बस्ने हो, द्विविधामा परेको छ त्यो सागर अहिलेसम्म । जुन नतिजा तपाईं पाठकमध्ये कतिले भोगेका हुनुपर्छ, कतिले देखेको हुनुपर्छ ।
रामनाथ बाजे ‘अजात’ हो कि ‘कुजात’ले पकाएको खानुपर्छ भनेको सुनेर पुनर्वाशमा सम्मिलित हुनै मानेनन् । उनको परिवारका सबैजना कोही केनाडा, कोही अष्ट्रेलिया पसे । कोही अमेरिकाको भर्जेनियामा आएका भन्ने सुनेको छु । शरणार्थी शिविरमा एक्लै छुटेका बाजे आजभन्दा दुइवर्ष अघि निरञ्जन भएर उपचारको अभावमा बितेछन् ।
गोपाल सार्की त्यतिबेला रामनाथ बाजेका लागि अछूत थिए र, मेरा लागि पवित्र चेतनाका गुरु । सञ्जयले कुरुक्षेत्रमा भएका युद्धविवरण धृतराष्ट्रलाई कैरन गरेझैं उनले हामीलाई निकट भविष्यका बारेमा सम्झाएका थिए । त्यसैले उनी पवित्र ‘अछूत’ थिए । उतिबेला मेरा महान आदर्शपुरुष गोपाल सार्की दाइले देखाएको द्रष्टव्य मैले कति बुझें, मलाई नै थाहा थिएन । आजभन्दा ३० वर्ष अघि विश्वको एउटा कुनाका सवालाख मानिसहरुको भविष्यद्रष्टा बनेका ती गोपाल दाइ आज कहाँ छन्, कुन अवस्थामा के गर्दै होलान् …अहिले पनि म उनलाई बेस्सरी सम्झिरहेको छु !
(कथाभित्र कतै भुवन नाम छ । उनी यो लेखन्ते भक्त घिमिरेलाई यो कथा भन्ने ‘म ’ पात्र हुन् । अनि ‘कच्छाडी ’ भन्ने शब्दले आसामका वासिन्दा बुझाउँछ ।)