‘कान्छी ल्याउने सल्लाह’
सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका
…मोबाइलको घन्टी बज्नासाथ कसले सन्देश पठाएछ भनेर मोबाइल गोजीबाट निकालेर पुलुक्क हेरें । बिर्खे काकाको रहेछ । “जेठा; म कान्छी ल्याउन चाहन्छु, काकी पनि पहिला त मानेकी थिइनँ तर, अब चैं बल्ल हुन्छ भन्न थालेकी छे । रामे र कान्छोले पनि हुन्छ भने तर, जेठो त अझै पनि सुन्न मान्दैन, तैंले एकपटक सम्झाइदिन्छस् कि?”
म तीन छक्क परें । यो बुढेसकालमा वैंसालु युवाको जस्तो सन्देश पठाउने काकादेखि केहीबेर मनमनै रिसाएँ, नाति नातिनाका मालिकले यो के हर्कत गरेका होलान् भनेर उत्तर खोज्ने प्रयास मनमनै गरें । तै पनि “हो र काका” भनेर उत्तर फर्काएँ ।
फेरि बोले काका, “जेठा तँबाट ठूलो आशा राखेको छु, काकीले पनि तैंले भनिस् भनेमात्र हाम्रो जेठो मान्ला, नत्र मान्दैन भन्दै थीई, आशा छ, फेरि हाम्रो खुशी फर्काउन सहयोग गर्छस् होला ।” म बोलिनँ । हे भगवान; यी काकालाई सत्बुद्धि प्रधान गर भनेर मनमनै कामना गरें । के नै गर्न सक्थें र म विचरा भन्ने लाग्यो । तै, पनि उनको अनुरोधलाई सहजै हुन्न भन्न पनि मन लागेन । कुरा टारेर ‘अनि आज काम छैन?’ भनेर पठाइदिए ।
“ए जेठा, बाबु नानी तैंले त कुरा अन्यत्र बटारिस् यो काकाको भावनालाई बुझिनस् है ? पहिला पनि सानो गल्तीले गर्दा सानो पछुताउनु परेन”, फेरि यसरी अर्को सन्देश आयो ।
कसैलाई सुनाउँ की, मानसिक अस्पतालतिर पठाउँ की, गएर आफूभन्दा ठूला नभनिकन गाला पड्काउँ की- के गर्ने के नगर्ने ? म अन्योलमा परें । सानामा यिनै हातहरूमा उनका हातले तातेताते डोऱ्याउने बिर्खे काकालाई त्यो चाउरी परेका गालामा सुम्सुम्याउन मन पनि परेन । फेरि परिवारमा प्रायः सबै सहमत भएको ग्रिन सिग्नल पनि दिँदैछन् उनि ।
“सहजै तेरो बाबु वैंसले पात्तिएछ कान्छी ल्याउँछ रे, तैंले हुन्छ भन्दिनु पर्यो भनेर म त्यो ठुलेलाई कसरी भनौं ?” अन्यौलको भुमरीको भित्री भागमा म फँसी सकेको थिएँ । रिसले गाला पनि राता राता भइसकोका रहेछन् । एप्पलका दाना त के राता हुन्छन् र ! त्योभन्दा पनि राता भएका रहेछन् मेरा गाला । सायद गालामात्र देख्नु हो भने मान्छेले दार्थें होलान् ! मनमा हरेक कुराका पहाडहरू चुलिन थाले । अब त मेरा मनका तिलहरू पनि पहाड बन्नथाले । यो देशमा बहुबिवाहको कानूनबारे मनन गर्न थाले । तिनका ती भद्रभलाद्मी परिवारलाई सम्झें । क्यानेडामा भएका तिनका ससुरालीलाई सम्झें अनि कान्छी ल्याउछु भन्दा सहजै ‘हुन्छ’ भन्ने र स्वीकृति दिने ती हरीमाया काकीलाई पनि मनमनै सलाम गरें । ‘महान छौ तिमी’ भने अनि सम्झें, भगवान शिवले विष पिउँदा चुप रहने पार्वती हुन् या सर्पमाथि सुत्ने विष्णुलाई एउटा पलङ्गसमेत नदिने ती धनकी माता लक्ष्मी (!) बुढा-पाकाले कलियुगमा सबैविपरीत हुन्छ भन्थे, कलि व्यक्त भएछ भनेर मनन गरे । खट्खट भयो । कोठाबाट बाहिर आए र लामो खुई तानेंछु ।
प्रायजसो समय काटनीको लागि हाम्रामा भेला हुने तल्लाघरे मित आमा, भण्डारी काका, डाँडाघरे गुरुजी र अन्य केही छिमेकका मानिसहरू गफ् चुट्दै सोफाभरि बसिरहेका रहेछन् । मलाई देख्नासाथ छुच्ची मित आमाले छुच्याई गरी हालिन्,”सवार भयो है जेठाको ।”
भण्डारी काका पनि बोले, “हैन के भयो जेठा, अनुहारमा त आक्रोश देख्छु त ?” यतिकैमा डाँडाघरे गुरुजीले पनि सोधे, “बिरामी छस् कि के हो नानी ।” मन थाम्न सकिनँ, त्यो रिसको रापले तातिएको मेरो मनमा कुनै कुरा अडिने कुरै भएन । त्यसैले भनें, “त्यो खोल्सा घरे त कान्छी ल्याउँछ रे, मैले त्यसको जेठालाई मनाइदिनु अरे । फेरि त्यसकी बुद्धिमान श्रीमतीको पनि त्यही इच्छा रे !”
“थुक्क हो- हरिमायाको पनि बुद्धिमा कीरा परेको । हन कहाँको त्यो नकचरो । यी लोग्ने मान्छे त नि !” मुरमुरीन थालिन् मित आमा ।
एक व्यक्तिले गर्दा हामी सबै लोग्ने मान्छेलाई नै दोष लाग्यो । अनि आफूदेखि ती महापुररुषहरूको चरित्रलाई सम्झें । मित आमाले भनेझैं हामी पुरुषमा पनि खोट पाएँ । सयमा एक खराब प्रवृतिका हुँदा पनि दोष त आउने नै भयो ।
“हौ जेठा कुरा के रे ?” गम्भीर मुद्रामा डाँडाघरे गुरुजी सोधे । मैले मोबाइलमा लिखित रूपमा भएको सम्वाद पुनः देखाएँ ।
भण्डारी काकातिर फर्केर गुरुले लामो स्वास तान्दै भने, “बल्ल बुद्धि आएछ है त्यो बिर्खेको भण्डारी भाइ ?”
भण्डारी काका अक्क न वक्क भएको देखेर गुरुले थपे,”हैन हो त्यसकी कान्छी क्या त ? बल्ल बुद्धि बङ्गारो पलाएछ मोराको । विचरी त्यो कान्छी सधैं भेट हुँदा रोईकराई गर्छे र उनीहरूको बारेमा सोधी रहन्छे । अस्ती त्यो रामे बिरामी पर्दा पनि धेरै दुःखी भएकी थीई । त्यसैले हुर्काकी हो रामेलाई ।”
डाँडाघरे गुरुको कुराले झनै अन्योलमा परें । मेरो त संसार नै अन्धकार भयो । चेत हराएको महसूस भयो । चुलबुले मित आमाको पनि अनुहारमा बाह्र बजेको सजिलै अन्दाज काट्न सकिन्थ्यो । हतारिँदै सोधें, खास कुरो के हो गुरु ?
मुहारमा रातलाई बिहानीको सङ्केत झै खुसी हुदै गुरूले भने,”हैन हो त्यो बिर्खेले कान्छी स्वास्नी ल्याउन लागेको कहाँ हो र केटा ! त्यसले त आफ्नी बहिनी कान्छीको पो कुरा गरेको त ! आजभन्दा १० वर्ष अगाडि आफूभन्दा तल्लो जातकों केटासँग भागी बिवह गरी अनि आफ्नो नाक काटी भनेर त्यो अनपढ बिर्खेले आफ्नी बहिनी कान्छीलाई आजसम्म बोलाएको थिएन, मोराको घैंटोमा बल्ल घाम लागेछ ।”
“ए… लामो समय भएर हो कि किन मैले पनि भुलेंछु । हो त साँची । म पनि त्यस मोरा … भनेर”, काकाले हाँसोको फोरा फाल्दा टिभीमा देखिने रावणको भन्दा कम थिएन उनको हाँसो ।
सम्झें यो अशिक्षाले पनि मानिस-मानिसबीच कत्ति दूरी बनाएको छ है ? कहिले होला यो सब कुरामा परिवर्तन आउने ? अशिक्षाको भुमरीमा कहिलेसम्म रुमलिने होला हामी ?
“हैन, यो सव अशिक्षाले गर्दा भएको हो ! हामी मान्छे त एउटै हौं तर, खै के भएर हामीलाई यस्तो भ्रमित पारिदिएका छन् अनि सुझो न बुझो हामी पनि कागले कान लगेको कथामा झैं दौडिरहेका छौं “, गुरु बर्बराउन थाले ।
म पनि कुरै नबुझीकन विचरा काकालाई नकचरो समेत भन्न भ्याएँ । थुक्क म । आफैंले आफैंलाई धिक्कारें ।
भण्डारी काकाले फोन झिकेर बिर्खे काकाको छोरो जेठालाई बेस्सरी थर्काए । उनले भनेको एउटा कुराले सधैं मन छुन्छ ।
“ए बाठा, त कहाँको मालिक हँ ? चिन्दै नचिनेका हिजो आएर जानेकालाई चैं तैंले भण्डारमा लगेर खुवाउने अनि तेरी दिदी चैं बिरानी…! अछूत ? थुक्क तँ पढे-लेखेको बाठो । धिक्कार छ तँ जस्तो छोरालाई । अरुलाई सम्झाइ बुझाई गर्नुपर्ने मान्छे भएर त्यही हो तेरो चाला ?” काकाले थर्काउनु थर्काए ।
उताबाट के भन्दै थियो सुनिएन । फोनको सम्वाद हुनाले काकाको कुरामात्र सुनियो। झोक्किँदै फोन राखेर भण्डारी काले भने, “जान्न भनेको थियो भने त्यसको ….. तर जान्छु भन्यो ।” जेठाले दिदी लिन आफैं जान्छु भनेछ भनेर बुझें तर, भण्डारी काकालाई सोधिनँ । समाजमा देखा परेको यस्तो भेदभाव यस्ता पीढीलाई त पचेको रहेनछ भन्ने लाग्यो र मनमनै यस्तो कुरीति र कुसंस्कारको अन्त्य होस भन्ने कामना गरें |