कुमालकोटीको मन्त्र
तुम्बेहाङ लिम्बु
झापा, नेपाल

कुमालकोटीको मन्त्र
म रक्तबीजको
क्लोनिङबारे
मथिङ्गल खियाउँदैछु
म रक्तवीजको
डि.एन.ए. परिमार्जनबारे
विभिन्न उपाउ लगाउँदैछु।
यस विज्ञान र प्रविधिको जमानामा
रक्तवीजको क्लोनिङ सम्भव भए
कस्तो हुनेथियो होला?
परिमार्जित डि.एन.ए. सहित
रक्तवीज जन्माउन पाए
कस्तो हुनेथियो होला?
मेरा सारा इष्टमित्र
नातागोता, शुभचिन्तक, देशवासी
अचानक लार्वा र प्युपामा परिणत भएपछि
हाम्रो सभ्यता खतरामा परेको हो
मेटामार्फोसिस पछि
उडेर अन्तै पलायन हुन थालेपछि
अस्तित्व नै सङ्कटमा पर्नथालेको हो
त्यसर्थ म
रक्तवीज प्रणालीबाट
देश आबाद गर्ने तरिका सोच्दैछु
क्लोनिङ पद्धतिबाट
परिमार्जित रक्तवीज जन्माउने
सपना देख्दैछु।
झूटैझूटको पुराण सुनाएर
सम्मोहित बनाएको यस संसारलाई
भ्रमैभ्रमको सपना देखाएर
उल्टोबाटो हिँडाएको पाइलाहरुलाई
बस् , मात्र एकचोटि
केवल एकचोटि
यी सुसुप्त लार्भा/प्युपाहरुलाई
कुमालकोटीको मन्त्र सुनाउने धोको छ
यो मेरो गायत्री मन्त्र सुनेपछि
उनीहरु के बन्छन्, थाहा छैन
तर यदि मन्त्रले काम गरेछ भने
अवश्य सपनाको वारिस जन्मने छ
र सपना अपुताली हुने खतरा
टरेर जानेछ।
एकपल्ट फेरि मेरो देश
उन्नतिको फाँटमा हराभरा हुनेछ
शान्ति, सद्भाव र सहअस्तित्वको जगमा
आवाद हुनेछ ।।
