कुम्लेनी !

भानु ढुङ्गाना
क्यानेडा

बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए ।

कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको। सुखले मानिसलाई कति चाँडै मताउँदो रहेछ। त्यसमा पनि पराई अधीनको आँगनमा। ऊ पनि अर्कैको अधीनको। सँगसँगै होला भूटानबाट, गाँस बासबाट , कपासको बहानामा उठिबास भएर शिविर आइपुगेको पनि । सायद एउटै दिन नभएपनि महिना त एउटै होला जस्तो लाग्छ। अथवा साल सम्वत नै किन नहोस्।
सत्र वर्ष जसरी शिविरमा मागेर, थापेर खाइयो। झुपडीको बास बसेर, उस्तै नै थियो कहाली लाग्दो जीवन भोगाइ पनि। सन् १९९०  को दशक देखि सन् २००८ को तनाव सम्मको कथा बोकेकै हो। कसरी बिर्सियो त्यो परिस्थितिलाई उस्तै गरी बिताइएका कारुणिक दिनहरूलाई ? आफु चैँ कति न ठुलो भएर एकल नारी प्रति तुच्छ शब्दको वाक ! औकात भुलेर। दया र धर्म भुलेर। नारीत्वलाई नबुझेका कस्तो हो ? आफु केही छिटो आइपुग्दैमा यति ठुलो फुस्रो धाक र हरकत ?

बेलकुमारी दिदी, असहाय तथा एकल महिला भएकै कारण, उनीलाई पुनर्वास गराउने क्रममा यु एन एच सिआरको सिफारिसमा आइ ओ एमले सन् २००८ मा चाँडै गरी उनको दु:ख देखेर पनि क्युवेक क्यानडामा पुर्‍याउने काम भएछ। उति वेला कसैले देश वा ठाउँ रोज्ने कुरै हुँदैन थियो। त्यसमा पनि भूटान देखि नेपालको शिविरसम्म आएदेखि झुपडीमै सत्रवर्ष बितेको शरणार्थी जीवन। कतै केही नदेखि झुपडी भित्रको बास भएको जीवन शैली। बेलकुमारी दिदीलाई सुरुमा, क्यानडाको प्रोशेस मात्र भनिएको थाहा छ। त्यो यथार्थमा म पनि साक्षी बन्न जुटेको हुन्छु शिविरमा हुँदा।

अन्त: उनीलाई पुर्‍याइएछ क्यानडा त, क्यानडा नै तर क्युवेकमा। त्यहाँ न त भाषा नै सजिलो न त अलि अलि जाने बुझेको नै ? यति मात्र नभएर न त समाज नै अडियो । क्रमशः आएकाहरू पनि बिस्तारै क्रमशः सर्दै _सर्दै सरेरै सकिनै लागेपछि कसरी बेल दिदीको मन अडियोस् त त्यहाँ ?
पाँच वर्ष जति बेलकुमारी दिदी आफ्ना दुई छोरा सुदिप ११ वर्ष र सुनिल ९ वर्ष अनि कान्छी छोरी ७ शुसीलाका साथमा क्युबेकमा बसिछिन्। त्यहाँ रहँदै बस्दै गर्दा गर्दै वरिपरिका नेपाली छिमेकीहरू दिन दिनै कतै सर्दै गएपछि आफु छोरा छोरीसित एक्लै भएपछि उनी पनि त्यहाँबाट स्थानान्तरण भएर तिनै छोरा छोरी साथमा लिएर ओन्टारियो प्रविन्सको लण्डन सिटीमा सन् २०१५ को मे महिनामा कुम्लो बिसाउन आई पुग्छिन्। झट्ट हेर्दा हो डिपाइटेको जस्तै छ जिन्दगी! तर त्यो जिन्दगी उनको मात्र हैन पुनर्वास हुन बाध्य भएका सबै नेपाली मूलका भूटानीहरूकै एउटै कथा थियो। उनी त्यहीको सहयोगी हर्कमान गुरुङको सहयोगमा अपार्टमेन्ट खोजेर छोरा छोरीसँगै घुलमेल गर्दै बस्छिन्। लण्डन बसेको छ महिना मात्र भएको हुन्छ। यतिकैमा कैले काहि उनका कानमा कुम्लेनीको आवाज पर्छ। तर, त्यो कुरामा उनको त्यति गहिरो सोचाई पर्दैन। किन कि त्यहाँ उनी बसेका पेरिफेरिका सबै नेपाली जति अधिकांश नै नेपाली मूलका भूटानी नै थिए। जो आफै पनि आफु जस्तै कुम्लै कसेर आएकाहरू नै थिए। त्यसैले उनीहरूले नै यस्तो घटिया र अवहेलनाको तुच्छ शब्द बोल्दै छन् भन्ने कुरामा कत्ति पनि सोच्दिन थिइन। तर बेल दिदी त्यहाँ आएदेखि नै हर्कमान गुरुङ भन्दा अरू कसैबाट पनि कुनै सहयोग भने पटक्कै भएको थिएन।
अपितु उनी त्यहाँ सेटल भइन् तब बिस्तारै हर्कमान पनि कतै गए । उनी कुनै कामतिर लागे होला। त्यसपछि उनी साँच्चै भन्ने हो भने आफ्नै छोरा छोरी भन्दा अरूसित घुलमेल विनाकै भएकी थिइन् ।

एकदिन उनी, आफ्ना छोरा छोरी साथमा लिएर, आफ्ना, धुने कपडाको कुम्लो जस्तो बनाएर ९ कोठा परको लण्ड्रिमा कपडा हाल्न पुग्छिन्। यतिकैमा नानीहरू खेल्न बरालिन्छन्। बेल दिदी चैँ कपडालाई उल्टाउँदै लन्ड्रीमा हाल्दै गर्दा कसले परै नेपथ्यबाट जस्तै गरी ‘उ हेर यो कुम्ली ‘, भनेको आवाजले उनलाई मनमा चोट पर्न पुग्छ! भनी राखेर कोइ मानिस ओझेल परेको जस्तै हुन्छ।अनि मनमनै भन्छिन् यो नेपालीमै बोल्ने पनि म जस्तै कुम्लै बोकेरै आएको होला! तर , आजै यो को हो ? मलाई कुम्ली भन्ने भनेर हेर्दा, अलि पर्तिर देखियो सिमलबोटे कान्छाको छोरो पो रहेछ सुरेश सिग्देल भन्ने केटो। सिमलबोटे सिग्देल कान्छा कान्छी पनि सँगै छन् ! छोरालाई त्यसो भन्नु हुँदैन भन्छन् कि भनेको त्यसो पनि भनेनन्। बरु त उल्टै हाँसेर गए। बेल कुमारी दिदीको मन छिया! छिया ! भयो। उनी एकछिन् रोइन पनि ! खेल्न गएका छोरा छोरी आए आमालाई खोज्दै।आमालाई देखे, आमा रुँदै छिन् ! सुदिपले भने, ‘के भयो आमा ?’ आमाले,’केहिपनि होइन नानी’ भनिन्। ‘त्यसो भए अनि किन रुनु भएको ? हामी तीनै जना यही छौँ। हामी छौँ नरुनु होस आमा !’ छोराले यसो भनेपछि सानु छोरा र छोरीले पनि हामी यही छौँ भने। छोरा छोरीले सम्झे छन् , हामी हरायौँ भनेर आमा रुनु भएको। ती बिचरा अबोध बालकहरूलाई के थाहा ! आमालाई वास्तवमा के भएको थियो । त्यसपछि छोराले सम्झाउँदै बरु यी लुगा लण्ड्रिमा हालौँ भनेर छोराले पनि सगाए। त्यसपछि आफ्नै अपार्टमेनतिर जाँदै थे एक्कासी आफै बसेको अपार्टमेनबाटै धुवाँको मुस्लो निस्कियो। यतिकैमा कराउँदा कराउँदै एक हुल केटा आए, ‘कुम्लीको कोठा डढ्यो, कुम्लीको कोठा डढ्यो’ भन्दै। छोरा सुदिपले भन्यो,’कुम्लीको होइन हाम्रो हो।’ अबोध बालक फेरि त्यसो भन्छन् ! कठैवरि उसलाई के थाहा आफ्नै आमालाई नै भनेको हो भनेर। औकात बिर्सिएका आमा बाबुले सम्झाएनन् आफ्ना छोरा छोरीलाई। उल्टै आफै हाँसेका थिए अघि नै। केटा हाँस्दै ओहोर दोहोर गर्दै थिए। एक जना ठुलै मानिसले पनि ‘ला हौ ! यो त कुम्लीकै अपार्टमेन्ट हो त,’ भनेर निस्केर गयो। बेलकुमारी जोगी दिदीलाई यति पिडा भयो ! अपार्टमेन्टमा आगो लागेको भन्दा वचनको कुम्ली नै जीवन्त नाम बनेर रह्यो ! कसैले पुलिस बोलाए छ । एकैछिनमा फायर गाडी र एम्बुलेन्स पनि आयो। अपार्टमेन्ट मालिकले फायर फाइटर लिएर आए। कसो कसो चाँडै गरी आगो नियन्त्रणमा पनि आयो। भित्र के कति डढ्यो कसैलाई थाहा भएन। त्यसपछि उनलाई अर्कै अपार्टमेन्ट दिइयो।बेलुका तीन बजेतिर आएर काजपत्रमा साइन गराइयो। के प्रयोजनको थियो थाहा भएन। कारण हर्कमान बाहेक अरूले उनलाई सहयोग गर्थेनन्। छोराले जति बुझ्दथे इंलिस त्यतिकै भरमा कागजमा साइन गरी दिइन। छोराले भने केही दिन पछि पच्चिस हजार पाइन्छ अरे भने, ट्वाइन्टि फाइफ थाउजेन्ट भनी दिए ।
केही दिन पछि जब बेलकुमारी जोगी दिदीको हातमा पच्चिस हजार डलर पर्‍यो, धन्न त्यो पनि हर्कको सहयोगमा ओनरसित भवितव्य भइहाले यति पाइन्छ भन्ने क्षतिपूर्तिको फारम भरेको रहेछ। उक्त रकम पाएको केही दिनदेखि बिस्तारै सिमलबोटे सिग्देल कान्छाको परिवार नजिकै बोल्दै के छ खबर ठिकै छ जस्ता कुराबाट आउन थाल्यो। बेल दिदीले हिजोका बचनलाई एकछिन भुलेर पनि ठिकै छ भन्दिन्थिन। त्यसपछि चिया पानी चल्न पनि थालो। अचम्म छ यो दुनियाँमा गरिब हुँदा कसैले नहेर्ने र पानी पनि नचल्ने। बोलचाल पनि दुखैले मात्र हुने। गरिब हुन्जेल कुम्ली बेलकुमारी जोगी हुने । जब आज हातमा पैसा छ तब उनीनै ‘बेल बहिनी के छ खबर ? जाति नै ?’ अरे ! यो स्वार्थी दुनियाँ !

मानवता मरेको समाज। औकात भुलेको पाखेपन। चाहे गरिब होस, चाहे धनी होस, उ पनि समान मानव नै हैन ? चाहे सानु उमेर कै किन नहोस् वा नाताले आफ्नु परेर काकाको ठाउँमा भतिजै किन नहोस्। साना बाबुको ठाउँमा सानु छोरो नै किन नहोस्। तर, उसको पनि इज्जत र इमान छ। उसका पनि मित्रहरू साथीहरू हुन्छन्। ख्याल गरेर इज्जत राखेर बोल्दिनु पर्छ। आफुले मान राखे मात्र पाइने सम्मान हो। बोली वचन नै सामाजिक परिचय र प्रतिष्ठा पनि हो। गरिब र धनीको कुरा हुँदैन। व्यवहार सबैमा समान हुनु पर्छ। सानुलाई प्यार र ठुलालाई सम्मान गरेर बोल्नु पर्छ।
आफुले मन जितेर केही भनियो भने नजिकै भएका नानीहरूले वा मुखाले केटाहरूले त्यही शब्दले बोलाउन सक्छन्। त्यति वेला जिल्ल पर्न सक्छ। त्यो उसलाई नभएर आफैलाई पर्दा कस्तो होला ? हामी सबैले समय अनुसार चल्न जान्नु पर्छ।
ए फलाना त यस्तो पो हो ? उस्तो पो रहेछ । आफुले सिकाएको त हो नि भोलि उसैले पनि त्यसै भन्न सक्छ। समाजमा होस वा घरपरिवारमा होस, सभ्यताको बोली चाली हुनु अति जरुरी हुन्छ। धनी गरिब , जात पातको कुरा हैन। मानवताको महान्तालाई बुझ्नु आजको परिवेशलाई राम्रो वनाउदै लैजान आफु राम्रो हुनु पर्छ। गरिब हुँदा कुम्लेनी भन्ने र धनी हुँदै जाँदा दिदी या बहिनी भन्ने। त्यस्तो हैन,। धनी भए पनि। गरिब भए पनि साइनु भनेको साइनै हुन्छ। धनीको पनि उस्तै इज्जत र गरिबको पनि उस्तै इज्जत हो। समान व्यवहार गर्ने गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *