कृति परिचय १२: यादले (गजल सङ्ग्रह)

कृति: यादले
विधा: गजल
गजलकार: सौरभ तिम्सिना
प्रकाशक: द रिफ्युजी हिराल्ड
प्रकाशन मिति: बि०स० २०६८ (सन् २०१२)

भूटानी नेपाली साहित्य जगतमा गजल एउटा स्थापित विधाको रूपमा विकसित हुँदै गर्दा गजलकार सौरभ तिम्सिनाको गजल कृति “यादले” प्रकाशित भएको हो। द रिफ्युजी हिराल्डले सन् २०१२ मा प्रकाशन गरेको यस कृतिमा जम्मा ४४ वटा गजलहरू सङ्गृहीत छन्। “यादले” कुनै एउटा विषयमा केन्द्रित गजलहरूको सँगालो होइन। यस कृतिमा विविध आयाम बोकेका छोटा-छरिता गजलहरू समावेश गरिएको छ।

“आफूले टेकेको माटो, आफू हिँडेको बाटो, आफूले ओढेको सिरक र आफूले लगाएको सिराने नै आफ्नो नभएपछि, ती सबै सबै गतिलो याद बन्दो रहेछ”, स्थापित भूटानी कवि तथा गजलकार याम थुलुङले तिम्सिनाको कृतिमा लेखेका छन्। “यादले” यिनै विस्मृतिमा हराउन नसकेका सम्झनाहरूको अर्को नाम पनि हो।

गजलकार तिम्सिनाले यस सङ्ग्रहमा देशप्रेम, देश नहुनुको पीडा, शिविरको बसाई, पहिचानका कुरा, मायाप्रीतिका संवेग, सामाजिक तथा धार्मिक कुरीति आदिलाई विषय बनाएका छन्। आठ वटा गजलहरू पाँच शेरका छन् भने अरू छत्तिस वटा गजलहरू चार शेरका छन्। गजलको संरचना र गेयात्मकतामा विशेष ध्यान दिइएको छ।

कुनै पनि कृति कमजोरीरहित हुन सक्दैन; “यादले” पनि कमजोरीरहित छैन। यस कृतिको सबैभन्दा ठुलो कमजोर पक्ष भनेको भाषिक कमजोरी हो । सामान्य हिज्जेमासमेत भएका त्रुटिहरू हेर्दा लेखक तथा प्रकाशकले बेवास्ता गरेको भान हुन्छ। काफिया मिलाउने क्रममा धेरै शब्दहरूमा विचलन देखिएको छ।

सौरभ तिम्सिना पछिल्लो समयका निक्कै जागरूक लेखक हुन्। यिनी एक चिनिएका गीतकार/गजलकार मात्र नभएर पुनर्वासपछिको भूटानी नेपाली साहित्यको संरक्षण तथा संवर्धनमा जुटिरहेका एक अभियन्ता पनि हुन्। “यादले” मा देखिएका यी कमजोरीहरूलाई गजलकार तिम्सिनाले आउँदो संस्करणमा अवश्य सुधार्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *