कृति परिचय १५: चोट बोकेको यात्री (कविता सङ्ग्रह)

कृति: चोट बोकेको यात्री
विधा: कविता
कृतिकार: कृष्ण भण्डारी ‘काईलो’
प्रकाशक: ख्रीष्टियन प्ल्याटफर्म
संस्करण: प्रथम, सन् २०१८
मूल्य: अमेरिकी डलर १०/-, नेपाली रुपैयाँ: २००/-

सन् २००४ मा ‘चौंसठ्ठी चौक’ नामक गजल सङ्ग्रह प्रकाशनमा ल्याई सकेका गजलकार कृष्ण भण्डारी ‘काईलो’ले यस पटक कवि भएर ‘चोट बोकेको यात्री’ नामक कविता सङ्ग्रह पाठकमाझ सुम्पेका छन् । २१० पृष्ठको यस सङ्ग्रहमा जम्मा १२२ वटा कविताहरूमा अधिकाङ्स छोटा आकारका फुटकर र केही मझौला आकारका कविताहरूको सँगालो रहेको छ ।

सम्पूर्ण कविताहरू मुक्त शैलीका छन् , टड्कारा छन् । अधिकाङ्स कविताहरूले इसाइत्व ग्रहण गरेका छन् । अथवा कवित्वको आधार इसाई आस्थामा जोडिएका छन् । बिम्ब र उपमाहरूको बेजोड प्रयोग पाइन्छ । यस सङ्ग्रहको शीर्ष कविता ‘चोट बोकेको यात्री’मा कविले भोगेको जीवन एक यात्रा हो जहाँ विभिन्न स्टेसनहरू (मोडहरू) आउँछन्, परिस्थितिवश विषम परिवेशले चोटहरू दिएर जान्छन् र जीवनलाई अर्कै मोडमा पुर्‍याउँछ । यही कुरालाई भुपेन सिन्च्युरीले सुन्दर आवरणमा उतारेका छन् जहाँ एउटा रेल कुदिरहेको छ र एउटा यात्री हतारोमा दौडिरहेको देखिन्छ, तर रेलको लिख भने देखिँदैन; सायद जीवनको यात्रामा यात्रु आफैले नयाँ मार्ग तय गरेर (सङ्घर्ष गरेर) हिँड्नु पर्छ भन्ने आशय होला ।

जीवन यात्राको एक मोडमा पुगेर आस्था फेरिएको र फेरिनुका कारक तत्त्वहरू अनि फेरिएपछि खेप्नु परेका केही साना मसिना कसरतहरूले यस सङ्ग्रहमा बडी स्थान पाएका छन् । जीवन, सत्य र मुक्ति यिसुद्वारा निश्चित छ भन्ने मूल आशय यस सङ्ग्रहले बोकेको देखिन्छ । कतिवटा कविताहरूमा इसाइत्व भन्दा बाहिर निस्केर आम जीवनमा भोगिने विसङ्गति, समसामयिक विषयवस्तुहरूलाई पनि राम्रो सम्बोधन गरेका छन् कवि काईलोले ।

सरल भाषिक शैली अपनाएता पनि कविताहरूमा लयात्मकता कम देखिन्छ भने भाव पक्ष प्रबल देखिन्छ । अनुप्रासिकता कतै देखिँदैन । इसाइत्वको परिधि फराकिलो र महान् भनिएता पनि भित्र-भित्रै केही वैयक्तिक आचरण, पदीय घमण्ड, मपाईत्व र अगुवाहरूमा अज्ञानताले मण्डलीय सतहमा बेरुजु फैलाएको अनि सङ्गतिहरू असङ्गत बनेको भावहरू पनि यस सङ्ग्रहका कवितामा प्रशस्तै भेटिन्छन् ।

अब्राहम दियालीको प्रकाशकीय, अपोस्टल ड्याभिड जेम्सको शुभकामना र कवि स्वयमको गन्थनले गर्दा बल्ल पृष्ठ न० २१ बाट कविता सुरु हुन्छ भने हिन्दी भाषाका कविता पनि समावेश भएको पाइन्छ । समग्रमा, यी सम्पूर्ण कविताहरू सरल तर चस्स हृदय छुने खालका छन् । कविको कवित्व साधना प्रखर र स्पष्ट देखिन्छ । एक चोटि पढेर मनन् गर्न योग्य छन् यस सङ्ग्रहका सम्पूर्ण कविताहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *