कृति परिचय-२:- हराएको कलम (बाल उपन्यास)

कृति:     हराएको कलम
विधा:     उपन्यास (बाल उपन्यास)
कृतिकार: मनिराम थुलुङ (राई) ‘मदन’
प्रकाशन मिति: २०७०
मुद्रण:     स्रष्टा छापाखाना, नेपाल
आवरण:  वीरु चाम्लिङ
मूल्य:      नेपाली रुपयाँ १००/-

भूटानी नेपाली साहित्यको इतिहासमा लेखिएको पहिलो बाल उपन्यास ‘हराएको कलम’ लेखक मनिराम थुलुङ (राई) ‘मदन’को भूटानी नेपाली साहित्यलाई एउटा हार्दिक सौगात हो । भूटानी नेपाली समाजमा अहिलेका अधिकांश साहित्यिक स्रष्टाहरू जीवनको कुनै कालखण्डमा अध्ययन-अध्यापनसँग र बाल मनोविज्ञानसँग सम्बद्ध रहेपनि बाल साहित्य सृजनामा यथोचित योगदान दिन नसकिरहेको बेला एउटा बाल उपन्यास नै लिएर आउनु भनेको मनिराम राईले एउटा सह्रानीय कार्यको थालनी गरेको हेक्का यो समाजले महसुस गर्नु पर्छ ।

बालसुलभ र बाल मनोविज्ञानलाई मध्य नजर गरी सरल र सहज भाषाशालीमै लेखिएको यो कृति बालबालिकाहरूकालागि पठनीय सामग्री छ । प्राय सबै पात्रहरू बालबालिका रहेका कारण र बाल्यकालमा गरिने ख्यालठट्टाहरू, नयाँ नयाँ र रहस्यमय गतिविधिहरूको घटनाक्रमले बाल बालिकाहरूमा यो कृति पढ्ने हौसला स्वतः: उत्पन्न गराउन सक्ने प्रबल सम्भावना बोकेको छ । कलिलो मस्तिष्कमा अभिभावक, शिक्षक र अन्य ठूलाबडाहरुले सुरु देखिनै सकारात्मक ज्ञान दिने, सकारात्मक कार्यहरूमा प्रोत्साहन गर्ने गरेमा भोलिकालागि असल नागरिक र असल समाज निर्माण गर्न सकिन्छ भन्ने मूल सार बोकेको यो उपन्यास कथानक, पात्र चयन, कथावस्तु र बालमनोविज्ञानका हिसाबले बालबालिकाहरूकालागि एक असल पठन सामग्री बन्न सकेको छ ।

भाषा सरल भएता पनि वाक्यहरू केही लामा देखिएका छन् र केही अवस्थामा पात्रहरूलाई आवश्यक भन्दा बढी स्वतन्त्रता दिलाइएको देखिन्छ । जस्तै, अनुसन्धान गर्ने क्रममा बाल पात्रहरू अभिभावकको अनुमति र जानकारी विना रात घरभन्दा बाहिर बिताएको घटनाक्रम छ जसले सकारात्मक सन्देश नदेला कि भन्ने आशङ्का उत्पन्न गराउन सक्छ ।

बाल्य अवस्थाका उत्सुक मनोभावले नयाँ कार्य गर्ने मनोबल, चिन्तनशक्ती र सकारात्मकतामाथि ठुलो प्रभाव पार्न सक्ने कुरालाई लेखकले यस बाल उपन्यासका बाल पात्रहरूको क्रियाकलाप र लगनशीलताबाट स्पष्ट देखाएका छन् । बालबालिकाहरूले सामूहिक रूपमा सङ्गठित भएर एकापसमा सहकार्य गर्दा र दायित्वबोध गर्न सक्दा जस्तै जटिल समस्याहरूको पनि समाधान निकाल्न सकिन्छ भन्ने पाठ पनि सिकाएको छ यस कृतिले ।

बयसट्ठी पृष्ठको यो कृति बिच बिचमा घटनाहरूलाई सचित्र सजाइएको हुनाले र प्रोभर्ब्सहरुलाई पनि स्थान दिइएको हुनाले पृथक र रोचक पनि लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *