के भयो ?
तेजमान बराइली
सिलगढी कलेज, नेपाली विभाग दार्जिलिङ
के भयो
के हुन् पर्ने हो ?
म त अज्ञानी छु।
हे ईश्वर ।
जीवन दिएपछि
आखिर तिमीले नै
लिन पर्ने हो
म भन्दिनँ कसैलाई
जिउनुको रहस्य यहाँ
म त सम्झन्छु सधैँ
उनै परम पूज्यलाई
थाहै नपाई….
मेरा पाइलाहरू
सधैँ अघि बढ्दछ
मानवीयताको आँचल भरेर
सम्झन्छु ईश्वरलाई सधैँ
द्वय अञ्जली भरेर
अझ माग्छु केही
तिम्रो नामको जपमा
मेरो जीवन्त अभिभार ।
त्यसैले सक्दिनँ यहाँ
ढुक्कले सुतेर निदाउन
तिम्रो स्वरूपको सन्धानले
म घेरिरहेको छु
सत्य, शान्ति र सद्भावना
मेरो अन्तर आत्मामा जागिरहन्छ
आकाश पातल जहीँतहीँ
म देख्छु कैयन उज्यालो
यी उज्याला छापहरूमा
खोइ ? कस्ता रङ्गहरू छन्
तर चिन्नै सकिन्न
ती रङका भावहरू
चित्रकारले कोरेका अनेकन्
क्यानभासका छापहरू
कहिल्यै अनुहार ठान्दछु
धेरै दुरत्वमा टोलाउँछु
हे ! ईश्वर यो कस्तो व्यग्रता
यति धेरै अन्यौलताहरू
कति कठिन जीवन यात्रा
कहिले घाम
कहिले पानी
म त भन्न सक्दिन
जीवनको वास्तविक कहानी
फुलिरहन्छन् फूलहरू
झरिरहन्छन् फूलहरू
यस्तै छ ….
संसारका भूलहरू
हात नभएर के हुन्छ !
खुट्टोले लेख्न सक्ने
ईश्वरीय आभाहरू
धप धप बल्ने
जिन्दगीका प्रकाशहरू
चौरमा फैलिएको शीतहरू
सूर्यको प्रकाशमा सुक्नलाई
कसरी सजिएको
कसरी फैलिएको….
कति रोएरै सुक्छन्
कति आफैँ फुट्छन्
संसारको कस्तो रहस्य
न जान्न सकिन्छ
न भन्न सकिन्छ
मान्छेको भीडभित्र हराएर
एक्लो बाँच्न कहाँ सकिन्छ
बाटोको ढुङ्गो जस्तो फ्याँकिएर
मान्छे कहाँ हाँस्न सक्छ र ?
तर पनि यो विस्तृत आकाशमा
विभेदको धर्सा कोरिन्छ
वैमनस्ययताको छाप छरिन्छ
लोक घृणा र कपटताहरू भरेर
मान्छे बाँच्न खोज्दछ
मान्छ हाँस्न खोज्दछ ? ?