केटी माग्न जाँदा

A former Bhutanese refugee, forced to leave Bhutan along with his family in 1992, I P Adhikari is a journalist living in Adelaide, South Australia. He started The Shangrila Sandesh in 2001 but did not work for the paper for long. In 2004 he, along with Vidhyapati Mishra, started the Association of Press Freedom Activists (APFA) Bhutan. In 2007 they started Bhutan News Service. He worked in The Rising NepalThe Himalayan TimesNation Weekly and Nepalnews.com while living in Nepal as a refugee.

Adhikari also taught Journalism and Development Communication for bachelor's and master's degrees in College of Journalism and Mass Communication between 2006 and 2010 in Nepal. He then moved to Australia under the resettlement program of the UNHCR for Bhutanese Refugees. In Adelaide, Australia he founded Yuba Sansar, a weekly Nepali-language radio program aired through Radio Adelaide.

आइ.पी.अधिकारी
अष्ट्रेलिया

रातभरि अनिद्राले सतायो । टाउको भ..न…न घुमेजस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कति न पिएजस्तो गरी धङ्धङे लागेको छ । उसैलाई थाहा छैन, कारण । ऊ सधैं सुत्ने कोठा पनि हैन, पलङ पनि । बिरानो ठाउँमा छ । उसलाई कुनै रोग लागेको हैन, न पेय पदार्थको माद । जन्तर-मन्तर वा भुत-प्रेतमा विश्वास नगर्ने भएका कारण उसलाई त्यसप्रति शंका पनि छैन । राती अबेरसम्म बेनिद्रा छट्पटाइरह्यो । मनमा के के कुरा खेलिरहे । जिन्दगीकै विषयमा, जीवन जिउने विषयमा ।

अघिल्लो दिन बिहानदेखि नै उसको मन पोलेको हो । धेरै छट्पटाहट्, पीडा अनि आत्मग्लानी । गरेका काममा कति पनि सन्तुष्टि छैन । काममा ध्यान गएन । मनको पीडा अक्षरमा पोख्न खोज्छ तर, हातले कलम समाउँदैन, सही अक्षर बन्दैन, उपयुक्त शब्द निस्कँदैन । उसलाई एकलै बसेर रुन मन लाग्यो । बन-जंगल, हरिया रुख-पात र प्रकृतिलाई रोएर सुनाउन मन लाग्यो । मनको बह पोख्न मन लाग्यो । निर्जन ठाउँमा बस्ने रहर जागेको छ, दिनदिनैको कोलाहल र चहलपहलबाट धेरै टाढा । तर बाध्यता हो, चाहेर पनि उसले त्यस्तो ठाउँ पाउने अवस्था छैन । मनको बह दबाएर राख्नु छ उसलाई ।

अघिल्लो दिनभरि बसको यात्रामा मन पोलिरह्यो । यात्राभर अनेक थरी कुरा मनमा खेलायो । विगतका दिनहरु सम्झ्यो । ती कति रमाइला र खुशीका दिन थिए । मनमा उमंग थियो, जीउमा जाँगर थियो अनि सोचेका हरेक कुरा पुगेका थिए । आफन्त, नातेदार वा साथी-संगी कसैको सहायताबिना पनि उसले कैयन सफलताका पाइला सारेको थियो । कति धेरै गर्ने जाँगर थियो – २४सै घण्टा काम गर्नसक्ने खुबी थियो । थालेको काम फत्ते नगरी ऊ कहिल्यै पछि हट्नु परेको पनि थिएन ।

ती सफलताका दिनहरु इतिहास बनेजस्तो लाग्छ महेशलाई आज । फर्केर आउने आश थोरै छ, यद्यपि विश्वास छैन । मौका आउँछ पर्खदैन भने झैं उसलाई लागेको छ, उसले मौकामा गर्नुपर्ने काम गरेन । काम यति धेरै गर्‍यो, कुन छुटाएको छु भन्ने उसले सोच्न भ्याएको थिएन । १८ बर्ष हुँदा परिवारबाट अलग रहेर आफैं जिउन उसले सिक्यो । एउटा स्वावलम्बी र स्वतन्त्र जीवन अनि समाजको जिम्मेवार सदस्य ।

महेशले समाजमा एउटा आन्दोलन नै हाँकेको थियो । हरेक विषयमा समाजको आँखा खोल्ने उसको त्यो आन्दोलनले ठूलै परिवर्तन ल्याएको थियो । सतही रुपमा हेर्दा ठूलो हल्ला नै त भएको हैन तर, समाजका हरेक सदस्यलाई कुनै पनि विषयमा सचेत बनाउने अभिभारा जो स्वयं सम्हालेको थियो, त्यो भन्दा अघि कसैले पनि गर्ने आँट गरेको थएन । रात-दिन त्यसैमा लागिमात्र परेन ऊ कैयौ दिन भोकै पनि बस्यो तर, थालेको आन्दोलनबाट कति पनि पछि हटेन, यात्राबाट कतिपनि विचलित बनेन ।

समाजमा उसलाई नचिन्ने कमै थिए । हिजो एक आँखाले पनि नहेर्ने, गन्तिसम्म नगर्नेहरु उसका सफलताबाट अवाक भ’का छन् । हिजो नमस्कार नभन्दा गाली खाएकाबाटै महेश नमस्कार पाउन थालेको छ । इज्जत, नाम, दाम सब पा’को छ । भौतिकरुपमा अपुग उसका लागि केही छैन । आफैंले सृष्टि जोडेको हो, चाहेको खण्डमा अरु पनि जोड्न सक्छ । आँट छ, जाँगर छ, साहस छ । उसलाई लाग्छ, यो आँट, जाँगर र साहस जिन्दगीभर रहने छ अनि विश्वास छ, उसले त्यस्तो प्रणलाई जीवन्त राख्ने छ ।

ढोकामा कसैले ढकढक गर्‍यो । उ झल्याँस्स भयो । तन्द्रा छुटेको छैन । जीउ भारी भ’को छ । विगतका कल्पना सपनासरी छन् । बाहिरबाट उसलाई कसैले बोलायो । चिया-खाजा खाने बेला भएछ । कता-कता अप्ठेरो लाग्यो उसलाई, अर्काको घरमा बोलाउनु पर्ने बेलासम्म सुतेछ । यद्यपि उसमा उठ्ने जाँगर छैन । करले उठ्यो । ऊ घुम्न हिँडेको हो, चिया-खाजा खाएर साथीहरुका साथ नयाँ ठाउँको भ्रमणमा जानु छ । मनको पीडा लुकाउनु शिवाय अरु उपाय छैन । फूर्ती देखिनु छ, नत्र साथीहरुले नै अल्छी भन्लान भन्ने डर !

उकालोमा कार बेगले दौडँदैछ । घुमाउरो पहाडी बाटो, निकै रमाइलो छ । बायाँबाट तल उपत्यकामा बसेको रमणीय शहर झलमल्ल देखिएको छ । छेउछाउ गुराँस र अरु धेरै फूल फुलेका छन् । चराचुरुङ्गीको मीठो स्वर गुञ्जीदैछ । यी सबै दृश्यहरुले भने महेशको मन तान्न सकेको छैन । उ आफ्नै कल्पनामा डुबेको छ ।

दोस्रो पटक उसको प्रयास विफल भएको छ, त्यो पनि एउटै विषयमा – जीवन संगिनीको खोजीमा । पढ्दा ताका कैयौं केटी साथीहरु थिए तर, प्रेमिका बनाउने ध्याउन्नमा ऊ लागेन । प्रेम प्रगतिको बाधक हो भन्ने विचार उसमा कसैले रोपिदिएको थियो । कैयौं बर्षसम्म उसले यो विचार परिवर्तन गर्ने मौका पाएन । व्यस्तताका कारण यतातिर सोच्न पनि भ्याएन । त्यसको परिणति अहिले भोग्दैछु जस्तो लाग्छ उसलाई ।

उसलाई राम्रो थाहा छ, बिहेको बिषय गहन हो । महिलाले आफ्नो पुरै परिवार, आफन्त त्यागेर उसँग आउने छिन् । आफू त्यसो गर्नसक्ने कल्पनासम्म पनि गर्न गार्‍हो छ । महिलाले आफ्नो पतिका लागि गर्ने त्यो त्याग र बलिदान सामान्य ममता र दैनिक व्यवहारले मात्र पूर्ति हुन्न । महिलाले आफ्नो थर र गोत्र मास्दैछन् । दश महिना बोकेर, अनेक दु:ख सहेर छोरा-छोरी हुर्काए पनि समाजले तिनलाई बाबुका मात्र छोराछोरी जस्तो ठान्छ । उसले सुनेको छैन कुनै पनि छोरा-छोरीले आफ्नी आमाको थरलाई निरन्तरता दिएको । आफ्नो वंशलाई नै तिलाञ्जली दिनसक्ने आमाको त्यो त्यागप्रति ऊ अगाध आस्था राख्छ । कता-कता उसलाई आफू आमाको थरमा जान मनलाग्छ तर, सामाजिक संस्कारअनुसार त्यो सम्भव छैन, रातारात उसले त्यसलाई परिवर्तन गर्नसक्ने पनि हैन । के विश्वास पालेको छ भने, उसका सन्तानले सिर्फ उसको मात्र थर ग्रहण गर्ने छैनन् । उसलो सोचेको यो धेरैमध्ये एउटा सामाजिक आन्दोलन हो ।

हिजो दोस्रोचोटि उसको विवाह प्रस्ताव असफल भयो । भाग्य नै त्यस्तो भनौ वा ऊ असक्षम, छुट्याउन उसलाई गार्‍हो भएको छ । उसले सुनेको थियो केटीहरु आफ्नो पति छान्ने क्रममा निकै संवेदनशील हुन्छन् । उनीहरु धेरै प्रगति गरेका र सक्षम पति चाहन्छन् । त्यसो त केटाहरु पनि त्यही चाहन्छन् ।

पहिलो प्रयासमा उसले आफ्ना प्रगतिका कथाहरु सबै बताएको थियो । आफ्नो कामको बारे राम्रो जानकारी दिएको थियो । उत्तर अप्रत्यासित आयो – कस्तो फुर्के केटो रै’छ । आफ्नै बारे पुराण लाउने ! दोस्रो प्रयासमा उसले आफ्नो बारे केही बताएन तर, उत्तर फेरी अनौठो नै आयो – यतिका उमेरसम्म केही गर्न नसक्नेले कसरी श्रीमती पाल्छन् ?

भन्दा पनि नहुने, नभन्दा पनि नहुने कस्तो अनौठो परिस्थिति ।

महेशले यो बुझ्न सकेन कि केटीहरु प्रगति वा अधोगति हैन, आफ्नो हुनेवाला पतिप्रति विश्वस्त हुन  चाहन्छन् । विश्वास नै दाम्पत्य जीवनको आधार हो, सुखी जीवनको मेरुदण्ड । विश्वास भनेर हुँदैन, देखाएर देखिँदैन, गरेर प्रमाणित हुनुपर्छ । व्यवहार विश्वासको आधार हो, पारिवारिक जीवनको पूर्वाभास ।

गाडी घच्याक्क रोकियो । महेश झसंग भयो ! निद्राबाट व्युँझे झैं भयो । गाडी त पहाडको चुचुरोमा पुगेछ । उपत्यकाको रमणीय दृश्य हेर्न साथीहरुसँगै ऊ पनि गाडीबाट बाहिर निस्क्यो । चिसो हावा बहिरहेको   थियो । मन हलुका भयो, शितल भयो !

Adhikari blogs at ipajournal.wordpress.com

2 Replies to “केटी माग्न जाँदा”

  1. Shiva lal dahal

    Ip ji,
    I appreciate ur way of presentation of the story.Do write more.At the same time i m trying to bring anthology of bhutanese nepali stories in near future.hope u will not forget to send a few stories by 2 months.

Leave a Reply

Your email address will not be published. Required fields are marked *