कोरोनासँग लड्दाको अनुभव
विकास रेग्मी तथा कुमारी पोखरेल रेग्मी
सिराकस, अमेरिका
सन् २०१९ को डिसेम्बर महिनाको प्रारम्भमा चिनको युवानमा कोरोना भाइरस फैलिएको सुनियो । समाचारको आधारमा सन् २०२० को मार्च पहिलो सातातिर यो कोरोना भाइरस अमेरिकाको वासिङ्टनस्थित एक नर्सिङ होममा देखा पर्यो । कोरोना भाइरस रोग श्वासप्रश्वासबाट एकदेखि अर्कोमा फैलिने सरुवा रोग हो । यस कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिले खोक्दा र/वा हाच्छिउँ गर्दा नाक र मुखबाट निस्केको तरल र श्वासप्रश्वास सम्पर्कबाट ६ फिटभन्दा कम दुरीमा रहेका मानिसहरूमा एकदेखि अर्कामा सर्न सक्छ ।
हामी दुवै जना नर्स चिकित्सक हौँ । हामी दुवै जना नर्सिङ होममा कार्यरत छौँ । कोभिड-१९ विश्वव्यापी रूपमा फैलिएर यसले महामारीको रूप लिए लगत्तै हामी परिवारको स्वास्थ्यको विषयमा धेरै चिन्तित भयौँ । यस भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढ्दै जान थालिसकेको थियो । विशेष गरी दीर्घ रोगी, वृद्ध- वृद्धामा कोभिड-१९ को जोखिम धेरै हुने र मृत्यु पनि यिनै अवस्थाका मानिसमा धेरै हुने कुराहरू सुनिन थाल्यो।
हाम्रा बुबा-आमा पनि त्यही जोखिम वर्गमा पर्ने भएकाले हामी उहाँहरूको स्वास्थ्यबारे त्यत्तिकै चिन्तित र आशङ्कित छौँ । दिनहुँ जसो कोभिड-१९ को समस्या बढिरहेका बेला अझ अधिकतम प्रकोप न्यू योर्क राज्यमा थियो, जुन राज्यको एक सहर सिराक्यूजमा हामी बसोबास गर्छौँ । तीव्र गतिमा फैलिरहेको यो कोरोना भाइरसले विश्वभर पुर्याएको क्षतिका बिच आफू, आफ्नो परिवार, इष्ट-मित्र, छर-छिमेकदेखि लिएर आफ्नो कार्यक्षेत्रका साथै आगामी दिनको अवस्था कस्तो हुने हो भन्ने पिरले आधा रातसम्म निन्द्रा नलाग्ने त भइहाल्यो, तर हाम्रो दैनिक कार्य तालिका नै फेरिन पुग्यो । हामी स्वास्थ्यकर्मी भएको नाताले यस्तो महामारीको बेला स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु हाम्रो दायित्व सम्झेर सिराक्यूज भूटानी समाजको फेसबुकमार्फत मार्च २७ को दिन हामीले प्रत्यक्ष प्रसारण गरी आफूले जाने बुझेका कुराहरू सतर्कता र सचेतनाको लागि प्रसारित पनि गर्यौँ ।
हामीले हाम्रो जागिरलाई पनि निरन्तरता दिन छोडेनौँ । दिनप्रतिदिन कार्यक्षेत्रमा पनि कोभिड-१९ का नयाँ केसहरू एकपछि अर्को गर्दै बढ्न थाल्यो। उपचारका क्रममा धेरै वृद्ध-वृद्धाको ज्यान बचाउन सफल भयौँ । सफलताका वावजुद पनि कतिको ज्यान गुम्यो । यस्तो दुखद् अवस्थामा आफ्ना कलिला २ छोरीको (२ र साढे ३ वर्ष) चिन्ताले जति सताए पनि नर्सिङ होमका वृद्ध-वृद्धा हाम्रा बुबाआमा जस्तै प्यारा भएकाले जागिरमा नजाने भन्ने कुरा मनमा कहिल्यै आएन । यस्तो अवस्थामा उनीहरूको सेवा गर्नु झन् अहोभाग्य ठानेर आफ्नो दायित्व र जिम्मेवारीलाई निरन्तरता दियौँ ।
कोभिड-१९ पछिको हाम्रो पेसागत वातावरण पनि फेरिएको छ । अहिले हामी व्यक्तिगत सुरक्षा सामग्री (गाउन्, पन्जा, मास्क, मखुन्डो कवच) आदि को प्रयोग गरेर मात्र रोगी र अशक्तहरूको जाँच गर्छौँ। कामबाट घर आउँदा नानीहरू बाबा-आमा भन्दै झुमिने हुनाले सुरक्षा सामग्री प्रयोग गरे पनि मनबाट डर र चिन्ता भने कहिले पनि भागेन। कर्मचारी पोसाकलाई बाहिर गराजमा खोलेर नानीहरूलाई छुन नदिईकन नुहाएर मात्र उनीहरूसँग अङ्कमाल गर्ने गर्यौँ ।
अप्रिल २५ को दिन अचानक हामीमध्ये एक (विकाश) लाई रुघा खोकी र ज्वरोले चाप्यो । हामी कोभिड-१९ का बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी भएकाले पक्कै पनि कोभिड-१९ को सङ्क्रमण हुनसक्छ भन्ने शङ्का लाग्यो र छिटो-छिटो सिराक्यूज सामुदायिक स्वास्थ्य केन्द्रमा गएर जाँच गरायौँ । नतिजा निस्किन ३-४ दिन लाग्ने भएकाले त्यतिञ्जेल हामीलाई क्वारेनटाइनमा बस्न लगाइयो । घरमा नाबालक बच्चाहरूबाट टाढा बस्नु अकल्पनीय कुरा थियो । अन्य कारणको बिमार पर्दा त आफन्त र इष्ट-मित्र आउने-जाने, सहयोग आदान-प्रदान हुन्थ्यो तर यो कोभिड-१९ सङ्क्रमणको शङ्का लागेपछि कसैसँग भेटघाट नगर्नु भन्ने विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन पनि हामीलाई थाहा थियो । त्यसैले हामीहरू कोभिड-१९ जाँच गराएर आएको र नतिजा नआइन्जेलसम्म कोही पनि हामीसँग भेटघाट नगर्दिन सबैमा आग्रह गर्यौँ। तर हामीलाई त्यो ३-४ दिनमा आउने नतिजाको पर्खाइ ३-४ महिना जस्तै भएको थियो। आफ्ना नानीहरूलाई सुरक्षित राखी आफू जोगिन हामीले निरन्तर मास्क लगायौँ । बिचरा हाम्रा नाबालक छोरीहरू ! कसैले मास्क तानिदिने त कसैले “मास्क नलाउनु, अनुहार देखिन” भन्ने गर्थे । उनीहरूलाई बुझाउने हामीसँग कुनै सजिलो जवाफ पनि थिएन। तेस्रो दिन बिहानै फोनमा घण्टी बज्यो। फोन उठाउँदा डरले थरथर हात काँपे। दुवै जनाको नतिजा नेगेटिभ आएको खबरले हाम्रो खुसीको सीमा रहेन। त्यो अनुकूल नतिजापछि हामी फेरि काममा फर्कियौँ । काममा पनि फटाफट कोभिड-१९ जाँच गर्ने क्रममा एकपछि अर्को गर्दै कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको थियो । भाइरसको सङ्क्रमण अनियन्त्रित भएका कारणले नर्सिङ होममा भेट्न आउन प्रतिबन्ध लगाइयो। बिचरा ती आफन्त, छोरा-छोरीहरू आफ्ना बाबाआमा हेर्न आउनलाई कति आतुर छन् । दिनहुँ फोन गरेर हामी बिरामीका परिवारलाई सान्त्वना दिन्छौँ तर समय भने यस्तो अन्योलपूर्ण छ कि हामीसँग के खाँदा, कुन औषधिले यो रोग निको हुन्छ भन्ने ठोस प्रमाण पनि अहिले सम्म फेला परेको छैन। न यसको खोप नै बन्न सकेको छ न कुनै आशा लाग्दो उपाय नै ।
एक दिनको कुरा हो एउटी वृद्धा आमालाई कोभिड-१९ ले च्यापेको थियो । उहाँका परिवारलाई फेस टाइम मार्फत आमासँग गफ गर्ने मौका दिइयो । यस लगत्तै भोलिपल्ट आमाको मृत्यु भयो I परिवारले अन्तिम समयमा आफ्नो आमालाई भेट्न नपाउँदा फोनबाट यति धेरै रोएका थिए कि यहाँ बयान पनि गर्न सम्भव छैन। आफ्नी आमालाई प्रत्यक्ष देख्न नपाए पनि हिजो मात्र फोनबाट फेस टाइम गर्ने मौका मिलेकोमा उनीहरूले धेरै धन्यवाद दिए।
मई महिनाको १ तारिख एउटा कहालीलाग्दो घटना भयो, जसमा २४ घण्टाभित्र ६ जना कोभिड-१९ सङ्क्रमित बिरामीहरूको ज्यान गयो । अन्योलपूर्ण वातावरणमा आत्तिएको मन मस्तिष्कमा मानसिक तनाव परेको बेला आफ्ना स-साना छोरी र ती वृद्ध-बृद्धालाई सम्झेर धेरै रोयौं । जब न्यू योर्क गभर्नर माननीय उण्ड्रो कुमोले नर्सिङ होममा कार्यरत सबैलाई हप्तामा २ पटक कोविद-१९ जाँच अनिवार्य गर्नु भयो, तब मात्र हामीलाई पूर्ण सुरक्षाको अनुभूति भयो। आजसम्म हामीले १८ चोटि कोभिड-१९ जाँच गरायौँ। भाग्यवश सबै नतिजाहरू नेगेटिभ आइरहेका छन्।
आदरणीय सम्पूर्ण महानुभावहरू, समग्रमा भन्नु पर्दा यो व्यक्तिगत सुरक्षा सामग्रीको सदुपयोग गर्दै स्वास्थ्य संस्था र यससँग सम्बन्धित सरोकारवालाले जनताको हितमा जारी गरेका निर्देशनको पालना गर्यौँ भने यस्ता महामारीबाट आफू बचेर अरूलाई पनि बचाउन सकिने रहेछ ।