खुला सपना

कुवेर कुईकेल ‘भुवानेटारे’
मासाचुसेट्स अमेरिका

मिठो छ नित्य सम्झना अमुल्य उच्च कल्पना
दिनौ अभिन्न सोच त्यो स्वतन्त्र भूमि कामना
सुतेर सत्य हुन्न त्यो डटेर लढ्नु पर्दछ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

धनी स्वतन्त्र राष्ट्रको ल नित्य सोच बोक्नु छ
निसाफ खोज्न भूमिमा उदार नीति रोज्नु छ
हटाइ भ्रष्ट दासता सुखी भबिष्य झर्दछ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

समानता सशक्कता समाजमा कसै गरी
धनाढ्य दीन देशको निसाफमा बराबरी
स्वराज एक शक्ति हो लडेर मात्र मिल्द छ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

पुरा हुँदैन लक्ष त्यो सुतेर नीदमा परे
पुरा हुँनेछ नीद त्यो स्वदेश प्रीतमा मरे
शहीद पुत्र राष्ट्रको सगर्व प्राण त्याग्दछ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

शरीर मार्छ शत्रुले सुसोच बँच्नु पर्दछ
स्वतन्त्रता नयाँ शिरा सुशान्ति रोज्नु पर्दछ
अपुर्व क्रान्ति आजको सुशान्ति भोलि छर्दछ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

विपन्न वज्र भूमिमा समृद्धि रोज्नु पर्दछ
दरिद्रता र दासता सफाइ पार्नु पर्दछ
नयाँ बिहान आउँदा सशक्त देश बन्नु छ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

दिवाल तोड्न दम्भको प्रजा सशक्त बन्नु छ
भबिष्य लेख्न देशको गरीव उठ्नु पर्दछ
उठेर सिंह गर्जना गरेर देश बोल्नु छ
खुला रहेर चक्षुले ल स्वप्न देख्नु पर्दछ

छन्द – पञ्चचामर

Leave a Reply

Your email address will not be published. Required fields are marked *