गजल-३०७
टेक भण्डारी- एडिलेड, अष्ट्रेलिया
जीवन र म अनौठो यात्रा खेल्दै थियौं
कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।
उर्लिएको भेलमा…माछा पौडिएसरी
मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।
संगै हिँड्यौं डाँडा-पाखा अनि शहरमा
मृत्युको बाटो पनि हामी छेल्दै थियौं ।
पछी पछी आउँदै थियो त्यो काल यतै
भाग्न अर्कै संसारमा भारी ठेल्दै थियौं ।
अचानक सिपाहीहरु आएर तेर्सिदिँदा
सासै रोकिएझैं भएर घाँटी बेल्दै थियौं ।
निष्ठुरी दैव नजाती हर्नैपर्ने जीवनलाई
आखिर मिलेरै जाल त्यो जेल्दै थियौं ।