गजल-३१४
टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया
तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै
चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै!
वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर
मलामी बिच रम्दै थिएँ म शंखको तालमा रमाउँदै!
तिमी सातफेरा घुम्दै दूध दही अक्षताले पुजिँदा
अग्नि रापमा जल्दै थिएँ म हर्षका आँसु खसाउँदै!
तिमी प्यासले जवानी लुटाई रहँदा सुहागरातमा
धर्ती माँझ सड्दै थिएँ म अन्तिम उत्सव मनाउँदै!