गजल: ३४४

Writer
Writer
यतिराज अजनबी
एड्लेड अस्ट्रलिया

जमानाका साथीहरूका, सबै नाम सोच्दैछु
परेका बेला लागेकाथे, कोको काम सोच्दैछु

साथीको खोल ओढी, सानो सहयोग गरी
कसकसले लिएकाथे, ठुलो दाम सोच्दैछु

यौटै धारामा धोइने, हातहरू धारे परे
धन्य ती हातहरूलाई, म सलाम सोच्दैछु

लर्खराएका खुट्टा, लर्बराएको जिब्रो अनि
भट्टीका उसका ठुला, कुरा तमाम सोच्दैछु

मातेको मान्छेको भाषणले, पनि त्यो देशमा
कसरी गर्न सक्या होला, चक्काजाम सोच्दैछु

समयको घोडाले, यसरी दौडायो मलाई
अँचेट्न यस्लाई बनाऊँ, कस्तो लगाम सोच्दैछु

मग्मगाउने महँगो, बासमती छ थालमा
तर मनग्य पाइने, त्यो सिलाम सोच्दैछु

पहिला उसलाई नदे, केही दिदैन यो सहर
सबै निःशुल्क दिने त्यो, आफ्नो गाम सोच्दैछु

बहुमूल्य हिरा मोति, जुहारत छन् हातमा
यिनकै लागि पिटिने, त्यो फलाम सोच्दैछु

नभ्याई नभ्याई पनि, जाँदैछु सबैको जन्ती
मर्दा म आउलान्, को को मलाम सोच्दैछु

सबै गर्छन् वर्णन्, यहाँ ताजमहलको
अवर्णित इँटाको, वर्णनीय काम सोच्दैछु

गिर्जाघरहरूको सहरमा, एक हिन्दु पूजारी
कसरी गुजार्दा हुन् दिन, अविराम सोच्दैछु

करमधाममा छु, छु म गरम घाममा
परमधाम पुर्‍याउने, ओठको डाम सोच्दैछु

घाममा हिँड्दा पनि, धाममा पुगे जस्तो हुने
घुमघाम प्रेयसीसंगका, धुमधाम सोच्दैछु

उसको वरिपरि घुम्थे, नवै ग्रह कुनै बेला
कसरी भएकोथ्यो ‘अजनबी’ घाम सोच्दैछु

Don't have a Facebook account? Please, use the form below with other options!