गजल – ४७९
बहादुर वालिङ राई
मेरिल्यान्ड, अमेरिका
मीठो मिलन अघि क्षितिजजस्तै दुरी हुनुपर्छ
प्रेम अमर रहन थोरै दुरी र मजबुरी हुनुपर्छ ।
हो ! म अपराधी हो सत्य बोल्नु अपराध हो भने
तिम्रो अदालतमा मेरै नामको धेरै उजुरी हुनुपर्छ ।
मेरै सहारा लिएर शिखर पुगेको मान्छे हो ऊ
फेरि मलाई सम्झन उसलाई मेरै जरुरी हुनुपर्छ ।
प्रदूषणको गन्धकी हटाउनु छ भने तिमी आफैँले
कहिले बर्सातको भेल, कहिले हावाहुरी हुनुपर्छ ।
माटो त सम्झिए पुग्छ, आफ्नै चिनारी बाँच्नु पर्छ
मेरो चिनारी म मर्दा सिरानीमा खुकुरी हुनुपर्छ ।