गिद्धले पर्खिएकी चरी

भानु ढुङ्गाना
क्यानाडा

मैले त पेट भरी खाएँ आमा
यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा

हो आमा !
गरिबीको रेखामनि जन्माएनौ
दुःखको पहाड मनि लुकाएनौ

हो बाबा
पराईको नकुरे बनाएनौ
मैले त पेट भरी खाएँ आमा
कुपोषणले सकिएको बनाएनौ

हो बाबा
आज म हेर्दै छु दक्षिण अफ्रिकालाई
हेर्दै छु सोमलियालाई
हेर्दै छु कुना कन्दराका
निमुखाहरूलाई
आवाज आईरहेको छ
सबैको प्रतिनिधित्व
लय गुञ्जायमान कवितामा

००

दुःखसँग जिउनू पर्छ कुनामा
परि चरी मैना बन्द थुनामा?
तन थुनी राखी जानु छ खाली
गह भरी अश्रु दयनीय गाली।

कति हो कमलो कोमल गारो
अन्तर दिल यो मुर्छित पार्‍यो।
तप-तप आँसु तप्की रहेछ !
जीवन रोदन, हाय ! कहे छ!

सन्दुकभित्र चित्र सजाई
बस्नु छ प्राण अश्रु बगाई
मन अरू छैन काग बनौँला
अमरावतीको सेवक हौँला।

धनपति बन्ने लाखहरूमा
न त मन मेरो जोडी अरूमा
केवल समता जाग्न म पाउँ
समथर आफैँ श्रम गरी खाऊँ

बन्धन मुक्त पारी मलाई
दिनु त्यो हृदय कन्चन,लाई
दुःखको भुमरी मुक्त गराई
मानव जीवन चिन्तन आई।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *