गुराँसको रंग

जीतेन सुब्बा मुस्कान / बेलडाँगी

मेरी बिरामी आमालाई
मेरो आलो रगत पठाएको बेला
ठिकै छ तिमीले गुराँसको रंग भन्यौ अरे,

मेरी आमाको म सम्म हिँड्ने
सम्झनाका बाटाहरु छेकेर
यो मुस्कान सारै चोर,
सारै फटाहा,
सारै विद्रोही  भन्यौ अरे,

यो मुस्कानको चोक्टा चोक्टा लुछेर
लखेट्नु पर्छ जीवनदेखि जीवनसम्म भन्यौ अरे
ठिकै छ मविरुद्ध छापामार युद्ध लड्दै गर,

तिम्रो मुठ्ठी मुठ्ठीबाट फुत्त फुत्किएर
उम्किँदै गरेको मेरो प्राणलाई
उघ्रेको क्षितिजसम्म पुग्न नपाउँदै
घृणाका ढुङ्गाहरुले हिर्काएर
उत्तानो पार्ने प्रयास गर्यौ अरे,
प्रकृति जस्तै उदाङ्गो बनायौ अखबरहरुमा
पहिलो पृष्ठको उदाङ्गो,
निर्वस्त्र तस्वीर देखाउँदै
‘यी…मुस्कानले स्वातन्त्रता प्राप्त गर्दैछ’ भन्यौ अरे…?
ठिकै छ मेरो खिल्ली उडाउँदै झ्याली पिट्दै गर,
चिसो बन्दुकको नाल छातीमा तेर्स्याएर
‘फूल’ले स्वागत गर्दै
आतङ्कवादीको ताम्रपत्रले
अभिनन्दन गर्दै
यो देशद्रोही हो भन्यौ अरे,
विश्व ब्रह्माण्डको आँखामा
षड्यन्त्रको डोकोले छोपेर
कृष्णको अदालतमा
मुस्कानलाई फाँसी देऊ,
मुस्कानलाई फाँसी देऊ,
भन्दै करायौ अरे,
ठिकै छ कराउँदै गर,
तर म बन्दुकको नाल-नालमा शब्द भर्ने मान्छे,
कलम कसम,
हो कलम कसम,
श्रीमान् बन्दुकको नाममा
मसँग एउटा पुरानो कलम छ !

 

One Reply to “गुराँसको रंग”

  1. prakashdhamala

    मेरी बिरामी आमालाई
    मेरो आलो रगत पठाएको बेला
    ठिकै छ तिमीले गुराँसको रंग भन्यौ अरे

    जितेन दाई मलाई यी र येस्तई हरफ हरु ले छोयो …….. सच्चि हामी हुनुमा तपाई र मैले गर्ने गर्व उस्तै उस्तै छ / कविताका आखाबाट सामन्त संस्कारका पृष्ठभुमि उटाकोमा धन्यवाद ……………. दाई मेरो सलाम छ- सिर्जना अनि सर्जकलाई
    प्रकाश भाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *