गोजमुमो प्रमुख विमल गुरुङलाई पत्र

सुशील पोखरेल
दक्षिण अष्ट्रेलिया

माननीय विमलज्यू,
हार्दिक अभिवादन,

गोजमुमोको ४ वर्षको निरन्तर शान्ति आन्दोलनको परिणाम स्वरुप गोर्खा टेरिटोरिएल एड्मिनिष्ट्रेशन (जीटीए) प्राप्त गर्न सफल हुनुभयो । यस उपलब्धिको निम्ति तपाईँ र तपार्इँका साथीहरुमा मेरो हार्दिक शुभकामना ।

जीटीए सहमतिपछि गत महिनाका समाचार पत्रहरुमा अनेक सकारात्मक – नकारात्मक प्रतिक्रिया आए । गोर्खाल्याण्ड आन्दोलनले एउटा ट्रयाक पक्ड्यो भन्ने केही राजनीतिक विश्लेषकहरुको मन्तब्य पनि छ । जीटीएपछि अब गोर्खाल्याण्ड आन्दोलन सकियो भन्ने हरुको पनि कमी थिएन । तपाईँ भन्दै हुनुहुन्छ गोर्खाल्याण्ड आन्दोलन जारी रहने छ । यो तपाईको रणनीतिमा निर्भर रहने कुरो हो । कुनै समय सुवास घिसिङले पनि यस्तै खाले अभिव्यक्ति दिएका थिए । जसरी ठूलो आशा भरोषा दिलाएर उनी उदाएका थिए अन्ततः हिल काउन्सिलको प्रपञ्चमा बिलाए । कुनै खास उपलब्धि प्राप्त हुनको साटो दार्जीलिङ रुखियो । उनको राजनीतिक माइनस चिन्तनले दार्जीलिङ जहीँको त्यही रह्यो । त्यसताक लामो आन्दोलनको अन्तरालमा जनता कंगाल भएका छन् भन्ने कुरो जगजाहेर छ । दर्जनौंले ज्यान गुमाए । सयौं घरविहीन भए । अनेक घरहरु जलाइए । पहाडको विकास ठप्प बराबर भयो । अनेक समस्या जन्मिए । बेरोजगारीले चुली छोयो । संसारभरी नाम कमाउन सफल दार्जीलिङको शैक्षिकस्तर घटेर रसातलमा पुगेको अनुमान छ धेरैको । त्यसताकको सशस्त्र आन्दोलनले विशेष गरी युवा पुस्तालाई गलत बाटो तिर धकेल्यो । शुरु शुरुमा विप्लव र रक्तक्रान्तिले समस्याको समाधान हुन्छ भन्ने जनधारणा नै बनेको थियो । अन्तमा घिसिङ साहबको संसार भरीका गोर्खेहरुलाई समेट्ने बृहद् राजनीति खुम्चिएर जातिमा मात्र सीमित रह्यो ।
विमलज्यू, तपाईँहरुको शान्तिपूर्ण आन्दोलन वास्तवमा एउटा नमूना थियो । वर्षौं हतियार उठाएको युवा पुस्ताले हठात् शान्तिको बाटो कसरी रोज्यो । कसरी उनीहरु सहमतिमा आए । यो उदेकलाग्दो विषय थियो । त्यसताक भएका हत्या, हिंसा र अपरिपक्व राजनीतिक शैलीबाट जनता वाक्क दिक्क पनि भएका हुन् । अन्ततः गान्धीवादी शैलीको शान्तिपूर्ण आन्दोलनलाई विश्वास र भरोषाले जनताले साथ दिए तपाईँलाई । धेरैको घरमा चुलो जलेन, धेरै नानीहरुले स्कूल छोडेर प्रदर्शनमा भाग लिए । स्कूल र कलेज बन्द गरिए । चिया बगान बन्द गरेर श्रमिकहरुले तपाईँको साथ दिएका हुन् । जन साधारण मात्र को के कुरा, सरकारी कर्मचारीले समेत समर्थन दिए । पहाड लगायत सिलगढी र डुवर्सका जनताले तपार्इँको शान्ति आन्दोलनको अनुसरण गरेका हुन् । जीटीए गोर्खाल्याण्ड होइन तर यस मार्फत् दार्जीलिङ र तराई डुवर्सको सर्वाङ्गीण विकास मात्र नभएर यी क्षेत्रहरुको स्वरुपनै परिवर्तन गर्न सकिने कुरो नकार्न सकिन्न । यो कामले जीटीएको स्थायित्व र तपाईको राजनीतिक भविष्य समेत निर्धारण गर्नसक्ने कुरो निश्चित छ । गोरामुमोदेखि गोजमुमो सम्मका विगत दशकहरुका राजनीतक आरोह – अवरोहलाई ध्यानमा राख्दै भविष्यका दिनहरुमा दार्जीलिङ पहाड र तराई डुवर्सको राजनीतिक परिवर्तन र स्थिरता तपाईँको निम्ति अहम् विषय हो । यस विषयमा निश्चय पनि तपाईँ गम्भीर रहनु भएको छ । कुनै समय गोरामुमोको जङ्गी आन्दोलनमा डुवर्सका जनताले घिसिङलाई दिलोज्यानले सघाउ पु-याएका हुन् तर यो क्षेत्र सधैँ उपेक्षित नै भएर रहेको छ । उपर्युक्त विषयलाई ध्यानमा राख्दै गोरामुमोद्धारा भएको गल्ती तपाईद्धारा न देहोरियोस्, यसपल्ट सिलगढी र तराई डुवर्स अवहेलित नहोस् भन्ने शुभाकांक्षा हो मेरो ।

विमलज्यू, आन्दोलन गर्न जति सजिलो छ, प्रशासन चलाउन त्यति सहज निश्चय पनि हुने छैन । यी भिन्न भिन्न पक्ष हुन् । अबको समय भनेको जीटीएको कुशल प्रशासन सँगसँगै गोर्खाल्याण्ड प्राप्तिको आन्दोलन पनि जारी रहनुछ । बाधा र विरोधहरु अरु थपिने निश्चि छ । यो तपाईँदेखि लुकेको कुरो होइन । बङ्गाल प्रशासन र पार्टीले उक्साएका पालतू तत्वहरुले गोजमुमोको शान्ति आन्दोलन दिशाहीन तुल्याउने भरमग्दुर प्रयाश गरेका हुन् । पटक पटक विदेशीको लाञ्छना लाउने कतिपय तत्व सक्रिय रहेका छन् । अझ पनि उनीहरुको सुगबुगाहट जारी छ । हिजो लुङ्गी बेरेर काँडेतारबाट भित्र छिरेकाहरुले आज भूमिपुत्रहरुलाई बिदेशी भन्छ । छिरेको २४ दिन नबित्दै उनीहरुको राशिन कार्ड अनि गाँस बाँस र कपासको समेत प्रबन्ध भइ सकेको हुन्छ । तर माटोसितै जन्मिएका गोर्खेहरुलाई बिदेशीको लाञ्छना लाउनु बिडम्बना होइन भने अरु के हो त ! भोटको राजनीति हो यो । कसले यो गर्दैछ भन्ने विषय अलग हो । विरोध गर्नेले नै समर्थन दिएपछि कसको के लाग्छ र ! माटो र जतिको अस्तित्वको निम्ति तपाईँहरुको लडाईँ चूडान्त रुपले अस्तित्ववान् छ अनि रहने पनि छ । यसै कारण विमलज्यू, विदेशीको लाञ्छनाबाट मुक्त हुने स्थायी समाधान भनेको गोर्खाल्याण्ड नै हो । अनि जनताले पनि यो चाहेको हो । गोजमुमोको विगतको आन्दोलनमा तपाईँले जनतालाई दिएका प्रतिश्रुतिहरु नबिर्सनु होला । बाचा र सङ्कल्प न भुल्नू होला । जनताको निम्ति जीटीए परिस्थितिले जन्माएको एउटा वाध्यात्मक उपलब्धि मात्र हो । आन्दोलनमा जनता नाङ्गिएको मात्र छैन धेरैले ज्यान समेत गुमाएको छ । यो तपाईँलाई थाहा नभएको कुरो होइन । तपाईँ आफैँ शहीद वेदीमा माल्यार्पण गर्दै हिँड्नु भएको छ । जीटीए भनेको यस लडाईँको पहिलो अध्याय मात्र हो तर गोर्खाल्याण्ड यसको चूडान्त समाधान हो । यसैमा समस्त गोर्खेहरुको अस्तित्व निर्भर रहेको छ । दागोपापमा जसरी घिसिङ हराउँदै गए त्यसरी नै जीटीएमा तपाई नहराउनु होला । आन्दोलन सकिएको छैन ।

विमलज्यू, जीटीए दागोपाप जस्तो खुम्चिएको प्रशासन हुनेछैन भन्ने जनविश्वास छ है…………। यो विश्वास बाँचेरै रहोस् । अहिले जनतालाई विकास चाहिएको छ । विकास भन्नाले रोकिएको योजना जारी राख्ने । नयाँ ठूल्ठूला योजनाको तर्जुमा गरी पहाड भित्र्याउने । दार्जीलिङ पहाड र तराई डुवर्स लगातारको आन्दोलनले क्षतविक्षत छन् । बेरोजगारीले सीमा नाघेको हुनाले युवा पुस्ता भौंतारिएको अवस्था छ । चिया बगान, सिन्कोना र कुनेन जस्ता बगानका कतिपय श्रमिकहरुको घरमा राम्ररी चुलो बल्न सकेको छैन अझै पनि । यी श्रमिकहरुको घरमा कहिले पनि मधुमास आएन । एकछाक मिठो मसिनो जुटाउन निकै शरीरिक कसरत गर्नुपर्ने वाध्यता छ उनीहरुलाई । लगातारको बन्दले व्यापार सुकेको छ भने बाटोघाटो जर्जर रहेको कुरो तपाईँदेखि लुकेको छैन । मिरिक, तीनधारे, सेल्पू, लाठपञ्चर, सिटोंङ, मङपू, टिष्टा भेल्ली, लप्चु– पेशोक क्षेत्र भित्रका कतिपय गाउँहरु विकासको अभावमा जर्जर छन् । यी क्षेत्रका सडकको दुरवस्था भनि रहनु पर्ने छैन, जग जाहेर छ । गाउँमा गरिवी छाएको छ । वर्षौंदेखि यहाँका सडकहरुले मरम्मती र स्याहार–संहार पाएका छैनन् । आफ्नो जातीय भाषाका स्कूलहरु जर्जर अवस्थामा छन् । दार्जीलिङ, खरसाङ कालेबुङ आसपासका क्षेत्र वर्षौंदेखि उपेक्षित छन् । गोरुबथान, बाग्राकोट, सामसिङदेखि झोलुङ, रोङ्गो, गैरीबास सम्मका समस्त क्षेत्र अझै पनि विकट बनेका छन् । यहाँका कतिपय ठाउँमा मानिस बिरामी पर्दा गाउँबाट मोटर बाटोसम्म डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था अझै छ । एम्बुल्यान्सको कुनै व्यवस्था छैन । यहाँ विकासको लहर सपना मात्र भएर रहेको छ । पेदोङ, अलगडा क्षेत्रमा प्रभावी विकास छैन । व्यापक गरीवी छ यी क्षेत्रहरुमा । खानेपानी र बिजुली निर्यातमा निरन्तरता अनि स्वस्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो अबको पहिलो काम हुनपर्छ भन्ने मेरो सल्लाहा हो । वर्षौं शासन गरेर पनि दागोपापले उपर्युक्त क्षेत्रहरुमा जनस्तर उकास्ने कुनै प्रभावकारी योजना कहिल्यै ल्याएन । अब जीटीए पावरमा आयो । जनता आशावादी छन् । जीटीएको योजनाहरुमा यिनीहरुको मुहार उज्यालो पार्ने अनेक प्याकेज हुन सक्ने छन् । संसारको निम्ति चासोको विषय बनेर रहेको दार्जीलिङको टोय ट्रेनको अवस्था हेर्नुहोस् । ब्रिटिश गएपछि टोय ट्रेन पनि थोत्रिएर रहेको छ । यसको थप विस्तार एवं सुन्दरीकरण आजको खाँचो हो । तपाईँले जीटीए क्षेत्रभित्र एउटा विश्व–विद्यालयको निश्चय पनि खाँचो अनुभव गर्नुभएको हुनपर्छ । दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिक जस्ता जन घनत्व भएको ठाउँमा खानेपानीको बृहत् योजनाको तर्जुमा गर्नु आजको नितान्त आवश्यकता हो । कमसे कम पचास वर्षसम्मको निम्ति योजना ।

विमलज्यू, प्रत्येक शिक्षा सत्रमा गोर्खे विद्यार्थीले अनेक झमेला ब्योहोर्नुपर्छ । सालमा हजारौं गोर्खे विद्यार्थी मधेश झर्छन् । उपेक्षित हुँदै उनीहरुले पढ्नुपर्ने वाध्यता छ तलका स्कूल, कलेज र विश्व – विद्यालयहरुमा । पहाडमा प्रदर्शन हुँदा सिलगढीका चोक, बजार, गल्ली र विश्व विद्यालयमा गोर्खे विद्यार्थी कुटिन्छन्, लुटिन्छन् । कति महिला अभद्र व्यवहारका शिकार भएका छन् भने कति बलत्कृत पनि भए । कतिका घरमा ढुङ्गा हानिए । गोर्खे आन्दोलनको समयमा समतलमा संत्रशको वातावरण छाउँछ । हिँड्दै गरेको बस रोकेर अनुहार हेरी गोर्खे जतिलाई बसबाट बाहिर निकाली लात मारेका अनेक घटना कसैदेखि लुकेका छैनन् । कति सहने जन साधारणले । ब्रिटिश गएदेखि यताका दशकहरुमा दार्जीलिङ पहाडका जनताले सहदै आएका छन् । पुस्तौंसम्म पछाडिएको छ गोर्खे जाति । पछिको यो २९ वर्षको शासन कालमा त हदै भएको छ । सरकारी कर्मचारी नियुक्त गर्ने बेलामा कहाँ मेदिनीपुर, मालदा अथवा हवडाको कुनै गैर–गोर्खेलाई नियुक्त गरिने परम्परा कसैदेखि लुकेको छैन । अन्तर्वार्तामा फेल पारिएको बिचरो गोर्खे ठिटो रित्तो हात घर फर्कन्छ । अब यस्तो परम्पराको अन्त हुनपर्छ विमल ज्यू ! जीटीए क्षेत्रको जागिरमा जीटीएकै गोर्खे युवाको नियुक्ति हुनुपर्छ । ठूल्ठूलादेखि ससाना विकासका योजनामा गोर्खेले प्राथमिकता पाउनु पर्छ ।

बेरोजगारी निर्मूल पार्ने अनेक साना–ठूला आर्थिक योजना, बेरोजगार महिलालाई विभिन्न खाले सीपमूलक तालिम, बाल विकासका योजना, शिक्षामा गुणस्तर सुधार, शरह र गाउँका गरीब परिवारको घर निर्माणको निम्ति आर्थिक अनुदान, योग्यता अनुसारको जागीर, ब्यापार व्यवसायको निम्ति सरकारी त्रृmण, महिला बेचबिखन विरुद्ध प्रभावकारी कानून मार्फत प्रशासनको सक्रियता, स्वस्थ्य क्षेत्रमा जनतालाई मेडिकेयरको व्यवस्था अथवा आर्थिक रियायतको व्यवस्था, ड्रग जस्तो भयानक लागू पदार्थको सञ्जाल पहाडमा व्यापक छ । यसको ओसार पसार विरुद्ध लगाम कस्ने काम, सरकारी रशिन वितरण व्यवस्था पारदर्शी जस्ता विषयलाई जीटीएले प्राथमिकता दिनुपर्छ भन्ने मेरो स्वच्छ सल्लाहा । यी विषयहरुले नै गोजमुमो राजनीतिक भविष्य निर्धारण गर्नसक्ने छ भने जीटीए पनि प्रभावकारी भएर रहने छ भन्ने कुरो यहाँ स्पष्ट पार्न चाहन्छु ।

विमल ज्यू, जीटीए समाहित क्षेत्रमा मानव श्रोतको निश्चय पनि कमी छैन । गत महिना सिलगढीको एउटा नेपाली दैनिकमा “हाम्रोमा एउटा राज्य चलाउन सक्ने जनश्रोत छ” भन्ने तपाईँको अभिव्यक्ति निश्चय पनि बकम्फुसे होइन । यसमा सत्यता छ । जीटीए क्षेत्रभित्र निश्चय पनि जनश्रोतको कमी छैन । तर यस शक्तिलाई समुचित ठाउँमा लगाउने काममा पारदर्शिता चाहिन्छ है………। बुझ्नुहोला पार्टीगत राजनीति र प्रशासनिक गतिविधि फरक विषय हो । जीटीएको सर्वोच्च पदमा आफू नरही यसको संस्थापक संरक्षक बनेर तपाईँले सबै क्षेत्रको अनुगमन गर्नसक्दा साह्ै उचित हुने देख्छु । अचेल भ्रष्टाचार देशभरी व्यापक भएर रहेको कुरो जग जाहेर छ । करप्शनका कारण मन्त्री, विधायक र सांसदसम्म कार्यवाहीमा परेका अनेक घटना छन् भारतमा । जीटीएको विकासको पैसा कसैको गोजीमा नजावस् । जीटीएलाई यस अपवादबाट अलग राख्नुसक्नु भयो भने यो नै जन विश्वासको दह्लिो आधार हुनेछ । जीटीएको एउटा अलग ईमेज बनेर रहोस् दार्जीलिङमा । स्वच्छ प्रशासन दिनसक्नु भयो भने गोर्खाल्याण्डको लागि अगाडि मार्ग प्रशस्त हुनेछ ।

तपाईँको शुभचिन्तक,
सुशील पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *