गोधुली साहित्य चौतारी:- एक परिचर्चा
भानु ढुङ्गाना
हिजो पनि थियो र आज पनि छ । शुभकाना छ भोलि पनि रहोस् । निरन्तर रही रहोस् ।
खुदुनाबारी शिविरदेखिको नासो हो गोधुली साहित्य चौतारी । अभावभित्रको साहित्यिक मनोभाव हो, निरन्तर रहोस् ।
अजित राईको कथादेखि भानुको खरानीको मादल कविता यात्रा यहींदेखि जनमानससम्म हुन्छ । र भानु साधनारत पनि रहन्छ । कथानक गोधुलीको आज म यसैको चर्चा परिचर्चा कोर्दै छु । गोधुली साहित्य चौतारी हिजो कहाँ थियो र आज कहाँ छ ?
भाषा नरहे हामी कहाँ नेपालीपनमै रहन्छौँ त ? यो प्रश्न उठ्न नदिन आज गोधुली साहित्य चौतारी साँझ
निरन्तर, भाषा साहित्य नै समाजको परिचय हो । गहना हो। मानौ वृक्ष देखिको विकास पालुवा फुल झैँ हो । यो फल झैँ हो । भन्दै आएको गोधुली, हरियालीको रमाइलो झैँ हो । यसभित्रका अनेकन् विधाहरू नै वनबाटिका भित्र रमाएका रहेका जीव-पंक्षी आदि झैँ मानौँ हो भन्दै यसै अन्तरङ्गमा रमाउँदै गोधुलीका सम्बन्धमा केही विचारहरूलाई लिएर आाएको गोधुली हो ।
गोधुली साहित्य चौतारी साँझ समाजको सेतुको रूपमा उदाई रहेको छ । त्यही प्रकाशलाई सूचना सरह प्रभावित गराउँदै आएको तत्कालीन स्वदेशदेखि नै तत्कालीन विदेश (डायस्पोरा) सम्म निरन्तर भूमिका निर्वाहमा अनवरत छ । डायस्पोरासम्म मौलाउन सक्नु नै हाम्रो अस्तित्व हो ।
हो मानिस जहाँ पुग्यो त्यहींदेखि जाग्न सक्नै पर्छ । परेवाले पनि रातमा प्रहर प्रहरमा घुरेर प्रहरको सन्देश दिन्छ र आफ्नु स्वाभिमान जनाउँछ । त्यो पनि झट्ट हेर्दा केवल चरो वा पंक्षी नै हो तर, उसको आफ्नै अस्तित्व छ शान्तिको प्रतीक हो । उ शान्त हुन्छ । उसले घरेलु वातावरणमा पर्यावरणीय क्षेत्रमा अनुकूल बनाइरहन्छ भने हामी त मानिस, विवेकशील प्राणी हौं । त्यसैले हामी मानिसहरूले खाने, लाउने, वास बस्ने सौखिन सुविधामात्र नखोजेर यसका साथ साथमा हाम्रा आधारभूत मानव विकास र जातीय परिचयको विकास गर्दै लानसके मात्र सन्तानहरूले पनि लिन र दिन सक्छन् ।
आज त्यसैको निरन्तरता रहोस् भनेर पनि कर्तव्यपरायण, प्रतिकुल समयमा पनि अनुकूल पारिकन गोधुली साहित्य चौतारीका प्रस्तोता डिपी ओस्ती आफ्नु कामको थकानलाई छोडेर कार्यक्रमलाई समय खर्चन्छन् । स्वदेसान्तर भाषा साहित्यको उद्गमस्थल नेपालदेखि गोधुली आज पश्चिमी मुलुक डायस्पोरान्तर भएको छ । यतिबेला हामी भाषा साहित्य साधकहरूले रचनाहरू पस्केर वा पठाएर प्रसस्ति बनाउनु पर्ने नै हो । यसो हुँदा समय नपुगे निज कार्यक्रम सञ्चालकले समय थप्ने हो ।
समय अनुकूल आज पनि हामी प्रत्येक शनिवार बेलुका ओन्टारियो प्रोविन्सको हेमिल्टन सिटीबाट साहित्यकर्मी मित्र डिपी ओस्तिको प्रस्तुति सुन्न वा देख्न पाइन्छ । लेखक, कवि, साहित्य साधक डिपी ज्युले भाषा बचाउका निमित्त कार्यव्यस्तताका बाबजुद पनि गोधुली साहित्य चौतारीलाई निरन्तर अङ्गाली राख्नुले-नयाँ पुस्तामा उर्जा भरेको छ ।
सुन्नेलाई सृजना प्यारो ।
गुन्नेलाई भाषा शब्द-रचना प्यारो ।
गोधुली साहित्य चौतारीले वर्तमान अवस्थामा विशेष गरी कविता, गजल, रूबाई र आकल झुक्कल मुक्तकहरू पस्केर गोधुली पश्चातको सभ्यताको साँझलाई सार्थक बनाइदिन्छ । इन्टरनेटको तरङ्गबाट पहुँच प्रभावित हुने समयमा फड्को हानीसकेको गोधुलीमा श्रृजनशील स्रष्टाहरूको उपस्थिति र प्रत्यक्ष प्रस्तुतिको विकास देख्नलाई समाजबाट साथ सहयोग समालोचनाको अभाव खट्किएको छ । भाषा र साहित्यप्रतिको यस्तो लगन र परिश्रमलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै दुरुपयोग झैँ देखिने गरी आलोचना परेको देख्दा हामी आफ्नैपनमा, आफ्नै भाषा साहित्यमा ,
खरीको घाँसमा नाक लागेको बहर जस्तै लाग्छ ।
हौसला दिने समालोचनाको कतै आश गरिएको हुनसक्छ भन्ने बुझ्नुपर्ने बेलामा उल्टै हतोत्साहित हुने प्रतिक्रिया दिएर ओझेल पार्ने गर्नु भनेकै आफ्नु पहिचानमा ढुलमुले प्रवृत्ति देखाउनु हो भन्दा अत्युक्ति नहोला । आफ्नु पहिचान जोगाउन पनि भाषा र साहित्यको हकमा अनिष्ट भन्दा पनि घनिष्ठको आपूर्ति होस् । आलोचना भन्दा पनि समालोचनाकै साथ रहोस् । लिनु र दिनुको विकास बनोस् । तनले जिते पनि मनले त आफुलाई पराई देशमै पाउँछ । हो यतिबेला हाम्रो एकताले समाजलाई मजबुत बनाउँदै समृद्धि शुद्धीकरण गर्दै लानैपर्छ । समय वितृष्णाको हैन विकासको हो ।
अझ हामीले फेरि एक पटक कम्तिमा हप्तामा एकपटक भए पनि आफ्ना छोरा-छोरी सँगै लिएर अभिभावकवर्गले नै एक दुई वर्षजति कुनै अनुकूल समयमा एउटा हल भाडामा लिएर हुन्छ कि अथवा नजिकैको मन्दिर वा चर्चतिर गएर आलो पालो पढेर पनि हाम्रा बालबालिकाहरूलाई पढ्ने आदत अभ्यास गराउनै पर्ने हो । विकल्प खोज्ने क्रममा मैले यो प्रस्ताव केही युवा तथा सामाजिक अभियन्ताहरूमा आफ्नु विचार दिएकै पनि हो दुई पटकसम्म ।
भाषा नरहे यो निश्चित हो हाम्रो स्वाभिमान, हाम्रो पहिचान दिन दिनै खच्केर जाने छ । गाँस, वास र कपासमात्र हाम्रो अस्तित्व हैन । भाषा साहित्यले नै संस्कृतिको संरक्षण गर्दै जातीय पहिचानलाई समृद्धिमा मैत्रीपूर्ण थमाउन सक्छ । यो बुझाइलाई हामी अभिभावकवर्ग अधिकले नबुझेको देख्दा कता कता दुख लागेर आउँछ ! हो आज यस्तै समसामयिक विषयहरूको उजागर गरिरहेको छ गोधुली साहित्य चौतारी साँझ । लेखेको पढ्ने भन्दा अडियो भिडियो वा प्रस्तुति आदिमा मानिसहरूले समय दिएको बेला गोधुली साहित्य चौतारी साँझ-ले समाजको सेतुको काम गर्दैछ ।
यो त एउटा सानु प्रयासको उदाहरण मात्र हो । यस्तै अरू मित्रहरूले थुप्रै कार्यक्रमहरू सञ्चालन गरी सामाजिक अभियन्ता भएर उत्तरदायित्व वहन गरी समाज विकासमा सङ्घसंस्थामार्फत होस वा व्यक्तिगत क्षेत्रबाट होस डायस्पोरामा आफ्नु स्वाभिमान रक्षाका निम्ति काम गरेकै छन् । ठूलो भूमिकामा हेर्दा अभिभावकत्वको रूपमा देखिनुपर्छ र पर्ने पनि हो साहित्य परिषद् भूटानलाई । परिषद्ले गत वर्ष सन् २०१८ मा ओहायोको सिन्सिनाटीमा संस्थाकै हैसियत देखाउँदै एउटा वृहत् कार्यक्रम गरी विभिन्न सृजनाहरू लोकार्पण पनि गरेको थियो ।
समकालीन कथा सङ्ग्रह संयुक्त कृति लगायत अरू थुप्रै लेखकहरूका कविताहरूपनि विमोचन गरेको थियो ।
यसै गरी अरू पनि जस्तै भुटानी ढुकढुकी, त्रिवेणी, इन्द्रेणीजस्ता अरुहरू पनि निकै छन् । कति सक्रिय छन् त कति निष्क्रिय पनि । यसरी समाजको समृद्धिकै निम्ति प्रयासरत स्रष्टाहरूको उपस्थितिले भाषा साहित्य साधकहरूले रचनाहरू पस्केर आफ्नु पनि उपस्थिति जनाउन सकिएको छ । तर, विडम्बना आफ्नै भाषामा भने अधिकांश पढा-लेखाहरुकै रुचि र सक्रियता कम देखिएको महसुस भइरहेछ । हार्दिक आग्रहः सबै स्रष्टाहरूको मन मनमा
आफ्नु भाषा रहे मात्र हाम्रो पन र नेपाली मन रहन सक्छ भन्ने बुझ्न नसकेसम्म हामी अस्तित्व रक्षाबाट हराउन सक्छौं !