छिमेकी नै हिँडेपछि……………

परिवेश आफ्नै यो कुनै काल्पनिक घटना होइन पात्रहरू काल्पनिक हुन् कसैको जीवनसँग मेल खान गएमा क्षमाप्रार्थी छु । हिजो थियो आज छ । भोलि पनि रहिरहनेछ ।

बिहान झिसमिसेदेखि नै गाउँमा हल्लाखल्ला मच्चिन थाल्छ । फट्याक्-फुटुक् गाउँलेहरू भेलाहँदै जिल्ला प्रशासन-कार्यालय गेलेफूगतिर बाटा लाग्नेको लर्को बढ्दै जाने क्रम जारी रहन्छ । ललाई र तक्लाईदेखिका पनि त्यसरी नै आइरहेका हुन्छन् । गाडीको असुविधा भएका ठाउँहरू पैदल यात्रा नै गर्नु पर्थ्र्यो । शरदऋतुको आगमनसँगै खेतमा धानकाबाला झपक्कै नूहेर एकअर्कालाई अँगालोमा बाँधी सहारामा उभिए जस्तै देखिन्थ्यो । बिहानको झुल्के घामको किरणसँगै मन्दमन्द चिसो हावा चिलिरहो छ । चिसो पानी गेट तोडेर सुरे र साम्खाराका गाउँलेहरू पनि बस र ट्रकमा धमाधम ओसारी रहेका रहेछन् । तोरीबारी र लेउपानीका गाउँलेहरूलाई सरभाङतिर लगिएछन् भूर र गेलेफूगका पनि धमाधम जम्मा हुँदै थिए । अधिकांश गाउँलेहरूलाई थाह थिएन कि किन जम्मा भइरहेका छन् भन्ने । जुलुसमा जानु पर्छ नत्र छ ऐंची (टाउको काट्नेको हल्ला) भन्ने मात्र सुनेका हुन्छन् ।

केही समय अघि पार्टीको विरुद्धमा काम गरेको भनी दुईजनाको टाउको काटिएको हुन्छ । त्यही डरले सोझासाझा गाउँलेहरू बाटा लागेका हुन्छन् । विना डर,त्रास गाउँलेहरू जुर्मुराउन्नन् किन कि शिक्षा,दीक्षा र राजनैतिक चेतना शून्य पारेर राखिएको हुन्छ राजतन्त्रात्मक मुलुहरूमा । जीवन एकोहोरो हिँडिरहेको हुन्छ पशुको जस्तै । चारैतिरबाट मान्छे जम्मा हुन थालेपछि पुलिसले हवाई फाइरिङ गर्छ, भीडलाई तितरबितर-वितर पार्न तर, भीड अझ उत्तेजित भएर गेलेफुगको जिल्ला प्रशासन कार्यालयभित्र (जोङ) प्रवेश गर्न सफल हुन्छ पार्टीका कार्यकर्ताको नियन्त्रणमा । अनि तेह्रशुत्रीय माग सरकारलाई बुझाउँछ र शान्तिपूर्ण जुलुस समापन गर्छ । त्यो दिन प्रशासनले कसैलाई पनि धरपकड गर्दैन, त्यसको एकसप्तापछिबाट गाउँलेहरू धरपकड हुन थाल्छन् । पार्टीलाई चन्दा तिरेको र जुलुसमा भाग लिएको अभियोग छ गाउँलेहरूलाई । पार्टीमा संलग्नहुनेहरूलाई देशद्रोहगरेको,सत्ताहड्पिन खोजेको र ग्रेटरनेपाल बनाउने जस्ता अभियोग लगाएको छ जिग्मे सरकारले । गाउँलेहरू पक्रापर्नेक्रम निरन्तररूपमा चिलिरहन्छ र भागाभाग पनि । आठ दश महिनाको अन्तरालमा धरै गाउँले युवाहरूलाई गाउँ छाड्न बाध्य बनाइन्छन् ।

भर्खरै नेपालीभाषाका पुस्तकहरू स्कुलमै विद्यार्थीका अगाडि जलाएर अर्को आतङ्क मच्चाइ रहेको हुन्छ । बख्खूको आतङ्क उत्तिकै मच्चिरहेको छ । सेना र पुलिसले गाउँलेहरू लुट्ने र बलात्कार गर्ने जस्ता घृणितकामहरू पनि भई नै रहेका थिए ।

दुई दिनदेखि निरन्तररूपमा सिम्सिम वर्षा भइरहेको थियो गाउँलेहरू पाकेको मकै भाँचेर खेतमा धान रोप्ने कि नरोप्ने दोधार भइरहेका छन् । राजा जिग्मे सिङ्गे बौलाएर मत्त भैसकेको छ त्यो बेला । अर्कातिर कुख्यात अपराधी (तत्कालीन गृहमन्त्री) दागोछिरिङ पनि उत्तिकै बौलाएर दक्षिणभूटानीहरूलाई झम्टीझम्टी टेकिरहेको थियो । यी दुइटै कुकुर बौलाए पछि दक्षिणभूटानीहरू त्रासिद,भयभितमात्रै थिएनन् नागरिकहरूले आफ्नो जयाजेथोसँगै सहअस्तित्व र मनस्थिति नै गुमाई सकेका हुन्छन् । केही दिनदेखि निरन्तररुपमा सिम्सम् झरी परिरहेको छ । डर,त्राससँगै झरी पनि मिसिएर होला खेतबारीमा मानिसहरूको चहल-पहल कमै मात्र देखिन्थ्यो । बिहान उठेर सधैँ झैँ नरनाथ छाता ओढेर प्रधान्नी दिदीको चियापसलतिर बाटा लाग्यो । ३०।३२ वर्षकी अद्वैंसे दुईसन्तानकी आमा कालो कालो वर्णकी बाटुलो अनुहार भएकी चियावल्नी दिदीको पसलमा डुक्पा र नेपाली दुवै समुदायका मानिसहरू बिहान ७ बजेदेखि ९ बजेसम्म चिया पिउने र गफगाफ छाँट्ने अखडा नै बनाइसकेका थिए । श्रीमान् भने कहीँ हप्ता अघि चियापसलबाटै सेनाले पक्राउ गरेर बेपत्ता पारेको हुन्छ । त्यहाँ एक छिन नपुगी गाउँलेहरूको चित्तै बुझ्दैनथ्यो । बाटो हिलो भएकोले मकैबारीको झार पन्छाउँदै शीतले लुथुक्क भिजेर चिया पसलमा पुग्यो नरनाथ । चारपाँच जना गाउँले भेला भएर सानो स्वरमा आन्दोलनलाई बिँडी र सिगरेटको धुवाँसँग रुमलेर उडाइरहेका छन् । नरनाथतिर हेर्दै धनेले भन्यो “किन ढिला हो भाइ हामीले त एक सर्को पिई सिध्यायौं त ?” एक छिन रोकिएर अगाडि थप्दै भन्यो “अनि नयाँ कुरा सुनिस् त ठुले ?”

“त्यतातिर त ठिकै छ नि ?” काकाले अर्को प्रश्न गरे । नरेले उत्तर दिन भ्याएको थिएन हेर्केले थप्यो । “रेडियो त कानकै छेउमा राखेर सुत्छ कम चलाख छ बाहुन केटो ।” एक फेरा उसलाई हेरेर सबै हाँसे । कुरो के हो भन्ने प्रष्ठ भएन । ऊ मनमनै गुनगुनाउन थाल्छ, आन्दोलन कै त होला नि । नरेले उत्तर दिन खोज्दै थियो साङ्गे,कर्मा र उगेन पनि बिहानको चिया पिउन टुप्लुक्कै आई पुग्छन् । एकार्कालाई देखेपछि एक्कासि सबैमा सन्नाटा छाउँछ सबै एकसाथ स्तब्ध हुन्छन् । जुलुस पछि आर्मीलाई मान्छे चिनाएर पक्राउने चम्चा भन्ने गर्थे गाउँलेहरू । उगेन र कर्माले गाउँले ठिटाहरूलाई पक्राएको देखेका थिए गाउँलेहरूले । जुलुस अघिसम्म सँगै खाने खेल्ने साथी सानैदेखि एउटै स्कुलमा पढेबडेका साङ्गेले त नेपाली कै छोरीसँग बिहा पनि गरेको छ । साङ्गे आन्दोलन अघि तिनै चिया पसलमा भेला हुनेहरूको घनिष्ठ मित्र मानिन्थ्यो । धेरैजसो चियाको पैसा पनि उसैले तिरिदिने गर्थ्र्यो । आन्दोलनले उसलाई साथीबाटमात्र अलग्याएन देख्नै डराउने पगरी लगाइदियो चम्चाको । एउटै गाडी गुड्ने बाटोले सिमाना छुट्याएको थियो दुइटा व्लोकलाई । दानाबारीतिर नेपालीभाषीहरू सेर्सोङ ब्लकको नर्वुलिङ, टासीफूग्तिर खेङपा र सार्छोपभाषीहरूको बसोबास छ । सन १९७२ ताका त्यो घनाजंगल फाँडेर डुक्पा समुदायका मानिसहरूलाई सरकारले बसाइँ सारेको थियो ।

साङ्गे दोधारमा छ । नेपाली केटीसँग विवाह गरेकोले उसको समुदायहरूले उसलाई मन पराएका हुँदैनन् । अझ उसकी श्रीमतीका बाबु आमा सरकारको जनगणनामा सात नम्बरमा परेदेखि नै उसलाई (पार्पाचुके) छोडपत्र गराउने दबाब सबैले दिइरहेका हुन्छन् । तर पनि ऊ दुई सन्तानकी आमालाई छोड्न चाहँदैन । ऊ ससुराली आउन पनि डराउन थालेको छ । उसका ससुराली पनि ऊसँग डराउने गर्दछन् । उसकै सालाले गेलेफूग बजार भर्न गएको बेला पक्राएर तीन रात जेलको हावा कटाएदेखि नै ससुरालीसँगको सम्बन्ध धमिलिँदै गएको थियो । उसका सालाहरूले साङ्गेलाई मात्र पक्राएनन् अरू गाउँलेहरूलाई पनि राती सेनासँग मिलेर उत्तिकै तनाव दिइरहन्थे । पति पत्नीबिच पनि कहिलेकहीँ माइतीको व्यवहारले ठाक्कठुक्क पर्ने गर्दथ्यो । छोरी चेलीको घर सपार्ने र बिगार्ने दुवैमा माइती पक्षको हात हुन्छ ।

कर्मा,उगेन र साङ्गेमात्र होइन त्यो समयमा हर्के,बिरे,रामे,श्यामे पनि कम थिएनन् मुख खोल्न परिस्थिति सजिलो थिएन । मानिसहरू किनबेच भइरहेका हुन्छन् । त्यसमा पनि राती राती पार्टीका मान्छेहरू गाउँमा छिर्ने गरेकोले गाउँलेहरूलाई थप तनाव भई नै रहन्थ्यो । साथीसँग वा आफन्तहरूमा विश्वास गर्ने अवस्था नाजुक हुँदै गएकोले मनका कुरा खोल्न सम्भव थिएन । साङ्गे र कर्मा त भिन्न समुदायका त्यसमाथि पनि गाउँमा अफवाह फैलाएर छिमेकी लखेट्न डर,त्रास पैदा गराउने कार्यहरू गाउँहरू आफैले पनि गर्ने गर्दथे । निकैबेरको मौनता पछि कर्माले साथीतिर हेर्दै भन्यो । “अनि नयाँ खबर सुन्यो त (गप मण्डल) (गाउँले प्रमुखले) मिटिङ गर्छ रे आज । देशद्रोहीहरू अब बस्न पाउँदैन आर्मीले गाउँमा छापा मारेर सबै पक्रिन्छ है ।” भन्दै मुसुमुसु हाँस्यो उगेनतिर हेरेर । उगेनले मौनस्वीकृतिमात्र जनायो ।

“ए त्यही र छ नयाँ कुरा ।” सबै साथीहरूले अनुहार हावा खुस्किएको बेलुन जस्तो बनाएर टुलुटुलु एकोहोरो हेरे मात्र । साङ्गेको पनि अनुहारमा चमक थिएन । उ त झन् “यता न उता दुई घरको कुत्ता” भैसकेको रहेछ । अन्तरजातीय वैवाहिक सम्बन्धमा बाँधिनेहरूका लागि सरकारले नगद १०,००० र पाँच एकर जमिन पुरस्कारको घोषणा गरे पछि डुक्पा समुदाय र नेपाली समुदायबिच धमाधम वैवाहिक सम्बन्ध गासिन पुगेको थियो ।
यो नीतिले दुवै समुदायबिच घनिष्ठता बढ्दै नगएको थिएन । अन्तरजातीय वैवाहिक सम्बन्धमा बाँधिने नेपाली भाषीहरू पनि साङ्गेको व्यथा भन्दा कम जोखिम्पूर्ण र चरमोत्कर्षमा नपुगेका थिएनन् । त्यो सरकारबाट पाएको पुरस्कार नै उनीहरूका निम्ति विष साबित भइसकेको हुन्छ । अन्तर देशीय वैवाहिक सम्बन्धमा बाधिनेहरूलाइ तत्काल देश छाड्न आदेश गृहमन्त्रीले दिइसकेको थियो । दक्षिणभूटानी नेपालीभाषीहरूलाइ लखेटेर हरियाली वनजंगल लगाउने योजना पनि धमाधम राज्यपक्षबाट भइरहेको थियो ।

फारम भरेर जयजेथो सरकारलाई बुझाए पछि स्वइच्छाले म देश छाडेर जाँदै छु भनी सहीछाप गराउने चलन पनि नभएको होइन । यसरी चौतर्फी आक्रमण भैरहदा लामीडाँडाको चिया पसलमा भेला भएर चिया पिउँदै गरेका ४ जनालाई पुलिसले गोली ठोकी निर्मममता पूर्वक हत्या गरेको खबर सन्सनी फैलिएपछि गाउँलेहरूले आफ्ना बालबच्चा जोगाउने उपायहरू सोच्न थाल्छन् । अल्प ज्ञान भएका पण्डितहरूले आफ्नो जीवन स्वर्गमय बनाउन अर्काको जीवन छ्याउने गरे जस्तै सत्ताका घमन्डी राजाले अनर्गल कैँची चलाएर प्रजाको जीवन काट्ने कार्यहरू गरिरहन्छन् ।

यसरी नै असंवैधानिक सैनिकहरूबाट चेलीबेटी बलात्कार हुने र धन सम्पत्ति लुट्ने घटनाहरू दिनानुदिन बढ्दै गइरहेका हुन्छन् । सरकारबाट देशद्रोहीको पगरी थापेका गाउँलेहरू दिनानुदिन आतङ्कित एवं त्रासिद बन्दै जाने क्रम बढिरहेको हुन्छ । दक्षिणभूटानका छ वटै जिल्लामा बसोबास गरेका नेपाली भाषीहरूलाई लखेट्ने सरकारी योजना सफल बनाउन सरकारले असमका उग्रवादी अल्फाबाट पनि सहयोग लिन उग्रवादीलाई भूटानभित्रै गाँस,वास र कपासको जोहो मिलाइ दिएको हुन्छ ।

त्यो रात गाउँमा आर्मीले छापा मार्दा सोझा गाउँलेहरू धेरै पक्रा पर्छन् । त्यसअघि पक्रिएका मानिसहरूलाई निर्ममतापूर्वक चरम यातना दिएर जेलमा राखिएको हुन्छ । राती राती सेनाले गाउँमा छापा मारेर गाउँलेहरूलाई चरम यातना दिने गर्दथ्यो । जेल चलान गरेका कैदीहरू जेलभित्रै यातना दिएर मरिने गरेकोले सम्भव भएसम्म गाउँलेहरू जीवन सक्षाकालागि आफ्नो चल-अचल सम्पत्ति छाडेर असीम, बंगालतिर शरणका खोजीमा जाने क्रम बढिरहेको हुन्छ । भोलिपल्ट गाउँमा छापा मार्ने सुइँको पाए लगत्तै राती नै छिमेकीहरूले सुइँकुच्चा ठोकेका हुन्छन् । रातभरि कुकुर भुकेको र रोएको चिच्याहाट कानमा कहालीलाग्दो गुञ्जीने गर्दथ्यो । यस्तो चिच्याहटले गाउँलेहरू जागा नै भइरहन्थे तर बाहिर निस्कन कसैले पनि आँट गर्दैन थिए । सेनाबाट जोगाउन रातपरेपछि स-साना बाल-बच्चा च्यापी जंगलतिर रात कटाउने र बिहान घर आउने उपायहरू पनि थोरैले अपनाएका हुन्छन् । राति सेना गाउँमा पसेको सङ्केत कुकुरबाट गाउँलेहरूले थाह पाउने गर्दथे । बिहान उठेर चिया पिउँदै गर्दा बीरेको छोरा नरे स्वाँस्वाँ ठुल्ठुलो श्वास फेर्दै भित्र छिर्छ र ठिङ्ग उभिन्छ अनि धनेलाई टुलुटुलु हेर्छ मात्र ।

“के भयो किन दगुरेर आइस् स्वाँस्वाँ गर्दै ?” एक छिन रोकिएर नरेले भन्यो “काका, बर्खे,भीमे कान्छीमायाहरू त राती नै भागेछन् नि घरमा त दैलो ठोकेको छ गाई बस्तु सबै फुकाए छन् मकै र धानको बीउ त सखाप पारे छ है गाईबस्तुले ।” निकै बेर धनेको मुखमा हेरेर फलाकी रह्यो । धनेलाई पनि एक भन्नु न दुई भन्नु बनायो । धने निकै बेर मौन रहेर के के सोच्न थाल्यो र बाहिर सिकुवाको डिलमा उभिएर वरपर छरछिमेकतिर एक फेरा नजर डुलायो । सधा झैँ बिहान खेतबारीमा काम गर्ने कोही थिएनन् चकमन्न थियो ।

“के भयो ठुले, एकोहोरो गाउँतिर हेरिरा,छस् त ?” भन्दै छाता ओढेर वीरमान टुप्लुक्क आई पुग्यो । “दाजु के भयो होइन अब त के हुन बाँकी रह्यो भन्ने पो प्रश्न गरेर उत्तर खोज्नु पर्ने बेला आएजस्तो ……।” बोली नटुंगिदै उसको मन भक्कानिएर आयो । बोली अवरुद्ध भयो आँखा रसाएर आँसुले टिलपिल भरिए । गाउँ छाड्नु हुँदैन है अडिएर बस्नु पर्छ । थलो किलोवाट उखेल्लिए पछि दुःख पाइन्छ हाम्रा पिता पुर्खाको खुन पसिना छ यो देशमा । भनेर गाउँका साथीभाइलाई सम्झाउने मान्छे दुई दिन पछि झापाको माई शिविरमा तिनै गाउँलेसँग भेट भयो । “हौ ठुले अनि आइछस् त हौ त त नआउने भन्थिस् त ?” नरेले देख्ने बित्तिकै प्रश्न गर्‍यो । “तिमीहरू भागिहाल्यौ भोलिपल्ट आर्मी आएर पल्लो गाउँबाट मान्छे ल्याएर घर आगो लगायो छिमेकी नै हिँडिहाल्यौ अनि म पनि फारम भरेर छिमेकी हिँडेपछि ………।” छिमेकी हिँडेपछि नरे र रामेको परिवार पनि बाटा लाग्यो । साम्ड्रुपजोङखर, साँची, गेलेफुग, सरभाङ, चिराङ र दागानाबाट लखेटिनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको थियो । भूटान र असमका सेनाको संयुक्तरूपमा छापामारी निरन्तर चलिरह्यो । भारतमा लुकीछिपी बसेका पार्टी र मानवअधिकारवादी कार्यकर्ताहरूलाई असम र वंगालका पुलिसले पक्रिने कार्य पनि धमाधम भइरहेको थियो । गाइगोठ र जङ्गलमा आश्रय बनाएकाहरूलाई पनि भूटान र भारतका सेनाले बाँकी राखेन ।
असम र वंगालमा ज्यान बचाउन शरण लिएर बसेका वृद्धवृद्धा बालबालिकाहरूमाथि असम र बगालका प्रहरीहरूको ज्यादती,अत्याचार बढ्दै गए पछि पुलिसका गाडीमा पशु कोचारे झैँ ल्याएर मेची पुल कटाउने कार्य धमाधम हुन थाल्यो ।

छोरी चेली तथा बालबच्चा जोगाउन ढोकामा भारी हालेर भारीमाथि ससाना बालबालिका राखी राती गाउँ छोड्नेहरूको सङ्ख्या पनि कम थिएन । केही दिनभित्रै माईधारको शिविर खचाखच भरिन पुग्यो । खानपिन,दवाई औषधि, र थातबासको अभावले गर्दा निकै शरणार्थीहरूले माईमा ज्याउ गुमाउनु परेको थियो ।

करिब २० वर्षको कष्टपूर्ण नारकीय जीवनका आरोह अवरोह पछि माओवादीहरूले चलाएको देशफिर्ती अभियानमा परि निकै युवा युवतीहरूले ज्यान गुमाउनुका छन् । अझ भूटानी जेलमा तड्पिनु जस्ता मार्मिक घटनाहरू घटिरहेका थिए । त्यस अघि पनि शरणार्थीहरूले स्वदेशफर्तीका प्रयासहरू नगरेका भने होइनन् । यसरी गरिएका पटकपटकका प्रयासहरू तुहाउने मात्र गरेन शरणार्थीहरूलाई गोलीको निसाना बनाउन र जेल ठोक्न पनि गणतान्त्रिक भारत पछि परेन । विभिन्न चरणका आन्दोलन भारतीय पक्षबाट विफल पारिए पछि शरणार्थीहरूले वैकल्पिक मार्ग रोज्न बाध्य हुनु पर्‍यो । यसरी नै फेरि छिमेकी बसाइँ सर्ने क्रम सुरु भयो । धने मने,रामे,श्यामे,हर्केका परिवार लुकीछिपी फारम भराएर पश्चिमी मुलुकहरूतिर बसाइँ सर्न थाले । पछिल्लो अवस्थामा आएर यो बसाइँ सर्ने क्रम पुर्ख्यौली पेसा भनुँ वा पुर्ख्यौली परम्परा जस्तै बन्न पुगेको छ ।

यी पश्चिमेली मुलुकहरू विकसित मानिन्छन् हाम्रा मुलुकका तुलनामा । पैसा छ घर छ गाडी छ सबै भौतिक सुविधाहरूले परिपूर्ण छ । तर पनि मानिसहरू छिमेकी बसाइँ सर्‍यो भन्दै बसाइँ सर्न छोडेका छैनन् । भीमे,काले,दिलमायाका परिवार नेदरल्याण्डबाट धमाधम बेलायततिर बसाइँ सर्न थालेपछि अरू छिमेकीहरूले पनि मन थाम्न सकिरहेका छैनन् । कालुको परिवार पनि बेलायत सर्ने सुइँको पाए पछि नरे झस्याङ्ग हुन पुग्छ र बिहानै उठेर कालुका घरतिर लाग्छ । दैलोमा टिंग घण्टी बजाएपछि कालुले ढोका खोल्छ । “ए नरे भाइ पो ? आइज न बस्, अनि यति बिहानै कता हिँडिस् त ? नानीहरू सञ्चै छन् ? चिया प्यूँ कि कफी ? अनि काममा जाँदै छस् ?” धरै वटा प्रश्नहरू कालुले एकै चोटि ते-र्छ्यायो ।

“अँ जाति नै छन्, आज छुट्टी छ, कफी नै प्यूँ न त दाइ ।” छोटो उत्तर दिँदै नरेले कालुका मुखतिर हेर्दै प्रश्न गर्‍यो “मैले त तपाईँ पनि बेलायत बसाइँ सर्ने हल्ला सुनेथेँ नि त्यही बुझुम् भनेर नि दाइ, किन यहाँको मान्छेहरू धमाधम बेलायततिर बसाइँ सर्छन् दाइ ?” नरे उदासीन र विस्मृत दृष्टिले एकोहोरो भएर उत्तर पखिर्रहेको हुन्छ ।

एकछिनको मौनता तोड्दै कालुले भन्यो “समाज छैन, आफन्तहरू छैनन्, मर्दा, पर्दाका साथीभाइ छैनन्, पुरोहीत पण्डित पनि त छैनन् नि । त्यसैले छिमेकीहरू धमाधम बेलायततिर जम्मा हुन थालेका हुन् ।

“हाम्रो दुःखी आत्माले कहिल्यै शान्ति नपाउने र छ हो कि दाइ ? ” नरेको बोली अवरुद्ध भयो आँखा रसाए । “अब मेरो पनि त पालो त्यही हो……….।”
अत्तिनै न्यूनसंख्यामा ह्यूरोपतिर लगिएका भूटानी शरणार्थीहरू धेरैजसो विचलित अवस्थामै गुज्रिरहेका देखिन्छन् । फेरि फट्याकफुटुकरूपमा नरे, श्यामे, दावाहरूको बसाइँ सर्ने क्रम सुरु भएको छ । छिमेकी हिँडिहाल्यो त भन्न थालेका छन् उनीहरूले । यी देशहरूमा पानीमा नुन बिलाए झैँ आफ्नो पहिचान दिनानुदिन बिलाउँदै जाने प्रबल सम्भावना त छँदै छ वृद्धवृद्धाहरूलाइ दिन कटाउन त्यत्तिकै गाह्रो महसुस गरिरहेका छन् । तिनै हर्के, श्यामे, नरेका परिवारहरू छिमेकी र आफ्नो जमात भएतिर बसाइँ सर्न खोजिरहेका छन् । हुन त छिमेकी बसाइँ सरुवा समस्या अमेरिका र केनेडातिर पनि धमाधम चलिरहेको छ । बसाइँ सरेर आफन्त, छिमेकीहरूसँग बस्न रुचाउने हाम्रो पुर्ख्यौली परम्परा, संस्कृतिबाट हामी कहिल्यै विमुख हुन नसक्ने रहेछौँ ।

भौतिक सुविधालेमात्र मानिसको जीवन पूर्ण छैन भन्ने यो ज्वलन्त उद्दाहरण पनि हो । आफन्त भन्दा पनि छिमेकीसँग हाम्रो कति गैह्रो सम्बन्ध रहेछ भन्ने अहिले महसुस हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *