छोरोको शान

-सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका

मेरो छोरो, मेरो शान,
मेरो मान अनि मेरो गान
मेरो परिचय मेरो हाँसो !

कवि
कवि

जीवन हो ऊ मेरो,
संसार उही अनि आशा
र भरोसा पनि ।
मेरो सहारा मेरो आस्था
जीवन मरण, मात्र मेरो प्राण
मेरो छोरो मेरो मान !

आहा कति निस्चल छन् तिम्रा नयन
सुवासीलो त्यो नजर- मिठो मुस्कान
तिमी त भगवान- तिमी नै मुटु
सधै बिहानीको याद दिलाउने
तिम्रो त्यो हाँसो ।

मैले युद्ध जितें झैं हुन्छ
सारा थकान भुलिदिन्छु
ग्रहण लागेको मेरो मुहारमा
त्यो बेला सूर्य उदय हुन्छ
जब तिमी फेरि मुस्कुराउँछौ !
मैले स्वर्गीय आभास पाउँछु
आमाको न्यानो काख पनि चटक्कै भुल्छु
जब तिमी मुस्कुराउँदै
मेरी आमाको फरिया तान्छौ
आमाको मुहारको त्यो बत्ती देख्दा
न त दुःख न त कष्ट
केवल शान्ती पाउँछु !

तिमी हाँस्छौ संसार हाँस्छ,
मनमा मेरो सुशान्तिको दरवार आउँछ
हो !
त्यो बेला मेरो अनुहारमा
बाह्र बज्छ जब तिमी रून थाल्छौ
मेरा सारा सपनीमा खडेरी लाग्छ
जब तिम्रो मुहारमा साँझ पर्छ –
अनि !
फेरि मोति झैं चम्कन्छु
जब तिमीमा बिहानी छाउँछ !
हो !

खान भुल्छु
ओइलाए झैं हुन्छु
अनि फेरि अस्ताए झैं हुन्छु
त्यो बेला न चन्द्र देख्छु
न त म सुर्य देख्छु
अन्धकारको भुमरीले सताउँछ
जब तिमीलाई म गंगाको महसूस गर्दछु !
यथार्थ यो हो
तिमी हाँसी हाँसी बाँच
त्यो नै मेरो बिहान हो
त्यो नै मेरो संसार हो
सारा सपना त्यहीँ छ
जहाँ तिम्रो
खुशी र सफलता छ ।
तिमी फूल हौ
यसरी नै फुलिरहनु
ओइल्याएर झर्नु भन्दा
सुवास बनी फैलिरहनु
हो !
काँडा हैन तिमी
छुच्चो बनी कहिल्यै नघोच्नु
हाँसी हाँसी सबैसामु
विश्वशान्ति फैलाइरहनु ।

तिमी राष्ट्रको शान बन
जब तस्वीरमा तिमी आउँछौ
त्यो बेला मुहारमा सूर्य झुल्किन्छ –
वास-
तिमी मेरो मात्र होइन,
यो संसारको शान बन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *