उज्यालो हेरेको अपराधमा मृत्युदण्ड

(यूनानी कथा)

भक्त घिमिरे-

 

पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई बाँधिएका सिक्री र जञ्जीर हेरेर उनीहरु खूब रमाउँथे ।

प्राचीन यूनानका एकजना राजाले एकरात आफूलाई परास्त गर्न देशभित्र कुनै बालक जन्मिएको सपना देखे ! भोलिपल्ट बिहानै उठेर उनले आफ्ना सैन्याधिकारीहरुलाई दरबारमा बोलाएर हुकूम गरे,“देशभरिका बालकहरु तुरुन्तै समाएर कैद गर !” सैन्याधिकारीहरु हत्त-पत्त दौडिँदै आ-आफ्ना पल्टनलाई सोही अनुसारको आदेश जारी गरे । यसरी त्यस देशका लाखौं बालकहरु एकैदिन कालकोठरीमा परे ।

 

अन्धकार कारागारभित्र बालकहरु हुर्किँदै गए । उनीहरु आफूलाई भिराइएका फलामे सिक्री, हातकडी-नेल, आफैं अडेस् लाग्ने गरेको कारागारको चिसो भित्ता र ढोका अगाडिको पर्खालबाहेक केही देख्तैन’थे । पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई बाँधिएका सिक्री र जञ्जीर हेरेर उनीहरु खूब रमाउँथे । एकदिन बन्दीहरुमा अन्तरद्वन्द फैलियो; लडाईं भयो । मुक्का-मुक्की हुँदाहुँदै एकजना बन्दी उछिट्टिएर पछारियो । यसरी पछारिँदा उसका आँखाहरु एउटा थोरै उज्यालोको ज्योति नजिक पुगेछन् जहाँबाट भित्तो, पर्खाल दुवै पार हुने एउटा सानो प्वाल रहेछ । त्यो बन्दीले त्यस प्वालको छिँढीबाट आएको उज्यालो ज्योतिलाई धेरैबेर नियाल्यो !

 

त्यसपछि त दिनैपिच्छे एकपटक उज्यालो हेर्न ऊ त्यो छिँढीको छेउमा जान थाल्यो ! बाहिरी संसारको छायाँ झलक देखी ऊ बेस्सरी रमाउँ’थ्यो ।  उसको दिमागमा यो अन्धकार कोठरीबाट कसरी बाहिरको उज्यालोमा पुगिएला भनेर कुरा खेल्नथाले; जुक्तिहरु फुर्न थाले । यस्तैमा उसले आफूजस्तै सबै बन्दीहरुले भिरेका सिक्री र जञ्जीरहरु भाँचेर सिँढी बनाई त्यो अग्लो पर्खाल नाघ्न सकिने उपाय पनि फेला पाऱ्यो । त्यसरात उसले साथीहरुलाई आफूले छिँढीबाट बाहिर अर्कै संसार देखेको कुरा सुनायो र अब सबै मिलेर त्यो रमाइलो संसारमा जाने सल्लाह फर्मायो । तर, उसको सल्लाहमा उपहास गर्दै उसका बन्दी साथीहरुले उसैलाई पागल घोषणा गरिदिए !

 

ऊ पागल घोषित भइसकेपछि उसका साथीहरुले कारापाललाई उजूरी गरे । उसलाई कारागारबाट निकालियो र सामन्तहरुको दलानमा लगियो । त्यसपछि सामन्तहरुले उसलाई राजासमक्ष बुझाए । राजाले उसलाई ‘उज्यालो हेर्ने अपराध’ गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनायो ।

 

उसलाई फाँसी दिइने बेला आयो ! जल्लादहरु तम्तयार भए । राजाले सोध्यो-अन्तिम इच्छा के छ? उसले भन्यो,“मेरा बन्दी साथीहरुलाई मुक्त गरिदिनू ! म मरेपछि मेरो लाश यो बन्दीगृहभन्दा बाहिर बीच सडकमा राखिदिनू !”

 

राजाबाट बन्दीको अन्तिम इच्छा पूरा गराउने हुकूम जारी भयो । बन्दीहरु पनि मुक्त भए । अर्को दिनदेखि देशभरिका प्रजाहरु सडकबीचमा राखिएको लाश हेर्न भेला हुनथाले । उसकै बन्दी साथीहरु पनि त्यहाँ थिए । समयमा उसको सल्लाह नबुझेको कुराले उनीहरुलाई ठूलो पछुतो थियो । आफ्नो मित्र राजाद्वारा मारिँदा पनि सबै बन्दीको मुक्तिमा महत्वपूर्ण भूमिका खेलेर मरेको कुराप्रति मुक्त बन्दीहरु भित्रभित्रै अनुगृहीत थिए । उनीहरुसित अहिले सबैथोक थियो तर, एउटै चीज थिएन-गुमेको थियो जो उनीहरुको हितैषी मित्र थियो ! मुक्त बन्दीहरुले मित्रप्रतिको शोकलाई शक्तिमा बदलेर विद्रोह शुरु गरे । प्रजा पनि विद्रोहमा जुटे ! देशभरिका प्रजाको विद्रोह थाम्न नसकेर राजा परास्त भए; संख्यौंको नरसंहार भयो । उनको सम्पूर्ण सेना, दरवारभित्रका भारादार, कर्मचारी, सामन्त र उनकै परिवार पनि विद्रोही पक्षमा लागेपछि राजा एक्लै यूनानबाट भागेर बाँचे ! तर, कुनै छिमेकी देशहरुले उनलाई शरण दिन मानेनन् ! त्यसपछि उत्तरतिरको मेरिक (एभ्रोस) नदीमा हाम फालेर राजाले देहत्याग गरे ।

(यो कथा अरु भाषाको कथाबाट अनुवाद गरिएको हैन । यूनानी इतिहासका घटनाहरुको अध्ययन-संयोजन गरेर कथाको रूप दिइएको मात्र हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *