जन्मभूमि आत्ममा

कुबेर कुईकेल ‘ भुवानेटारे ‘
अमेरिका

उ गर्जदो छ मेघको ल भूमि भित्र बाघ भो
उ झुक्छ लुक्छ मित्र हो विदेशमा त स्याल हो
लुते लुरे प्रजा हुँदा स्वदेशमा कठोर छ
लुरुक्क त्यो विदेशमा झुकेर पाउ राख्दछ

लिलाम गर्छ देशको र दाम जेब भर्दछ
गरीब मार्छ देशका सशक्त वंश गर्दछ
ल उत्तरीय माथ त्यो भुटान भूमि मस्तक
लिलाम गर्छ भूप त्यो प्रजा प्रधान दर्सक

पहाड छैन चित्रमा विचित्र राष्ट्र नायक
खुसी छ खुम्चदा सिमा ल स्याल भूप शासक
प्रशासकीय योग्यता र कूटनीति शून्य छ
खिचाइ देशको हुँदा असक्त ईन्द्र मौन छ

स्वदेश सिमा खुम्चिदै गढी विदेश भूमिमा
नदी र खानि देशका छिमेकको अधीनमा
ल डोकलाम क्षेत्रमा छिमेक पाउ हाल्दछ
उ दक्षिणीय देशको पाउ मोल्न थाल्दछ

प्रजा स्वतन्त्रता उता बनावटी छ देशमा
विदेश देख्छ देशको खुसी प्रकाश पात्रमा
दबाव त्रास राज्यको स्वदेश भित्र ब्याप्त छ
स्वदेश हाँक्न ढाँटको बजारमा जमात छ

सगर्व जन्मभूमिको प्रतीक प्रेम धर्म हो
प्रफुल्ल जन्मभूमिमा प्रजा प्रफुल्ल मान हो
स्वतन्त्र देश प्रेमनै शहीद आत्म मान त्यो
रहे स्वदेश मात्र लौ रहन्छ राष्ट्र सान त्यो

गरौँन जन्मभूमिको अपार प्रेम आत्ममा
अकूत प्रेम देशको बचाउ रेखदेखमा
ल कापुरूष भूपको कुनीति त्याग्न धाउँनु
सिमा बँचे स्वदेशको प्रजा तिमी रमाउँनु

छन्द -पञ्चचामर

Leave a Reply

Your email address will not be published. Required fields are marked *