जलको एक थोपा

कवि
कवि

प्रतिमान सिवा
ओहायो अमेरिका

आकाशलाई ढाकेर
पृथ्वीलाई छलेर
आवेगको गड्गडाहटमा
अन्धकारलाई चिर्दै
अग्नि-ज्वाला उगेल्दै
ताण्डब मच्चाउदै गर्दाको
एक टुक्रा बादलको पोल्टाबाट
खुस्रूक्क उम्केको
त्यो एक थोपा जलले
दिएको कोमल अनि शीतल स्पर्शले
भुतुक्कै हुन्छे त्यो कोपिला
आफ्नै बैँसमा छताछुल्ल पग्लिएर
जब भिज्दछे लछ्याप्रै
क्रिडामा विजयी उभिएको
त्यो तरल तर अटल भङ्गाकुर जस्तै ।

उष्ण महासागरको सतहबाट
बाफिएर वियोगिनी झैँ उडेको बाफ
माथि माथि बहलिएर कतै
बादलको काखमा लुसुक्क लुक्दै
जलको जीवन चक्र चल्दै चल्दै
बर्सिन्छ कहिले थोपा थोपाको झरी
त झर्छ कहिले हिमरत्न बन्दै भुवा सरी।

शक्ति कस्तो अगम्य यसको
जीव-जिवातको प्राण धान्ने सबको
रिसाउँदा त्यस्तै शक्तिशाली हुन्छ
गाउँ, घर बस्ती सबै बगाएर धुन्छ
पानी हो यो पानी,
पञ्च-तत्त्व मध्य हो यो एक
दर्किन्छ कहिले गोला-बारुद झैँ
दाना दाना असिनाको अनेक।

समय समयमा बद्लिन्छ रूप
अवतारी आफैमा अवतार बन्छ
कहिले पानी, कहिले बाफ !
कहिले हिउँ, असिना, तुसारो र शीत
एकदेखि अर्कोमा परिक्रमा गर्दै
यसरीनै धानी रहन्छ “जल चक्र”
प्रकृतिको नजरामा यो त्यसै अनुपम छ
त्यो एकथोपा जलको महासागरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *