टुटेको सपना
निल अधिकारी
अमेरिका
भूटानको सुदूर पूर्व भागमा अवस्थित एउटा सानो गाउँ,जसको उत्तरमा दिदी-बहिनी नामका हरियो पर्वत शृङ्खला थिए भने पूर्वमा धनसिरी नदीले पूर्वोत्तर भारतको अरुणाचल प्रदेशको सिमाना छुटाउँथ्यो ।त्यसै गरी दक्षिणमा आसाम प्रदेशको समथर मैदानले सिमाङ्कन गरेको थियो भने पश्चिम तिर हरियो घना जङ्गलले सिमाङ्कन गरेको थियो।त्यो सुन्दर गाउँको नाम हो दैफाम। दैफामलाई मुख्यतय तीन वटा नामले चिनिन्थ्यो,सम्भवतः समग्र भूटानकै एक मात्र शिवालय भएकाले भैरव कुण्ड भन्ने गर्थे भारतीयहरू।उत्तरतिर दिदी-बहिनी जोडी हिमाल भएकाले दिदी-बहिनीको गाउँ पनि भन्थे भने बस्तीको मध्य पश्चिम क्षेत्रमा ठुलो पोखरी थियो त्यसको नाम भोर्ला पोखरी थियो र त्यही पोखरीको नाम जोडेर पनि मान्छेले चिन्ने गर्थे।करिब पाँच सय परिवारको बसोबास रहेको उक्त सुन्दर बस्तीमा अधिकांश नेपाली जातीहरू बसोबास गर्थे।विभिन्न जात जातिको सम्मिश्रण उक्त भूभाग स्वर्ग भन्दा कम थिएन।त्यही ठाउँमा जन्मिएर आफ्नो बाल्यकाल बिताएको मान्छेको टुटेको सपनाको आत्मा संस्मरण हो यो।
अप्रिल १६ सन् १९९० मङ्गलवार बिहान संस्कृत पढ्न भनेर घर बाट बनारस तिर हानिए म।त्यति बेला हप्तामा दुई दिन मात्र दैफाम – साम्ड्रुकजोङ्खर बस चल्थ्यो,बि.जी.टी.एस(भूटान गर्भमेन्ट ट्रान्सपोर्ट सर्भिस )स्कुले हरियो रङ्गको बक्खु भिरेर बाउले “ला यो पनि लगा” भनेर दिएको सिको फाइभ घडी भिरेर मन मनै खुसी हुँदै घर बाट ओरालो झरेँ ।तल्ला घरको डाँडामा पुगेर उँभो फर्केर हेरेँ,माथितिर मैनाटारका खमारी र चिउरीका रूखहरूले मलाई छिटै पढी सकेर पण्डित भएर आउनु है भनेर सुसाई रहेको भान भयो।पारीपट्टि राई गाउँका साथीहरू,हर्के,पोक्चे,कान्छी सबैलाई छोडेर टाढा कहिले नगएको ठाउँतिर जान लाग्दा हर्ष र बिस्मात एकै चोटि भयो।मन भारी बनाउँदै ओरालो झरेँ।पुर्ने,धने,छिरिङ,ढङकले,दुर्गे पनि जमुना डाँडामा आएर मलाई हेरिरहेका थिए।सायद सोच्दै थिए होलान् आघौँको तिहारमा कसले देउसी भट्ट्याउने होला भनेर मेरो अभावमा खिन्न भई रहेका होलान् जस्तो लाग्यो।पाडे दिलेको पानीको कुवामा एक अँजुली पानी पिएर एकले कान्छाको घर अगाडी बाट सरासर जाँदै थिएँ मेगेनी भाउजूले “कता हिँडेऊ बाउन नानी एकाबिहानै” भनिन।अं बनारस तिर लागेको भनेँ ‘कति राम्रो, पुरेत बा पनि अब पाको भई सक्नु भयो,बा पछाडि हामी तिमीलाई पुरेत पुज्न पाउँ है’ भनिन।म झसङ्ग भएँ, बा पछि पुरेत हुनु है भनेको सुन्दा। सुनेको थिएँ केही वर्ष अगाडी हाम्रा ठुला भिनाजु र बडीका मालदाइ पनि पुरेत पण्डित बन्न बानारसनै जानु भएको थियो रे। त्यहाँको नियम साह्रै कडा छ रे।बिहान ब्राह्ममुहूर्त उठ्नु पर्ने,नित्य सन्ध्या वन्दन गर्नु पर्ने, त्रीपुन्ड्रक उर्धपुन्ड्रक जस्तो भए नि तिलक,धारण गर्नु पर्थ्यो रे।त्यति मात्र कहाँ हो र हिजो गुरुले दिएको पाठ बुझाएर नयाँ पाठ लिए पछि बल्ल खाना खाने बेला हुन्थ्यो रे।घण्टौँ लाइन बसेर खाना खाई सके पछाडि बेलुकी दाल रोटी खानु पर्ने।आफ्नो त दिनको तीन छाक भात बजाउने बानी।भान्छामा दूध बिना भागै नबस्ने मान्छे म।सूखा रोटीले कसरी रात काट्ने होला भनेर हिँडि रहँदा हिँडि रहँदा कति छिटो दमाई डाँडाको चौतारामा आई पुगेछु पत्तै भएन।गान्टे पाखाको ओरालो छिचोल्दै दैफाम खोलाको बगरमा पुग्दा बडा बडा अदुवाका भारी बिसाएर बसेका रैछन कट्वाल साँल दाजु,तामाङ फुर्बे,कान्छी राईनी,बन्टु नाना टेके दाजु मङ्गलवारे बजार हिँडेका।”हैन खोइ तिम्रो भारी”?कान्छीले सोधी।”हुने खानेले हाम्रो जस्तो डँडाल्नामा भारी बोकी रहनु पर्छ र,गोजीमा बोके पुगिहाल्छ नि”फुर्बेले हाँस्दै भन्यो।हुन पनि हो उनीहरूले गरेको दुःख र मैले बाँचेको जीवन फरक थियो।’ल मलाई अलिक हतार छ’ भनेर त्यहाँ बाट फुत्कें ।
बस बिसौनीमा पुग्दा बस स्टार्ट भई सकेको रहेछ। ढोकामा खलासीले टिकट माग्यो झिकेर दिएँ,सिट नम्बर 14 मा बस भन्यो झ्यालको छेउमा रहेछ मज्जा भयो। बिहानको साढे आठ बजे (बीजीटीयस) बस हुइँकियो।साथी भाइ ,आफ्नो प्यारो गाउँ इष्टमित्र छोडेर जाँदा मनमा नरमाइलो लागे ता पनि आसामको समथर मैदानको कालो पत्रे सडकमा एकनासले कुदिरहेको बसको झ्याल बाट बाहिरको दृश्यावलोकनमा गरिरहेँ । तामुल(सुपारी)बगान, बाँस घारी ,रुखहरू, घरहरू सबै आफ्नो विपरीत दिशा तिर कुदेको देख्दा बडो अचम्म लाग्यो मन एक किसिमले बहकिरहेको थियो।बस तीनाली,गोराईमारी,उदालगडी,टङला हुँदै रङिया आइपुग्दा खाना खान बिसायो।दिनको एक बज्न लागेको थियो।एक घण्टा पछि फेरी बस अघि बड्यो।बेलुकी साढे तीन बजे तिर साम्ड्रुपजोंखर हाम्रो(डिस्ट्रिक्ट हेडक्वार्टर)पुग्यो।
भोलि पल्ट साढे सात बजेको बसको टिकट गरेर म बेलुकी बास बस्न होटेल “न्यामडिकमा” पुगेँ।त्यो ठाउँमा म पहिले पनि दुई पटक पुगिसकेको थिएँ त्यसैले सरासर होटेल गएँ।रिजर्भेसन गरे कोठा नम्बर 14 दियो ।मेनेजर नेपाली नै रहेछन् ।सामान थन्काएर नुहाइ धुवाइ गरी खाना खाए पछि मुभी हेर्न ताम्चू बाउको फिल्म हल तिर लागेँ।नेपाली फिल्म माइती घर खूब भिडभाडका साथ चल्दै रहेछ।रातको एघार बजे मुभी सिद्धियो।सरासर होटेल आएँ।कोठा अगाडी आई पुग्दा भित्र कोठामा केही मान्छे गुनगुन गरेको आवाज आयो।म गलत कोठामा आएँ कि क्या हौ भन्ने लाग्यो।फर्केर लबी तिर गएँ।लबीमा मेनेजर भेटिए ।मैले सोध्न नपाउँदै उनले भने ‘भाइ तिमी डबल बेड रुम भएको कोठामा एकलै छौ,तिमीलाई अप्ठ्यारो हुँदैन भने एउटा आग्रह गर्छु ल’।आग्रह नै भनिसके पछि मैले पनि स्विकारेँ।’हेर्नु नि टासीगाङ बाट एक जना शिक्षक परिवार सँग थिम्पु हिँडेका रहेछन् कतै होटेलमा कोठा नभेटाएर मलाई आग्रह गरे।मैले पनि मानवताको नाताले एउटा भाइ डबल बेडरुममा छन् म कुरा मिलाउँला नि भन्दिएँ तिमी के भन्छौ ‘भने।टिचर भन्ने शब्दले म यति त्रसित भएँ कि मेरा नौनारी गलेर आए ।एक दिनको कुरा हो मेरो जोङ्खा किताब हराएकोमा यति नराम्रो सँग पिटेका थिए कि त्यस दिन देखि मैले कुनै पनि टिचरको अनुहारमा सिधा हेर्ने हिम्मत गरिन।आफूलाई पढाउने शिक्षक सँग बोल्नु त के सिधा नजरले पनि हेर्नु हुँदैन भन्ने शिक्षा पाएको केटोले नाइनास्ति गर्ने कुरै भएन।मेनेजर भित्र पसेर मेरो सानो ब्याग सानो बेडमा सारेर सारछोप भाषामा उनीहरू सँग के के कुरा गरेर मलाइ धन्यवाद भाइ भन्दै बाहिरिए।म त्यसै पनि कम्ती बोल्ने स्वभावको केटो केही पनि नबोली अर्को पट्टी फर्केर सुतेँ।’तिमी स्टुडेन्ट हो बाइ’?भनेर ती महासयले सोधे।मैले हो भनेर उत्तर दिएँ।’सरी ल हामीले गर्दा रुम शेयर गर्नु पर्यो’ मन एक मनको भारी बोके जस्तो गह्रौँ भएता पनि मन्द हाँसोको साथ ‘इट्स ओके’भने मैले।अनि तिमी काता गा को नि?प्रश्न तेर्स्याई हाले फेरि ,अब केही त बोल्नै पर्यो।संस्कृत पढ्न बनारस हिँडेको भनेँ।’ तिम्रो पेरेन्ट कति एजुकेटेड रैछ’ आफ्नो भाषा संस्कृति आफ्नो देशमा पढ्न नपाए पनि कमसेकम इन्डियामा गएर भए पनि केही त सिकेर आउँछ,हाम्रो त जाने ठाउँ पनि कहीँ छैन , अर्काको भाषालाई नै जबरजस्ती आफ्नो भन्नु परेको छ,धर्म,पन्थ, संस्कार पनि अर्काककोलाई आफ्नो मान्दिनु परेको छ’।हाम्रो पनि तिमीहरूको जस्तै आफ्नो भाषा थियो,धर्म राजा साबड्रंग नावानाम्ग्यलको अन्त्य सँगै सबै सकियो,कतै गएर पढ्ने सिक्ने ठाउँ पनि छैन।तिमी पडे पछि फर्केर आएर आफ्नो मान्छेहरू लाई राम्रो सँग आफूले पढेको ज्ञान सिकाउनु भाषा सिकाउनु ल’। भूटान सरकारले लागू गरेको कानुन जनताको हितमा छैन,तिमीहरूको पनि जातीय पहिचान जोखिममा छ”।मैले अं,हुन्छ,मात्र भनेर उनको प्रश्नको सिधा उत्तर दिने प्रयास गरेँ।त्यति बेला ती महाशयले भनेको कुरा मैले कति पनि बुझिनछु,अहिले सम्झँदा कति गहिरो कुरा गरेका रहेछन्।यस्तै अरू पनि के के भनी रहेका थिए उनले तर मैले खासै चासो दिइन।एक क्षण पछि उनी बोल्न छोडे।आफ्नो सानो बच्चालाई भुइँमा बक्खु ओछ्याएर ओछ्यान बनाइ दिए र दुई बुडाबुडी बेडमा सुते।म पनि निदाएछु।गर्मीको मौसम बेलुकी पानी बडी पिएकाले होला पिसाबले च्यापेछ बिउँझिएछु।बडो अनौठो आवाज आएको जस्तो सुन्छु,ठुलो ठुलो सास फेरेको जस्तो पनि सुन्छु।के आपत्ति आइलागेछ भनेर अर्को पट्टि के फर्किएको थिएँ ,एउटा नग्न मान्छेले अर्को नग्न मान्छेलाई मर्ने गरी थिचिरहेको देखेँ।लाग्यो हाम्रो गाउँका माथ्ला घरका राई काका काकी मातेर आएका दिन यसरी लडाइ गर्थे र यसरी नै थिचाथिच गर्थे त्यस्तै होला भन्ठाने।एक क्षण बिचार गरेँ, अझ जोड जोडले आवाज आउन थाल्यो।तल पटी सुतेको मान्छेले कम्बलले घरी घरी जिउ ढाक्न कोसिस गर्थिन तर एक क्षणमा कम्बल सुल्किएर घुँडा तलतिर पुगी हाल्थ्यो।मैले त्यति बेला सानिमाको छोरा लाले दाजुले डम्फु स्कुल बाट दुइटा नेपाली कथाका किताब ल्याइदिएका थिए।एउटा “सिन्दवादका सात समुद्री यात्रा”र अर्को गूल वकावलीको कथा पढेको थिएँ।सिन्दवादको एक दिनको यात्राको क्रममा जङ्गलबाट एउटा उदेकको झुस्से बुडो निस्किन्छ र सिन्दवादको बुई चढ्छ। खाँदा,हिँड्दा,बस्दा,सुत्दा पनि जिउमा लिसो टाँसिए जसरी टाँसिएको कथा पढेको थिएँ त्यही कथा सम्झिन पुगेँ।गुलवकावलीको कथामा पुरुषको प्रजनन अंगलाई कान बिनाको मुसो भनेर राजकुमारीलाई उसकी सखीले सम्झाएको कथा जस्तो पनि लाग्यो।यतिकैमा आफूलाई पिसाबले ओछ्यान बिग्रिने डर भई सक्यो एकातिर भने अर्कातिर ,उठेर बाथरुम कुदौं भने पनि बा समातेर कुट्ने हो कि भन्ने डर।नजानिँदो पाराले गोडा मुनीको कम्बल तानेर गुम्लुंग ओढेँ र चियाएर त्यो दृश्य हेरेँ।निकै बेर सम्म त्यो रति राग चल्यो।उनीहरूको त्यो कार्यक्रम सकिने बित्तिकै बाथरुम कुदेँ,विडम्बना के भयो भन्नु न पिसाबले कटकटी पारेको छ तर पिसाब आउँदैन।बल्ल बल्ल मत्थर भयो र पिसाब आयो।फर्केर गएर उता तिर नहेरी सुतेँ रात भरी निन्द्रा लागेन,फेरी पनि त्यही क्रियाकलाप दोहोरिने पो हो कि भनेर।बिहान ब्युँझँदा त साढे सात भई सकेछ।मुख मात्र धोएर हतार हतार कुदेँ बस बिसौनी तिर।त्यति बेला साम्ड्रुपजोंखर बाट बिहान साढे सात र साढे आठ बजे फर्स्ट र सेकेन्ड बस चल्ने गर्थ्यो।आफ्नो बसले छोडी हालेछ र पनि भनसुन गर्दा भएछ भने सेकेन्ड बसमा भए पनि जान्छु भनेर बस स्टेण्ड पुगेँ।दैव संयोग ती हिजोका रुममेटहरुको पनि त्यही हालत भएछ।भाइ हाम्रो त बस आगिनै छुटे छ अब सेकेन्ड बसमा लान्छ भन्दै छ।जसो तसो फुन्चोलिङ सम्म जाने प्रबन्ध भयो भने त्यहाँ बाट त भिनाजुले लगिहाल्नु नि बनारस त भन्ने मनमा लाग्यो। टिकट काउण्टर सित कुरा मिल्यो र केही समय पछि फेरि अर्को दिनको यात्रा सुरु भयो तर हिजो जत्तिको मजा चाहिँ भएन।सीट नपाएर दुइटा सीटको वाक वे मा एउटा पटाइ तेर्स्याएर त्यसैमा बस्यौँ एउटा अपरिचित यात्रु र म।बाहिरको दृश्य सबै नदेखिएता पनि आँखा भने बाहिरै डुलि रहे।बस तामुलपुर हुँदै रङिया बाट पश्चिम तिर मोडियो।बरबेटा पार गरेर बस नलबारी पुग्यो,त्यहाँ बस कहिबेर बिसायो ।पूर्वोत्तर भूटानको नाङलाम जाने केही यात्रीहरू रहेछन् ।उनीहरू झरे पछि हामीलाई पनि सिट मिल्यो।बस फेरि हुँइकियो।त्यस बेला आसामका पृथकतावादी अलफा र बोडोहरुको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो।बसमा केही आसामका नेपाली यात्रीहरू पनि रहेछन्।उनीहरू (आनसु)आसाम नेपाली स्टुडेन्ट युनियनका कार्यकर्ता रहेछन्।भोलि बाट अनिश्चित काल सम्म आसाम बन्द हुने कुरा गर्दै थिए।अलिकतिले ढिला भएनछ नत्र कति दिन साम्ड्रुपजोंखरमा बस्नु पर्थ्यो,धन्न सेकेन्ड बसमा ल्याइदिएकोमा मनमनै भगवान् लाई धन्यवाद दिएँ।बस बाह्रबिसा पुग्यो जहाँ बाट कुलकुले कालिखोला जाने बाटो छुट्टिन्छ ।बस बिसायो,सानो होटेल,खाना खानेको घुईचो लाग्यो।म पनि खाना खान बसेँ,हिजोका रुम मेट त्यही पल्लो टेबलमा रहेछन् बोलाए “खानाको पैसा म दिन्छ ल”भने।खोइ कुन्नि कहिलेको गुन तिरिरहेका थिए ती अजनबीले,हिजो रुम शेयर गरेकोले हो कि वा मेरो हिजो रातीको चटक सबै देख्यो होला यसले भनेर लाज पचाको हो थाहा भएन।केही समय पछि पुन यात्रा सुरु भयो।सन्ठाइबारी,श्रीरामपूर,आलेपूरद्वार, हाँसीमारा, जयगाउँ हुँदै बेलुकी आठ बजे फुन्चोलिङको गोल बिल्डिङको छेउ बाट बस भित्र पस्यो।
झमक्क साँझ परेको हुनाले यात्रीहरू कोही आफन्तका तिर लागे कोही कता,आफू त पहिलो पल्ट फुन्चोलिङ आएको छेउछाउमा न चिनजान न आफन्त।दिदी भिनाजु अलि पर तोरीबारी गाइउमा बस्नु हुन्छ रे भनेको मात्र सुनेको हो।दुई चार वटा होटेलमा रुम छ छैन सोधी हेरेँ।त्यति बेला अहिलेको जस्तो गेटमा चेकजाँच थिएन।बास बस्ने कोठा खोज्दै जाँदा जयगाॅउ तिर एउटा गुप्ता होटेलमा पुगेँ,कोठा मिल्यो त्यही रात कटाएँ।भोलिपल्ट, जयगाउँ झरेँ मङ्गलवारे सम्म ट्याक्सीमा गएँ। त्यस बेला जयगाउँ -मंगलबारेको ट्याक्सीको भाडा एक रुपियाँ थियो। मङ्गलवारे बाट सिधै पूर्व गाउँ तिरको कच्ची सडक हुँदै र बाटो हिँड्नेहरू सँग सोधखोज गर्दै दिदीको घर पुगेँ।दुई चार दिन बसे पछि आफू कुन उद्देश्यले कता हिँडेको सबै कुरा भिनाजु लाई बताएँ ।भिनाजु पनि कर्म काण्डिय पण्डित नै थिए, जयगाउँ आसपास खुब जजमानी गर्थे।”थ्यै…ट त्यस्तो पाती पढ्न जाने ठाउँमा जाने हो,अहिले अङ्ग्रेजीको जमाना छ यी हेर हामी अङ्ग्रेजी नपढेकालाई पेट पाल्न कति गाह्रो भएको छ ।जजमानीले जिन्दगी चल्दैन केटा बरु यो बर्खे छुट्टी सकिएर स्कुल लागे पछि यही स्कुलमा पढ्नु”भने ।केही दिन पछि दक्षिण पटिका स्कुलहरू बर्खे बिदा भए। गाउँमा गाइँगुइँ आन्दोलनको हल्ला चल्न सुरु भयो ।आन्दोलन के हो,किन गर्नु पर्ने,कसरी गर्ने कसले गर्ने केही थाहा थिएन।गर्गन्डा भन्ने ठाउँमा आर.के.बडाथोकीको नेतृत्वमा भूटान पिपल्स पार्टी (बी.पी.पी)स्थापना भएको छ अरे,दक्षिण भूटानमा बसोबास गर्ने नेपाली जाति माथि बडो अन्याय भएको छ रे,तेह्र सूत्रीय माग सहित मानवअधिकार र पूर्ण प्रजातन्त्र बहालीका लागि यही अगस्ट पन्ध्र 1990 को दिन एकै साथ देशव्यापी रूपमा आन्दोलन हुने तैयारी भई रहेको छ रे भनेर गाउँका युवाहरू गाउँ छोड्दै आन्दोलनका लागि चन्दा उठाउन भनेर राती राती हिँड्न थाले।तर अपसोच त्यो भनिएको मितिमा आन्दोलन भएन,त्यसमा केही प्राविधिक कारणहरू होलान्।बर्खे छुट्टी भएर पुन स्कुल सञ्चालन भएन। दक्षिणका प्रत्येक स्कुल लाई आर्मी ब्यारेक बनाइयो,जन आन्दोलन दबाउने अखाडा बनाइयो,राती राती गाइउमा पसेर आर्मी भनौदा मानव दैत्यहरूले घर लुट्ने,चेलीबेटीहरू बलात्कार गर्ने सनसनी पूर्ण आतङ्क मच्चाए अनि दोष जति जन आन्दोलनका लागि सहयोग जुटाउन भूमिगत रहेका युवाहरू लाई थोपरे। गाउँमा छापछाप्ती आर्मी पुलिस आउन थाले,अनावश्यक सोधपुछ गर्न थाले।किन यसरी गाइउमा आर्मी पुलिस पसेका? भनेर एक जना बुज्रुकलाई सोधेँ ।”खोइ साम्चीमा हो कि फुन्चोलिङमा हो एउटा झोलामा मान्छेका दुइटा टाउका भेटिए रे अनि सर्वसाधारणमा डर त्रास नहोस् भनेर सुरक्षा प्रदान गरेको रे”भने ।मेरो बनारस जाने,कर्म काण्डिय पण्डित बन्ने सपना त्यहिँ पुगेर टुङ्गियो ।केही दिन पछि दक्षिण भूटानका सबै ठाउँमा जुलुस भयो रे कोही कोही ठाउँमा त बक्खु,किरा पनि जलाइयो रे भन्ने खबर सञ्चार माध्यमहरूले प्रसारण गर्न थाले।भारत बाट प्रकाशित भारत दर्पण, नभ भारत टाइम्स,सुनचरी,हिमाल जस्ता पत्रिकाहरूले मुख्य पृष्ठमानमै भूटानमा भएको जन आन्दोलनको समाचार लेखे।केही दिन पछि फुन्चोलिङमा पनि जुलुस भयो।एक दिनको कुरा हो म केही खेतालाहरू सँग धान गोड्दै थिए।दिनको करिब नौ बज्न लागेको छ उँधो भारतीय बोर्डर तिर बाट करिब डेढ दुई सय जना मानिसहरू हातमा खुकुरी,डण्डा बोकेका,रातै अबिरको टिका लगाएका,कहिले टाउकामा रातो टरवाइन बाँधेका,कसै कसैले केमोफ्लेज पोसाक लगाएका ‘ल ल सबै हिँड्नुहोस् हामी सँग जुलुसमा’ भन्दै आए।महिलाहरूलाई त्यति कहर गरेनन् तर पुरुषहरू दस बाह्र वर्ष भन्दा माथिका सबैलाई लगे।धान गोड्ने खेताला मध्ये पुरुष भनेका भिनाजुका भाञ्जा भक्ति भण्डारी (तेह्र वर्षका) र म थियौँ।हामीलाई कमाण्डिङ हिसाबले बोलाए पछि हामी दुई लुसु लुसु उनीहरूको सारमा “भूटान पिपल्स पार्टी जिन्दाबाद,दागो छिरिङ मुर्दावाद”भन्न सिकाए त्यही भन्दै हिँड्यौं ।प्रिथीमान घले(भूतपूर्व राजकीय सल्लाहकार)को घर पछाडि बाट ठुले घलेको घर हुँदै पासाखा जाने बाटोमा निस्कियौँ।एक जना महाशयले पोलमा चढेर टेलिफोनको तार काटे।सिधै पारि अर्जुन डाँडाको गोलाईमा केही पुलिसहरू बसेका देखिन्थे, तर हामी त्यहाँ पुग्दा उनीहरू खर्बन्दी चेकपोस्ट तिर झरिसकेका रहेछन् ।खर्बन्दी गेटमा हामीलाई रोक्ने ठुलो प्रयास गरे तर उँभो बाट झरेका एक डेढ सयको फोर्सले पच्चीस तीस जना पुलिसलाई पन्छाएर हामी सिधै फुन्चोलिङको डुङपा अफिस तिर अगाडी बढ्यौँ।बाटामा फायर ट्रकबाट पानीको फोहोराले हानेर भिड तितरबितर बनाउन खोजे तर हामी मध्ये कसैले गएर पाइप काटिदियौँ।जुलुसेहरु लाई विभिन्न किसिमले रोक्ने प्रयास भएको देखेर झन् उग्र बन्दै गए साथीहरू “टेक नाथ रिजाल जिन्दाबाद,दागो छिरिङ मुर्दावाद”को चर्को नारा लगाउँदै डुङपा अफिस अगाडी पुगियो।डुङपा अफिसको अगाडिको राष्ट्रिय झन्डा सँगै भूटान पिपल्स पार्टीको झन्डा राखेर विभिन्न नारा लगाउँदै उभियौं।फाल्तु गफ कसैले गर्दैन तिनै तेह्र सूत्रीय माग भन्थे जोड जोडले चिच्याउँदै दोहोर्याई रहन्थ्यौं।प्रिथीमान डासोका छोरा मदन धले फुन्चोलिङका मण्डल रहेछन्।उनको पनि कार्यालय त्यही रहेछ।उनी बाहिर निस्किएर हामीलाई के भन्न खोज्दै थिए हाम्रो नेता महेन्द्र ढागर (मगर)ले मण्डललाई चुप रहन आदेश दिए नत्र जीउ खोलामा टाउको झोलामा भन्दै धम्क्याए।महेन्द्र ढागर, फुन्चोलिङ जयगाउँ आसपास क्षेत्रमा आफ्नो निकै राम्रो परिचय बनाएका मान्छे रहेछन्।निडर साहसिक र अलिक दादा गिरी देखाउने टाइपका थिए।त्यो अफिस बाट कर्मचारीहरू कोही पनि बाहिर निस्कन पाएनन्।गङ्गा दिदी ,कृत्तिका दिदी अरू पनि थुप्रै दिदीहरू थिए बडो बफादारीका साथ पालै पालो पार्टीको झन्डा समातेर जुलुसको अग्र पङ्क्तिमा उभिन्थे।बिहान नौ बजे तिर एक मुठी खाजा च्यापेर खेतमा निस्केको मान्छे बेलुकी छ बजे हुँदा सम्म भोकले पेटमा निकै ठुलठुला मुसा कुद्न थालेका थिए।उभिएकाले गलेर मर्नु भा छैन थुचुक्क बस्न पनि दिन्नन्।रातको करिब दश बजेको हुनु पर्छ त्यहाँका डुङपा बाहिर निस्किए र भिडलाई सम्बोधन गरे ‘ तपाँईहरूको शान्तिपूर्ण तरिकाबाट आफ्नो अधिकार माग्न आउनु भयो यो अति राम्रो कुरा हो, तपाईँहरूको माग के हो? केही कागजात या मेमोरन्डम छ भने हामीलाई छोडेर जानुस् हामी तपाईँहरूको माग सम्बन्धित ठाउँमा पठाइ दिन्छौ,यो सानो केटाकेटीहरू पनि आको रैछ अब रातीमा यसरी बस्नु ठिक हुँदैन’ मात्र के भनेका थिए महेन्द्र जङ्गिएर अगाडी गएर उसले बोल्दै गरेको सानो ब्याट्रीवाला मायिक खोसेर “यो भोटेको बच्चाले के जान्दछ,हाम्रो माग राजाले मात्रै पुरा गर्छ,जिग्मे सीङ्गे वाङ्चुकलाई यहाँ बोलाएर ल्या म उ सँग कुरा गर्छु “भने।त्यस बेला सम्म हामीलाई कसैले पनि निगरानी गरेको थिएन अब भने पुलिसहरूको केही चहलपहल देखिन थाल्यो।मध्ये रात भई सके पछि हामी केटाकेटी परेका सबैले भोक लाग्यो भन्यौं।महेन्द्रले एक दुई जना पुलिसका जवानहरू लाई बोलाएर ‘हाम्रा दुईचार जना केटा लिएर गएर माडेहरूको दोकान बाट चिउरा र भुजा लिएर आऊ’भनेर आदेश दिए।सोही बमोजिम चिउरा आयो हात थापेर हातमै खायौँ।
त्यति बेला मलाई यस्तो लाग्यो सरकार भनेकै पुलिस हो।हाम्रा नेताले जे भने पनि पुलिसले खुरुखुरु मानेको देखेर अब प्रजातन्त्र पनि बोकेरै घर गइने रहेछ जस्तो लाग्यो।दिउसो देखिएको दृश्य भन्दा केही अनौठो महसुस गरिरहेको थिए म।घुर्मैलो जुनको प्रकाशमा टाढा टाढाका दृश्यहरू के हुन भनेर ठम्याउन निक्कै कठिन पर्थ्यो।पुलिसले मजाले घेरा बन्दी गरेको रहेछ। बिहानको मिरमिर उज्यालो हुँदा सम्म पुलिस पछाडि आर्मीको अर्को घेरा बन्यो।मलाई बेसरी डर लाग्यो,केही साथीहरू फेरि नारा लगाउन थाले।दुईचार जना आर्मीसँग उनका हाकिम होलान् सायद अगाडी छातीमा धेरै वटा तक्मा भिरेका अफिसर हाम्रा अगाडी उभिए।उता आर्मी र पुलिसको घेरो हामी तिर साँघुरिँदै आयो।ती महासय बोल्न थाले”तिमीहरू लाई हिजो डासो डुङपाले भनेको मान्नु भएनछ अब राजाले रातो टिका लगाउने,केमोफ्लेज लगाउने र यो रातो टरबाइन बाँध्नेहरुलाई लाई लिएर आउनु प्रजातन्त्र दिएर पठाउँछु “भनेको छ मात्र के भनी सकेका थिए ती माथि भनिएकाहरू लाई कर्याप्पझ्याप पारिहाले। लाठीचार्ज भयो अरू पनि के के भयो भयो।म सानो मान्छे तिनीहरूको टाङ मुनि बाट छिर्दै बाहिर भाग्न सफल भएँ। फुन्चोलिङको हस्पिटलको तलतिर बाट सैगन घारी कुद्दै थिएँ,पछाडि स्याम बहादुर घले पनि पछि पछि आउँदै रहेछन्,मितेरी साइनाले भेना पर्थे उनी।भक्ति कता छोडिए थाहा भएन।म जति अगाडी कुद्छु वरिपरिका रुख सबै पुलिस जस्तै देख्छु,मलाई समाउन लखेटी रहेका छन् जस्तो लाग्छ मनमा।हस्पिटलको डाँडाबाट सिधै मल्ली गराज तिर ओरालो झर्यौं। त्यहाँ पुग्दा त्यहाँका स्थानीय नेपालीहरूले हामीलाई सुसूचित गरिहाले कि भूटान सरकारको आग्रहमा भारतीय सी.आर.पी हरू पनि परिचालन गरेका छन् रे ता कि भूटानका आन्दोलनकारीहरू सिमानामा लुकेर नबसुन् भनेर।यो कुरा थाह पाए पछि हामी त्यो क्षेत्र आसपास बस्नु राम्रो छैन भनेर चिया बगान भित्र पस्यौँ।बगानका पत्ति टिप्नेहरुले अझ डर थपिदिए।अघि मात्र भूटान र इन्डियाका आर्मीका ट्रकहरु छापछाप्ति कुदी रहेका थिए।अब बगान तिर होइन उता खोक्ला बस्ती तिर पसौँ भनेर दुई सालो भेना खोकला बस्ती तिर लाग्यौं।दिन भरी लुक्दै हिँड्दाका भोकले लखतरान भइयो,बल्ल बल्ल एउटा घरमा पुग्यौं।श्यम भेनाका मितबा पर्दा रहेछन् घोडावाल दर्जी।हाम्रो हालत थाहा पाए पछि बुढाले भने “नानी तिमीहरू त हामीले पकाको खाँदैनौ होला, हामी चामल तरकारी बाहिर निकाली दिन्छौँ उ त्यहाँ आगनको पल्लो छेउमा चुलो बनाएर पकाएर खानु” भने।मैले हतार हतार ढुङ्गाको चम्को बनाएर चुलो बालेँ,भेनाले तरकारी काट्नु भयो डराउँदै डराउँदै पकाएर खायौँ,भात पनि आधि काँचै भएछ,जे भए पनि पेटमा केही परे पछि अब चाहिँ बाँचिन्छ होला जस्तो लाग्यो।घोडावाल बाजेले आफू उहिले पहाड बाट भागेर हिँड्दाका आङ जिरिङ्ग हुने कथा सुनाए,कयौँ दिन भोक भोकै हिँडेको र अन्त्यमा भारतको सिक्किम आई पुगेको कथाले मन केही हलुका भयो।अब पेट त भरियो,सुत्नलाई कता जाने होला?भन्ने चिन्ताले सतायो।बगरे बाजेका नामले चिनिएका एक जना घिमिरे पुरेत थिए त्यही खोकला बस्तीमा, त्यहिँ गएर बास माग्यौँ र राती बास बस्यौँ।यसरी एउटा निश्चित लक्ष्य बोकेर पढ्न हिँडेको कलिलो ठिटाको दिमागमा सजाएको सुनौलो सपनालाई नब्बेमा आएको जन आन्दोलनको हुरीले चकनाचुर बनाइदियो।