टोपीलाई श्रीपेच मान्छ ऊ !

सि एम निरौला
न्यू ह्याम्पसायर, अमेरिका

आफूलाई राजा ठान्छ ऊ
टाउकोमा लगाएको टोपी होइन
त्यसलाई
तानाशाहको श्रीपेच मान्छ ऊ
समाज नङ्ग्याउन सिपालु छ
तरै पनि
आफैले आफूलाई वरिष्ठ हुँ भन्छ ऊ ।

अर्काको बारेमा भ्रम फैलाउँदै
नकारात्मक सन्देश छरपस्ट पार्छ ऊ
छोरी चेली देख्नै हुन्न
अर्काकै श्रीमती भए पनि बाघ झैँ झम्टन्छ ऊ
आफूले आफूलाई रक्षकको परिचय
अन्य सामु खुलेर दिन्छ ऊ !

अरूले के भन्छन् वास्ता गर्दैन ऊ
कारण
मात्र आफैँलाई सोच्दछ ऊ
भक्षक भन्ने बुझेका छन् भन्ने जान्दछ ऊ
तरै पनि लम्पसार परेर
बत्तिस वटा दाह्रा देखाउँ
अनि गर्वका साथ
आफूले आफैँलाई महाराजा ठान्छ ऊ !

हो,
बाघको छाला ओढेर कुकुर झैँ
चोकचोकमा भुक्छ ऊ
अनि,
आफूले आफैँलाई स्वर्गको दूत ठान्छ ऊ
ऊ जे गर्छ उसका लागि सही छ
अरूलाई भत्काउँदा पनि
अरूलाई लडाउँदा पनि
आफूलाई संरक्षक मान्छ ऊ
भिखारी झैँ भिख मागेता पनि
आफूलाई भने दानवीर ठान्छ ऊ ।

उसले टाउकाको टोपीलाई टोपी होइन
आज पनि
त्यसलाई श्रीपेच ठान्छ ऊ !
टोपीलाई टोपी मान्न जान्दैन ऊ !
टोपीलाई आफ्नो सभ्यता ठान्न सक्दैन ऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *