डट्कमको एक दशक यात्रा

[यो आलेख समालोचक श्री शिवलाल दाहालले गत वर्ष Bhutaneseliterature.com ले एक दशक पूरा गरेको उपलक्ष्यमा तयार पार्नुभएको थियो। एक वर्षको अन्तरालमा Bhutaneseliterature.com मा प्रकाशित हुने रचनाहरूमा संख्याका अलावा उस्तो ठूलो तात्विक अन्तर नभएले यो आलेख यस वर्ष पनि सान्दर्भिक हुने ठानेर यहाँ पुन: प्रकाशित  छ – सम्पादक ]  

शिवलाल दाहाल

Bhutaneseliterature.comले आजआफ्नो एक दशकको यात्रा पुरा गरेको छ । सर्वप्रथम त सन् २००९ मा स्थापित डट्कम भूटानको साहित्यमा एउटा नयाँ अध्यय र नवीन सम्भावनाको खोजी थियो । त्यो नयाँ बाटो र सम्भावनाको खोजी क्रमिकरुपमा विकासित भएको भन्दा पनि एउटा आकासमिक परिघटनाको परिणति थियो । जब नेपालस्थित शरणार्थी क्याम्पबाट भूटानीहरु विश्वका विभिन्न मुलुकहरुमा पुनस्थापना हुन उड्न थाले, साहित्यले परम्परागत रुपमा सरीसर्प जस्तो घस्रेर हिँड्ने स्थिति रहेन । त्यही आवश्यकता र समाजको परिवर्तित आकांक्षलाई सम्बोधन गर्न र विश्वभूगोलका अनेक ठाउँमा बसोबास गर्न पुगेका भूटानीहरुलाई एउटै साझा मञ्चमार्फत लेखनमा अभिप्रेरित गर्ने हेतुले डट्कमको उदय हुन पुग्यो । यस संकथनमा डट्कममा प्रकाशित रचनाहरुको केही तथ्याङ्क विश्लेषणसहित उसले एकदशकको समयमा गरेका उपलव्धि, समाज र साहित्यमा पारेको प्रभाव अनि उसका सफलता र विफलताका बारेमा परिचर्चा गर्ने जमर्को गरिन्छ । यहाँ डट्कममा प्रकाशित हरेक रचनाहरु, तिनका लेखन्ते तथा वैयक्तिक रचनाहरुको छुट्टाछुटै परिचर्चा गरिने उद्देश्य छैन बरु सारमा तिनले प्रस्तुत गरेको स्वरुप, साहित्यिक प्रवृत्ति र स्थापना गरेका मुल्यहरुको विवेचना गरिने छ ।

साइबर स्पेशमा लेखिने साहित्य
साइबर स्पेशमा लेखिने साहित्यको एउटा विशेषता हो– भौतिक व्यवधानहीनता । भौतिक व्यवधानहीनताका कारणले यसलाई जहाँबाट पनि उद्भरण (अपलोड) गर्न, डाउनलोड गर्न र पढ्न सकिन्छ । यसमा समयको अभिलेख हुन्छ । कुन रचना कुन समयमा प्रकाशित भयो र कतिपटक उक्त रचना हेरियो वा पढियो भनेर अवलोकन गर्न सकिन्छ । वास्तविक समयमा यसलाई नियाल्न, परिमार्जन गर्न वा हटाउन पनि सकिन्छ । कति पाठकले एकै साथ एउटा रचना हेरिरहेका छन् वा पढिरहेका छन् भनेर गणना पनि गर्न सकिन्छ । यो वास्तविक समयमा विश्वभूगोलका अनेक ठाउँबाट लेखिँदै र पढिँदै गरिने साहित्य हो । त्यसो भएको हुँदा लेखनका दृष्टिले मात्रै होइन पाठकले पढ्ने हिसाबले पनि साइबरयुगीन साहित्य परम्परागत शैलीको साहित्य होइन । यसभित्र तात्कालिकता र द्रुतगामीता हुन्छ । एउटा रचना धेरैपटक भ्रमण गरियो भन्दैमा त्यो रचना पाठकले पूरा पढ्यो कि पढेन भनेर भन्न सकिने अवस्था हुँदैन । फरक बौद्धिक स्तर, शिक्षा, चेतना र रुचिका पाठक हुन्छन् । रचनाभन्दा शीर्षकप्रतिको पाठक आकर्षणले पनि रचना–भ्रमण प्रवाभित हुनसक्छ । फरक भाषाहरुमा रचना छापिन्छन् भने भाषाले पनि रचना–भ्रमणलाई प्रभाव पार्न सक्छ । दशवर्षको अवधिमा डट्कममा प्रकाशित रचनाहरु मध्ये कुन चाहिँ सबैभन्दा धेरै भ्रमण गरियो भनेर पाठक वा लेखकलाई जिज्ञासा हुनसक्छ । त्यो जिज्ञासालाई पूरा गर्न धेरै भ्रमण गरिएका केही रचना तल राखिएको छ ।

माथि उद्धृत रचनाहरुलाई हेर्ने हो भने पाठकहरुको रुचि हाम्रो साहित्यमा धेरै लेखिने गरेका कविता वा गजलतिर होइन बरु आख्यानतिर भएको पुष्टि हुन्छ । हुन त यति थोरै रचनाका आधारमा निस्कर्ष निकालिनु दोषरहित नहोला । आख्यानको जस्तो कविताका पाठक हुँदैनन् । आख्यनमा घटना, विचार, भावनाहरुको विस्तार हुन्छ, कवितामा त्यो साङ्केतिक र संश्लेषित रुपमा प्रकटित हुन्छ । कविता वा गजलमा भन्दा आख्यानमा कता हो कता मानव जीवनका, समाजका क्रियाप्रक्रियाहरुको, भोगाइहरुको, चरित्र, प्रवृत्ति र अन्तर्क्रियाहरुको विस्तारपूर्वक चित्रण हुनसक्छ जसले गर्दा पाठकहरुको रुचि प्रभावित हुनपुग्दछ । जनसाधरणका लागि कविताभन्दा आख्यान बढी बोधगम्य र ग्रहणीय हुने कुराले पनि यस किसिमको स्थिति निर्माण भएको हुनसक्छ ।

प्रकाशनको झुकाव
वेवसाइटको आधिकारिक जानकारी अनुसार दशवर्षको अवधिमा प्रकाशित रचनाहरुको कुलसंख्या २५५५ रहेको छ । वेवसाइटमा आरकाइब गरेको मासिक विवरणलाई आधार मान्ने हो भने त्यो संख्या २४२६ मात्र हुनआउँदछ । प्राविधिक कारणले (वा अन्य कुनै कारणले) उत्पन्न यो अन्तरलाई, थातीमा राखेर उपलब्ध मासिक विवरणलाई नै यहाँ विश्लेषणको आधार बनाइएको छ ।

माथिको रेखाचित्रमा रचना प्रकाशनको संख्यामा आएको उत्तर–चडाबको गतिलाई देख्न सकिन्छ । स्थापनाको दोस्रो वर्ष डट्कमले जम्मा ४९७ रचना प्रकाशित गरेको थियो । त्यसपछिका वर्षहरुमा रचना प्रकाशनको संख्यामा गिरावट हुँदै, सन् २०१७ मा १०० को हाराहारी न्यूनविन्दुमा पुग्छ र सन् २०१८ मा त्यसमा सुधार आई ३०३ हुनजान्छ । दशवर्षे अवधिको वार्षिक औसत भने २४२ रहेको छ । यसरी रचना प्रकाशनको संख्यामा उतर–चडाब आउनुमा अनेक कारणहरु जिम्मेवार छन् । सन् १०११ मा Bhutaneseliterature.com साहित्य परिषद भूटानमा गाभियो । स्वतन्त्र रुपमा गठन भएर सञ्चालन भएपनि Bhutaneseliterature.com साहित्यिक पत्रकारिताका हिसाबले साहित्य परिषद्, भूटानले सन् १९९५बाट प्रकाशन गर्दै आएको वार्षिक पत्रिका “भूटानी कोपिलाको” निरन्तरता थियो । कोपिलाले प्रतिनिधित्व गरेको समाज र ‘स्पेश’ नै डट्कमको समाज र स्पेश थियो (हो) । पुनर्वासको कार्यक्रम आरम्भ भएपछि मरणासन्न अवस्थामा पुगेको तत्कालीन नेपाली साहित्य परिषद्को इतिहासको रक्षा गर्दै नयाँ परिस्थितिमा अगाडी बढाउन त्यसलाई साहित्य परिषद, भूटानका रुपमा विकासित गरियो । सन् २०११ देखि सन् २०१७ मा आइपुग्दा मात्रै साहित्य परिषद्, भूटानले अमेरिकाको ओहायोमा दर्ता भई वैधानिक हैसियत प्राप्त गर्यो । यसबिचमा अन्य साहित्यिक संघसंस्था र साहित्यिक झुण्डहरुको पनि उदय भयो । साहित्य परिषद् विरुद्ध व्यक्तिगत र सामूहिक दुस्प्रचार गरियो । यस समयको परिषदको एउटा प्रमुख लक्ष्य अमेरिकामा दर्ता गुर्न थियो त्यसकारण प्रकाशनको कामभन्दा संस्थालाई वैधानिकता, प्राथमिकतामा पर्‍यो । सन् २०१८को आरम्भमा डट्कमले सम्पादन समितिको विस्तार गर्‍यो र पछि जून महिनामा साहित्य परिषदको सम्मेलन सम्पन्न भयो । सम्मेलनमा एकै चोटी आठ साहित्यिक कृति र दुई गीति एल्वम विमोचित भए, केही कार्यपत्रहरु पनि प्रस्तुत हुनपुगे । सम्मेलनले भूटानी समाज र साहित्यिक वृत्तमा एककिसिमको ऊर्जा प्रधान गर्‍यो जसले गर्दा सन् २०१८ मा रचना प्रकाशनमा अभिवृद्धि हुन पुग्यो । माथि उल्लेखित सांक्यिकीय प्रवाहसूचक रेखा (ट्रेन्ड लाइन) को समीकरणको झुकाव ऋणात्मक (-19.782) रहेको छ ।

समीकरण, y = -19.782x + 348.51

पुनर्वासपछिको समाज र साहित्य
Bhutaneseliterature.com को स्थापनासँगै भूटानको साहित्यले नयाँ स्वरुप ग्रहण गर्‍यो किन भने यो भौतिक किताब वा पत्रिकाभन्दा फरक प्रकाशन माध्यबाट छापिएको सामाग्री हो, साहित्य हो । प्रकाशनकादृष्टिले मात्रै होइन पठनकादृष्टिले पनि साइबर स्पेशमा लेखिने साहित्य परंपरागतरुपमा लेखिँदै र छापिँदै आएको साहित्यभन्दा भिन्न हुन्छ । यसले पाठकहरुको रुचि मात्रै होइन प्रविधिको उपलब्धता, प्रयोग क्षमता र पहुँचको पनि माग गर्दछ । पुनर्वासको क्रमसँगै भूटानीहरुको सुचना–प्रविधिसँग अभूतपूर्व साक्षात्कार भयो, सर्वसुलभरुपमा प्रयोग गर्ने अवसर प्राप्त भयो । यसका अतिरिक्त सामाजिक सञ्जालको बढ्दो प्रयोगले भूटानी समाज र साहित्यमा उल्लेखनीय प्रभाव पारेको सहजै देख्न सकिन्छ । पुनर्वासले भूटानी समाजमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको प्रयोगमा असिमित पहुँच बढ्यो । हुन त विश्वमा नै सामाजिक सञ्जालहरुको प्रयोग भएको धेरै भएको थिएन तर भूटानीहरुमा त्यसको उपलब्धता चाँढै नै प्राप्त भयो भन्ने मात्र हो । पुनर्वासकाक्रममा विश्वभरि छरिएको भूटानी समाजलाई यातायात, सुचना–सञ्चार र सामाजिक सञ्जालहरुले यसरी जोडि दिएको हजारौ–हजार कोशको भौतिक दुरी, दुरी नै रहेन । अनेक भूगोलमा छरिएको समाज, कतै नछरिएको जस्तो, कतै नभत्किए जस्तो, एउटै भूगोलमा वल्लोघर पल्लोघरमा बसिरहे कि जस्तो अनुभूति दियो । यसलाई कृतिम यथार्थ भनेर मात्रै हुँदैन, वर्तमान समयको विशेषताका रुपमा अर्थ्याउनु उपयुक्त हुन्छ । सामाजिक सञ्जाल फेसबुक अभिव्यक्तिको सरल माध्यम भइदिएपछि कतिपय भूटानी सर्जकहरुले त्यसैलाई अचेल रचना पस्किने माध्यम बनाएका छन् ।

जब एउटा समाज भत्किन्छ र अर्को ठाउमा गएर पुनस्थापित हुन्छ, उसको सामाजिक स्वरुप बदलिन्छ । भूटानीहरुको बसाइँ सराइ समूहको हो, एक–दुई व्यक्तिको होइन । नयाँ ठाउँमा पुगेपछि एकातिर त्यहाँको समाज र परिवेश सुहाउँदो चरित्र निर्माण गर्न आवश्यक हुन्छ भने अर्कातिर अघिदेखि रहिआएको सामुदायिक व्यक्तित्व (कम्युनिटी आइडेन्टिटी)लाई अक्षुण्ण राख्ने दायित्व पनि रहन्छ । यो एक प्रकारको ‘देऊ र ल्याउ’को अवस्था हो । सन् २००७ देखि सुरुभएको बसाइँ सराइले निम्त्याएको सङ्क्रमणकालीन अवस्थाको अझै अन्त भएको छैन (हुने क्रममा छ) । बसाइँ सरिगएका गन्तव्य मुलुकहरुमा महिलाहरु अधिकरुपमा रोजगार भएपछि, चलिआएको पुरुषले घर–बाहिरको काम गर्ने र महिलाले घरभित्रको काम गर्ने सामाजिक परिपाठीको अन्त हुन्छ जसले गर्दा परिवारिक संरचना र आर्थिक व्यवहारमा परिवर्तन निम्त्याउँछ । भिन्न ठाउँमा पुगेपछि धेरै कुरा नौला र अपरिचित हुन्छन्, काम गर्ने, जीवन जीउने र व्यवहार गर्ने शैली पृथक हुन्छ । त्यसले गर्दा व्यक्ति र समाजको जीवनमा एक किसिमको फरक मनोविज्ञानको प्रादुर्भाव हुन्छ । त्यो मनोविज्ञान ऊर्जाशील, प्रगतिगामी र प्रेरणापद भइदियो भने व्यक्ति र समाजले उन्नति हाँसिल गर्छ । परिवर्तनले नकारात्मक ऊर्जा प्रवाह गर्‍यो भने त्यसतो मनोविज्ञानले व्यक्तिलाई नष्ट गरिदिन्छ । एकातिर बदिँलो जीवनशैली, पारिवारिक र सामाजिक संरचनामा भएको परिवर्तन, अपरिचित समस्याहरुसँगको साक्षत्कार, देशबहिरगमन र बसाइँ सराइले उत्पन्न गरेको आघात जस्ता कुराले पुनर्वासित भूटानी समाजमा घातक मनोविज्ञानको सिर्जना गरेको छ । अर्कोतिर परिवर्तनलाई अवसर र महान सम्भावनाको स्रोत मान्नेहरुले धेरै फट्को मारिसकेका छन् । बल्ल दशकौसम्म देश र घरवार विहीन भएका भूटानीहरुले गन्तव्य मुलुकको नागरिकता प्राप्त गरेका छन्(प्राप्त गर्ने क्रममा छन्), निजी निवास निर्माण गरेका छन् । ठाउँ–ठाउँमा समाजिक संगठनहरु स्थापित छन् । अनेकौ सामाजिक, सांस्कृतिक र साहित्यिक गतिविधि तथा धार्मिक अनुष्ठानहरुको आयोजन भइरहेका छन् । सारमा भन्ने हो भने गन्तव्य मुलुकहरुमा भूटानी समाजले स्थाइयीत्व र अपनत्व ग्रहण गर्दैछ । धेरैको जिन्दगीको मुहार फेरिएको छ । हिजोको चरम अभाव, गरिवी र राष्ट्रियताविहीनताको स्थितिको एकप्रकारले अन्त्य भएको छ । समाजको आकांक्षा र गन्तव्य नै बदलिएकोछ । यद्यपि नयाँ ठाउँमा सम्भावनाहरुसँगै फरक किसिमका चुनौति र समस्याहरु उत्पन्न भएका छन् ।

साहित्य व्यक्ति–चेतना, चिन्तन र बौधिक्तामा निर्भर रहेपनि त्यसमा समय र समाजको प्रभाव प्रत्यारोपित हुन्छ । भूटानको साहित्य विभिन्न ‘स्पेश’मा लेखिँदै आएको छ । एकसमय देशको भूगोलभित्र लेखियो (लेखिँदैछ छुटफुट) त्यसको लक्ष्य फरक थियो–राष्ट्रिय जागरण, आध्यत्मचिन्तन र नैतिक शिक्षा । दोस्रो, निर्वासनबाट लेखियो (लेखिँदैछ) त्यसको चिन्तनको कसी थियो– क्रान्ति, विद्रोह र स्वतन्त्रताको चाहना । तेस्रो, पुनर्वासितभूमिबाट लेखिँदै गरेको साहित्यमा जो विस्थापन र विच्छेदनको भावनाले प्रलिप्त छ । त्यसकारण साहित्यको आत्मा समाज, बसाइ, राजनीतिक अवस्थिति र परिवर्तनको मोडले प्रभावित हुन्छ । यो मुलभूत चिन्तन कता केन्द्रित थियो (रह्यो) भन्ने मात्र हो । खास गरी भूटानको नेपाली साहित्यमा कुनै पनि कालखण्डको एउटा विशिष्ट साहित्यिक धार वा चिन्तन छैन भने पनि हुन्छ । बसाइँसराइ र फरक फरक भूगोल र अवस्थाको बसाइ, स्थिति र भोगाइले लेखनमा प्रभाव नपारिरहन सक्तैन । पाश्चात्य मुलुकमा पुगेका भूटानीहरुले भौतिक सुविधा र सम्पन्नताको अनुभूत गरे पनि धेरैले ‘बिरानुपनको बोध’ यथेष्ठ गरेका छन् । यो ‘बिरानुपनको बोध’ लेखाइहरु यत्रतत्र आएको छ ।

भूटानको साहित्यमा, लेखनलाई नै जीवनको कर्म बनाउने केही साहित्यिक भएनन् । एकदुई रचना वा एकदुई कृतिमा धेरै लेखकहरु सिमित भएका छन् । पुनर्वासपछि साहित्यमा नव प्रवेशीहरु प्रायजसो गजल लेखनमा केन्द्रित छन् । डट्कमका छापिएका रचना मात्र हर्ने हो भने सबभन्दा बढी सिर्जनाको संख्या कविताको छ । वास्तवमा, पुनर्वासपछि तुलनात्मक रुपमा अघिल्लो कालखण्डमाभन्दा कथा लेखनमा प्रगति भएको छ । त्यसको संकेत साहित्य परिषदले सन् २०१८ मा प्रकाशित गरेको ‘समकालीन भूटानी नेपाली कथा’ बाट पाउन सकिन्छ । सोह्र जना कथाकारका भिन्न भिन्न कथा भएपनि अधिकांश कथामा विस्थापन, परिचहीयनताको पीडा, पुरानो र नयाँ पुस्ताबीचको फरक मनोवृत्ति, पुनर्वासपछि समाजमा व्यप्त आत्माहत्यको समस्या, बसाइँ सराइले निम्त्याएको आघात र पाश्चात्य जगतको यान्त्रिक जीवनको चित्रण छ । थोरै केही कथाले भूटानी निरङ्कुश राज्यव्यस्थाले जनता माथि गरेको अत्याचार र परिवर्तनको चाहनालाई मुखरित गरेका छन् । यहाँ कथाको प्रसंग कोट्याउनुको कारण के हो भने यी कथाहरुमा पुनर्वासपछिको भूटानी समाजका केही पाटाहरुको उत्घाटन भएको छ, तिनका समस्या र भोगाइहरुको चित्रण छ । कथाकारहरुको जोड भूटानीहरुको विगतसँग वर्तमानलाई जोड्नमा गएको देखिन्छ ।
वर्तमानमा एकथरि लेखकहरु छन् जो विषयवस्तुको नूतनता खोज्नभन्दा पनि पुरानै गुनासो, दुःखेसो र निरङ्कुश राज्यव्यवस्थाबाट अन्यायपूर्वक देश निकाला हुनुपर्दाको पीडावोध र विद्रोह बोलिरहेका छन् । उनीहरु छायामा रहेको गुमेको देशको सम्झना र मायावी स्मृतिमा काल्पनिक आर्दशको महल बनाउँदै पाश्चात्य मुलुकहरुमा रमाइरहेका छन् । अर्को एकथरि लेखकहरु छन् जो विगतलाईभन्दा वर्तमानको यथार्थता, युगिनता र समसामायिक विश्वपरिस्थितिलाई आत्मसात गरी सिर्जनामा क्रियाशील छन् ।

लेखक
वेवसाइटको जानकारी अनुसार डट्कममा रचना प्रकाशन गर्नेको संख्या २५० रहेको छ । यो संख्या निकै ठूलो भएपनि अधिकांश लेखकहरु एक–दुईवटा रचनामा सिमित छन् । कुल प्रकाशित रचना र लेखकहरुको अनुपात (१०:१)लाई हेर्ने हो भने एकजना लेखकका सरदर १० थान रचना प्रकाशित छन् । पुनर्वासपछि लेख्नेहरुको साख्यामा वृद्धि भएको छ, कृति निकाल्नेहरुको संख्या थपिएको छ । यसरी वृद्धि हुनको कारण सरल प्रकाशन माध्यम, सामाजिक सञ्जाल र अनलाइन पत्रपत्रिकाको विकास, सञ्चार माध्यम मार्फत लेखकहरु बीच बढेको सम्पर्क र अन्तर्कृया हो । अर्को कुरा पाश्चात्य मुलुकहरुमा पुगेपछि भूटानी समाजमा आफ्ना नवसन्ततिले नेपाली भाषा बिर्सिने चिन्ता बढेको छ । त्यो चिन्ताले धेरैलाई आफ्नो भाषाका लागि केही गर्न पर्ने रहेछ भन्ने जागरुकता ल्याएको छ । पुनर्वासपछि, शरणार्थी क्याम्पमा रहँदाको विपन्न अवस्थाले प्रकाशनमा आउन नसकेका लेखकहरुको आर्थिक स्थितिमा सुधार भयो जसले गर्दा कृति प्रकाशन गर्ने श्रृंखलामा वृद्धि भयो । हतार–हतार एकाध कृति प्रकाशन गरेर, लेखक बन्ने महत्वकाक्षांले धेरैलाई लेखक त बनायो तर गुणस्तरीय साहित्यको विकासमा भने अपेक्षित प्रगति हुनसकिरहेको छैन । एकदशकमा डट्कममा अधिक रचना पस्किने केही लेखक र तिनको रचना संख्या तल प्रस्तुत छ ।

विधाका आधारमा रचना
डट्कमले रचनालाई विभिन्न विधामा छुट्याएर प्रकाशन गर्ने गरेको छ । डट्कम स्थापनाको वर्षगाठ तथा भानु जयान्ति, देवकोटा जयान्ति र मोति जयान्ति जस्ता अवसरहरुलाई सन्दर्भ पारेर केही विशेषाङ्कहरु निस्किएका छन् । भाषाका आधारमा अंग्रेजी र नेपाली भनेर फरक वर्गीकरण गरिएको छ । विभिन्न समयमा फरक शीर्षकमा वर्गीकरण गरिएको हुनाले यकिन रुपमा तिनको संख्या निरुपण गर्न सम्भव भएन । सबैभन्दा बढी रचना कविता अन्तर्गत प्रकाशित छन् त्यसपछि गजल । पुनर्वासपछि गजल र कथा लेख्नेको संख्या बढेको छ । यद्यपि ४३२ गजल प्रकाशन हुँदा कथा भने ११६ मात्र प्रकाशित भएको देखिन्छ । निबन्ध, संस्मरण जस्ता विधामा प्रगति नभए पनि समालोचना/समीक्षाको क्षेत्रमा भने कही प्रगति भएको देख्न सकिन्छ ।

निस्कर्ष
भूटानीहरुको पाश्चात्य मुलुकहरुमा पुनस्थापनापछि भाषा र साहित्यको अवस्था के हुन्छ भन्ने चिन्ता सर्वत्र छाएको थियो । भाषा–साहित्यलाई जीवन्त राख्ने सवालमा विभन्न सामाजिक अभियान, साङ्गठानिक र व्यक्तिगत प्रयत्नहरु भएका छन्, हुँदै छन् । तथापि नयाँ पुस्तामा जातीय भाषा नेपालीको प्रयोग र प्रभावमा कम हुँदै गइरहेको छ । भाषाप्रति धेरैको चिन्ता छ तर त्यसलाई जिउँदो जाग्दो राख्ने अभियानमा लगानी गर्ने सवालमा भाषा चासोको विषय छैन । नवपुस्तामा नेपालीभाषाको प्रयोग त घट्ने नै भयो, निरन्तर शिक्षा र प्रयोगको अभावले उतैबाट नेपालीभाषा केही अध्ययन गरेर आएकाहरुको भासिक ज्ञान र शीपमा पनि ह्रास आउने कुरा निश्चितप्रायः छ । डट्कममा प्रकाशनकादृष्टिले तुलनात्मक रुपमा अंग्रेजी रचनाहरुको संख्या नेपाली रचनाहरुको संख्याभन्दा अत्यान्तै कम देखिन्छ । यसले नव पुस्ताले अंग्रेजीमा प्रभाव राखे पनि साहित्य सिर्जनाप्रति उदासिन रहेको पुष्टि गर्दछ । भूटानदेखि नै अंग्रेजी शिक्षामा हुर्केको अघिल्लो पुस्ता पनि सिर्जनात्मक रुपमा अगाडी आएको देखिँदैन ।
डट्कमले दसवर्षसम्म प्रकाशनलाई निरन्तरता दिएर, छरिएर रहेको भूटानी साहित्यिक समाजलाई लेखनको एउटा साझा सेतुमा बाँधेको छ । अन्तराष्ट्रिय बसाइँ सराईले उत्पन्न गरेको संक्रमणकालीन समयमा विगतको हाम्रो भाषा–साहित्यक अभ्यास, आन्दोलन र अभियानलाई निरन्तरता दिँदै नेपाली साहित्यमा फरक मूल्य र पहिचान स्थापित गर्नमा डट्कमले खेलेको भूमिका उल्लेखनीय छ ।
Bhutaneseliterature.com सन् २००९मा, रमेश गौतम, यतिराज अजनवी, रुप पोख्रेल, दोना आयार्य र सञ्चामन खालिङ्ले स्थापना गरेका थिए । Bhutaneseliterature.com हाल साहित्य परिषद, भूटानको मातहतमा रहेको छ ।

सन्दर्भ सामाग्री:
अजनवी यतिराज र दाहाल शिवालाल; समकालीन भूटानी नेपाली कथाः साहित्य परिषद्, भूटान,२०१८.
अजनवी यतिराज, गौतम रमेश र अन्य; साहित्य परिषद्,भूटान,७ मर्इ २००९.www.bhutaneselitere.com/archievies.उद्धृत ५ मर्इ२०१९.
गौतम,रमेश.व्याक्तिगत अन्तवार्ताः मर्इ ५,२०१९.
दाहाल, शिवलाल.अलबिदा बेलडाँगी. काठमाडौः डिस्कोर्स पब्लिकेसन,२०१३.

Leave a Reply

Your email address will not be published. Required fields are marked *