डा. भम्पा राई प्रति

मधु घिमिरे
ह्यारिसबर्ग, पेन्सिलभेनिया

भम्पा राई कुशल प्रतिभा बैद्य हाम्रा विशेष
भूटानीका मन मगजमा बस्दछन् आज खास
बोली मीठो हरपल नयॉं जोश उर्लेर बग्थ्यो
माटो माटो मधुर लयमा शब्द निस्केर बज्थ्यो १

भोकाएका मनुज जनका एक आधार बन्थे
रोगी दुःखी जन प्रति अझै प्यार नौलो उमार्थे
ठेगाना के घर छ त कहॉं भन्नु भूटान भन्थे
बिर्सी सारा सुख सयल ती दुःखमा रम्न खोज्थे २

सेवाले नै परम सुखको मूल सम्पूर्ण फुट्छ
हक्की आँटी निडर जहिल्यै जीतको शैल चुम्छ
आफ्नो प्यारो मुलुक सरिको अन्य केही हुँदैन
भम्मा भन्थे सुख सयल होस् राष्ट्र भुल्नै हुँदैन ३

ऊर्जा भर्ने सकल जनमा प्रेरणाका मुहान
हॉंसी हॉंसी सब दिल छुने जिन्दगानी महान
ज्ञानी दानी दिन दिन नयॉं शुद्ध संकल्प राख्ने
आस्था निष्ठा अटुट दिलमा सभ्यतामा सिगार्नें ४

सोझो सादा सरल रसिलो जिन्दगीको विचार
सेवा पाई गरिब जनको दिव्य बन्थ्यो मुहार
छैनौं भम्पा अति सुरसिला आज हाम्रो बिचैमा
श्रद्धाका यी सुमन करले अर्पिँए सम्झनामा ५

छन्द- मन्दाक्रान्ता

One Reply to “डा. भम्पा राई प्रति”

  1. Anonymous

    हिजोको त्यो पर्णकुटी फोड़े पछि थाहाभयो
    दैवको त्यो लाठी मुंग्री छोडे पछि थाहाभयो

    जिउँदो लास झुपडीमा को नै थ्योर कठै! भन्ने
    घायल जीवन अन्तै पाइला मोड़े पछि थाहाभयो

    इतिहासको पाना भित्र हाम्रो कथा हराउँछ कि
    सम्झनाले घायल मुटु तोड़े पछि थाहाभयो

    बिन्ती गर्छु हाम्रोलागि थोरै कलम चलाई देऊ
    अतीत् सम्झी दु:ख पिडा गोडे पछि थाहाभयो॥
    के० सी० (सान्दाइ)
    साउथ अष्ट्रेलिया
    एडिलेड॥
    २०/०७/२०१९॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *