डायस्पोरामा मातृभाषाको समस्या र समाधानको दिशा ( साहित्य परिषद, भूटानको सम्मेलन-२०२२ मा प्रस्तुत कार्यपत्र )
डा. लक्ष्मीनारायण ढकाल
प्रस्तावना / उद्देश्य
मानिस आफ्नो मूल स्थानबाट अलग्गिएर अर्कै देश र परिस्थितिमा बसोबास गर्न थालेपछि उसलाई मातृभाषाको समस्या आइपर्नु स्वभाविक नै हो I किनकि उसलाई त्यहाँको स्थानीय भाषा र संस्कृतिको प्रभाव त पर्ने नै हुन्छ भने अर्को कुरो उसले चाहेर पनि आफ्नो भाषालाई औपचारिक रुपमा पढ्न, लेख्न र प्रयोग गर्न पाउँदैन वा वातावरण पाएको हुँदैन I दैनिक बोलचालका दृष्टिले होस् वा लेखपढका दृष्टिले होस् भाषा उपेक्षित बन्दै जाने गर्दछ I यसरी कुनै पनि भाषा जब अल्पमतमा प्रयोग हुन पुग्दछ, त्यो भाषा दोस्रो या तेस्रो भाषाको रूपमा गनिन बाध्य हुन्छ I भाषाको यो क्रम विभाजन बोलचालका दृष्टिले पहिलो रहेता पनि शिक्षाका दृष्टिले भने पछाडिएको हुन्छ I
मातृभाषा मासिनुमा स्थानीय भाषा, संस्कृति, शिक्षा व्यवस्था र जनसंख्याको कमी बाह्य र गौण कारण हुन् भने मातृभाषामा बोलचाल गर्न छाड्नु र स्थानीय भाषामै बोलचाल गर्नु यसको आन्तरिक र प्रमुख कारण हो I आज विश्वमा छरिन पुगेका हामी नेपाली भाषीहरूमा मातृभाषा लोप हुने खतरा आइपरेको छ I कतिपय हजुर बुबा, हजुर आमा र नातानातिनाहरूबीच दोभाषे चाहिन थालेको जटील अवस्था देखिएको छ I यस समस्याका विविध आयामहरू र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने चर्चा यस कार्यपत्रको उद्देश्य हो I
पृष्ठभूमि
विश्वका थुप्रै मुलुकहरूमा नेपाली भाषीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ I यी स्थानहरूमा नेपाल, भूटान र भारतका विभिन्न स्थानहरूबाट आएका आप्रवासी नेपालीहरूको बसोवास हुने गर्दछ I नेपाल र भारतका केही स्थानहरूबाट आएका नेपालीभाषीहरू दुई-चार दसकदेखि बस्दै आएका भए तापनि भूटानी मूलका नेपाली भाषीहरू भने पछिल्लो १४ बर्षदेखि यी मुलुकहरूमा बस्दै आएका छन् I अन्य नेपाली भाषीहरू थुप्रै मुलुकहरूमा बसेका भएता पनि भूटानी मूलका नेपाली भाषीहरू भने अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, डेनमार्क, नर्बे, निदरल्याण्ड आदि देशहरूमा बसेका छन् I यहाँ आप्रवासित भएपछि यी नेपालीभाषीहरूमा मातृभाषा लोपोन्मुख हुने ठूलो खतरा जन्मिएको छ I यद्यपि यो समस्या सम्पूर्ण नेपाली भाषी हरूको हो, तथापि यस कार्यपत्रमा भूटानी मूलका नेपाली भाषीहरूको समस्यालाई मात्र अध्ययन गरिएको छ I
भूटानी नेपाली भाषीहरूको आप्रवासी जीवनका यी १४ बर्षहरूमा हाम्रा सैकडौं बालबालिकाहरू नेपाली भाषामा बोल्न छोडिसकेका छन् I यी बालबालिकाहरूले स्थानीय भाषा वा अन्तराष्ट्रिय भाषा अंग्रेजीलाई आफ्नो सम्पर्कको भाषा बनाइसकेका छन् I त्यस्तै अधिकांश बालबालिकाहरू छिटपुट नेपाली बोले तापनि अधिकतर अंग्रेजीमा बोल्न रुचाउछन् I मुट्ठीभर बालबालिकाहरू भने अधिकांश रूपमा धाराप्रवाह नेपाली बोल्न र प्राथमिक रुपमा हल्का पढ्न र लेख्न पनि सक्दछन् I यो परिस्थिति उत्पन्न हुनु अस्वभाविक होइन I किनकि भाषा भनेको बोलिरहँदा , प्रयोग भइरहँदा र लेखपढ भइरहँदा जिवीत रहने हो I स्थानीय भाषा,संस्कृति र शिक्षा व्यवस्था जुन प्रकारको हुन्छ तदनुरूप प्रभाव पर्छ नै I यसका साथै यस विषयमा बालबालिकाका अभिभावकहरू आफ्नो भाषाप्रति कतिको जागरुक छन् भन्ने कुराले ठूलो महत्व राख्दछ I कारण थुप्रै हुनसक्छन् I यस परिस्थितिमा समाजका भाषाप्रेमी, सचेत अभिभावक र चिन्तकहरूका प्रयासले मातृभाषालाई मर्न नदिन जागरुकताका साथ लागि पर्न आवश्यक छ I प्रयास बिल्कुलै नभएका होइनन् I थोरैमात्रामा भएका भए तापनि उक्त प्रयासहरूले आशाजनक परिणाम देखाएका छन् I यी परिणामहरूले के स्पष्ट भएको छ भने हाम्रो भाषिक अभियान केन्द्रीकृत, नियोजित, पारदर्शी, अनुसन्धानमूलक र प्रयोगमूलक हुन आवश्यक छ I यसका लागि समाजका प्रत्येक अभिभावकहरूले समयको, रूचिको,अर्थको र परिश्रमको लगानी गर्नुपर्ने देखिन्छ I
विषयवस्तुको विमर्श
भूटानी मूलका नेपालीभाषीहरूले भूटान छोड्नु पर्ने प्रमुख कारणहरूमा त्यहाँको सरकारद्वारा नेपाली भाषा-शिक्षा र नेपाली संस्कृतिमाथिको आक्रमण नै हो I दक्षिण भूटानमा बन्द गरिएका विद्यालयहरू ,जलाइएका नेपाली भाषाका पुस्तकहरू र सरकारी कार्यालयहरूमा नेपाली भाषा बोल्नमा लगाइएको प्रतिबन्ध हाम्रा आँखामा अझै पनि झल्झली छन् I आफ्नो भाषा,संस्कृति र वाक् स्वतन्त्रतामा लागेको तगारोकै कारण १८ वर्ष नेपालको शरणार्थी शिविरमा बस्दा केहि मात्त्रामा पल्लवित हुने अवसर मिल्यो I शिविरहरूमा औपचारिक शिक्षामा मात्र नभएर संस्थाहरूद्वारा अनौपचारिक रुपमा पनि भाषा शिक्षणका अभियानहरू चलाइए I सन् १९९३ मा स्थापित भएको भाषा परिषदले हजारौं शिक्षकहरू, लेखकहरू र भाषाप्रेमीहरू उत्पादन गर्यो I जुन अभियानका उत्पादनहरू आज विश्वका आठ मुलुकहरूमा आप्रवासित भएका छन् I आज यी आप्रवासित मुलुकहरूमा तिनै शिक्षक, लेखक, भाषाप्रेमी अभिभावकहरूका बालबालिकाहरू मातृभाषा नेपाली बोल्न नसक्ने अवस्थामा छन् I यो मातृभाषा लोपोन्मुखको समस्या भूटानी मूलका नेपालीभाषीहरूमा मात्र हैन, नेपाल मूलक नेपालीभाषीहरूमा पनि उत्तिकै पाइन्छ I यो अत्यन्त चिन्ता जनक विषय हो I
मातृभाषा लोपोन्मुख हुनुको कारण
नेपाली डायस्पोरामा नयाँ पुस्तामा मातृभाषा लोपोन्मुख हुनुका प्रमुख दुईवटा कारणहरू देखिन्छन् I
१. पहिलो कारण हो अभिभावक भाषा प्रति जागरुक नहुनु I यस विषयमा साहित्य परिषद भूटानको पाठ्यक्रम अनुसन्धान विभागले सन् २०१८ मा एक सर्वेक्षण गरेको थियो I उक्त सर्वेक्षणमा ६० प्रतिशत अभिभावकहरू आफ्ना बालबालिकाहरूसँग अंग्रेजी वा स्थानीय भाषामा बोल्ने गरेको पाइयो I ३० प्रतिशत अभिभावकहरू नेपालीमा बोल्ने त गर्छन् ,तर बालबालिकालाई भाषा शिक्षण गराउनुपर्छ र यसका लागि हाम्रो लगानी हुनुपर्छ भन्ने विषयमा जान्दैनन् वा प्रयास गर्दैनन् I शेष १० प्रतिशत अभिभावकहरूका नानीहरू सामान्य रूपमा मातृभाषा बोल्न,पढ्न र लेख्न सक्दछन् I
भाषाको कथ्य रुप श्रवण संस्कारमा निर्भर हुने गर्दछ I बालबालिकाहरूले घर परिवारमा बोलेको सुनेर बोल्न सिक्ने हुन् I परिवारका सदस्यले जुन भाषा बोल्छन् त्यही भाषा सिक्नु उनीहरूको बाध्यता हो I
२. मातृभाषा लोपोन्मुख हुनुमा दोस्रो कारण हो सम्बन्धित स्थानहरूमा नेपाली भाषीहरू अल्पमतमा भएकाले विद्यालयीय पाठ्यक्रममा नेपाली भाषा नहुनु I जुन देशमा जुन भाषा पहिलो भाषाका रूपमा पढाइन्छ, ती स्थानहरूमा अन्तराष्ट्रिय रूपमा प्रभाव जमाएका भाषाहरू र जनसंख्याका आधारमा क्रमश दोस्रो र तेस्रो भाषाका रूपमा पढाइन्छन् I जस्तै अंग्रेजी पहिलो भाषाका रूपमा बोलिने वा पढाइने अमेरिका, क्यानडा,वेलायत,अष्ट्रेलिया आदि देशहरूमा स्प्यानिस, जर्मनी, जापानी,चिनी आदि भाषाहरू दोस्रो वा तेस्रो भाषाका रूपमा पढाइन्छन् I नेपाली भाषाका प्रयोग कर्ताहरूको अल्पसंख्या र अन्तराष्ट्रिय रूपमा नगनिएको भाषा भएकै कारण अहिलेसम्म विद्यालयीय शिक्षामा नपढाइनाले हाम्रा बालबच्चाहरूले अवसर पाएका छैनन् I
भाषा शिक्षण अभियान
पुनर्वासपछिका हाम्रा आरम्भिक दुई-चार बर्षहरू स्थापित हुने संघर्षमा नै बिते I सन् २०१२ पछि हुर्किदै गरेका बालबालिकाहरू र हजुरबा हजुर आमाबीच दोभाषे चाहिने अवस्था देखिएपछि केही जागरुक परिवारहरूले आफ्ना नानीहरूलाई घरमै भाषा सिकाउन आरम्भ गरे I विस्तारै सामाजिक स्तरमा पनि साप्ताहिक भाषा कक्षाहरू चलाइन थालिए , तर पाठ्यक्रम, पाठ्य पुस्तक र पाठ्य सामग्रीका अभावले कठिनाइ आउन थाले I आरम्भमा अनलाइनमा उपलब्ध सामग्री लिएर पढाइन थालिए भने कतिले नेपालबाट पाठ्य पुस्तकहरू आयात गरेर प्रयोग गर्न थाले I यो प्रक्रिया अझै पनि चलेको पाइन्छ I भनिन्छ आवश्यकता आविष्कारको जननी हो I हामीबीच प्रारम्भिक केही पाठ्यपुस्तकहरू,पाठ्यक्रम र पाठ्यसामग्री निर्माण हुन थालेका पनि छन् I
साप्ताहिक भाषा कक्षाहरू
अमेरिका,अस्ट्रेलिया क्यानाडा आदि देशहरूमा सामाजिक स्तरमा विभिन्न संस्थाहरूले साप्ताहिक भाषा कक्षाहरू चलाउने गरेका छन् I कतै हप्ताको दुई दिन त कतै एकै दिन भए पनि कक्षा संचालन हुने गरेका छन् I कोरोना महामारीका कारणले एक पटक भौतिक रूपमा भाषा कक्षाहरू पूरै बन्द भए तापनि फेरी यथावत् आरम्भ भएका छन् भने कतै हुने क्रममा छन् I कोरोना महामारीबीच केही अनलाई भाषा कक्षाहरू पनि आरम्भ भएका छन् I तर यी भौतिक वा अनलाईन भाषा कक्षाहरू पर्याप्त मात्रामा छैनन् I अर्को कुरो यी कक्षाहरूमा पाठ्यक्रम, पाठ्य पुस्तक र पाठ्य सामग्रीहरूको पर्याप्त उपलब्धता छैन I
भौतिक रूपमा भाषा शिक्षण गराइने केन्द्रहरूमा सर्वप्रथम अस्ट्रेलियाको एडिलेटमा ‘The School of Bhutanese Nepali Language & Culture’ नामक केन्द्र पाइन्छ I यो केन्द्र सन् २०१२ मा स्थापित भएको हो I साउथ अस्ट्रेलियाको सरकारी शिक्षा विभागद्वारा मान्यता प्राप्त यस केन्द्रमा १५० का हाराहारीमा बालबालिकाहरू भाषा पढ्ने गर्दछन् I संचालकहरूद्वारा दिइएको विवरण अनुसार यस केन्द्रमा कक्षा नर्सरी देखि १२ कक्षासम्मको शिक्षण गराइन्छ र आफ्नै आन्तरिक पाठ्यक्रम रहेको छ I
यता अमेरिकाको कोलम्बसमा २०१४ बाट “नेपाली भाषा अध्ययन केन्द्र’ आरम्भ भएको छ I यस अध्ययन केन्द्रमा कक्षा एकदेखि कक्षा सातसम्मको अध्यापन गराइन्छ I कोरोना महामारीपछि अहिले यी कक्षाहरू अनलाईन संचालन हुँदैछन् I यस केन्द्रमा हालमा ६० जना विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी मिलेको छ I त्यसैगरी पेंसिल्भेनीयाको हेरिश्वर्गमा OHRC ले पनि २०१५ मा भाषाकक्षा आरम्भ गरेको पाइन्छ I यहाँ OHRC को शिक्षा विभागद्वारा निर्मित आन्तरिक पाठ्यक्रमको प्रयोग गर्दै कक्षा एकदेखि आठसम्मका कक्षाहरू संचालित हुनेगर्दछन् I यस केन्द्रमा २०० भन्दा अधिक विद्यार्थीहरू रहेका छन् I त्यस्तै ‘भूटानी अमेरिकी हिन्दू समाज केन्टकी’ले लुइभीलमा २०१६ बाट भाषा कक्षा आरम्भ गरेको हो I प्राम्भिक तीनवटा तहमा संचालित यस केन्द्रमा लगभग ८० जाना विद्यार्थीहरू नियमित भए तापनि कोरोना पछि पुन: आरम्भ गर्ने तयारीमा छन् I त्यसरी नै ‘भूटनीज कम्युनिटी अफ सिनसिनाटी’ले २०१८ बाट र सोही नगरमा ‘नेपाली लेंग्वेज एण्ड आर्ट सेन्टर’ले २०१९ मा अर्को भाषा कक्षा आरम्भ गरे I यस कक्षामा महामारी पूर्व ४ दर्जन विद्यार्थी रहेका भएता पनि वर्तमानमा १८ जना विद्यार्थीहरू रहेका छन् I उता भूटानी समुदाय युटाले २०१८ देखि ‘नेपाली लिट्रेसी क्लास’का नामले भाषा कक्षा संचालन गरेको पाइन्छ I तीनवटा तहमा पढाइने यस कक्षामा वर्तमानमा ४५ जना विद्यार्थीहरू रहेका छन् I त्यसैगरी ‘हिन्दू सांस्कृतिक तथा शैक्षिक केन्द्र, आयोवा’ले पनि २०१८ बाट भाषा कक्षा आरम्भ गर्यो I यो कक्षा पनि प्राम्भिक तीनवटा तहमा संचालित थिए र ९५ जना विद्यार्थीहरू रहेका भएता पनि कोरोनाकालपछि पुन: सुचारू गर्ने योजना रहेको जनाइएको छ I भूटनिज कम्युनिटी मेचिगनले २०२१ बाट कक्षा आरम्भ गरेको छ I यस कक्षा मा ३० जना विद्यार्थीहरूले भाग लिएका छन् I उता क्यानडामा २०१५ बाट ओन्टारियो स्कुल बोर्डको सरकारी सहयोगमा साप्ताहिक भाषा कक्षा आरम्भ भएको थियो I यस कक्षामा १४ जना बालबालिका रहेका छन् I त्यसरी नै क्यानडामा २०२१ बाट ‘भूटानी सामुदायिक संस्था (बीसीए)ले अनलाईन कक्षा आरम्भ गरेको छ I दुईवटा तहमा संचालित यस कक्षामा ३२ जना बालबालिकाहरू रहेका छन् I यो वर्ष फरवरीबाट कोलोराडोमा ‘ हाम्रो नेपाली पाठशाला’ आरम्भ भएको छ I यस पाठशालामा पूर्वप्राथमिक र प्राथमिक तहमा गरी २ वटा कक्षाहरू संचालित छन् र ३० जना विद्यार्थीहरू समावेश रहेका छन् I
कोरोना महामरीबीच केही अनलाईन कक्षाहरू पनि आरम्भ भएका छन् I ‘एस एण्ड के एजुकेशन’ले अमेरिकाको पिट्सवर्गबाट २०१९ को मार्च महिनादेखि भर्चुअल कक्षा आरम्भ गरेको छ I यस कक्षामा पहिलो तहमा ३७० विद्यार्थी र दोस्रो तहमा ३० जना विद्यार्थीहरू रहेका छन् I त्यसैगरी विश्व भूटानी साहित्य संगठनले पनि सन् २०२० देखि भर्चुअल कक्षा आरम्भ गरेको छ I यस कक्षामा तीनवटा तहमा गरी ११० जना विद्यार्थीहरू अध्ययनरत छन् I
मैले प्राप्त गरेको उपलब्ध विवरणका आधारमा र संस्थागत रूपमा चलाइने भाषा शिक्षणका केन्द्रहरू यति नै हुन् ,तर थुप्रै स्थानमा पारिवारिक आयोजनमा सा-साना कक्षाहरू पनि चल्ने गरेका छन् I यी कक्षाहरूमा अध्ययन गर्ने बालबालिकाहरूको अभूतपूर्व उपलब्धिहरू देखिएका छन् I
प्रकाशित पाठ्य पुस्तकहरू
भाषा कक्षाहरूको आरम्भसँगै पाठ्यपुस्तकको खाँचो आइपर्नु स्वाभाविक हो I डायस्पोराका यी देशहरूमा नेपालका लागि बनाइएका पाठ्यपुस्तकहरू सान्दर्भिक नभएका कारण पनि स्थानीय परिवेशमा आधारित पाठ्यपुस्तकहरू प्रकाशन गर्नु पर्ने आवश्यकता देखियो I यस क्षेत्रमा केही भाषाप्रेमी व्यक्तित्वहरू र केही संस्थाहरूले केही पाठ्यपुस्तकहरू प्रकाशन गरेको पाइन्छ I जस्तै भूटानभित्रबाट प्रकाशित छत्रपति फुयेलको ‘नेपाली भाषा शिक्षक’ (२०१०), अमेरिकाबाट प्रकाशित एल आर उपाध्याय र वाई आर आचार्य को ‘सचित्र सरल नेपाली’(२०१५) मोहन तामाङ्गको “सरल नेपाली किताब’ (सन् २०१६), खिम खतिवडाको ‘हाम्रो नेपाली भाषा’ भाग एक (२०१६) र भाग दुई (२०१७), गोविन्द सुवेदीको ‘मेरो नेपाली किताब’(२०१७) ढुण्डीराज ढकालको ‘सरल नेपाली किताब’ (वि.सं.२०७६), एस.एण्ड के एजुकेशनको ‘राम्रो नेपाली किताब’(२०२०) र ‘राम्रा नैतिक कथाहरू’(२०२०) प्रकाशित भएका छन् I यसै क्रममा शिक्षण सामग्रीका रूपमा खगेन्द्र भण्डारी जन्तरेले “वर्णमाला चार्ट’ (२०१९)र गोविन्द सुवेदीले केही वर्ण र शब्द संयोजनका निम्ति काष्ठ निर्मित शिक्षण सामग्रीहरूको निर्माण र प्रयोग गरेको पाइन्छ I
पाठ्यक्रम
नेपाली डायस्पोरामा भाषा शिक्षणका लागि आधारभूत एकमुष्ट पाठ्यक्रमको अभाव छ ,यो हामी सबैलाई ज्ञात छ I यही समस्याको निराकरण खोज्दै साहित्य परिषद भूटानले ‘डायस्पोराका लागि नेपाली भाषाको पाठ्यक्रम’ (२०२०) पहिलो तह प्रकाशित गरेको छ I यो पुस्तक दैनिक पाठयोजना सहित के पढाउने ?कति पढाउने ? र कसरी पढाउने ? जस्ता प्रश्नहरूको समाधान सहित शिक्षक निर्देशिका तयार गरिएको हुनाले यो पाठ्यक्रम यस अभियानमा उपयोगी हुने देखिएको छ I
भाषा सम्बन्धित कृति
डायस्पोरामा भाषाको समस्यालाई समाधन गर्ने अभियानका लागि आवश्यक मूलभूत तत्वहरू के हुन् र कसरी समाधान गर्ने भन्ने सम्बन्धमा डा.लक्ष्मीनारायण ढकालको भर्खरै प्रकाशित ‘भाषा शिक्षण (२०२२) अर्को महत्वपूर्ण कृति हो I यो कृति एक सैद्धान्तिक विवेचनात्मक कृति भएकाले भाषा शिक्षण अभियानका शिक्षकहरू र अभिभावकहरूका लागि उपयोगि हुने देखिएको छ र भाषाका बारेमा चर्चा-परिचर्चा गरिएको डायस्पोराका निम्ति यो नै सम्भवत: पहिलो कृति हो I त्यसोत भूटानभित्र नेपाली भाषाको प्रवेश ,भाषा शिक्षणको थालानी र भाषामा भएका प्रहारसँग सम्बन्धित परिचर्चा ‘शिवलाल दाहालको “अलबिदा बेलडाँगी (२०१४) मा र डा.लक्ष्मीनारायण ढकालको ‘वासदेखि पुनार्वास्सम्म’(२०२०)मा पनि देख्न सकिन्छ I त्यसैगरी भूटनीज लिटरेचर डट कममा पनि थुप्रै लेखकहरूका दर्जनौं भाषा सम्बन्धित आलेखहरू उपलब्ध छन् I
अब गरिनुपर्ने कामहरू
नेपाली डायस्पोरामा भाषा संरक्षणको यस सामूहिक अभियानलाई कुनै एक व्यक्ति, एक संस्था वा एक प्रयासले मात्र गति दिन सम्भव छैन I यस अभियानमा अभिभावक, शिक्षक, चिन्तक, शिक्षाविद्, संस्थाहरू र संचारकर्मीहरू सबैको आ-आफ्नो भूमिका अति आवश्य छ I अब उसो हामीले डायस्पोरामा भाषा संरक्षण अभियानका लागि नगरी नहुने कार्यहरू निम्नवत् देखिन्छन् –
१. चल्दै गरेका सबै भाषा कक्षाहरूलाई व्यवस्थित गरिनु पर्ने I
२. थप नयाँ कक्षाहरू संचालन गराउन सहयोग गर्नु पर्ने I
३. अभिभावकहरूलाई जागरुक गराउनु पर्ने I
४. पाठ्यक्रमको अभावलाई पूरा गर्न द्रूत गतिमा काम गर्नु पर्ने I
५. केन्द्रीकृत पाठ्यक्रमको विकास गर्नु पर्ने I
६. पाठ्य सामग्रीको अनुसन्धान र निर्माण गर्नु पर्ने I
७. केन्द्रीय शिक्षा नीति बनाउँनु पर्ने I
८. समय र आर्थिक व्ययलाई न्यूनीकरण र व्यवस्थित गर्न आवश्यक कदम चालिनु पर्ने I
१०. समाजका बौद्धिक वर्गलाई भाषा शिक्षामा सहभागी गराउनु पर्ने I
११. शिक्षक उत्पादन र प्रशिक्षण गराउनु पर्ने I
१२. शिक्षकहरूको परिश्रमको सम्मान र प्रोत्साहन गर्न उचित पहल गर्नु पर्ने I
१३.भाषाप्रतिको आत्मनिर्भरता र आत्मविश्वासलाई बढाउँन आवश्यक कदम उठाउनु पर्ने I
१४. स्थानीय शिक्षा विभागको मानकलाई हासिल गर्न तदनुरूप कार्य गर्नु पर्ने I
१५. क्रेडिट सिष्टममा हाम्रो भाषालाई जोड्न आवश्यक तयारी र पहल गर्नु पर्ने I
१६. नेपाली भाषालाई अन्तराष्ट्रिय मान्यता दिलाउन सबैले आ-आफ्ना स्थानबाट कदम चाल्नु पर्ने I
१७ नेपाली भाषालाई रोजगारसँग जोड्न कदम उठाउनु पर्ने I
१८. बालबालिकाहरूलाई नेपाली भाषाप्रति आकर्षित गर्न योजना बनाउनु पर्ने I
१९.साहित्यको शिक्षण गराउन र पाठकहरू निर्माण गर्न योजना बनाउनु पर्ने I
२०. साहित्यको विकास र स्तरीय साहित्यको निर्माण गर्न प्रशिक्षणहरूको तर्जुमा गर्नु पर्ने I
२४. समग्रमा मातृभाषाको संरक्षण र सम्वर्द्धन गर्न सबैले कटिबद्ध हुनु पर्ने I
निष्कर्ष
डायस्पोराको नेपाली भाषाको समस्याका बारेमा जति नै चर्चा गरे पनि कमै हुन्छ I काम गर्न थुप्रै बाँकी छन् I सबैभन्दा महत्वपूर्ण कुरो हाम्रा सबै अभिभावकहरूलाई जागरुक गराउन परम आवश्यक देखिन्छ I चल्दै गरेका शिक्षण केन्द्रहरूलाई थप सुचारू बनाउनु र नयाँ केन्द्रहरूको थालनी गर्नु अर्को आवश्यक पहल हुनेछ I यस अभियानमा पाठ्यक्रमको अनुसन्धान,लेखन प्रकाशन र पाठ्यपुस्तकहरूको निर्माण एवं पाठ्य सामग्रीहरूको अधिकाधिक निर्माण सबैभन्दा जटील तर आवश्यक काम हुनेछ I हामी भाषासँग र शिक्षासँग जोडिएका सबै संस्था र व्यक्तिहरूले यी मूलभूत कार्यहरूलाई प्राथमिकतामा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने हो भने मातृभाषाको संरक्षण र सम्बर्धनमा आशाजनक उपलब्धि हुने सुनिश्चित छ I त्यसैले भाषासँग सरोकार राख्ने संस्था र वुद्धिजीवीहरूलाई भाषा सरक्षण,संवर्धन र भावी सन्ततिलाई हस्तान्तरणका लागि कम्मर कस्न हार्दिक आह्वान गर्दछु I
सन्दर्भ सामग्री
१.साहित्य परिषद भूटानले गरेको सर्वेक्षण
२.केही भाषाशिक्षण केन्द्रहरूमा स्थलगत भ्रमण र अध्ययन
३.शिक्षण केन्द्रका शिक्षकहरूसँग गरिएको संवाद
४. लिट्रेचर डट कममा प्रकाशित थुप्रै भाषा सम्बन्धित आलेखहरू
५.प्रकाशित पाठ्य पुस्तकहरू
६.डायस्पोराको लागि नेपाली भाषाको पाठ्यक्रम ,साहित्य परिषद भूटान
७ .डा.लक्ष्मीनारायण ढकालको ‘डायस्पोरामा भाषा शिक्षण एक सैद्धान्तिक विवेचन’