डि.पि. दुलालका केही रुबाईहरु

डि.पि. दुलाल
आइओवा, अमेरिका

विगत अनि वर्तमानको शेष खोज्दैछु
आफू म भएर बाँच्ने परिवेश खोज्दैछु
तिमीलाई के थाहा छ र मेरो बारेमा
म आज पनि तिम्रो शहरमा देश खोज्दैछु ।
(१)
झर्न खोज्छन् आशुहरू छेक्न मिलोस् जिन्दगीमा
यसरी नै जिन्दगानी लेख्न मिलोस् जिन्दगीमा
पारेर उदास अनुहार टाडिदैछौँ आज तिमी
तिमी फेरि हाँसेको देख्न मिलोस् जिन्दगीमा ।
(२)
हाम्रो पनि कथा छ, तिम्ले सुन्नै पर्ने कहानी रुँदैछ
वीर पुर्खाहरूको रगत, हजारौँ जिन्दगानी रुँदैछ
धेरै धेरै वर्ष भएछ हाम्रो भेटघाट नभएको पनि
मेरो गाउँ घर, लालीगुराँस अनि कालापानी रुँदैछ ।
(३)
गरेका ती बाचाहरू पुरा ल्याएको छु
तिम्रो खातिर झोलाभरि चुरा ल्याएको छु
सबैभन्दा अनमोल उपहार प्यारी
मुटुभरि मायाका कुरा ल्याएको छु ।
(४)
कति अजम्मरी पलहरू लिएर गए
अजिब र अनौठो चोटहरू दिएर गए
को सँग रिसाऊँ म कसलाई खुसी बनाऊ ?
मलाई नबिर्सिनु भन्नेहरूले नै बिर्सिएर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *