ढुङ्गाको बयान
बाटो हिँड्दा
खुट्टाको बुढी औंठोमा
ठेस हान्दै म सम्झाउँछु-
मान्छे, तँ गल्ती गर्दैछस्,
‘पदार्थ’भन्दा ‘चेतना मूल’
दाबी गर्छस् सधैं तर, पुज्छस्
म अचेतनलाई, म हृदयविहीनलाई-
जीवनको यो दोहोरो रवैया
कति दिन पालेर बस्छस् ?
भक्त घिमिरे/पेन्सिलभेनिया-अमेरिका
भन्छस् तँ पाजी मान्छे
‘ढुंगाको प्राण छैन-
चेतना र विवेक छैन !’
हो म ठोस् छु,
कठोर छु
निर्मम छु
र, नै पुजिएको छु सर्वत्र !
एउटा पुज्छ मलाई
पिताम्बर ओडाएर,
अर्को पुज्छ मलाई
चौतारोमा फिँजाएर-
म खास के हुँ,
तँ मान्छेलाई थाहा छैन !
शालिनदी तटमा एउटा गाउँ थियो
उही नदी बगरमा म भेटिएँ,
त्यही गाउँको नाउँ जोडेर
एउटा भन्छ मलाई
‘पवित्र शालिग्राम’
अर्को भन्छ मलाई
‘पारद पत्थर’ ‘शिवलिङ्ग’ !
बाटो हिँड्दा
खुट्टाको बुढी औंठोमा
ठेस हान्दै म सम्झाउँछु-
मान्छे, तँ गल्ती गर्दैछस्,
‘पदार्थ’भन्दा ‘चेतना मूल’
दाबी गर्छस् सधैं तर, पुज्छस्
म अचेतनलाई, म हृदयविहीनलाई-
जीवनको यो दोहोरो रवैया
कति दिन पालेर बस्छस् ?
भन्छस् तँ पाजी मान्छे
‘ढुंगाको प्राण छैन-
चेतना र विवेक छैन !’
तर, अहँ ! मेरो आड नपाएसम्म
तेरो अस्तित्व खडा हुँदैन
तँ सुरक्षित अनुभूत गर्दैनस्-
त्यसैलेः हो त्यसैले
अर्को एउटा मान्छे
मक्कास्थित ‘काबा’तिर फर्केर
दिनमा पाँचपटक घोप्टिन्छ र,
मलाई सम्झिन्छः
त्यहाँ पनि मेरै निशानी पुजिएको छ-
अझ अरु केही मान्छेहरु यरुसलेमस्थित
‘डोम अफ् द रक’ अधीन गर्न
एक-अर्कामा मारकाट गर्दैछन्-
त्यहाँ पनि म ‘ढुंगा’ कै सामिप्यता रोज्दैछन् !
भित्री कुरो,
एउटा भन्छ,
‘जन्नत’ सबैभन्दा माथि छ
अर्को भन्छ प्याराडाइज-
एउटाको लागि बैकुण्ठ माथि छ
अर्काको लागि कैलाशधाम !
एउटा भन्छ निर्वाण, अर्को भन्छ समाधि
अझै अर्कोका लागि माथि छ परमधाम,
प्रारब्धमा तँभन्दा म माथि जान्छु !
वास्तवमा मेरो पूजनभन्दा
तँ मान्छे मलाई सिँढी बनाएर
आफैंमा दुर्बोध्य स्पर्धा गर्दैछस्
अरुभन्दा आफू सबसे माथि रहने
उछिन-पाछिनमा मस्त छस्-
तर, देख्नमा म पुजिएको छु सर्वत्र !
मान्छेले मलाई पुजेर ममा फरक पर्दैन
मेरो लागि कुनै लाभ नोक्सान छैन-
म चट्टान हुँ, म नीर्जिव हुँ !
हुन त मलाई पुजेर तँ मान्छे
लाभान्वित होलास्, किनकि
तेरा लागि
जमातबाट अलग देखिने दाउ
मेरो पूजनबाटै स्थापित हुन्छ !
आखिर तँ मान्छे,
साधु होस् कि विद्वान,
जौहरी होस् कि दलाल व्यापारी-
आफूजस्तै अर्को मान्छेलाई
उछिन्नमात्रै त लालायित छस् !
ढुंङ्गा हेर तँ मान्छेः
तैंले मार्तौल नबजारेसम्म,
तैंले धलेकेर नठोकाएसम्म
हामी ढुङ्गाहरु कहिल्यै
आपसमा लड्दैनौं !
हामी लडेमा तेरो लागि
स्थिरतामै पैह्रो जान्छ,
आँधी आउँछ-प्रलय हुन्छ !
थाहा छ-मलाई टेकेर तँ आफू
माथि चढ्न चाहन्छस्
तैपनि म चुप छु,
किनकि म एक हदमा सफल छु
अचेतन म निष्प्राणले
तँ चेतनलाई सर्वत्र भिडाएको छु
बेकसूरमा लडाएको छु,
हत्या-हिंसामा उद्यत गराएको छु !
अझै पनि भन्छस् तँ पाजी मान्छे
‘ढुंगाको प्राण छैन-
चेतना र विवेक छैन !’