तिमी शिखरको फूल
शिवलाल दाहाल
बिर्तामोड
तिमी शिखरको फूल
घाम पनि तिम्रै भागमा छ
जून पनि तिम्रै भागमा छ
त्यही भएर तिमीसँग सौन्दर्य पनि छ
अग्लो हुनुको गौरव
तिमी शिखरको फूल
तिम्रो सामु हामी
होचा वामपुड्के, दुई बित्ते
लिलिपुटका लघुमानव सरह
त्यसैले हाम्रो अग्लाइको प्रश्न उठ्नु
तिम्रो दृष्टिभ्रम होइन, बडप्पन होइन
तिमी शिखरको फूल
सौन्दर्यको अनन्त मूल
तिम्रो छेउमा
हिलोमा फूल्नुको कुनै अर्थ हुँदैन
मैदानमा झुल्नुको कुनै धर्म हुँदैन
तिमी शिखरको फूल
सौन्दर्य पनि तिम्रै, कान्ति पनि तिम्रै
दुनियाँको नजरका प्यारा – धर्तीका जून–तारा !
तिम्रो सामु
हाम्रो कुनै अस्तित्व छैन
त्यसैले हामी हुतिहारा
खोइ कसरी भन्ने गर्छौ – शहीद बरा !
तिमी शिखरको फूल
सौन्दर्य पनि तिम्रै, भविता पनि तिम्रै
दुई वर्ष पुरानो तर दुई शताव्दि लामो
इतिहास पनि तिम्रै
हामी त केवल क्यात्तुके
न सुवास, न शोभा, न सुगन्ध छ कतै
very good poem siva sir…………… keep posting hai…