तिमी हुनुमा म थिएँ या म हुनुमा तिमी
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
रातैभरि उदास पानी बर्सिरह्यो
यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ
अनि पखालीरहेछ यो रोदन पृथ्बीको
पानीको पहिलो थोपाले मेरो छानो ढकढक्याउँदा
मेरा सारा बितेका तिमीसँगका क्षणहरू
एकैचोटी आएर मेरो मस्तिष्कको ऐना ढकढक्याए जस्तो लाग्छ।
मलाई अझै पनि याद छ
तिमीले यो घरबाट अन्तिम चोटि बाहिर निस्कँदा
घरमा एक सन्नाटा छाएको थियो
अनि फेरि तिम्रा पदचापबाट निस्किएका पदध्वनि
जसलाई मैले अन्तिम पटक नचाहेरै “खुदा-हाफिज” भनेको थिएँ
अनि तिम्रा ती लवजहरु
जसको प्रतिध्वनि गुञ्जिएर भित्ताका तस्बिरका फ्रेमहरू
सल्बलाई झरेका सिसाले
अझैपनि मेरो भरोसाको नशा काटिरहन्छ
तिनै क्षणहरू मलाई अझै पनि प्रश्न गरिरहेजस्तो लाग्छ
“उ हुनुमा म थिएँ या म हुनुमा उनी”?
यश बेला यो समय
मसँगै सुस्केराको चुस्की तानिरहेछ
जति जति सुस्केरा तान्छु
उति उति तिनै तस्बिरका फ्रेमहरूबाट निस्किएका सिसाले
मेरो आशाको नशा टुक्र्याई एस्ट्रे भरिरहेछ
त्यही एक आशाको टुक्रा आएर आज
कयौँ टुक्रिएका उसका भाग खोजिरहेछ
तर मसँग यसबेला आशा बाट्न
एक टुक्रा कागज पनि छैन, जसमा म “आशा” लेखेर सम्म त दिन सक्थेँ
मात्र यो मनभरि सन्नाटा छ
जो मेरो एक्लोपनको फाइदा उठाई
संयौ वर्षदेखि मेरो अोछ्यानमा निदाइरहेछ
तिमी हुँदा जसरी गुज्रिन्थ्यो समय
आज पनि त्यसरी नै गुज्रिन्छ
उ हेर न पानी पनि उस्तै उदास बर्सिन्छ
हावा पनि उही चिस्याउने चल्छ
फरक मात्र यही छ कि
अाजकाल म सपना खुल्ला आँखाले देख्ने गर्छु
यदि यस्तो हुने भएदेखि
मैले तिमी भएर म हुनुमा देखेको सपनामा
तिमीलाई लिएर जान सक्ने मैले भएदेखि
तिमीले देख्ने थियौ ती रङ्गीन् क्षणहरू
दुर्बिन डाँडाको टापुमा बसी
सुस्त हावासँगै सुनहरी पलहरू साटेको
टाढा अौलाले क्षितिजलाई देखाई
त्यो रंगिन इन्द्रणीलाई देखाई
मैले तिमी हेरी बनाएको इन्द्रेणी सँग दाज्न खोजेको थिएँ
जहाँ सातै रङ्गमा मैले तिम्रो नाम लेखेको थिएँ
अनि हामीमा दाँज्न खोजेको थियें मैले
त्यो क्षितिज र आकाशलाई
तर यी सबै यही उदास पानी जस्तै मात्र रहे
त्यहाँ पुग्नलाई त अब
ती टुक्रिएका अाशाहरु एक हुनुमा पनि असम्भव छ
तिम्रै साथको सुवासमा सुत्ने यो रातलाई
आज म फेरि निन्द्राको कहानी सुनाउन चाहन्छु
या भनौँ सुनाउँदै छु
आँखा केही समयका लागि बन्द हुन्छकि!!!!