तुर्सा
शिवलाल दाहाल
तुर्सा–
धेरैलाई थाहा छैन होला
हिमालबाट
समुद्र ताक्तै हाम्फाल्ने
एउटा पहाडी खोलो हो
जो मेरो छाँया बोकेर बग्छ
जसको तस्विर बोकेर म हिंड्छु
साच्चै भन्नु हो भने
तुर्सा–
इतिहास–साक्षी हो
सृष्टिको साक्षी हो
प्रलयको साक्षी होला
सोध्नु हो भने
तुर्साले भन्ने छ
उसले युगौं–युग अघिदेखि देखेका
सत्य कुरा
तर
सोध्न पाइन्न
बोल्न पाइन्न
सोध्नु देश विरुद्धको अपराध हो
बोल्नु देशद्रोह हो
चुपचाप बस्नु
डिग्लामनाम्जा
त्यसैले तुर्सा सधैँ
श्रद्धानत शिर झुकाएर
“लासला” को भावमात्र प्रकट गर्छ
सोध्नु हो भने
तुर्साले भन्ने छ
धेरै अघि
यही बाटो भएर
हर्कबहादुर, नरबहादुर,शिवसंकर
राजधानीको बाटो खन्न गएका थिए
तर
उनीहरु कहिल्यै फर्किएनन्
गाउँमा हल्ला मात्र फर्कियो
हर्कबहादुर–
पुतलीभिरको बाटो खन्दा–खन्दै
डोजरले सोरेर गयो
नरबहादुर–
ढुङ्गा खोपेर बेलेस्टिनको ढिडो भर्दा–भर्दै
कम्मरमा बाँधेको डोरी छिनेर
भिरबाट हुत्तियो
शिवसंकर–
हिउँको थुप्रो सोर्दा–सोर्दै
लेक लागेर म-यो
त्यसरी नै
सोध्नु हो भने
तर्साले भन्ने छ
धेरै अघि
प्रतिमान,गुमानसिंह,वीरमान क्षेत्रीहरु
यही बाटो भएर
पूर्वी भूटानका जोङ,गुम्बा र छोर्तेन
निर्माण गर्न हिंडेका थिए
अलौटा मकै र सातु झोलामा बोकेर
ठुटे सरुवाल र फाटेको कमिज आङमा भिरेर
प्रतिमानले–
टासी छ्योजोङ बनाउँदा–बनाउँदै
सुन्यो
औषधि अभावमा सुत्केरी स्वास्नी मेरेको समाचार
तर
उसले भन्यो
”मर्दै गरोस्
म देश निर्माणमा छु”
गुमानसिंहले–
जम्वेलाखाङ्को पुनर्निमाण गर्दा–गर्दै
सुन्यो
अनिकालले अकालमा छोरो म-यो
तर
उसले भन्यो
”मर्दै गरोस्
म देश निर्माणमा छु”
वर्षौको काम सिध्याएर
उनीहरु गाउँ फर्किए
हिउँले छिनालेका औंला
बालुवा,गिटी र सिमेन्टले लुछेको छाला
कुञ्जाले थिल्थिल्याएका हात
लिएर
तर
उनीहरुसंग रवाफ थियो
देश निमार्णको
गाउँ फर्किए पछि
स्वास्नी मर्दा किन नआएको भन्नेहरुलाई
प्रतिमानको जवाफ थियो
देश भन्दा स्वास्नी ठूलो होइन
गुमानसिंहको जवाफ थियो
देश भन्दा छोरो ठूलो होइन
सोध्नु हो भने
तुर्साले भन्ने छ
को हुन् ती ?
सर्वस्व लुटिएर
राता रात
यही बाटो भएर
सिमाना कटिरहेका
हुलका हुल मानिसहरु
को हुन् ती ?
आवाज खोसिएका
ढाड सेकिएका
र पाता कसेर
तारो हान्न ठिक्क पारिएका
निशानाहरु
साच्चो भन्नु हो भने
तुर्सा–
इतिहास–साक्षी हो
सृष्टिको साक्षी हो
प्रलयको साक्षी होला
शिवलाल जी ,
नलेख्नु होला यस्तो सिर्जना, भित्र भित्रै दुखेर आउँछ
“…जो मेरो छाँया बोकेर बग्छ
जसको तस्विर बोकेर म हिंड्छु….” छातीमा हात राखेर आफूलाई आफैले नढाटी भन्दा सबै भूटानीले सत्य हो येही भनिरहेको हुन्छ . टुप्पोदेखि फेदै सम्म मनपरेको सिर्जना तपाईले लेख्नु भो, धन्यबाद ! यस्तो सिर्जनाहरु हेर्दा जाँगर चलेर आउँछ केहि लेखुं भनेर.
शिवलालजी कविता राम्रो छ. ऐतिहासिक छ.
वास्तवमा प्रतिमान, हर्के अनि गुमानसिंहहरुलाई सबैले बिर्से पनि तुर्सले सम्झिरहेको सहि हो l कालान्तरमा गुमानसिंहहरुको इतिहास को साक्षी यहि तुर्शा नै बन्नेछ l hope to read more of this type of heart touching articles in the future…
इतिहास बोलेको छ शिवलालजीको यो कवितामा| तर सन्चमानजीले भनेजस्तै इतिहास पनि दुख्न थालेको छ हिजो आज | प्रकृतिले पूर्ण हाम्रो देशमा मान्छेको इतिहास बोल्ने तिनै खोला नाला हुन्| म त साम्चीको सौरेनी डाँडो सम्झ्दैछु यो कविताबाट |
हिजोसम्म लग्थेयो -तुर्सा– अविरल बग्ने खोलो मात्र हो ..तर तुर्सा सरसर्ती
तीन पटकसम्म टुप्पोदेखि फेदै सम्म पद्ने मौका पाये|;.अनी थाहा भयो .तुर्साले नेपाली भाषी भुटानी को बर्सौ सम्म को ,त्याग ,तपशय ,बलिदान र बहादुरता को इतिहास बोलेको पाये| बोल्दा डिग्लामनाम्जा को उलंगन सगै ,देशद्रोही विल्ला थप्नुपर्ने कालो शासन को विरुद्धको तुर्सा–सधै वकालत गरीरनेछ|तुर्सा -इतिहासको दरिलो प्रमाण हो | कबिका अन्य यस्तै सिर्जना को कामना ……..