दमकमा ‘पढ्ने घर’

विनोद शर्मा
दमक

“हार्दिकता सम्पतिमा समर्पित हुँदैन । भूटानी शरणार्थी साथीहरूले हामीमाझ देखाएको हार्दिकता नै सिंगो दमकका बस्तीहरूलाई काफी छ । आखिर शरणार्थीसंग के को सम्पति छ र !”

युवा पुस्तामा प्रिय साहित्यकार नवीन प्राचिन  बोल्दै थिए । दर्शकले खचाखच दमक रेडक्रस सोसाइटीको हलमा तालीको गड्गडाहटले छायो । सबै भावुक पनि भए । सायद उनको कुराले सबैको मन छोएको हुनु पर्दछ । म पनि धरानबाट दमकसम्मको पट्यारलाग्दो मोटरसाइल यात्रालाई विर्सेर उनका तर्कपूर्ण भनाइ सुनि रहेको थिए ।

त्ससपछि उनी अलिक तातिएर बोले । “शरणार्थी साथीहरू हाम्रीमाझ २० वर्षदेखि हुनुहुन्छ । उनीहरू नेपाल छिर्दा हाम्रो दमकमा फ्याट्–फुट्ट पक्की घरहरू मात्र थिए । आज सिंगै नगरपालिका पक्की घरले भरीभराऊ छ, ती घरहरू सबै हाम्रा भूटानी साथीहरूको पसिनाले बनेका हुन् ,” उनले आफ्नो तर्क प्रस्तुत गर्दै गए ।

त्यहाँ एउटा नाटक प्रस्तुत गरिएको थियो । नाट्य निर्देशक प्रकाश आङ्दाङ्वेको परिकल्पनामा तयार उक्त नाटकमा खेल्ने १५ कलाकारमध्ये दुई–तिहाइ शरणार्थी शिविरमा जन्मेका वा शिविरमै हुर्केका कलाकारहरू थिए । नाटक पनि एउटा घर निमार्णका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मञ्चन गरिएको थियो । तर त्यो शरणार्थीका सृजनशील हातले निमार्ण गरेका भवनभन्दा पृथक किसिमको थियो । त्यो हो दमकवासी सबैको बैद्धिक विकासकालागि स्थापना गरिन लागेको ‘पढ्ने घर’ ।

हुन पनि मानिस शरणार्थी वने पनि उसको सीप शरणार्थी बन्दैन। त्यसैले शिविरका कलाकार साथीहरू उनीहरूलाई आश्रय दिने नेपाली भूमीमा ‘पढ्ने घर’ निमार्णका लागि जुटेका हुन् । धेरै नेपालीले भूटानी शरणार्थीलाई २० वर्ष पालेको तर्क पनि गर्दछन् । पुनर्वाश प्रक्रियासंगै यो एउटा बहसको रूपमा देखापरेको विषय हो । तर, भूटानी शरणार्थीलाई नेपालले खास के दियो? कि नेपालले उनहरूबाट उल्टै लियो?

श्रम खोसिदिएका नमीठा आरोप सहँदै शरणार्थीहरू अहिले पनि नेपालको विकाशमा जुटेका छन् । यो धेरैले स्वीकारेको विषय पनि हो । तर, खान नपाएर भूटान छाडेर हिँडेका मगन्ते भूटानी आज अमेरिकालगायत अन्य पश्चिमा मुलुकमा जाँदैछन् भनेर आरिस गर्ने नेपाली साथीभाइको संख्या पनि कम छैन । तर, सृजनाका पारखीहरूमा यस्ता कुराले कहिल्यै ठाऊँ पाउदो रहेनछ । आखिर ‘सर्जकहरूको भौगोलिक सिमाना हुन्न’ भन्ने कुरा प्रकाश आङ्दाङ्वे र उनका सहकर्मी साथीरूले सावित गरिदिएका छन् ।

नवीन प्रचीनकै भनाइलाई आधार मान्ने हो भने नेपाल र नेपालीले भूटानी शरणार्थीलाई कुनै ऋण लगाउन सेकनन् । “जति गरेका भनेका छन, त्यो सबै दातृनिकायका संसस्थाले गरेका हुन् । नेपालले केही गर्न सकेन । न त हामी उदार भनाउँदा नेपालीले नै गर्न सक्यौं !”

आखिर, अहिलेको बहस नेपालले भूटानी शरणार्थीलाई के दियो वा शरणार्थीले नेपालको विकाशकालागि के–कति योग्दान दिए भन्ने होइन जस्तो लाग्छ । भूटानी शरणार्थीप्रति नेपाली जनताले प्रधान गरेको हार्दिकताको कुनै लेखाजोखा गर्न सकिन्न । उनीहरूको त्यस्तो हार्दिकता थिएन भने भूटानी शरणार्थीरू भारततिरै शरण खोज्दै हिड्नु पर्ने निश्चितप्राय नै थियो । यो यर्थाथ कुरा हो ।

‘पढ्ने घर’ को यात्रा भरखर शुरू भएको छ । शरणार्थी र स्थानीय कलाकारको एउटा बेजोड प्रस्तुती ‘बेरङ् रङ्हरू’ को यात्राले सफलताको शिखर चुम्नु पर्दछ । आखिर, ‘पढ्ने घर’ दमकवासीहरूको मात्र हुने छैन, त्यो शरणार्थीकालागि पनि खुल्ला घर बन्नेछ । सफलताको लागि मेरो पनि शुभकामना ।

One Reply to “दमकमा ‘पढ्ने घर’”

  1. Pardeshitara

    पाइला अब यहाँहरुको प्रगतिको पाटो लागोस,
    सडक हुदै ठुला ठुला राजमार्गको बाटो लागोस,
    पूर्व पश्चिम उत्तर दक्षिण जहाँ नै बसे पनि अब ,
    ‘पढ्ने घर’को बिद्द्य सबलाई दुनियाकै साटो लागोस !
    मेरो पनि धेरै धेरै सुवाकमाना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *