दीव्य अवतारको ‘फेन्टासी’
भक्त घिमिरेः
[मानिसहरु पशुता त्यागेर समूहमा बस्न थालेदेखि नै पहिलो चरणमा समूहरक्षा र शक्तिसञ्चयको लागि युद्ध गर्नथाले । दोस्रो चरणमा पशुधन र स्त्रीको लागि युद्ध गरे । तेस्रो चरणमा गौचरनका लागि भूमि कब्जा गर्ने उद्देश्यमा युद्धहरु भए । आज चौथो चरण चलिरहेको छ । चौथो चरणमा भूमि, सम्पत्ति, शक्ति हुँदै विचार, सिद्धान्तः आदि कुरामा वर्चस्व कायम गर्ने बीभत्स युद्धको क्रम जारी छ । चौथो तहमा आइपुग्दा आंशिकरूपमा लक्ष्यहरु फेरिएका छन् तर, युद्धको नृशंसता घटेको छैन । यिनै पहिलो, दोस्रो, तेस्रो र चौथो चरणका युद्धहरुलाई मानिसहरुले युग भनेका छन् –सत्य, त्रेता, द्वापर र कलि ! तर, संकटमा कुनै परिवर्तन छैन, सदावहार छ संकट । संकट पनि धर्मजस्तै सनातन छ ।]
गीतामा श्रीकृष्णको हवाला दिँदै लेखिएको छः ‘जब जब संसारमा संकट पैदा हुन्छ, तब म धर्मीहरुको रक्षाका लागि अवतार लिनेछु ।’ अवतार लिनुको औचित्यमा तीनवटा कारण बताइएको छ जसमा सबैभन्दा पहिले साधुहरुको रक्षा गर्न, दोस्रो धर्मको पुनर्स्थापना र तेस्रो पापीहरुलाई दण्डित गर्न । अर्थात् यी तीनवटा काम गर्न कृष्णले धर्तीमा अवतार (पुनर्जन्म) लिन्छन् !
“जब जब धर्तीमा संकट आउँछ”-भन्नाले कुनैबेला धर्ती संकटबाट मुक्त थियो वा हुनसक्छ भन्ने स्वीकृति पनि हो । के धर्ती कहिल्यै संकटबाट मुक्त छ ? धर्ती आफैं अनिश्चितता बोकेर बसेको धराप हो । यहाँ सदावहार संकट छ । मान्छे धर्तीमा हुनु नै संकटको जञ्जालभित्र पस्नु हो ।
कहिलेचाहिं त्यस्तो समय आयो जहिले संकट थिएन ? आजसम्म यस्तो कुनै ग्रन्थ लेखिएको छैन जसले धर्तीमा संकट छैन भनेको होस् । सबै ग्रन्थहरुले भन्छन् धर्तीमा ठूल्ठूला संकट छन् । अझै भयंकर संकट देखिन बाँकी छन् । तर, केही ग्रन्थहरु भन्छन्-उहिले, प्राचीनकालमा कुनै संकट थिएन । त्यो ‘पहिले’ ‘उहिले’ वा ‘प्राचीनकाल’ भनेको कहिले हो ? जति प्राचीन ग्रन्थ खोजेर पढौं, सबैमा उस्तै संकट देखिन्छ । उहिलेको देवासूर संग्रामदेखि आजको आणविक त्राससम्म संकटै संकट छन् ।
मानिसहरु पशुता त्यागेर समूहमा बस्न थालेदेखि नै पहिलो चरणमा समूहरक्षा र शक्तिसञ्चयको लागि युद्ध गर्नथाले । दोस्रो चरणमा पशुधन र स्त्रीको लागि युद्ध गरे । तेस्रो चरणमा गौचरनका लागि भूमि कब्जा गर्ने उद्देश्यका युद्धहरु भए । आज चौथो चरण चलिरहेको छ । चौथो चरणमा भूमि, सम्पत्ति, शक्ति हुँदै विचार, सिद्धान्तः आदि कुरामा वर्चस्व कायम गर्ने बीभत्स युद्धको क्रम जारी छ । चौथो तहमा आइपुग्दा आंशिकरूपमा लक्ष्यहरु फेरिएका छन् तर, युद्धको नृशंसता घटेको छैन । यिनै पहिलो, दोस्रो, तेस्रो र चौथो चरणका युद्धहरुलाई मानिसहरुले युग भनेका छन् –सत्य, त्रेता, द्वापर र कलि ! तर, संकटमा कुनै परिवर्तन छैन, सदावहार छ संकट । संकट पनि अविराम छ, धर्मजस्तै ‘सनातन’ छ ।
यहाँहरुलाई ज्ञान छः संकटले युद्ध निम्त्याउँछ । भनिन्छ जम्बूद्वीपको इलावर्तमा बाह्रपटक देवासूर संग्राम भयो । इलावर्त क्षेत्र अहिलेको रुस हो । त्यसपछि जब प्रह्लादपुत्र बलि र इन्द्रका बीच युद्ध भयो, देवताहरु हारे, सारा जम्बूद्वीपमा असूरहरुको राज चल्यो । त्यसपछि हैह्य वंशका विरुद्ध परशुरामले युद्ध गरे । तत्पश्चात राम-रावण युद्ध, दसराज्य युद्ध, महाभारत युद्ध हुँदै आधुनिक कालका राजा अलेक्जेण्डर-पोरस युद्ध, चन्द्रगुप्त-धनानंद युद्ध (कौटिल्य उर्फ चाणक्यद्वारा उत्प्रेरित), सम्राट अशोकको कालिंग युद्ध, गुप्तवंशीय युद्ध, हर्षवर्द्धन युद्ध (वाणभट्टको कृति हर्षचरितमा उल्लेख), खलीफा आक्रमण, मुहम्मद बिन कासिमको आक्रमण, मुहम्मद गजनीको आक्रमण, मुहम्मद गौरी-पृथ्वीराज चौहानबीचको युद्ध, सन् १९१४ देखि १९१९ सम्मको पहिलो विश्वयुद्ध, सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धः हुँदै आजसम्म कूटनीतिक युद्ध विश्वव्यापीरूपमा चलिरहेकै छ ! खै कहिले धर्ती संकटमुक्त भयो ?
तपाईं यो सुनेर चकित बन्नुहोला-शास्त्रहरुको कथनानुसार संकट सदावहार छ । धर्तीको स्वभाव नै संकट हो । संकट हुनैपर्छ । शास्त्रहरु भन्छन्, धर्ती छोड्ने चीज हो-त्यागिने चीज हो । यहाँबाट मुक्त हुने परिकल्पना अथवा मोक्षको अभिलाषा रहनु भनेको धर्तीमा संकट छ भनेर स्वीकृति जनाउनु हो । धर्तीमा संकट नै छैन भने कसले छोड्न चाहन्छ ? संकट रहेन भने यहाँबाट मुक्ति चाहने मानिस भेट्नै सकिँदैन । यदि संकट नहुने हो भने धर्म र मोक्षको आवश्यकता नै हुने थिएन ! जब रोगै छैन भने ओखती किन चाहिन्थ्यो ? धर्म भनेको न्याय हो पाप वा संकट भनेको अन्याय हो । अर्थात्, न्याय भनेको औषधि हो ।
थोरै विवेक लगाउनुहोस्-न्यायको खाँचो अविराम थियो/छ ! किनकि संकट सदावहार छ । मानिस सधैं रोगी छन् । आँधी र भूकम्पको सम्भावना सधैं कायम छ । तपाईंलाई लाग्छः कहिल्यै त्यस्तो समय थियो जहाँ मानिसहरु निरोगी थिए ? कुनै दिन मानिसहरु शान्त थिए ? आनन्दित थिए ? कुनै समय थियो जहाँ युद्ध भएको थिएन ? रामको नाम जोडेर ‘रामराज्य’ भनियो तर, रामको कथा हेर्नुस त ! रामका पिता दशरथ स्वयं रोगी थिए । एउटी तरुणी युवती (रानी कैकेयी) को मोहमा परेर आफ्नो छोरोलाई घरबाट लखेटे ! अन्याय गरे । पुत्रवियोगको पीडामा उनको मृत्यु भयो ! रामराज्य थियो भने रामकै दरवारमा त्यस्तो अन्याय कसरी भयो ?
त्योबेला रावण एक्लै अपराधी थिएन ! अरु पनि धेरै रावणप्रवृत्ति थिए । रावणभन्दा पहिले पनि स्त्रीहरु अपहृत हुन्थे । पशुधन चोरिन्थ्यो ! यहाँहरुले पढ्नुभएकै होलाः अष्टवसुमध्येका एक द्यौ-ले ऋषिको गाई चोरेर श्राप भोग्न महाभारतमा देवव्रत (भीष्म पितामह) बनेर आएका थिए ! गाई चोराचोर गरेको ऋगवेदमा पनि उल्लेख छ । युद्ध, झैझमेला, इर्ष्या, द्वेष उसबेला पनि अहिलेजस्तै थिए-कहिले थिएन संकट ? कुनचाहिं अवस्था आजभन्दा फरक थियो र ? के थियो उसबेला जसको तपाईं अहिले गुणगान गरिरहनु भएको छ ?
यदि ध्यानपूर्वक विचार गर्नुभो भने, श्राप, वरदान र पूर्वजन्मको कमाइ भन्ने बहानाबाट बाहिर निस्किएर न्यायिक आँखाले हेर्नुभो भने रामराज्य पनि रामराज्य थिएन ! यो एउटा ‘फेन्टासी’ मात्र हो । धर्तीमा रामराज्य कहिल्यै आएन । अँ, असली अभ्यासमा हुनुचाहिं पर्ने थियो । भयो तर, रामका शेषपछि मानिसहरुको कल्पना र वर्चस्वको दाबीमा मात्र ! मानिसको आशातीत कल्पना तृप्त भएन भने त्यो कहिल्यै फल्दैन ! रामराज्य पनि कहिल्यै नफलेको फलजस्तै हो ।
यदि ध्यानपूर्वक विचार गर्नुभो भने, श्राप, वरदान र पूर्वजन्मको कमाइ भन्ने बहानाबाट बाहिर निस्किएर न्यायिक आँखाले हेर्नुभो भने रामराज्य पनि रामराज्य थिएन ! यो एउटा ‘फेन्टासी’ मात्र हो । धर्तीमा रामराज्य कहिल्यै आएन । अँ, असली अभ्यासमा हुनुचाहिं पर्ने थियो । भयो तर, रामका शेषपछि मानिसहरुको कल्पना र वर्चस्वको दाबीमा मात्र ! मानिसको आशातीत कल्पना तृप्त भएन भने त्यो कहिल्यै फल्दैन ! रामराज्य पनि कहिल्यै नफलेको फलजस्तै हो ।
जब धर्तीमा कृष्ण थिएः त्यसबेला आनन्द थियो र ? अनेकौं कपट, झेल, चुक्ली, षड्यन्त्र हुँदै महायुद्धसम्म कृष्ण स्वयंले भोगेका थिए । तपाईं राम र कृष्णभन्दा अझ पहिलेका कुरामा गएर विचार गर्नुहोस् ! परशुरामको समयमा त शान्ति थियो कि ? परशुरामले फर्सा बोकेर २१ पटक क्षेत्रीहरुको वंशनाश गरेका थिए । विधवा र अनाथ बालबालिकाको चित्कारले संसार विह्वल भएको थियो । खराबहरु खराब थिए नै तर, असल भनेर बताइएकाहरु पनि असल थिएनन् । हत्याराहरु कसरी असल भए ? जाली र कपटीहरु कसरी धर्मात्मा भए ? तपाईं कुन जमानाको कुरा गर्दै हुनुहुन्छ जहाँ शान्ति र सुव्यवस्था थियो ? बुद्धलाई गाली गरियो, ढुंगा हानियो ! महावीरलाई गाउँबाटै लखेटियो । महावीरका कानमा काँटीसमेत ठोकियो । को थिए असल ? कुन समयमा धर्ती संकटविहीन थियो ?
मान्छे आफैंमा संकटको एउटा बीज हो । त्यसैले मान्छे रहेसम्म धर्ती सधैं संकटमय छ । यसर्थ कुनै दिन संकट आउँदामात्र कृष्णको पुनर्जन्म हुने कुरा फजुलको गफ हो । यदि संकटमोचन नै हुन् कृष्ण भने धर्तीलाई सधैं कृष्ण चाहिएको छ । उनले किन घरी अल्पिँदै घरी पुनर्जन्म लिँदै गर्नुपऱ्यो ? सधैं यहीँ बसिरहनु निः । बरु उनलाई नौनी खान एउटा सिंगै गाउँ मिलेर धेरै गाई किनिदिउँला, ठूलो गोठ राखिदिउँला !
तपाईं भन्नुहुन्छ जब जब धर्तीमा संकट पैदा हुन्छ तब कृष्णले अवतार लिनेछन् । तर, म भन्छु धर्तीमा सधैं संकट छ । धर्तीमा संकट आउने र जाने होइन । धर्ती आफैंमा एउटा संकट हो । संकट बोकेरै यो अडिएको छ । यसले सूर्यको परिक्रमा गर्ने सिलसिलामा आफ्नो अक्षरेखाबाट थोरै तलमाथि गऱ्यो भने यहाँ प्रलय भइहाल्छ । कसले भन्यो धर्ती संकटमुक्त छ ?
कृष्ण र महाभारतको प्रसंग मात्र पाँच हजारवर्ष पुरानो भनिन्छ । तर, त्योभन्दा पनि पहिले, करीब ६ हजार ५ सय वर्ष पुरानो एउटा किताब चीनमा फेला परेको छ । ‘आई जिङ’ (आई चिङ) नामक सो पुस्तकमा कन्फ्यूसस र ताओका सिद्धान्तहरु चित्रात्मक रूपमा उल्लेख गरिएको छ । लिपि र छापाको इतिहासमा आजसम्म भेटिएको सबैभन्दा पुरानो किताब भनेर त्यसलाई दाबी गरिएको छ !
त्यसको भूमिकामा लेखिएका कुराको चर्चा गर्दै अनुसन्धाताहरुले भनेका छन् -“त्यो पढ्दा आजै बिहान छापिएको अखबारको समाचार झैं लाग्छ । त्यति पुरानो कुरा जस्तो लाग्दै लाग्दैन । त्यहाँ उल्लेख घटनाहरु आजै भइरहेका झैं लाग्छन् । सन्तानहरु परिवारभन्दा टाढा रहन्छन्, अभिभावकमाथि उनीहरुले भरोसा राख्न छोडिदिन्छन् । प्रौढ र वृद्ध-वृद्धाका कुरा सुन्नै मन नपराउने सन्तान हुन्छन् । बुढा-पाका पनि बुद्धि विकास र वृत्ति-उन्नति भुलेर सधैं खान, लाउन र सम्पत्तिको चिन्तामै जीवन बिताउँछन् । यो कस्तो दुःखदायी समय आयो, विद्यार्थीले गुरुलाई पत्याउँदैनन्, कुन पापको फल मानिसले भोगिरहेको छ? स्त्रीहरु सतीत्वमा रहेनन् ! व्यभिचार फैलिएको छ । जतासुकै अनाचार छ । झूट र घुसको विगविगी छ । राजा पनि भरोसा गर्न योग्य रहेनन्, अब प्रजाहरुको के गति होला-आदि आदि कुरा लेखिएका छन् !”
यसरी नै सोही समयको हाराहारी वर्णन गरिएको अर्को पनि चीनियाँ पुस्तक छ जसलाई ‘द स्टोरिज अफ् कल्चरल रेलिक्स’ नाम दिइएको छ । ‘सांस्कृतिक अवशेषका कथाहरु’ भनेर अर्थ लाग्ने यो पुस्तक झेङ यान नामक चीनियाँ लेखकको कृति हो । सो पुस्तकमा ‘आई जिङ’को सम्बन्धमा पनि धेरै वर्णनहरु समेटिएका छन् । यो पुस्तक अहिले पनि इन्टरनेट सञ्जालको अमाजन ह्वेवमा उपलब्ध छ । इच्छा भएमा मगाएर पढ्न सक्नुहुनेछ ।
यी सब कुरा पढिरहँदा तपाईंलाई पनि लाग्नसक्छ, आजै भइरहेका घटनाक्रमको फेहरिस्त हो । तर, छ हजार वर्ष पुरानो पुस्तकमा लेखिएका कुरा हुन् । यसको तात्पर्य के हो भने, मानिसहरु त्यतिबेला जस्ता थिए आज पनि उस्तै छन् । सबैतिर उही तहमा संकट व्याप्त छ । तपाईंमा भ्रान्ति उत्पन्न हुनसक्छः कसरी उस्तै भयो ? आजको मान्छे कारमा हिँड्छ । आजभन्दा छ हजारवर्ष पहिले कार थिएन ! यो कुरो त ठिकै हो । तर, छ हजारवर्ष पहिले जे उपलब्ध थियो-त्यसप्रतिको चाहना त उस्तै थियो जसरी आजको मान्छेले कार चाहिरहेको छ । हुनसक्छ; रथ, एक्का अथवा बयलगाडा उतिबेला आजको कारझैं हुँदो हो । चाहना त एउटै हो । भोलि हाम्रा सन्ततिहरु जन्मिएर बोली फुट्तै विमान चाहने हुनसक्छन् ! यसमा कुनै भिन्नता छैन । चाहना त सधैं उही होः चाहना र आशक्ति एकरुपमा बगिरहेको छ । चाहना फेरिएको छैन, चाहनाका विषयमात्र आंशिकरूपमा बद्लिएका छन् । युद्ध निरन्तर छ, घर-घरमा युद्ध छ, अझ भनौं मान्छेका टाउका टाउकामा युद्ध चलिरहेको छ ।
डाका, गुण्डा, हत्यारा, लुटेरा, कप्टी, जाली उतिबेला पनि उस्तै हुन्थे जस्ता आज छन् । देहव्यापार धर्तीमा मात्र होइन, स्वर्गमा पनि चलेको थियो । भनिएको छ, स्वर्गमा अप्सराहरु थिए जसलाई देवताले जसरी चाह्यो उसरी नै प्रयोग गर्थे । ज-जसले स्वर्गको परिकल्पना गरे, उनीहरुले स्वर्गमा पनि नारीमाथिको दमन कायम गरे ।
तपाईं आज पनि पुराणका कथाहरु पढ्नु वा सुन्नुहुन्छ, धर्तीमा कोही तपस्वीले कठोर तपस्या गरेर सिद्धिप्राप्त गर्न लागे स्वर्गमा इन्द्रको राजगद्दी हल्लिन थाल्छ । अर्कोले बौद्धिक उन्नति गरेकोमा, ज्ञानप्राप्त गरेकोमा इन्द्रको राजगद्दी किन हल्लिन्थ्यो ? किन इन्द्रले तरुणी उर्बशीलाई पठाएर तपस्वीहरुको ध्यान भङ्ग गराउँथे ? कथाको सार आज पनि जस्ताको त्यस्तै छ । जो आज दिनदिन भइरहेको छ, उहिले पनि त्यस्तै भइरहन्थ्यो !
फरक कहाँनेर छ, के कुरामा छ ? तपाईं बताउन सक्नुहुन्छ ? इन्द्रले जसो गरेका थिए-जो आजका राजनीतिक नेताहरु गरिरहेका छन् ! आजका राजनीतिज्ञहरु सबै उहिलेका राजा इन्द्रजस्तै हुन् । हामीले राजा नबनाएका हौंला तर, उनीहरुको मनोकांक्षाले स्वयंलाई राजा घोषित गरिसकेका हुन्छन् । तब न उनीहरु राजनीतिको कुरुक्षेत्रमा पस्छन् । आफ्ना प्रतिद्वन्दीलाई कमजोर बनाउन इन्द्र पनि उसै गर्थे जो आजकाहरुले गर्दछन्-सुन्दरी तरुणीहरु तपस्वी ऋषिहरुलाई भड्काउन पठाइदिन्छन् र भन्छन्-“जाऊ, मोहजालमा पार, र भरसक तस्वीर वा चलचित्र पनि खिचेर लेऊ, भोलिको अखबारमा छपाउनुपर्छ; टेलिभिजनमा ब्रेकिङ न्यूज हान्नुपर्छ । जुनसुकै तरिकाले होस्, तपोबलद्वारा शक्तिसञ्चय गरिरहेका ती तपस्वी-ऋषिहरुलाई लोभ-लालचमा फँसाऊ, प्रलोभन देखाऊ, कामवासनामा पारेर भ्रष्ट बनाइदेऊ !” ताजा उदाहरण हेर्न अमेरिकी पूर्वराष्ट्रपति बील क्लिण्टन-मोनिका लिवीन्स्कीको कथा हुँदै नेपालका सिद्धबाबा, पूर्वसभामुख कृष्णबहादुर महरासम्म पुग्न सकिन्छ ।
सबैभन्दा मज्जाको कुरा त के भने जब इन्द्रले यस्तो दुराचार गर्छन् –त्यहाँ कुनै ‘पाप’ लागेको छैन, जसरी सिद्धबाबाले बलात्कारको अभियोगबाट सहज मुक्ति पाएका छन् ! यस्तो कर्ममा इन्द्रलाई पाप लाग्यो कि लागेन कतै बताइँदैन । ऋषिहरु त भ्रष्ट भए तर, जसले भ्रष्ट गरायो-उसको भागमा केही दायित्व पर्छ कि पर्दैन ? ती ऋषिहरु पनि उस्तै -एकदुइ सुन्दरी तरुणी आएर अगाडि नाच्न थाले की आफ्नो ध्यान भङ्ग गरेर लट्ठ भइहाल्ने ! लाग्छ कि उनीहरु तपस्याको नाममा भ्रष्ट बन्ने उपाय पर्खेरै बसेका थिए !
संकट भनेको मानिसको उत्पतिदेखि उसको मृत्युसम्म सँगसँगै हिँड्छ । यो कुनै आउँदै जाँदै गर्ने चीज होइन । कृष्णले अवतार लिने तीन कारणमध्ये एउटा साधुहरुको रक्षा गर्नु रे ! साधुता भनेको त्यस्तो अवस्था हो जसले ज्ञान र विवेकद्वारा अरुको रक्षा गर्नुपर्छ । सधैं सत्यको साधना गर्नेहरु मात्र साधु हुन्छन् । र, सत्यको साधना गर्नेहरुको जीत हुन्छ- ‘सत्यमेव जयते’ ! प्रेमले जित्छ, घृणा हार्छ । सत्कारले जित्छ, दुत्कार हार्छ । मित्रताले जित्छ शत्रुता हार्छ । साधु बन्ने मुख्य आधारहरु यिनै हुन् । यदि सत्यले असत्य र व्यभिचारलाई जित्छ नै भने कृष्णकै अवतार किन आवश्यक पऱ्यो ? आफैंलाई सुरक्षा गर्न कृष्ण आउनुपर्छ भने तिनले अरुको सुरक्षा कसरी गर्छन् ? साधुको परिभाषाले भन्छः अरुको रक्षा गर्ने उपाय नभएकाहरु साधु हुन सम्भवै छैन ।
मानिसहरु आज पनि उस्तै छन् ती ऋषिहरुजस्तै ! बिगार गर्ने एउटा न एउटा बहाना खोजेर बसिरहेका छन् । उही स्पर्धा छ जो विश्वमित्र र वशिष्ठमा थियो । उही अहंकार, उही संघर्षको दौड, उही हत्या-हिंसाका युद्धहरु सबै उस्तै उस्तै । पुराना ग्रन्थहरुमा जे शिक्षा दिइएको छ-त्यहाँ ध्यानपूर्वक हेर्नुस-सबैले भन्छन् चोरी-चकारी नगर्नु ! त्यसको अर्थ जब ग्रन्थ लेखियो त्यतिबेला पनि चोरी हुन्थ्यो । सबैले भन्छन् झूटो नबोल । त्यसको तात्पर्य त्यसबेला पनि झूट बोलिन्थ्यो ! हिंस्रक थिए र नै हिंसा नगर्नु भनेर लेखियो । व्यभिचारी थिए र नै व्यभिचार नगर्नु भनेर लेखियो । त्यसबेलाको समाजमा जे जे दुर्भावनाहरु थिए-तिनलाई रोक्नका लागि शास्त्रीय ग्रन्थहरुले उपदेश गरेका थिए । यदि उसबेला चोरीकर्म थिएन, व्यभिचार, छलकपट, युद्ध, हत्या-हिंसा थिएन भने ग्रन्थ लेख्नेहरु बहुलाएका थिए त ? जो हुँदै नभएको कुरा लेखुन् ! चिकित्सकले तब न औषधिको सिफारिश लेख्छ जब जाँचमा कसैलाई रोगी देखिन्छ ! अहिले पनि के नै फरक छ र ? सबै उस्तैः जस्ताको तस्तै !
संकट भनेको मानिसको उत्पतिदेखि उसको मृत्युसम्म सँगसँगै हिँड्छ । यो कुनै आउँदै जाँदै गर्ने चीज होइन । कृष्णले अवतार लिने तीन कारणमध्ये एउटा साधुहरुको रक्षा गर्नु रे ! साधुता भनेको त्यस्तो अवस्था हो जसले ज्ञान र विवेकद्वारा अरुको रक्षा गर्नुपर्छ । सधैं सत्यको साधना गर्नेहरु मात्र साधु हुन्छन् । र, सत्यको साधना गर्नेहरुको जीत हुन्छ- ‘सत्यमेव जयते’ ! प्रेमले जित्छ, घृणा हार्छ । सत्कारले जित्छ, दुत्कार हार्छ । मित्रताले जित्छ शत्रुता हार्छ । साधु बन्ने मुख्य आधारहरु यिनै हुन् । यदि सत्यले असत्य र व्यभिचारलाई जित्छ नै भने कृष्णकै अवतार किन आवश्यक पऱ्यो ? आफैंलाई सुरक्षा गर्न कृष्ण आउनुपर्छ भने तिनले अरुको सुरक्षा कसरी गर्छन् ? साधुको परिभाषाले भन्छः अरुको रक्षा गर्ने उपाय नभएकाहरु साधु हुन सम्भवै छैन ।
तपाईं भन्दैहुनुहुन्छ जब साधुहरु असुरक्षित हुन्छन् तबमात्र कृष्णले अवतार लिन्छन् ! वैराग्यको सिद्धि लिएका साँच्चा साधुहरु कहिल्यै असुरक्षित हुँदैनन् । उनीहरु सुरक्षा-असुरक्षा, भय, निद्रा, क्रोध, मोह, निन्दा र स्तुतिभन्दा दूर हुन्छन् र नै साधु हुन्छन् । वास्तवमा आफ्नै अस्तित्वप्रति भरोसा नभएका, कमजोर मानसिकता बोकेका ढोंगी साधुहरुले लेखेका हुन् कि झैं लाग्छन् ग्रन्थहरु ! ताकि उनीहरुसम्मुख संकट आइलागेमा रक्षा गर्ने अरु नै कोही आइपुग्नेछ भनेर विश्वास रहिरहोस् !
रामायण भन्छ राम साधुहरुको रक्षा गर्न दक्षिण भारत गएका थिए । केको हुन्थ्यो ! बरु जंगली बानर, भालुहरुले विचरा वनबासी रामकै सुरक्षा गरिदिए । केही मनुष्य थिए तर, साधु थिएनन् तिनीहरु । सबै तत्कालीन राजनीतिक व्यवस्थाका अंशियार थिए । एउटा राजाको विरुद्धमा अर्को राजाको चाकरी गरिरहेका थिए । गुप्तचरको काम गरिरहेका थिए । शक्तिको पक्षमा लाग्ने केही राजनीतिज्ञलाई शब्दका गहुँतले चोख्याइ विपक्षमा लागेकाहरुलाई बिटुल्याउँदै गर्ने प्राचीन ग्रन्थहरु उसबेलाका राजनीति दस्तावेजझैं लाग्छन् । सबैले यति बुझ्न जरुरी छ ।
इशाईहरुका इतिहासमा पनि कुरा उस्तै छन् । पहिले आफ्ना पादरीहरुलाई बाइबल बोकाएर विदेशमा पठाए । फेरि विस्तारै तिनै पादरीको रक्षार्थ तलवार बोकेर सेना पठाए । इतिहासमा यतिसम्मका घटनाहरु उल्लेख छन् कि रोमबाट फैलिएका पादरीहरुले विभिन्न देशमा पुगेर त्यहाँका स्थानीयलाई भड्काउँदै आफ्नो शरीरमा आफैं चोट लगाएर पनि सेना बोलाउन सफल भएका थिए । पछिल्लो समयमा ‘कहिल्यै सूर्यास्त नहुने देश’ भनेर बेलायतले नाम पाएको कुरामा पनि यस्तै रहस्यात्मक घटनाक्रमहरु जोडिएका छन् । लाग्छ- इशाईहरु पनि साधुहरुको रक्षार्थ कुनै बलशाली, चमत्कारी शक्तिको आगमन हुने कथाबाटै अभिप्रेरित थिए ।
एउटै कृष्णले बारम्बार अवतार लिने न कुनै प्रतीक्षा थियो न त आवश्यकता नै ! पृथ्वीका हरेक मान्छे एउटा सार्वभौम अस्तित्व लिएर जन्मिन्छन् र एउटै व्यक्ति फेरि कहिल्यै जन्मिदैन । यो कुरा त्यतिकै निश्चित छ जति पृथ्वीमा अहिले भएका कुनै पनि मान्छेको अनुहार एक-अर्कोसित मिल्दैन । यो भयो विज्ञानसम्मत कुरा ।
अब एकक्षण मिथकीय कुरामा पनि जाउँ । शास्त्रहरु भन्छन्- जसलाई प्रभूको कृपा प्राप्त छ, जसलाई ईश्वरले साक्षात्कार दिएका छन् तब ऊ साधु बन्छ । अनि तिनलाई नै रक्षा गर्न फेरि फेरि कृष्ण किन आइरहनुपर्ने ? यदि तिनको रक्षाका लागि कृष्ण आउनैपर्ने भएपछि तिनको साधुताको के औचित्य ?
अब कृष्णावतारको अर्को कारणबारे पनि कुरा उठाउँ । धर्मको पुनर्स्थापनार्थ रे ! धर्मको न विस्थापन हुन्छ न त पुनर्स्थापना नै ! धर्म निर्विकल्प रूपमा साश्वत छ र रहिरहन्छ । कृष्णले धर्मको स्थापना कहाँ गरेका थिए र ? उनले त न्यायपूर्ण संघर्ष र कर्तव्यको पाठमात्र सिकाएका थिए !
धर्म त मथुराको कारागारमा कृष्ण जन्मिनुभन्दा पहिले पनि थियो, उनी द्वारिकामा विसर्जित भइरहँदा पनि धर्म उस्तै थियो, उतिकै मात्रामा थियो । धर्म भनेको जगत र प्रकृति सञ्चालनको नियम हो । धर्मले नै यो ब्रह्माण्डलाई धारण गरेको छ “धारयति इति धर्म:!” जसरी आगो जल्छ- जलाउँछ र ताप प्रदान गर्दछ, त्यसरी नै धर्म भनेको सम्पूर्ण ब्रह्माण्डीय अस्तित्वको स्वभाव हो । सूर्यले प्रकाश दिन्छ । बादलले वृष्टि गराउँछ । प्रकृतिले वन्य-लता, अन्न उब्जाइदिन्छ । आकाश र वायुले पर्यावरणको रक्षा गर्छन्, प्राणीहरुको स्वास-प्रश्वासको आधार बनिदिन्छन् । यी कुराको स्थापना गर्न कोही आउँदै जाँदै गर्न आवश्यक छ ? सम्भव छ ?
त्यस्तो सम्भव छ यदि भने भने कृष्ण जन्मिन भन्दा पहिले के थियो ? धर्म स्थापना भएकै थिएन ? फेरि कृष्णका पछि के भयो? धर्म समाप्त भयो ? धर्म भनेको यो जगतको अस्तित्वसँगै आएको एउटा सूत्रको नाम हो । मैले यसरी लेखिरहँदा तपाईंको चित्त नबुझ्न सक्छ । किनकि, तपाईंको मस्तिष्कमा अर्कै कुरा खेलिरहेको छ । अहिले यी कुरा पढिरहँदा तपाईंको मनमा कुरा खेलिरहेका होलान् यो लेखकले ‘हिन्दू धर्म’का बारे, मेरो आस्थाका बारे यति धेरै किचकिच किन गर्छ ? अकाट्य हिन्दूधर्मका कुरामा किन यति धेरै खुल्दुली गर्छ ?
यद्यपि खास कुरो गर्ने हो भने संसारमा हिन्दू नाम गरेको कुनै धर्म छैन, न इस्लाम, न त इशाई वा बौद्ध नामका कुनै धर्म छन् ! यी सब राजनीतिक वर्चस्वका लागि बनेका रणनीतिक विधानमात्र हुन् । धर्म त एक छ सारा विश्वको जो न हिन्दू हो, न जैन वा बौद्ध हो, न अब्राहमी, यशु, यहुदी, जुडाह वा मुहम्मदी कुनै धर्म हो । धर्मको कुनै नाम छैन । धर्म स्वभावगतः गुण भएकोले नै हावा बहन्छ, पानी बगिरहन्छ । चरा-चुरुंगीहरु सुसेल्छन्, गाउँछन् । मनुष्यहरु सुन्दरताको अनुभूति लिन्छन् । रेशमी कीराले जस्तो धर्मले सबैलाई जोड्ने आत्मीयताको एउटा धागो निर्माण गर्छ र त्यो धागो हो प्रेम वा नैतिक गुणको भावना । त्यति नै हो धर्म । सारा चराचरमाथि स्नेह राख्ने न्यायको नाम नै धर्म हो ।
तर, दुर्भाग्यः उत्पतिदेखि आजसम्म मनुष्यले असली धर्मको पालन गर्नसकेन । त्यही आधुनिक नाममा हिन्दू भनेर चिनिएका वैदिकहरु आफ्नो दायित्वमा परेको धर्मपालनाको जिम्मा विष्णुको थाप्लोमा खन्यादिन्छन्; र, आफू कर्तव्यबाट मुक्त भएर सधैं द्वेष, द्वन्द र युद्धका लागि तत्पर रहन्छन् । धर्म हुनलाई तपाईं स्वयं र वरिपरिका मानिसहरुलाई भित्रैबाट परिपूर्ण हुनेगरी शान्ति र सन्तुष्टिको वातावरण हुनुपर्छ । आपसमा द्वेषरहित, निःशर्त प्रेम हुनुपर्छ । जबसम्म त्यो अनुभूति हुँदैन त्यहाँ धर्म छ भन्नु घोर भ्रान्ति हो ।
धर्म पृथ्वी र प्रकृतिसँगै थियो र यी दुवैको अस्तित्व रहेसम्म धर्म पनि विद्यमान रहन्छ । जो अविनाशी छ, नित्य छ त्यसैको नाम धर्म हो । नित्य भएको कारण नै यसलाई सनातन भनिएको हो । सनातनलाई न कसैले स्थापना गर्छ न त विस्थापन नै गर्न सम्भव छ । विस्थापन नभएको यथावत विद्यमान कुरालाई पुनर्स्थापना गर्ने सवालै रहेन ! धर्म मेटिने कुरै आउँदैन । यदि धर्म मेटियो भने न सूर्य, चन्द्र, सम्पूर्ण तारागण नै रहन्छन् न त यो ब्रह्माण्ड नै रहन्छ । मनुष्य वा पशुप्राणी, सारा वनस्पति एकैचोटि समाप्त भइहाल्छन् । ब्रह्माण्डमा प्रलय भइहाल्छ । धर्मको विनाश भए ब्रह्माण्ड नै सकिन्छ भने त्यसपछि अवतार लिएर आउनेले कुन साधुको रक्षा गर्ने, कुन पापीलाई दण्ड दिने ?
तर, विडम्बना ! यो सर्वमान्य दार्शनिक कुरो मान्न कोही तयार छैन । उनीहरु आ-आफ्नै राजनीतिक दल वा नेताद्वारा प्रतिपादित धर्मको पक्षपोषण गर्न र नयाँ भगवान जन्माउन उछिन्-पाछिन् गरिरहेका छन् । हिन्दूलाई आफ्नो स्वार्थरक्षाको सिंहासन चाहिएको छ, इस्लाम उस्तै आफ्नै स्वार्थरक्षामा हत्या-हिंसासम्म उत्रिएको छ ! विश्वलाई आफ्नो हैकमको वशमा कैद गर्नचाहन्छ इस्लाम ! जैन, बौद्ध, इशाई सबैको गति उही छ । फरक छ त केवल स्वार्थरक्षाको तरिका, भाषा-शैली, बोलिने केही शब्द र वाक्यहरुमात्र ।
शास्त्रीय इतिहासको कथन अनुसार राम सरयु नदीमा हाम फालेर बिते । कृष्णलाई शिकारीले वाण हानेर माऱ्यो । बुद्धले रुखको फेदमा बसेर देहत्याग (निर्वाण प्राप्त) गरे ! अहिले कुनै पनि कथित ‘भगवान’हरु यो पृथ्वीमा छैनन् ! तर, भगवानका जटाधारी ‘सुरक्षाकर्मी’हरुलाई सोध्यो भने भन्छन्-आकाशबाट हामीलाई हेरिरहेका छन् ! शास्त्रहरुचाहिं भन्छन् अहिले जगतपालक विष्णुको नवौं अवतारको कार्यकाल चलिरहेको छ । धेरैवटा ग्रन्थले बेग्ला-बेग्लै क्रममा अवतारहरुको उल्लेख गरेका छन् । तैपनि श्रीमद्भागवत महापुराणको प्रसंग उठाउँदा अहिले बुद्धावतारको समय हो । त्यसो भए अहिले बुद्ध कहाँ छन् ? तपाईं हो बुद्ध कि म हुँ ? कि अरु कोही तेस्रो व्यक्ति बुद्ध हो ?
कृष्ण वा बुद्ध कोही पनि धर्मको पुनर्स्थापना गर्न आएका थिएनन् । उनीहरुले त ब्रह्माण्डमा पहिलेदेखि नै विद्यमान धर्मको पहिचान गर्नसक्ने मनुष्य स्वयं भगवान बन्नसक्छ पो भनेका छन् । उनीहरुले त धर्मद्वारा जगत कसरी प्रभावित छ भन्ने बुझेर त्यसको उपयोग गर्नसक्ने मनुष्य आफैं कृष्ण बन्न सक्छ, जसले करुणा, प्रेम र शान्तिलाई चिन्छ त्यो नै बुद्ध बन्नसक्छ पो भनेका थिए । राम र कृष्ण जसरी, जसको अवतार भएर आएका हुन्; उनीहरुले जीवनदर्शन सिकाएर गए । कल्पनामा रुमलिएर अतिशयोक्ति सुखको आशा गर्ने होइन, दुःखमा व्यथित भएर चिच्याइरहने पनि होइन, कर्तव्यमात्र गरिरहने हो । जीवनलाई दायित्वको बागडोरमा बग्न दिनु कर्तव्य हो । यति नै हुन् राम वा कृष्णले सिकाएका कुरा । उनीहरु जतिसुकै कष्ट पर्दा पनि भित्ताको मूर्तिलाई पुकार्न गएनन् । आफैं जुक्ति जुटाएर संघर्ष गरे ! सधैं खुशी भएर रहे । यति नै थियो उनीहरुको जीवनदर्शन ।
अब कृष्णावतारको तेस्रो औचित्यबारे कुरा गरौं । पापीहरुलाई दण्ड दिने रे ! यस्तो सम्भव छैन । पापीलाई अरुले दण्ड दिन सक्तैन । पापमा आफैं दण्ड नीहित छ । यदि तपाईंले कुनै पनि पापकर्म गर्नुभयो तत्कालै तपाईंले दण्ड भोग्न पनि शुरु गर्नुहुनेछ । त्यहाँ कोही दोस्रो-तेस्रो फरिश्ता आएर दण्ड दिन सम्भवै छैन ।
आज पाप गर्नेहरुले दण्ड पाउनको लागि कृष्णको अवतारसम्म पर्खिनुपर्ने भएपछि हिन्दूहरु कति शताब्दिसम्म अन्यायमा थिल्थिलिएर बस्नुपर्ने ? आफैंलाई हिन्दू भन्नेहरुले मानिसको सुकर्म र दुष्कर्मको फलप्राप्त गर्न युगौं युगौं पुनर्जन्म निर्धारित गरेका छन् ! उनीहरुलाई लाग्छ यो जीवनको पाप वा पूण्य अर्को जन्ममा निधारको रेखा बनेर आउनेछ । तर, आजको पापी भोलि अर्को जन्म लिएर पापको दण्ड भोग्न आउँदा कृष्णले अवतार लिएकै रहेनछन् भने के गर्ने ? कृष्ण कुनै देशको पुलिस वा न्यायाधिश भएर आउने हुन् र दण्ड दिनलाई ? अथवा दण्ड दिनलाई कृष्ण अर्को अवतार लिएर आउने बेलासम्म धर्तीमा कुनै पापी रहेनन् भने के गर्लान् ? अथवा धर्तीमा सबै साधुमात्र भए कोदेखि उनीहरुको रक्षा गर्ने वा सबै पापीमात्र भए कसलाई बँचाएर कसलाई दण्डित गर्ने- कृष्णको नयाँ अवतार के भनेर फर्किने होला ?
अवतारको कुरा छोडेर पाप र दण्डको कुरामा केन्द्रित बनौं । पाप भनेको आफूसहित अरुको अहित हुने काम हो । तपाईंले पाप गर्नुभयो, उतिबेलै दण्ड शुरु भइहाल्छ । आगोमा हात हाल्नु भयो त पोल्यो ! मानी लिनुहोस्-आज कसैले जहर पियो, स्वयं होस् अर्काको -कसैको हत्या गर्नु पाप कर्म हो ! जहर पिएको सम्बन्धित व्यक्तिले गरेको यस पापको दण्ड भोग्न कृष्णको अवतारसम्म पर्खिन सम्भव छ ? उसले निलेको जहर निलकण्ठ झैं घाँटीमा अडिएर कृष्णले अवतार नलिएसम्म पर्खिरहन्छ ? पुण्यको फल पुण्यकर्ममै निहित छ अनि पापको फल पनि पापकर्मभित्रै । अमृत पिउने र हलाहल विष पिउनेले एकार्कामा स्वाद साटासाट गर्न पाउँदैन । र, यो विधि वा नियम नै धर्म हो ! स्वयं हुने, भइरहने-बीचमा कसैले पनि हेरफेर गर्न नमिल्ने जुन प्रक्रिया छः जुन रीत छः त्यो नै धर्म हो । र, धर्म सँगसँगै पाप वा संकट पनि विद्यमान छ । दुवैबीचको द्वन्द र सन्तुलनमै जगत सुचारु छ ।
माथि बताइएका यी तीन कार्य गर्न भगवान धर्तीमा आउने कुरा तपाईं यदि गर्नुहुन्छ भने भगवानलाई तपाईंले आफ्नो कमारो ठान्नुभएको छ ! यदि भगवानलाई सम्मान गर्नुहुन्छ भने केही कामहरु तपाईंले स्वयं गर्नुपर्नेछ । के साधुताको रक्षा गर्नसक्ने अक्कल तपाईंमा छैन र ? भगवान आउने वा आउनुपर्ने कुरा तपाईंको धारणामात्र हो । एउटा असम्भव आशा हो । लोभ हो, आशक्ति हो ।
साँच्चै शास्त्रीय दर्शनलाई विश्वास गर्नुहुन्छ तपाईं भने यो धर्तीका सम्पूर्ण पशु-प्राणी र वनस्पति तपाईंले भन्ने गरेको भगवानकै अंशरूप हो । प्राणीजगतमा सबैभन्दा विवेकशील मनुष्य भएकाले ऊ स्वयं भगवान हो । त्यसैले मनुष्य सबै एकार्कामा बराबर छ । एक मानिसले अर्को मानिसमा विभेद देख्न हुँदैन । अर्थात्, मनुष्यको लागि कोही निकट वा कोही पराई पनि छैन । सबै समान छन् । भगवत्ता हुनु नै भगवान हुनु हो । यो कुनै विशिष्टता नभएर एउटा सामान्य गुण हो । यसलाई चिन्नुचाहिं ठूलो कुरो हो ।
तपाईं भन्नुहुन्छ माथि भनिएका तीनवटा काम गर्नलाई कृष्ण आएका थिए । ल ठिक छ आएकै थिए उनी । कृष्ण आउँदा कुनै साधुको विशेषरक्षा भयो ? कहाँ छन् ती साधुहरु अहिले जसको उसबेला रक्षा भएको थियो ! कुनै धर्मको स्थापना भयो? कुन पापीलाई दण्ड दिए कृष्णले ?
कृष्ण आएपछि यो धर्तीमा जति अधर्म फैलियो, निकट विगतमा त्योभन्दा बीभत्सता थिएन ! कृष्णकै अगुवाइमा भयंकर युद्धहरु भए । अरुको कुरै छोडौं, कृष्ण स्वयंको यदुवंश आपसमा लडेर समाप्त भयो । कृष्णले कुन पापीलाई दण्ड दिए ? तपाईं भन्नुहोला कौरवहरु दण्डित भए ! कौरवमात्र पापी थिए र ? धर्मराज भनिएका युधिष्ठीर धर्मी थिए ? जसले जुवा खेल्यो, जुवामा आफ्नी स्वास्नीसमेत दाउमा राख्यो ! यही थियो धर्म ? कि उनका सबै क्रियाकलाप धर्म थिए भन्नुपऱ्यो कि त उनलाई कृष्णले दण्डित गरेको हुनुपऱ्यो ! त्यो धर्म थियो भने तपाईं पनि आफ्नी संगिनीलाई जुवाको खालमा दाउ हान्न सक्नुहुन्छ ? यदि धर्मराज उपाधिप्रति विश्वस्त हुनुहुन्छ भने लु जानुहोस् आफ्नी श्रीमतीलाई जुवाडेको दाउमा हानेर आफूलाई धर्मराज भएको घोषणा गर्नुहोस् !
तपाईंलाई लाग्दो हो कौरव र पाण्डवका बीचमा जुन झमेला थियो-त्यसमा कौरवमात्र जिम्मेवार थिए ! यदि तपाईंको चिन्तन त्यस्तो छ भने त्यो पुरै गलत छ । त्यो झमेलामा पाण्डव उतिकै जिम्मेवार थिए जति कौरवहरु ! धर्मराज भनिएका युधिष्ठिरमा धर्म भन्ने रतिभर लक्षण थिएन । उनकै अगुवाइमा पाँच पुरुष-एक स्त्री द्रौपदीका पति बनेका थिए । तपाईंलाई लाग्छ यसमा कुनै धर्म थियो ? अनि यिनीहरु केको लागि युद्धमा होमिएका थिए ? एउटा राज्यको लागि हैन त ? धर्मबाट विचलित नभई पाण्डवहरुले भिक्षाटन गरेर किन बाँच्न सकेनन् ? हिमालतिर पसेर तपस्वी बन्न किन सकेनन् ? क्षेत्री हुनुको आडम्बर र अहंकार पाल्न युधिष्ठिरको आज्ञा लिएर कृष्ण स्वयंले अर्जुनलाई किन उकासे ? युद्ध गर्नै नमानेका अर्जुनलाई किन भड्काएर कुरुक्षेत्रमा धकेलियो ?
[दुर्योधनले त कहिल्यै कृष्णलाई भगवान मानेन । कुष्णलाई कसैले वासुदेव त कसैले केशव भनेर बोलाउँथे हस्तिनापुरको दरवारमा । एउटा जाली कूटनीतिज्ञको रूपमा कृष्णलाई मान्थे त्यसबेला धेरैले । अर्जुन स्वयं कृष्णलाई भगवान मान्न तयार थिएनन् । कुरुक्षेत्रभित्र पसिसकेका अर्जुनलाई युद्धका लागि विश्वस्त गराउनकै लागि चमत्कारी ‘विराट रुप’ देखाउन कृष्ण बाध्य भएका थिए ! त्योबेला सम्पूर्ण जगतले कृष्णलाई भगवान ठानेका भए अक्षौहिणी सेना युद्धमा किन होमिन्थ्यो ? युद्ध नै किन हुन्थ्यो ? जो उतिबेला मौजुद थिए उनीहरुले कृष्णलाई भगवान मान्न सकेनन् –तपाईं पनि उतिबेला हुनु भए त्यसै गर्नुहुन्थ्यो ।]
जसरी दूर्योधन राजगद्दी र राज्यविस्तारको लागि लालची थियो पाण्डवहरु पनि त्यही राज्य कब्जा गर्नमा आतुर थिए । तपाईंलाई लाग्छः राज्यको भूगोल मेरो हुनुपर्छ भन्ने कुरामा कुनै धर्म हुन्छ ? उही बलजफ्ती, उही अहंकार, उही कब्जा र अधीनायकत्वको आकांक्षा, उही राजा-मालिक बन्ने रहर…यी सब कुरामा के केचाहिं धर्म लाग्छन् तपाईंलाई ? यिनीहरुमध्ये को कोचाहिं साधु थिए त ? कौरव-पाण्डव दुवैपक्ष एक थिए । दुवैपक्ष एउटै राजाका सन्तान, एउटै गुरुका शिष्य, एउटै राज्यका लागि लडिरहेका युद्ध सरदारहरु थिए ! यिनीहरुबीच के फरक थियो र ? यदि तपाईंले पौराणिक कथाहरुलाई गहिरिएर बुझ्न कोशिश गर्नुभयो भने छक्क पर्नुहुनेछ !
महाभारतपछि के भयो ? कुरुक्षेत्रको युद्धमा कति विष्फोटक हतियारहरुको प्रयोग गरियो ? ब्रह्मास्त्र, वरुणास्त्र, पाशुपतास्त्र, वैष्णवास्त्र नाम गरेका औजारहरु आजको आणविक बमभन्दा पनि खतरापूर्ण थिए भनिन्छ । त्यो युद्धले जम्बूद्विप क्षेत्र नै पतन भयो । त्यस अघि भएका सभ्यता सम्पूर्णरूपमा नष्ट भएर गए । एउटा सिंगै युगको मानव-सभ्यता सकियो ।
आजसम्म सह्मालिएर बौरिन सकेको छैन जम्बूद्विप क्षेत्र ! महाभारतको युद्धभन्दा पहिले लिएको उन्नति र प्रगतिको उच्चाइ त्यो क्षेत्रले अहिलेसम्म कायम गर्नसकेको छैन भने तपाईं भन्नुहुन्छ अब फेरि कृष्णको अवतारपछि साधुहरुको रक्षा हुन्छ, धर्मको स्थापना हुन्छ, पापीहरु दण्डित हुन्छन् ? कृष्णकै उपस्थितिमा त्यो काम हुनसकेन भने अबचाहिं कसरी हुन्छ ? यस्तो हावा कुराको आशामा अल्झिन छोड्नुहोस् ।
राम, कृष्ण, बुद्ध सबै तपाईं हामीजस्तै सामान्य मनुष्य थिए । फरक थियो त केवल उनीहरुमा कर्तव्यको बोध र जगत सञ्चालनको विधि बुझ्ने चेतनाशक्ति ! हामीले पनि त्यो शक्ति हासिल गर्न सक्नेछौं भनेर उनीहरुले नै उपदेश दिएका छन् । अश्वमेध राजसी यज्ञ गरी छोडेको घोडा बालमिकी आश्रममा रहेका लव र कुशले समातेर युद्धको लागि ललकारेपछि राम र उनका छोराहरुबीचको संवादमा के के कुरा भएका थिए यहाँलाई याद छ ?
तपाईं मान्नुहुन्छ, उनीहरु भगवान थिए, हामीचाहिं क्षुद्र मनुष्य ! ठिकै छ, तपाईंले मान्ने कुरामा मेरो आपत्ति छैन । तर, तपाईंले मान्नुभएकै आधारमा त्यति नै निर्विकल्प सत्य हो भन्ने ठान्नु तपाईंबाहेक अरुको कुनै बाध्यता छ ? पौराणिक ग्रन्थबाहेक तपाईं स्वयंका कुरालाई बलियो गरी पेश गर्ने तपाईंसित कुनै ठोस प्रमाण छ ?
दुर्योधनले त कहिल्यै कृष्णलाई भगवान मानेन । कुष्णलाई कसैले वासुदेव त कसैले केशव भनेर बोलाउँथे हस्तिनापुरको दरवारमा । एउटा जाली कूटनीतिज्ञको रूपमा कृष्णलाई मान्थे त्यसबेला धेरैले । अर्जुन स्वयं कृष्णलाई भगवान मान्न तयार थिएनन् । कुरुक्षेत्रभित्र पसिसकेका अर्जुनलाई युद्धका लागि विश्वस्त गराउनकै लागि चमत्कारी ‘विराट रुप’ देखाउन कृष्ण बाध्य भएका थिए ! त्योबेला सम्पूर्ण जगतले कृष्णलाई भगवान ठानेका भए अक्षौहिणी सेना युद्धमा किन होमिन्थ्यो ? युद्ध नै किन हुन्थ्यो ? जो उतिबेला मौजुद थिए उनीहरुले कृष्णलाई भगवान मान्न सकेनन् –तपाईं पनि उतिबेला हुनु भए त्यसै गर्नुहुन्थ्यो ।
कृष्णकै बहकाउमा लागेर कि कौरव कि त पाण्डवपक्षबाट तपाईं पनि युद्धमा होमिनुहुन्थ्यो शायद ! गोकुलमा तपाईं हुनुहुन्थ्यो र तपाईंकी स्त्री गोपिनीमध्ये एक भए तपाईं कृष्णलाई जार सम्झिनुहुन्थ्यो ! तपाईंकी श्रीमती नुहाउन गएको मौकामा लुगा चोरेर लुकाइदिनेलाई तपाईं के गर्नुहुन्थ्यो होला-सम्झिनुहोस् ! शायद त्यस्तो अवस्थामा तपाईं कृष्णको पूजा गोर्खे शैलीमा गर्नुहुन्थ्यो ! तपाईंको घरमा राखेको ठेकोबाट दही र नौनी चोर्न गाउँको कुनै ठिटो आए तपाईं के गर्नुहुन्छ ? एकक्षण घोरिएर सोच्नुहोस् त ! कृष्णको समयमा उनका समकक्षी र दौंतरीहरुले त्यही गरेका थिए जो आज हाम्रो समाजमा हामी जे जे गरिरहेका छौं ।
तिलस्मी कथाहरुले कसैको दीव्यता प्रस्फुटन गर्न सक्तैनन् । कथाहरु सुन्नलाई मिठा हुन्छन् ! जीवनले धेरै कथाहरु बोक्न सक्छ तर, कथाले जीवनको असली बोझ बोकेर हिँड्दैन । अर्थात्, त्यो कथा यस्तो बनाउनुपर्छ भनेर जीवनले कथाका मोडहरु बनाउँदै हिँड्दैन । कृष्ण एउटा जीवनको शृंखला हो । उनका बारेमा लेखिएका कहानीहरु कहानी नै हुन् जसरी हामीले आमा-दिदीहरुबाट सुनकेशी रानीका कथाहरु बाल्यकालमा सुनेका थियौं ।
आजभन्दा पाँच हजार वर्ष पुरानो कथा भनेर महाभारतलाई लिने गरिएको छ । कृष्ण त्यतिबेला थिए । त्यसबेलादेखि आजसम्म कति कथाहरु कृष्ण-नामका वरिपरि बुनिए । कति पण्डा-पूजारीले उनकै नामको लिस्नु बनाएर आफ्नो जीवनयापनको बाटो खने !
त्यही भएर तपाईं जस्तोसुकै परिस्थितिमा पनि सधैं खुशीको जिन्दगी भोग्नुपर्छ, न्यायको संघर्षमा डग्नु हुँदैन, कर्तव्यबोधसहित संघर्षको मैदानमा योद्धा बनेर डटिरहनुपर्छ भनेर उपदेश दिने एकजना दूरदर्शी, ज्ञानी, सफल कूटनीतिज्ञ, एक हितैषी मित्रको रूपमा कृष्णलाई लिनै सक्नुहुन्न !
राजा इन्द्रलाई दूत्कारेर गोवर्धन पर्वतको पूजा गराउने कृष्णलाई तपाईं निरंकुश व्यक्ति राजाको खारेजी र उपयोगी प्रकृतिको पूजा गराउने हितकर समाजसेवीको रूपमा बुझ्नै सक्नुहुन्न ! त्यही कारण उनलाई आकाशमा विचरण गरी हिँड्ने कल्पनाको देवताको रूप दिनुहुन्छ । र, तपाईंलाई संकट परेको बेला आकाशबाट तल झरेर कृष्णले तपाईंको रक्षा गर्ने स्वैरकल्पनामा उनको अवतार खडा गर्नुहुन्छ !
कृष्णले उतिबेलै खारेज गरिसकेको व्यक्तिपूजालाई पितम्बरले छोपेर ‘राजा भनेको विष्णुको अवतार हो’ भन्दै तपाईं आजसम्म हामीलाई निरंकुश शठहरुको पाउ पर्न सिकाइरहनु भएको छ । समानताको चेतमा पाउ पर्नै पनि आपत्ति थिएन तर, बराबर नश्वर शरीर धारण गरेर, उत्रै मस्तिष्क लिएर आएको एउटा जीव आफूलाई अलौकिक ठान्छ र सामु परेको अर्को उस्तै अस्तित्वलाई कीट-पतंगसरह मान्छ भने त्यसको पाउनपर्नु धिक्कार छ ।
यति कुरा किन बुझ्न सक्तैन हाम्रो सामाजिक चेतनाले ? पूर्वजन्म र पुनर्जन्मको ध्वाँस दिएर ठग्गु साधु महाराजहरुले के के गरे गरे समाजलाई ! यी असली साधु थिएनन्, राजनीतिका ठेकेदारहरु थिए भन्ने कसैले बुझेन । त्यही नबुझ्नुको परिणति आज भ्रम र द्विविधाको दहमा पौडी खेलिरहेको छ समाज !
द्विविधाग्रस्त छ हाम्रो समाजको धार्मिक विश्वास । विश्वास भनौं कि अन्धविश्वास ! एकातिर यो संसारलाई सपनाको बजार, मोहको भण्डार, भ्रमको जञ्जाल भन्छ र यहाँबाट मुक्त हुने कामना गर्छ । फेरि यो दुखिया धर्ती (शास्त्रीय भाषामा मर्त्यलोक) मा जन्मिनै नपरोस्, मोक्षप्राप्ति होस्, आराध्यदेवका सानिध्यमा बैकुण्ठ वास होस् भनेर बेस्सरी पुकार गर्छ अनि त्यही मोक्षप्राप्तिमा कहिल्यै भरोसा पनि गर्दैन । उसलाई विश्वासै लाग्दैन कुनै मनुष्यले मोक्षप्राप्त गऱ्यो । अग्रजहरु बितेर पितृ बन्छन् । अनि बाँचेकाहरुचाहिं जाने-सुनेभरिका नाम पुकार्दै मोक्षप्राप्ति गरिसकेकाहरुलाई वर्षमा एकपटक खीर खान बोलाइरहन्छन् ! के गर्नु बाबुको बिँडो थाम्नैपरेको छ ! कर्मकाण्डको शाख पनि बँचाइदिनै परेको छ ! मर्त्यलोकबाट जाँदा वैतरणी तर्न गाईको पुच्छर समात्नुपर्छ भनेर गौदान गरिन्छ । तर, उताबाट खीरको डल्लो खान यता बोलाउँदा पितृहरु कसको पुच्छर समातेर आउँछन् ?
दीव्यता- स्वैरकल्पना, अनिश्चितता वा चमत्कारितामा होइन अहिले नै, यसै घडीमा, सामान्य अवस्थामै देखिनुपर्छ ! दीव्यता छ यो ब्रह्माण्डमा, सुन्दरता छ, प्रेम छ, सद्भावना छ र समग्रमा धर्म छ । तर, त्यसलाई हेर्ने र बुझ्न जाग्रत अवस्था चाहिन्छ । कृष्ण वा अरु कसैको अवतार पर्खिने तपाईं र तपाईं जस्ताहरुको मानसिकताले गर्दा नै यो ब्रह्माण्डको आपसी मित्रता, प्रेम र सद्भावनामा कीरा लागेको छ । बाहिरी पर्यावरणमा खडेरी लागेको छ ।
तपाईंले आफैं दीव्यताको अनुभूति जुनदिनसम्म गर्न सक्नुहुन्न त्यस दिनसम्म कुनै भगवानको अवतार सम्भव छैन । जब दीव्यता अनुभूत हुन्छ त्यही दिन अवतार हुन्छ । दीव्यताको अनुभूति नहुनु नै तपाईंको संकट हो । संकटबाट मुक्त भएर जुनदिन तपाईं दीव्यानुभूति लिनुहुन्छ, त्यो नै तपाईंको मोक्ष हो । तर, तपाईंलाई अहिले यी सब कुरामा विश्वास लाग्नेवाला छैन ।
तपाईंले भन्नुहुन्छ अवतार तब हुन्छ जब माथि भनिएका तीनवटा काम गर्नुपर्ने घडी आउँछ । प्रथम कुरो त तपाईंले भनेको भगवान मनुष्यभन्दा अलग कतै छ भने उसको अवतरण हुनुपर्छ अवतार होइन । अवतार त तपाईंको पनि भइरहेकै छः गाई-भैंसीको पछि लागेमा तपाईं गोठालो, व्यासमा बसे पण्डित, लाश बोक्नेको लाममा उभिए मलामी, बजार गए बजारे वा ग्राहक, विचारको सम्प्रेषण गरे दार्शनिक, वस्तुको विनिमय गरेमा बिक्रेता, विद्यार्जन गरे विद्यार्थी, शिक्षण गरे शिक्षक; तपाईं एक्लैका पनि अनेक अवतार हुनसक्छन् !
[जबसम्म नाकमाथि जात अडिन्छ, ललाट चन्दन र नारंगी वस्त्रमाथि कथित धर्म अडिन्छ, जबसम्म कथित भगवानहरु मन्दिर-मस्जिद, गिर्जा र गुम्बजभित्र थुनिन्छन्, जबसम्म दीव्य अवतारको फेन्टासीमा विश्वासको पासो थापेर मानिसहरु आफैंमाथि अपराध गरिरहन्छन्, तबसम्म वास्तविक मानवता खोज्नु पनि मृगमरीचिका सरह हुनेछ । ]
शास्त्रहरुले बताएको अवतार कुनै उद्देश्यबाट निर्देशित हुँदैन ! धर्मको अवतार हुन कुनै फलको प्रयोजन हुँदैन । कुनै सांसारिक प्रयोजन र फलमा आशक्त नभई गरिने कर्ममात्र धर्म हो भनेर गीतामै उल्लेख छ । तपाईंले भन्नुभएको भगवान कर्ता हो । कर्ता भनेको चैतन्य हो । यसको तात्पर्य कुनै निश्चित प्रयोजन वा उद्देश्यबिनै जब कर्ताको इच्छा हुन्छ, तब अवतार हुनसक्छ । शास्त्रीय वर्णनानुसार कुनै कारण, उद्देश्य वा प्रयोजन, स्तुति, निन्दा, इर्ष्या, मोह, क्रोधहरु सकिएपछि समाधिको अवस्थामा पुगिन्छ । त्यही अवस्था मुक्ति वा मोक्षको गति हो । त्यहाँ पुगेपछि तपाईंको पनि अर्को अवतार हुन्छ ।
जसले साधु र असाधुमा भिन्नता देख्छ त्यो भगवानको अवतार हुनै सक्तैन् । जसको हृदयमा पक्षपात र द्वन्द हुन्छ ऊ भगवान कसरी हुन्छ ? पाप-पुण्य, साधु-असाधु, पण्डित-मूर्ख, जीव वा मनुष्य, धर्म-अधर्म सबै भेद मेटिएको निर्विघ्न हृदयमात्र भगवान हुनसक्छ । द्वैत, अद्वैत, विशिष्टाद्वैत सबै टुंगिएपछिको अवस्थामा जो अजर, अमर, अविनाशी, अमूर्त, सतानतमा लीन हुन्छ, त्यो हो भगवान ! यो धर्तीमा देखिएका भिन्नता सबै लीलामात्र हुन् । नृत्य हुन्, नाट्य अभिनय हुन् ।
विचार गर्नुहोस्, रामबिना रावण वा रावणबिना राम कुनै महत्वका कथा हुन्थेनन् ! यदि तपाईं रावणलाई नकार्नुहुन्छ भने रामलाई पनि सँगै नकार्दै हुनुहुन्छ । लु रामको कथाबाट रावणलाई झिकेर अलग्ग राख्नुहोस् त, राम कतिको राम भइरहन सक्छन् ! राम र रावण कथा निर्माण गर्न एकार्कामा निर्भर छन् । कुनै एकलाई शब्ददृश्यबाट निकाल्दिनुहोस्, कथा बोत्तलजस्तो फुटेर झऱ्यामझुरुम हुन्छ । हो यस्तै गरी पाप र पुण्य पनि एउटै सिक्काका दुइपाटा हुन् । धर्म र अधर्म, देवता र दैंत्य, दानव र मानव, साधु र असाधु सबै एक हुन् ।
जसरी एकदिनमा उज्यालो र अँध्यारो छ, एउटा बोटमा काँडा र फूल छन्, जसरी एउटा परिवारको स्तम्भमा स्त्री र पुरुष छन् त्यसरी नै दुइविपरीत अस्तित्वले संसारको गति कायम भएको छ । यो जगतमा उत्तममात्र रहन्छ र अधम रहँदैन, रहनु हुँदैन भन्नुभयो भने तपाईं पनि रहनुहुन्न ! किनभने अधम नभए उत्तम एक्लै उभिनै सक्तैन । दुइ विपरीत तत्वबीचको द्वन्दबिना जगत पनि रहँदैन । यसैलाई संकट भनिन्छ । जबसम्म जगत रहन्छ संकट पनि रहन्छ । अथवा संकट मेटिएको दिन जगतै नष्ट हुन्छ । यदि कुनै अवतार साधुलाई बचाउँछ र असाधुलाई मार्छ भने त्यो भगवान कसरी हुन्छ ? यदि दुवैका पछि एकै ईश्वरीय अंश छ भनेर चिन्दैन भने त्यो भगवान कसरी हुन्छ ?
लौ भैगो, भगवान नै बन्न कोही सकेन ! वास्तविक मनुष्य त बनौं कमसे कम ! हामी समूल चेतनाको वास्तविक मान्छे पनि हुनसकेका छैनौं । र, जबसम्म नाकमाथि जात अडिन्छ, ललाट चन्दन र नारंगी वस्त्रमाथि कथित धर्म अडिन्छ, जबसम्म कथित भगवानहरु मन्दिर-मस्जिद, गिर्जा र गुम्बजभित्र थुनिन्छन्, जबसम्म दीव्य अवतारको फेन्टासीमा विश्वासको पासो थापेर मानिसहरु आफैंमाथि अपराध गरिरहन्छन्, तबसम्म वास्तविक मानवता खोज्नु पनि मृगमरीचिका सरह हुनेछ ।