देवकोटा कहाँ छन् ?
जे एन दाहाल
पेन्सिल्भिनिया, अमेरिका
यमपन्चको पाँच दिने तिहार मध्ये, महालक्ष्मी पुजाको दिन देवकोटाको पनि सम्झना गरिन्छ। उनी १९६६ कार्तिक २७ लक्ष्मीपूजाका दिन जन्मिएका थिए र उनको नाम यसकै आधारमा पनि राखिएको थियो।
उनका चर्चित केही कृतिहरू सुलोचना, शाकुन्तल, बन कुसुम, प्रमीथस (महाकाव्य) मुनामदन, कुञ्जिनी (खण्डकाव्य) भिखारी कविता सङ्ग्रह, दाडीमको रुख नेर (कथा सङ्ग्रह) लक्ष्मी (निबन्ध सङ्ग्रह), चम्पा (उपन्यास) हुन्
यसै मध्ये एउटा चर्चित कविता ‘यात्री’ शीर्षकका केही पङ्ती यस प्रकार छन्।
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो?
..
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ।
यी वाक्यहरूले पनि प्रस्ट बोल्छन्। उनी धर्म भन्दा निक्कै माथि उठेर सृजना गर्थे। उनका सृजना आज पनि लोकप्रिय छन्। वैदेशिक रोजगारीको लागि कतार, दुबाई, मलेसिया लगायतका देशमा युवाहरु बिदेसिए जस्तै त्यो समयमा ल्हासा जाने चलन थियो। त्यो समयमा उनको खण्डकाव्य मुनामदन जनमानसमा निक्कै लोक प्रिय थियो । मुनामदनका केही बहुतै चर्चित पङ्क्ति मध्ये मुनि उल्लेखित दुई पर्छन्।
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन
यी शब्द मदन ल्हासामा बिरामी पर्दा ओखती गर्ने भोटेलाई धन्य हुँदै भनेका पङ्ती हुन्। जातीय समानताको लागि आज पनि यी पङ्ती निक्कै चर्चित छन्। उनको काव्यात्मक खुबी बहुतै भएका कारण उनलाई ‘महाकवि’ अर्थात् कविहरूको महान् भन्ने उपमा दिइएको हो। २९ भदौ २०१६ मा देवकोटाले यो धर्ती छाड्नु भयो । मर्ने वेलामा देवकोटाले ‘म मरेपछि मुनामदन बाहेक सबै पुस्तक जलाइदिनु’ भन्नु भो भनिएको पढ्दा पनि उनको मुनामदन प्रतिको लगाव वा झुकाव प्रस्ट बुझिन्छ।
समालोचकहरू भन्छन्, देवकोटाको कविता र निबन्ध लेखन अब्बल हुँदा हुँदै कथा र उपन्यासमा त्यो उच्चाई लिन सकेका छैनन्। उनको काव्यको जुन चुली छ, त्यो अथाह छ। भनिन्छ, विद्वानहरूले उनको कविता साधनाको बहुलठ्ठीपन देखेर पागल खाना राँची सम्म पुर्याएका थिए रे । त्यसपछि उनको पागल कविताको जन्म भएको हो।
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
वासनालाई संवाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन ..
देवकोटा प्रकृति प्रेमी थिए तर ईश्वर मान्दैन थिए। गरिब मान्छेहरूको सेवा नै ईश्वर पुज्नु भन्दा उत्तम हो भन्थे। उनी आँखाले हैन हृदयले हेर्थे। देवकोटाले साहित्यमा लेखन बाहेक अनुवाद र सम्पादन पनि गरेका छन्।
अहिले विभिन्न सङ्घ संस्थाहरुले विश्व भरी नै उनको जन्म जयन्ती मनाई रहेका छन्। विभिन्न परिवेशमा रहेका नेपालीहरूले लक्ष्मीपूजाकै दिन उनको सम्झना सहित जयन्ती मनाउन नसके केही दिन अघि नै गर्ने गरिएको छ। किनकि जयन्तीको विशेष दिन बितेपछि मनाउन उति सान्दरभीक देखिन्न।
–सन्दर्भ: विकीपिडीया देवकोटाको जीवनी र कान्तिपुर