द्रष्टव्यः

मदन दुलाल 
अमेरिका

आँगनलाई
नाच्न नजान्नेले देख्ने — टेढो नै हो

मूर्खलाई अर्ती — विष नै हो

बाँदरलाई हिरा — तुच्छ नै हो

र
सुँगुरलाई स्वर्ग — बेकार हो

[ प्रचलित कु- प्रचार ]*
———————————

यद्यपि
सत्य यो हो कि

निकालिदिएको हो दलदलबाट पृथ्वी — वराहले

वराह:-
[ त्यहि बेकारि सुँगुरको प्रथम संस्करण ]

डढाइदिएको हो अहङ्कारको राज्य तुच्छ बाँदरको पुच्छरले

पुच्छरः
[अपमानको एउटा बिम्ब]*

फेरिदिएको हो
रत्नाकरलाई वाल्मीकिमा
र
अङ्गुलिमाललाई अहिंसकमा
विष समान अर्तीले

अर्तीः-
[ समानुभूतीको भाव ]*

दुनियाँको लागि टेढो आँगनले नै त हो
सिद्धार्थलाई माथि उचालेको
——————————————-

नगरेको भए अज्ञान बीजारोपण आँगनले
सिद्धार्थ कहाँ बुद्ध बन्थे होला र…..?

नगरेको भए बाँदरत्वको अपमान
सायदै दन्किने थियो सुनौलो लङ्का

नगरेको भए अर्ती मूर्खलाई
लेखिन्न थियो अनुष्टुप छन्द

र
अङ्गुलिमाल सायदै बन्ने थियो सन्त

———————————
सृष्टीको प्रचुरता दृष्टिमा छ

यसर्थ,
बदलौं

के?
दृष्टि

जस्तो दृष्टि उस्तै सृष्टी यसै कहां भनिएको हो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *