द्वन्द्व सम्वाद: बाजे-नाति

A former Bhutanese refugee, forced to leave Bhutan along with his family in 1992, I P Adhikari is a journalist living in Adelaide, South Australia. He started The Shangrila Sandesh in 2001 but did not work for the paper for long. In 2004 he, along with Vidhyapati Mishra, started the Association of Press Freedom Activists (APFA) Bhutan. In 2007 they started Bhutan News Service. He worked in The Rising NepalThe Himalayan TimesNation Weekly and Nepalnews.com while living in Nepal as a refugee.

Adhikari also taught Journalism and Development Communication for bachelor's and master's degrees in College of Journalism and Mass Communication between 2006 and 2010 in Nepal. He then moved to Australia under the resettlement program of the UNHCR for Bhutanese Refugees. In Adelaide, Australia he founded Yuba Sansar, a weekly Nepali-language radio program aired through Radio Adelaide.

आई पी अधिकारी
एड्लेड, अष्ट्रेलिया

बाजे: दारी पाकिसके, तै पनि तेरो निन्द्रा खुलेको छैन । यो पाराले आफैलाई बदल्ने ह्याउ राख्दैन, समाज कसरी बदल्ने कल्पना गर्ने?
नाति: समाज बदल्न, आफू बदलिनु पर्छ । समाज बदल्नु भनेको हिजोको परिस्थितिलाई आजसम्म तनकाउनु हैन, आउने भविष्यका लागि मार्ग चित्र तयार पार्नु हो । समाज बदल्न भोलिको विचार राख्नु पर्छ, हिजोको हैन ।
बाजे: इतिहास र विगत बिर्सेर कसरी आगत तयार हुन्छ? विगत आगतका लागि प्रस्थान विन्दु हो । विन्दु विना यात्रा कसरी सुरु हुन्छ ?
नाति: त्यसमा मेरो सर्वसम्मति । तै पनि विगतकै परिवेश, व्यवस्था र सोच आगतमा पनि रहन्छ भने कसरी त्यसलाई नयाँ समाज भन्ने । त्यसलाई बदलिएको समाज कसरी भन्ने?
बाजे: परिवार वा सानो समुदाय हैन, देश बदल्ने महान् क्रान्तिमा हामी होमिएका हौँ। हामीले थालेको त्यो अभियान जारी छ र जारी रहनु पर्छ । हाम्रो शरीरले थकान लेला तर अभियान र सोचले विश्राम लिन मिल्दैन ।
नाति: वृद्ध भत्ता खान थाल्नु भो । अब कसले तपाईँको अभियानको मियो समाइदेला?
बाजे: त के होस । पुर्खाको विडो थाम्न नसक्ने निम्छरो बन्न नखोज । बाबुको विरासत थाम्नु कुलीन धर्म हो । विरासतको मियो जसले धान्छ, उसले बाजुञ्जेल सामाजिक सुख भोग गर्छ, मरणोपरान्त स्वर्गमा सम्मान पाउँछ ।
नाति: देखेको र भोगेको जिन्दगीकै मलजल गर्न सकेको छैन, नदेखेको काल्पनिक स्वर्गका लागि तयारी थाल्नु मूर्खता हैन र!
बाजे: सधैँ देखेको र भोगेको मात्र सत्य हैन । सत्य सधैँ प्रत्यक्ष हुन्न । अदृश्य र अप्राप्य सबै काल्पनिक हैनन् । अदृश्य र अप्रत्यक्ष विषय प्राप्तिको कामना गर्नु मूर्खता हैन, तीक्ष्णता हो । विद्वता हो ।
नाति: तपाईँ विषयबाट भड्किनु भो बा! हामी भुटानको प्रजातान्त्रिक आन्दोलन र यसको उपलब्धिको संवादमा थियौँ । तपाईँ मृत्युपर्यान्तका तर्कना गर्न थाल्नु भो ।
बाजे: तैँले भुटान देखेको छस्?
नाति: जन्मेको हु, माटो देखेको छु, चाखेको छु, देश देखेको छैन ।
बाजे: तँ सायद २ वर्षको थिइस हामीले त्यस धरतीबाट बिदा माग्दा । कसरी थाहा पाउँथिस् ।
नाति: नजान्दै त्याजेर हिँडेको एउटा सानो भूगोलको याद कतिसम्म गर्नु?
बाजे: माटोको माया गर्नुपर्छ । जन्मभूमि आमा हुन् । त्यो भूगोल आफन्त हो । त्यहाँको प्रकृति, जीव-जनवार मित्र हुन, नातेदार हुन् । आफ्नो जन्मभूमि र जन्मदात्री नसम्झने पातकी हुन्छन् । माटोको माया गर्नु परम धर्म हो ।
नाति: त्यो भावना हो । एक किसिमको नातावाद । भावना व्यवहारिक नहुन सक्छ । व्यावहारिक जीवन खुसी र सुखी हुन्छ, भावनात्मक जीवन हरियो चौर जस्तै हो – उत्पादन दिन नसक्ने तर रमणीय देखिने । व्यावहारिक भावना भए सुनमा सुगन्ध हुन्छ ।
बाजे: त मलाई भुटान बिर्सी भन्दै छस्?
नाति: छैन । पटक्कै छैन ।
बाजे: आशय के त?
नाति: भावना बदल्नुस् ।
बाजे: त्यो हुनै सक्दैन । त्यो म हुर्केको मुलुक हो । मैले पसिना बगाको छु । मेरा पुर्खाको हाड मकाको छ त्यो देश बनाउँदैमा । बाँदरे जङ्गलाई हामीले हराभरा बनायौँ । तीतेपातीको ठाउँमा तोरी फुलायौँ । उन्युको ठाउँमा कुन्यु ठड्यायौ । जङ्गललाई सहर बनायौँ, देशलाई समृद्ध बनायौँ ।
नाति: म हुर्केको माटो र मैले पसिना बगाएको मुलुक फरक हो । आफूले गरेको मेहनतले माटो आफ्नो बन्ने भए त खाडी पसेका सबै नेपालीले त्यतै नयाँ मुलुक खडा गर्थे होलान् ।
बाजे: पैसाको लागि गरिएको परिश्रमले माटोसित नाता गास्दैन । माटोसितको नाता पुस्तौं लामो भावनाको सदृश्य सम्बन्ध हो । माटोसितको नाताले हाम्रो गौरव गाथा समेट्छ, हाम्रो पौरख देखाउँछ र तिलश्मी संस्कारको बिम्ब दर्शाउँछ ।
नाति: यो शाश्वत सत्य हो माटो कसैको पनि हुँदैन । मानवीय भावना सानो भूगोलभित्र बन्दी बन्नु हुन्न । भावना मानवता सित गासिनु पर्छ । निर्जीव माटोसितको सम्बन्धले हामीलाई सङ्कुचित घेराभित्र धकेल्दै छ । हामी पूरा विश्वबाट देश, देशबाट राज्य, राज्यबाट गाउँ, गाउँबाट करेसो र जुठेल्नोमा सांघुरिदैछौं ।
बाजे: तेरो बाबु मारिएको छ । आमा बलात्कृत बनेकी छ । आफन्तजन बेपत्ता छन् । तेरो मामा पिँजडा जस्तै जेलमा जन्मकैद भोग्दै छ । काकाको ढाड हेर आर्मीका बुट्का छाप ताजै छन् । हजारौँ आफन्त वियोगले बौलाएका छन् । त्यो कुनै भुल्न सक्ने दन्त्य कथा हैन । यसै जुनीमा हामीले भोगेको पीडा र वेदनाको गाथा हो । हामीले आफू जन्मे हुर्केको माटो आफ्नो भन्न पाएनौँ ।
नाति: जजस्ले त्यो जुनी गुजार्नु पर्‍यो, उनीहरू हाम्रो लागि अनुकरणीय हुन् । हामी त्यो योगदान भुल्ने कल्पना पनि गर्न सक्दैनौँ । उनीहरूको योगदानको करद गर्दै म त्यो भन्दा फरक अन्दाजमा परिस्थिको निकास खोज्दै छु । हजुरले नै मलाई बताउनु भएको हो हाम्रो पूर्वीय दर्शनको भावार्थ – पत्थरको जवाफ फूलले दिनु पर्छ। मूर्खलाई बलले हैन, विवेकले सिकाउनु पर्छ । के हाम्रो व्यवहार दर्शनले निर्देशित हुनुपर्दैन?
बाजे: तेरो नियत तानाशाह प्रेरित छ । तेरो भावभङ्गी हाम्रो मेहनतलाई तिलाञ्जली दिने दिशामा छ । आढ्यहरुको लगौटी बन्दै छ, रजवाडाको गोटी बन्दै छ । तलाई इतिहास पढाउन खोज्नु मेरो मूर्खता हो ।
नाति: तपाईहरुले खोजेको खुला समाज, सामाजिक न्याय, स्वतन्त्र अभिव्यक्ति, बहुल विचार हैन र । छोटकरीमा त्यसलाई प्रजातन्त्र नामले पुकार्छन् ।
बाजे: भुटानमा प्रजातन्त्र आयो त? हामीले त्यसको भोग गर्न पायौँ?
नाति: तपाईँको अभियान आफ्नो लागि थियो कि दर-सन्तानको लागि?
बाजे: मैले नभोगी दर-सन्तानमा कसरी पुग्छ?
नाति: तपाईँको माग पूरा भएको भए नयाँ व्यवस्थाको नेतृत्व कसले गर्थ्यो?
बाजे: म गर्थे । मलाई कम आकेको छस् ?
नाति: छैन । तर एउटै प्रश्नमा म अड्केको छु । जाबो म एउटाको फरक विचार स्वीकार गर्न नसक्ने तपाईँले बहुलविचारमा हुर्किएका अनेक थरी विचार र कुविचारलाई कसरी थेग्नु हुन्थ्यो?
बाजे: परिस्थितिले मान्छे पाक्छ, व्यवस्था आफै सुधारिन्छ ।
नाति: मान्छे पाके मर्छ, विचार पाके समाज बदलिन्छ । समाज बदलिनु र व्यवस्था सुध्रनु एउटै हो । हिजो तपाईँका पालामा तपाईँले उठाएका विषय ठिक होलान् । आज समयले कोल्टे फेर्‍यो । हामी अर्कै भूगोलका स्थायी बासिन्दा गनिसकियौँ ।
बाजे: तैँले इतिहास पढेकै छैनस् । हाम्रो विगत खोज । आज र भोलि हिजो कै निरन्तरता हो । हिजो बुझिस् भने, आज बुझ्छस्, भोलि बनाउँछस् । पढेर आईज, तर्कमा पलेटी कसौँला ।
(नाति पुस्तकालय पस्यो, बाजे ओछ्यान पसे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *