धनावतीको रहर
बुद्धमणि ढकाल
अमेरिका
यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह आजका शहरे ठिटीहरुले भनेजस्तो “लव म्यरिअज” थिएन | माइत छउन्जेल मझेरीको घर धन्दा र बाख्रा चराउन सिपालु भएकी धनाले वास्तवमा यो शब्द सुनेकी पनि होइन | हुन त उसलाई त्यस्तो उत्ताउलो लव गर्नुपरेको पनि थिएन |
धनावतीले आफ्नो लोग्नेसंग घर गरिखाएकी पनि छ | सात वर्षका हिउँद बितिसके | ऊ आफ्नो घर चलाउन सिपालु छे किनभने यस क्षेत्रमा उसले माइतमा प्रशस्त तालिम पाएकी थिई| आफ्नो लोग्नेको सेवामा सासू -ससुराको हेरचाहमा ऊ कति पनि त्रुटी हुन दिन्न | गाउँघरको काम हो, त्यसमा पनि धनावती त्यो घरकी एक्ली बुहारी | बिहान भालेको डाकदेखि उठेर दैलो अगेनो लिप पोत गर्नु, पँधेराको पानी ल्याउनु, चिया पकाउनु, मेलामा निस्कनु आदि उसका सामान्य दिनचर्या हुन् | यहि क्रम राति अबेरसम्म चलिरहन्छ | बेलुकी त ढिकी जाँतोमा धनावती आफैँ नगई हुँदैन | राती सबै सुत्न गएपछि पाँच पाथे डालामा मकै लिएर जाँतो घुमाउन थाल्छे, धनावती| जाँताको प्रत्येक फन्कामा आफ्नो जिन्दगी गन्छे ऊ | विवाह भएपछि अथवा त्यो घरमा आएपछि यतिका वर्षहरु यो जाँतो जस्तै घुमेर बिते | उसको उमेरले त केहि भनेको छैन | पढेको भए विहे गर्न अझै दुई तीन वर्ष पर्खिनु पर्ने थियो | नपढेकी भएर सोह्र सत्रको कलकलाउँदो उमेरमा अर्काको हातमा सुम्पिदिइन् उसकी आमाले | र आज ऊ अर्काको भित्तो टाल्दैछे , एक्ली भएर |
सन्तान नजन्माउनु धनाले गरेको अपराध हो भन्न हामीलाई सुहाउँदैन | सासु- ससुरा नाति-नातिना हेर्नलाई भुटभुटिएका छन् | यति मात्र होइन, उनीहरु रिसाएका छन्, अग्घोर रिसाएका छन् – धनावतीदेखि| ओरपर छर छिमेकका आइमाई लोग्नेमान्छे खासखुस कुरा गर्छन – “यो ज्यामिरे बुढा बुढी सारै मूर्ख रहेछन् |”
“होइन, तीन तीन पल्टसम्म रातभर चिन्ता राखे पनि यो रांड जस्ताको तस्तै |” सासुचाहिँले बेलुकी मकै खोसेल्दा पल्लाघरकी सिटोल्नी बुढीसंग भन्दै थिई|
यो मझुवा गाउँका धेरैजसो बुढा-बुढीहरु पुरानो ढांचाका छन्| बोक्सी-डाहिनी, भूत-प्रेतमा असीम विश्वास छ उनीहरुको | धामी झाँकरीले ढ्यांग्रो ठटाएर रातभर फलाके पछि जुनसुकै रोग पनि निको हुन्छ भन्ने दृढ विश्वास छ उनीहरुमा | गर्भधारण गर्न नसक्नु आइमाई मात्रलाई लाग्ने रोग हो भन्ठानेर होला ज्यामिरे बुढाका घरमा तीन रात लगातार ढ्यांग्रो ठोकियो| त्यसमाथि पनि च्वानडाँडे साहिलो भनेपछि सबैलाई च्वाट्टै पर्ने धामी हो |
“बैला भएको बाख्रो त मासु खान काम लाग्ने हुन्छ तर बैला भएकी आइमाईको त मासु खान पनि नहुने| खोइ त पोहोरै होइन र च्वानडाँडे साहिँलाले तीन रात चिन्ता बसेको | तिम्री बुहारीको त अलिकति पनि जिऊ देखिँदैन|” सिटोल्नी बुढीले आफ्नो वकालती पेश गरी |
धनावतीले यस्ता धेरै छेड-पेचहरु, आरोप-प्रत्यारोपहरु पचाइसकेकी छ | उसलाई पनि थाहा छैन यी सहिनसक्नुका बचन बाणहरु उसले कति दिनसम्म खप्नु पर्ने हो| लोग्ने पनि उसंग नबोलेको झन्नै वर्ष दिन हुन लाग्यो| धनाको लोग्ने ऊ जस्तै नपढेको अल्लारे ठिटो हो| बाबु आमाका बचनलाई लत्याउन त ऊ सक्दैन तर स्वास्नीले बच्चो नजन्माएर अपराध गरी भन्न उसलाई सुहाउँदैन थियो| आखिर त्यसको भागेदारी ऊ आफैं पनि हुन सक्छ भन्ने उसले सोचेन | धनावतीले नखरा पार्दै गाउँ चाहार्ने गरेकी भए उसको स्वभावमाथि खोट लगाउने ठाउँ हुने थियो भन्ने एक दुई पढा-लेखा बुढापाकाहरुको भनाइ छ |
गएको असारमा धनावतीकी सासु खेतका आलीमा मास रोपिसकेर आगनको डिलमा डंगरंग लडी| धनावती छेवैको करेला झ्याँगमा एक दुई करेला हातमा लिएर अरु खोज्ने प्रयासमा थिई | आवाज सुनेर फर्की र हत्तपत्त सासूलाई उठाई र घरको सिकुवामा गुन्द्री ओछ्याएर सुताई| बुढीले आँखाका सेता भाग देखिने गरी फर्काई| धनावती झसङ्ग भई | बुढीकि दश एघार बर्षकी आत्तिएर रून लागी|
बेलुका ज्यामिरे बूढाले बुहारीमाथि दोष थुपारेर भनेछ – “बुहारी अलच्छिनी भएपछि घरका देउताले भाँडभैलो मच्चाउँछन्| औंसी पुर्नियामा दिउँसो मास घर लिप्छे | खोइ अघि कहिल्यै यस्तो भएको जानेको होइन | यहि बुहारी भित्र्यायेपछी अनेक थरि हुन थालेको छ | च्वानडाँडे साहिलो दैव सन्जोग आइपुगेछ र बाँची |”
धनावतीलाई यस्ता कुरा पचाउन बानी परेको छ | तर पचाउने बल चाहिँ आँसुका ढिक्काबाट लिएकी छे| आँसु पिई दिन्छे, बचनका तिखा सुइराहरु छपाइदिन्छे र घर धन्धा गर्न बाँचिदिन्छे | धनामा सन्तानको रहर राँकिएको छ| ऊ सन्तान पाउन सधै तत्पर भएकी छ, तर खोइ इश्वरको दया ऊमाथि | के मातृत्वको रहर उसमा त्यसै सुकेर जाने भो त? बद्रि बाजेले उसलाई एकपल्ट डाक्टरकहाँ जानू भन्ने सल्लाह दिएका थिए रे लाज र संकोचले खुम्चिएर त्यसो गर्न पनि सकिन| यदि दोष मेरै हो भन्ने धनावातीलाई टुङ्गो भएदेखि लोग्नेलाई सौता हाल्ने आग्रह पनि त उसले गर्ने थिई | सौताबाट जन्मेको सन्तानमा पनि लोग्नेको अंश उत्तिकै रहने थियो |
पोहोर साल तीजमा धनावातीकी आमा आफै लिन आइछन् | तीन दिनको बिदा लिएर धना आमासंग फुरुङ्ग हुँदै माइतीघर गएकी थिई | बाटामा आमा छोरीका गफ भए -धनाकै सासु ससुरा, लोग्नेको विषयमा| आमाले भनिन्- सम्धिनीले उस्तो नराम्रो व्यवहार गर्लिन जस्तो लाग्दैनथ्यो| सम्धी-सम्धिनीले त्यसो गरे पनि ज्वाईले त नगर्नुपर्नेथ्यो | के गर्छेस् र बाबै तेरो पुर्पुरोमा त्यस्तै लेखिदिएछन् दैवले |
धनावातीले यी साहनुभुतिका शब्दहरु सुनिरही मात्र केहि प्रतिक्रिया जनाइन | उसका लागि यी शब्दहरु आमाले जनाएको मातृप्रेम भन्दा अरु केहि हुन सकेनन् | ऊ सुँक्क -सुँक्क रोई आमाको कुममा अडेश लागेर | आमाले रिट्ठे र बाटुलीका बारेमा कुरो कोट्याइन् | त्यसै साल त हो रिट्ठेले अर्की स्वास्नी भित्र्याएको | हुन त उसलाई बाटुलीले नै सौता हाल्न केहि अघिदेखि भनेकी थिई| बाटुली र रिट्ठेले दश बाह्र वर्षसम्म घर गरी खाए तर उनीहरुबाट जायेजन्म भएन | यो रिट्ठेको दोष होइन, बाटुलीकै दोष हो भन्ने गांईगुई हल्ला गाउँ घरमा अघि देखि नै चल्ने गर्थ्यो | बाटुली र रिट्ठेको दाम्पत्य जीवन देखेर धेरै तरुण तन्नेरीलाई आहारिस लाग्थ्यो | कति राम्रो माया पिरती – परेवा परेवीको जस्तो| धनावती त यो जोडा देखेर भुत्तुक्क हुन्थी ; आफ्नो पनि त्यस्तै भईदिए हुन्थ्यो भन्ने सपना देख्थी | तर त्यो दिवास्वप्न मात्र भो उसकालागि |
रिट्ठेले बाटुलीमाथि सौता ल्याएको धनावतिले त्यही साल तीजमा माइत जाँदा देखेकी हो| “मेल्बोटेकि छोरी पनि बाटुलीलाई कामधन्दामा उछिन्ने खालकी छ है | रुपकी पनि उस्तै राम्री|” उसकी आमाले भनेकी थिईन् |
यता धनावतीकै छिमेकमा सुन्दरेकी स्वास्नीले अस्ति भदौ लाग्दै एउटा भुकुल्ले छोरो पाई| धनावातिले त्यो देखी ; उसलाई मातृत्वको भावनाले कुत्कुत्यायो | कसैले नसुन्ने गरी सुस्केरा छोड्दै भनी, “बिचरा पोहोर साल आमाचाहिँ नै झन्नै बितेकी | नानी त मरी गयो| धन्य यसपाली त राम्रो भयो |” अरुलाई दिने सहानुभूति त उसकहाँ पनि प्रसश्त छ तर आफैँलाई अरुले दिएको फोस्रो सहानुभूति भने धनावतिलाई पट्टक्कै मन पर्दैन | किन यो समाजले सहानुभूति मात्रै दिन जान्दछ ? उसले भोगेको पारिवारिक समस्या ह़ल गरिदिन पनि त सक्ने थियो यो समाजले |
सुन्दरेका घरमा सानो बालक च्यार्रच्यार्र रुँदैछ | भोलि पर्सि त्यहाँ भव्य उत्सव हुनेछ , त्यो धनावतिले पनि देख्नेछे| संगिनीहरु धनालाई गिज्याउनसमेत बाँकी राख्तैनन्- ल है तिमीले चै कहिलेलाई साँचेकी हौ कुन्नि | न्वारानका दिन सुन्दरेकी स्वास्नीले धनालाई ‘आइदिनैपर्छ’ भन्ने निमन्त्रणा पठाई | यी दुइटी साह्रै मिलेका दौँतरी थिए| त्यसैले धनाले बचन हार्न नसकी काम धन्धा सघाउन सुन्दरेकहाँ गई | अघाउन्जेल सुन्दरेकी स्वास्नी र उसको भुक्कुल्ले छोरो हेरेर धना घर फर्की | सासु ससुरा फुलेर बम भएका रहेछन्| राती खाने बेलामा लोग्नेले निहुँ झिकेर धनालाई बेस्सरी कुट्यो | भोलिपल्ट ज्यामिरे बूढो बद्रि बाजेकहाँ आपत्ति जनाउन पुगेछ | पंच भलाद्मी बोलाएर बहस चर्क्यो | तर ज्यामिरे बूढा-बुढीले धनावतिलाई बुहारीको रुपमा फेरी पाउन सकेनन् |
तीज गयो, दशैं गयो| यतिका चाहाड़ पर्वमा न धनालाई लिन उसकी आमा आइन न त धना र उसको लोग्ने जोडी परेवा जस्तै माइत ससुराली गए | तिहार सकिएपछि मुंग्सिरमा आमबोटे कार्कीका मेलामा सुनियो – धनावतिको लोग्नेले मुलुकेकी साहिली छोरि पुतली लिएर भाग्यो रे |
“भूटानी कोपिला”मा प्रकाशित