धरहरा र मेरो प्रेम
तारा पराजुली / मोरङ-नेपाल
पहिलोपटक
धरहरा चढेकी थिएँ
त्यो पनि तिमीसँग !
त्यो घुमाउरो उकालो
तिम्रा आलन पदचापहरू पछ्याउँदै
उचाइमा उड्दै गरेको सिमलको फूलझैँ
पौडिँदै अग्लिरहेँ म;
साथमा एउटा नौलो अनुभूति
छिनमै तापक्रम भरिएर ओठहरू,
चुम्बकजस्ता हात,
नरम, मलिन स्पर्श,
मदिराक्षी आँखा,
निस्पन्ध नजर,
निहारिरहेँ म ।
भागेर संकोचहरू पर पर
न इर्ष्यालु जमात
न कुरा काट्ने हुल,
यौवनको सबैभन्दा अब्बल मौसम थियो
जीवनकै सबैभन्दा सुन्दर समय देखेको दिन,
डुबेर रङ्गहरूको पोखरीमा,
म नवीन रङ्ग खोजिरहेथेँ
लाग्थ्यो यसबेला म एउटा प्रेम अग्लिरहेछु ।
भरेर नीलो अनुरागको मसी
म प्रेमको व्याकरण लेख्दैछु;
सँगै छन् सधैँ सधैँ सम्झिरहनु पर्ने सम्झना
पछ्याइरहने छायाँ;
सँगै छ प्रेम कविताको
रचनागर्भ हरदम !
तमाम एकांकीपन छाडी
जाने पात्र पनि आफैँसँग छ
आज सम्झनु छैन केही,
पर्खनु छैन कसैलाई,
लेख्नु छैन फेरि पनि बिछोडको गीत,
सच्च्याउनु छैन पुरानो प्रेम कविता,
हेर्नु छैन कुनै नवीन विम्ब ।
त्यसैदिन,
लेख्यौँ लेख्न नसकेको प्रेमपत्र
फुकायौँ बाँकी मन
सुनाउन बाँकी रहस्य,
भन्न बाँकी कुरा
एकसाथ पोखियौँ हामी ।
प्रेमको समर गीतमा
हामीले कुनै मन्दिर भाकेनौँ
देवी, देउराली गुहारेनौँ
आँखा चिम्म गरेर
देवालयको गजुरतिर हेर्दै
शून्यमा कुनै जोडी पन्छी उडाएनौँ
औँठी, रुमाल केही चिनो साटेनौँ ।
बरु हेऱ्यौँ देखियुञ्जेलसम्म हतारका उपत्यका
बार्दलीका निर्बन्ध फूल,
पारि पारि कुमारी पहाड,
सुकिला हिमाल,
सिफलको बोटजस्तो देखिने
इतिहासको नवीन पृष्ठ,
बादलका झुत्रे घरहरू,
यिनै हुन् प्रेमका अनन्त साक्षी
प्रेमको सत्ता मजबूत बनाउन
त्यहीँ बसेर खसाल्यौँ अहंको धावन मार्ग
होच्यायौँ रेशमी चाहनाको महल
र बनायौँ समावेशी घर !
प्रेम विश्वासको अञ्चलमा फुल्ने रहेछ
मनका करेसाबारी भरि भरि
उम्रिएर फुल्यौँ हामी
भरेर उडानहरू,
अग्लियौँ माथि माथि ।
बिडम्बना,
हामीलाई यति अग्लो चौडा उचाइमा
एउटा प्रेम कविता छाडेर
आफू पुरानो कथाजस्तो भएको छ
आज मेरो धरहरा !