धर्मेन्द्र तिम्सिना र उनका एक अञ्जुली सपनाहरु
प्रतिमान सिवा
ओहायो, अमेरिका
कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ नयाँ पुस्ताका बहुबिधामा कलम चलाउने एक कुशल शब्दशिल्पिकार हुन जसलाई डायस्पोराका साहित्यिक पारखीहरूका हारमा फालिम लगाउन सकिन्छ । कविता, कथा, रुबाइ र गजल विधामा उत्तिकै मार्मिक, यथार्थपरक र दृश्यानुभुत गराउने अनि सम्पूर्ण समाजलाई बोक्ने सृजनात्मक प्रस्तुति पस्किँदै आएका कवि तिम्सिनाले पछिल्लो पटक यो कृति, ‘एक अञ्जुली सपना’ हाम्रा हातमा सुम्पेका छन् ।
बाबु खडानन्द तिम्सिना र आमा लीलामाया तिम्सिनाका माइलो छोराका रूपमा भूटानको ललाइमा जन्मनु भएका तिम्सिनाको बाल्यकाल र युवास्था गोल्धाप शरणार्थी शिविरमा आम बाल-बालिका जस्तै अभावै अभावमा बित्यो । त्यही अभावमा, अग्रज साहित्यिक व्यक्तित्वहरू सङ्गको हेलमेल, भलाकुसारी र उत्प्रेरणाले उनमा साहित्यिक बीजारोपण गर्यो जो आज फक्री फुली सुवाषित छ हामी माझमा ।
‘जानु कहाँ हो’ -गजल तथा रुबाइ सङ्ग्रह (२०६८), ‘त्रीकोण‘ – संयुक्त रुबाइ सङ्ग्रह (२०७०), ‘एक अञ्जुली सपना‘ -कविता सङ्ग्रह (२०७०), ‘समुन्द्रपारिका कलमहरू’-मातृभाषा संरक्षण समूहको सामूहिक गजल सङ्ग्रह (२०७२) जस्ता कृतिहरूलाई जन्माई सक्नु भएका कवि तिम्सिना वास्तवमा गजलकार बढी र कवि /कथाकार कम हुन् भन्दा अतियुक्ती नहोला । करिबन २५ वर्ष दुखदायी र पहिचान विहीन जीवन यापन पछि धेरै रङ्गी बिरङ्गी सपनाका बाइपंखी लहरहरू सङ्गै सपनाको देशमा पुनर्वाशित भएका धर्मेन्द्रले कालान्तरमा आफ्नो मातृभाषा अतिक्रमित भई लोप हुने सम्भावनालाई स्विकारदै ‘मातृभाषाको संरक्षण गरौँ, आफ्नो पहिचान जोगाऔँ’ भन्ने नाराका साथ मातृभाषा संरक्षण समूहको स्थापना गरी सक्रिय रहेका तिम्सिना ओहायो राज्यको कोलम्बसबाट प्रकाशित हुने नेपाली पत्रिका ‘जागरण‘को सह-सम्पादकको अभिभारा पनि सम्हालेका छन् । सरल जीवन यापन गर्ने र मृदुभाषी कवि तिम्सिना, विभिन्न राज्यको विभिन्न शहरहरुमा समय समयमा आयोजना हुने प्रत्येक साहित्यिक कार्यक्रमहरूमा उपस्थिति जनाउँछन् र आफ्ना सुन्दर रचनाहरू वाचन गर्न अग्रसर रहन्छन् ।
भनिन्छ साहित्य समाजको ऐना हो र समाजलाई प्रत्येक रचनाले प्रतिबिम्बित गराउँछ । कृतिमा अभिव्यक्त सामाजिक चेतना तथा धरातल र लेखक बाँचेको सामाजिक धरातलको वैज्ञानिक अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने गरिन्छ । साहित्यमा समाज प्रतिबिम्बित हुन्छ तथा साहित्यका माध्यमबाट समाज पढ्न र बुझ्न सकिन्छ । त्यसरी नै कवि तिम्सिनाको ‘एक अञ्जुली सपना’ आफू हुर्किएको सामाजिक चेतना, वातावरण र धरातल सङ्गै हुर्किएको हुनाले यस सङ्ग्रहले सम्पूर्ण समाजको चेत बोकेको छ र समाजका प्रत्येक व्यक्तिको आवाज बनेर बोलेको छ ।
मातृभाषा संरक्षण समूहको ब्यानरमा विक्रम सम्बत २०७३ मा अल्फा पृन्टिङ हाउस, कमलपोखरी बाट मुदृत तथा प्रकाशित यो कृति ९६ पृष्ठको पातलो पुस्तिकाको रूपमा छ जसमा जम्मा ३९ वटा कविताहरू रहेका छन् भने केही पृष्ठहरू प्रकाशकीय, शुभकामना र लेखकको कुराले खाएको छ ।
सङ्ग्रहमा बाँधिएका प्रत्येक काव्यिक सपनाहरूलाई चम्किला मोतीका तेजस्वी दाना मानेर कोमल अञ्जुली भरी उघाईएको आवरण शीर्षक सापेक्ष भएता पनि त्यति आकर्षक र परिष्कृत लाग्दैन तथापि चित्रकार डी बि सारुले शीर्षकलाई राम्ररी परिभाषित गरेका छन् यस आवरणमा । गध्यात्मक शैलीमा स्वच्छन्द रूपमा धारा-प्रवाह बगेका अधिकांश कविताहरू आकारका हकमा मझौला खालका छन् भने अनुप्राशिकतालाई भने कतै छोएको वा अपनाएको देखिँदैन ।
शासकीय लाञ्छनाले उच्छेदित हुनुको पिडा, नियतिले लादेको दशकौँ सम्मको उत्पिडन सामाजिक कलुषिताको चक्रव्योममा जेलिएको सीमान्त समुदायको बुलन्द आवाजलाई सतहमा ल्याउनका लागि कवि तिम्सिनाभित्रको कवित्वले सङ्कल्प बोलेको छ यी ‘एक अञ्जुली सपना’ मार्फत । भूटानमा जन्मिएर बाल्यावस्था उतै बिताएका भएता पनि जीवनको अत्यधिक आयु आफ्नो मातृभूमिबाट बियोगिएर शरणार्थी शिविरको छापाहरूमा असीमित दु:ख, अभाव र पहिचान विहीन हुँदा सम्मको अवस्थामा पनि कवि भित्रको राष्ट्र मोह, मातृभूमि प्रतिको झुकाव र आफूले केही गर्न नसकेको कटुताले यो सङ्ग्रहलाई आदि सरो ढाकेको छ ।
‘म स्वतन्त्र दिवस मनाउने छैन’, ‘सपना जस्तो लाग्छ’, ‘माटो र म’, ‘सम्झना ‘, ‘तिमीलाई जे गर्न पनि छुट छ’,’पिडा’, ‘मैले स्वतन्त्र दिवस मनाउनु पर्दैन’, ‘म’, र ‘पुरानो तस्बिर ‘ जस्ता कविताहरूमा जता-ततै राष्ट्र प्रेम झल्किएको पाइन्छ भने कतै तानासाही शासकीय ज्यादतीको घोर निन्दा र भर्त्सना छताछुल्ल पोखिएका छन् ।
कवि धर्मेन्द्र तिम्सिना’क्षितिज’
“म माटोबाट टाढा छु
मेरो गाउँबाट हजार कोष पर छु
देश, राष्ट्र अनि राष्ट्रियता
बुझ्न नपाउँदै
वेवारिसे बनेर
दूधे बालकमै
आमाको स्तनबाट
दूधे शिशुको
मुख निकाले झैँ गरेर
मैले माटोबाट बिछोडिनु परेकाले
मैले देश भन्न नपाएकाले
…………………………………….”
(माटो र म)
यी माथिका हरफहरूमा पोखिएका बिलौनाहरू कविको मात्र भावना नभएर अघिल्लो पुस्ताका सम्पूर्ण अग्रजहरूको हमेसाको रोदन हो । मनोदशा हो । तेस्रो मुलुकको अत्याधुनिक सुविधायुक्त वातारण र परिवेशले अनि विश्वको विशाल मुलुकले अपनाएर प्रदान गरेको पहिचानले सम्म परिपूर्ति गर्न नसकेको जन्मभूमिको सम्झना हो ।
“दुखिरहन्छन्
अझै आलो घाउहरू
शरीरका चोटहरू
मुटुमा लागेका छुराहरू
रगतले पोतिएका चौतारी
पाटी पौवा अनि
खेतका गरा र आलीहरू
ती निरङ्कुश शासकले चलाएको
गोलीको आवाजले
……………………………….”
(सम्झना)
तानासाही शासकको आदेशमा प्रशासकीय प्रहरीले सोझा र सिधा रैयत माथि गरेको दमन, शोषण र अत्याचार यसरी माथिका हरफहरूमा बोल्छन् सबैका अर्तनादहरु कवि तिम्सिना ।
यसरी नै क्रमशः रूपमा आफू जन्मेको ठाउँ- मातृभूमि, दुखदायी जीवनमा पनि केही मीठा याद, सम्झना, आगत र विगतहरू बोकेको शरणार्थी शिविरहरूका क्षृंखलाहरु र भूगोलका अनेक सिमानाहरूलाई पार गर्दै संसार भरि छरिए पनि प्रत्येक भूटानीहरुले आफ्नो जन्मभूमिको तस्बिर, आफ्नो भाषा, सभ्यता र सांस्कृतिक स्वाभिमान आफुसङ्गै बोकी रहेका हुन्छन् । हृदयभित्र जीवित राखेका हुन्छन् जस कारण यस्ता सृजनाहरू हमेसा आँकुराइ रहन्छन् ।
मानिसले आफूले रुचाएका, मन पराएका र प्राप्ति हासिल गर्न योग्य पलहरू, वस्तुहरू र अवस्थाहरूलाई जबसम्म सम्भवको खुड्किलो टेक्दैनन् तबसम्म कल्पनामा, यादमा र सम्झनामा सपना बनाएर उपयुक्त समय र वातावरण प्राप्त नहुन्जेलसम्म हृदयभित्र साँची राखेका हुन्छन् । तिनैलाई हामी सपना मान्छौँ । सपनाहरू कति प्राप्य हुन्छन् भने कति अप्राप्य पनि हुन्छन् । कवि तिम्सिनाले पनि त्यस्तै कैयौँ सपनाहरू साँचेका छन् । कहीँ हिजो बितेका पलहरूलाई सपना मानेका छन् भने कहीँ आफ्नो मातृभूमिलाई प्राप्त गर्न नसकेको क्षणलाई सपना मानेका छन् ।
समय, परिस्थिति र भूगोल अनुसार कालन्तारमा कति सपनाहरू फेरिँदै, बद्लिदै र हराउँदै जान्छन् भने नयाँ उद्धम र समयानुकूल सपनाहरू निर्मित र सिर्जित हुँदै जान्छन् । यसै कुरालाई कविले यसरी उजागर गर्छन् ।
“कति त्यतिकै खेर जान्छन्
कति नचाहँदा नचाहँदै हराएर जान्छन्
हजारौँ उम्रन्छन् जताततै
च्याउका बिरुवासरि
निगुराको मुण्टासरी
रोपेर फलाउन सकिँदैन कतिलाई
फलेपछि टिपेर खान सकिँदैन कतिलाई
असरल्ल छरिन्छन् कति
घोप्टिएर पोखिन्छन्
हो…….. यस्तै हुन्छन् सपनाहरू
……………………………………….”
(सपनाहरू)
हरेक व्यक्तिले देख्ने सपना आफ्ना आफ्नै हुन्छन्, व्यक्तिगत हुन्छन् र फरक हुन्छन् भने कतिपय अवस्थामा सपनाहरू सामूहिक पनि हुन्छन् ।
“बाबुको सपना अर्कै हुन्छ
छोराको सपना अर्कै हुन्छ
भाइको सपना बेग्लै हुन्छ
दाजुको सपना बेग्लै हुन्छ
हो……… यस्तै हुन्छन् सपनाहरू
………………………………..”
(सपनाहरू)
रामायणमा आदर्श पुरुषको रूपमा उभ्याईएका रामका अघि पतिव्रता सीतालाई उनको आज्ञा पालना गर्नु पर्ने र आफ्नो पतिव्रता साबित गर्न अग्निपरीक्षा दिनु पर्ने जस्ता यो हाम्रो पुरुष प्रदान समाजमा स्त्रीहरूलाई दोस्रो स्तरमा राखिने र घरेलु परिधि भित्र मात्रै सीमित रहनु पर्ने मान्याताको उपक्रममा भङ्गता भित्र्याउदै नारी र पुरुष समान हुन्,सबैको समान मान्यता हुनुपर्छ र यो कार्यलाई आफ्नै घरबाट सुरु हुनुपर्छ भन्ने कुरालाई कवि तिम्सिनाले यसरी व्यक्त गरेका छन् आफ्नो सिर्जनामा । यहाँ आफूलाई नारीवादी बनाएर उभ्याएका छन् ।
“तिमीले नरम हातहरूले
मेरा खस्रा खुट्टाहरूमा
तेल लगाएर
मलाई खुसी पार्न खोज्नु पर्दैन
मलाई ईश्वर मान्नु पर्दैन
किनकि
म पनि तिमी जस्तै हुँ
तिमी पनि म जस्तै हौ
……………………………………”
(मेरी श्रीमती)
कविले आफ्ना मस्तिष्कमा तरङ्गिने भावनाका छालहरूलाई शब्दहरूमा परिणत गर्दै कविताहरूमा रूपान्तरण गर्दा छुट्टै आनन्दमा रमाउँछन् भने आफ्नो छाती पनि हलुका भएको महसुस गर्छन् । यस रित्तीले उब्जिएका सृजनाहरूले पाठकहरू माझ एक दिन न्यायोचित मूल्याङ्कन पाउनेछ र आफू समेतलाई साहित्याकाशमा स्थापित गराउने छ भन्ने विश्वास राख्दछन् ।
“कविता लेख्दा मन हलुका हुन्छ
मैले साहित्यलाई केही दिदैछु जस्तो लाग्छ
मेरा सिर्जनाहरू एक दिन कसैले पढ्नेछन् जस्तो लाग्छ
मेरा कविताको एक दिन कदर हुनेछ जस्तो लाग्छ
मेरा कविता सङ्गै म पनि अटल भएर उभिनेछु जस्तो लाग्छ
मेरा कविता सङ्गै मेरो एउटा तस्बिर हुनेछ जस्तो लाग्छ
……………………………………………………”
(चुरोट र कविता उस्तै लाग्छ)
यसरी नै ‘मेरी श्रीमती’, ‘तेस्रो आँखा’, ‘जिन्दगी’, ‘सपनाहरू’, ‘महल, पजेरो र म’, ‘चुरोट र कविता उस्तै लाग्छ’, ‘यता सास फेर्न सजिलो छैन‘ जस्ता कविताहरूले समाजका परिसरमा प्रचलित र बिधमान विषय वस्तुहरूलाई उठान गरी पाठक माझ पस्केको छ । कवि तिम्सिना विषयवस्तु खोज्न टाढा जाँदैनन् । आफूले व्यतित गरेको जीवनबाट मनलाई छुने भावना, घटना र परिस्थितिहरूलाई केलाउँछन् आफ्ना कविताका विषयवस्तु बनाएर । कविको चेतना आफ्नो समाजमा मात्र अनुबन्धित नरही संसारमा के घट्दै छ भन्ने कुरामा पनि त्यतिकै दृष्टि पुर्याएको कुरा कविता ‘जोया’ र ‘असरफ फियाद‘ ले यसरी दर्साउँछ ।
“ती दानवरुपी मानवहरूले
अरूको मर्म नबुझ्ने
क्रूर अत्याचारीहरूले
तिमीमाथि
तिम्रा ती नाबालक शिशुहरूमाथि
निर्लज्ज बलात्कार गरेछन्
तिम्रो अस्मिताको वास्ता नगरी
तिम्रो हक अधिकारको
सम्मान नगरी
तिमीलाई रुवाउँदै रुवाउँदै
तिमीले छोडेको ठाउँमा फर्काएछन्
………………………………”
(जोया)
अभावग्रस्त जीविकोपार्जनमा पनि समयानुकूल परिस्थिति आउन साथ कवि रुमानी भावहरुसङ्गै तरङ्गित हुँदै यसरी प्रेमिल उमङ्ग पोख्दछन् ।
“मायाका उज्याला किरणहरू
छेवैमा आएर टोलाएर बसेपछि
म बादल माथि उडिरहेँ
म आकाशको कुनै कुनामा हराई रहेँ
म समुन्द्रको छालमा छल्किरहेँ
म जुन र ताराको बिचमा
बसेर मायाको
कुनै मिठो कथा सुनाइरहेँ
………………………………..”
(चोखो माया)
भौगोलिक्ताको आधारमा यस सङ्ग्रहलाई नियाल्दा यस कृतिको भौगोलिक्ता विशाल छ । हरियालीले हरा-भरा भएको रमणीय र प्यारो जन्मभूमि भूटान हुँदै नेपालको तराई भेगमा अवस्थित शरणार्थी शिविरहरू देखि सात समुन्द्र पारी रहेको अमेरिकासम्म फैलिएको छ भने कतै प्यालिस्टिनी कवि असरफ फियाद सङ्गै साउदी अरबको जेलखानासम्म पुगेको छ त कतै नेपालबाट निर्मम्तापूर्वक खेदिएकी जोयासङ्गै फिलिपिन्ससम्म पुगेको छ ।
ठुला ठुला शब्दहरू बटुलेर गण्ठ्याङ-गुण्ठुङ पार्दै थुपार्नुको झमेलाबाट टाढै रहेका कवि तिम्सिनाले जनजिब्रोमा दैनिकीरुपमा प्रचलित हुने सरल र मिठा शब्दहरू सुत्रबद्ध तरिकाले उनेर दृश्यबोध गराउने, चेतनालाई छुने र मिठासपूर्ण कविताहरूको निर्माण गरेका छन् । सङ्ग्रह भरिका सम्पूर्ण कविताहरू एक रुपतामा सरलिकृत गरेर पस्कने कवि तिम्सिना पनि यस्तै सरल र गम्य जीवन यापन गर्न रुचाउँछन् ।
समग्रमा कृति एकदम राम्रो, मिठासपूर्ण, सरल र मातृभूमिको मायाले ओतप्रोत भएको छ ।अनि कृति सबै बौधिक स्तरका लागि पठनीय छ । टङ्कन कार्यमा केही त्रुटिहरू छुटेका छन् भने वैयकरणीय त्रुटिहरूबाट चोखो रहेको छ । हालचालको समय सीमारेखामा कविको काव्यिक कुशलतामा अत्यधिक निखारपन आएको हामी सबैले सामाजिक सञ्जालमा नियमित रूपमा आई रहने वहाँका लेख-रचनाहरूबाट प्रस्ट भएका छौँ र निकट भविष्यमा असङ्ख्य कृतिहरू यो समाजले पाउनेछौँ भनी म शुभकामना व्यक्त गर्न चाहन्छु ।