ध्रुवतारा (बाल कथा)

डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका 

हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै प्रसिद्ध छ । त्यस ताराको नाम हो “ध्रुव” तारा । ध्रुवतारका बारेमा लामो र राेचक कथा छ । नानीहरू हाे ध्रुवताराकाे कथा सुन्ने हाेइन त ?

प्राचीन कालमा अहिलेको भारतमा एक उत्तानापाद नामक राजा थिए । उत्तानपाद राजाका दुइजाना पत्नीहरू थिए सुनीति र सुरुचि । सुनीतिका छोराको नाम ‘ध्रुव’ थ्यो र सुरुचिका पुत्रको नाम ‘उत्तम’ थ्यो । राजा उत्तानपाद कान्छी रानी सुरुचिलाई अधिक प्रेम गर्थे । एकदिन बालक ध्रुव राजाका काखमा बसेको देखेर रानी सुरुचिलाई ईर्ष्या भएछ । उनले सौतेलो व्यवहार देखाउँदै हत्तपत्त ध्रुवलाई राजाका काखबाट तानिन् र आफ्नो छोरो उत्तमलाई लगेर बसाइदिइन् । उनले ध्रुवलाई हप्काउँदभनिन् – ‘अरे मूर्ख ध्रुव ! राजाका काखमा बस्न मेरा कोखबाट जन्मिनुपर्छ थाहा छ ?’ अर्को कुरो राजकुमार हुन मन छ भने भगवान् नारायणको भजन गर ! जब भगवानका कृपाले तँ मेरा कोखबाट जन्मिन्छस् तब मात्र राजाका काखमा र राज सिंहासनमा बस्न सक्नेछस्,ध्यान रहोस् !

बालक ध्रुव पाँच वर्षका मात्र थिए । कान्छी आमाको सौतेलो व्यवहारबाट उनलाई रिस भन्दा पनि अधिक दुख लाग्यो । बिचाराको केही लागेन रुँदै गएर आफ्नी आमा सुनीतिसँग दुख पोखे । आमा सुनीतिले सम्पूर्ण परिस्थितिलाई बुझिसकेपछि ध्रुवलाई सम्झाउँदै भनिन् -‘ सुन बाबु दुख नमान ! सुरुची पनि म समान तिम्री माता नै हुन् ,तिमी उनीप्रति घृणा नगर ! बरु यस संसारका सम्पूर्ण दुखहरू बाट मुक्ति दिने र अलौकिक सुखदिने एकमात्र भगवान् विष्णु हुन् ,तिमी उनैको भक्ति गर ,तिम्रो कल्याण हुनेछ ।

बालक ध्रुव दुवै माताहरूको आज्ञालाई शिरोधार्य गर्दै घरबाट निस्किए । अलिपर जङ्गलका छेउमा पुगेका मात्र थिए अचानक देवर्षि नारद नारायण ! नारायण ! भन्दै प्रकट भए । नारद मुनिले ध्रुवलाई घर फर्किन सल्लाह दिए । जङ्गलमा हुने सबै कष्टका बारेमा बताए,तर ध्रुव घर फर्किन मानेनन् । ध्रुवको दृढ सङ्कल्पलाई देखेर नारदले एउटा मन्त्र सिकाउँदै भने -“ उसो भए हे बालक तिमी ‘ॐ नमो भगवते वासुदेवाय’ यस महामन्त्रको जप गर,तिम्रो कल्याण हुनेछ ।” त्यति भनेर नारद त्यहीँ अल्पिए । बालक ध्रुव यमुना नदीका तटमा एक घनघोर जङ्गलमा पुगे । त्यहाँ एउटा रुखका फेदमा पद्मासनमा बसेर त्यो मन्त्रको ध्यानपूर्वक जप गर्न थाले । घाम,पानी, हावा,भोक,तिर्खा र अनेक कष्ट र बाधाहरूलाई पार गर्दै निरन्तर तपस्यामा लीन भए । ध्रुवको यस कठोर साधनाले भगवान् नारायणको हृदय पग्लियो र तत्काल साकार रूपमा दर्शन दिन प्रकट भए । नारायणले ध्रुवलाई आश्वासन दिँदै भने -‘भक्तराज ध्रुव म तिम्रो मनको वेदनालाई जान्दछु,तिमी चिन्ता नगर ! तिमीले यत्रो कठोर साधना गरेर मलाई प्रसन्न गरेका छौ,म तिम्रा सम्पूर्ण इच्छाहरू पुरा गरिदिन्छु । तिमीलाई जीवन रहुन्जेल सम्पूर्ण ऐश्वर्यहरू मिल्नेछन् र अन्तमा तिमीलाई एउटा पुरै लोक मिल्नेछ । त्यस लोकलाई युगौँ युगसम्म ध्रुवलोकका नामले चिनिने छ । तिमी अब घर जाऊ ! त्यति भनेर भगवान् नारायण पनि त्यहीँ अल्पिए ।

ध्रुवको मन बल्ल शान्त भयो । उनलाई लाग्यो अब केही पाउन बाँकी नै रहेन । अब उनका मनमा कुनै इच्छाहरू नै रहेनन् । उनी घर फर्किए । जब ध्रुव घर फर्किँदै थिए सारा राज्यका जनता चुम्मकले तानिएको फलाम झैँ भेला हुँदै गए । सबैले राजकुमार ध्रुवको जय ! भन्दै जयजयकार गरे । ध्रुवले सबैलाई स्तर अनुसारको प्रणाम गरे । कान्छी आमा सुरुचि रुँदै अङ्कमाल गर्न आइन् र आफै लगेर राजाका काखमा बसाइदिइन् । माता सुनीतिको मन फुलेर ढकमक्क भयो । हुनपनि किन नहोस् मात्र पाँच वर्षको बालकले संसारलाई चकित बनाइदिएका थिए । यसरी कठोर तपस्या गरेर ध्रुवले सारा संसारलाई जिते ।

भनिन्छ आकाशमा उत्तरपटि देखिने चखिलो ध्रुव तारो नै ध्रुवलोक हो । जसलाई ध्रुवले नारायणबाट तपस्याको फल स्वरूप प्राप्त गरेका थिए । यस संसारका जति पनि अमूल्य वस्तुहरू छन् यात ईश्वरका रचना हुन् यात कतिपय हाम्रा तपस्वी पूर्वजहरूको कठोर परिश्रमका फल हुन् । हामी पनि कठोर परिश्रम गरेर आफुले पाउन खोजेको वस्तु पाउन सक्छौँ । साथै आफ्ना मनका सानातिना दुख र इच्छाहरूको पूर्ति नहुँदा हतोत्साही बन्नु भन्दा आफ्नो ऊर्जालाई कुनै महान् उद्देश्यप्रति प्रयोग गरेर ध्रुव जस्तै एक महान् साधक बन्न सक्छौँ । त्यसैले निराशा होइन उत्साह नै जीवन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *