नजन्माएको छोरो

भक्त घिमिरे
पेन्सिलभेनिया, अमेरिका       

(पौराणिक प्रसंग)

भनिन्छ, ‘उहिले हिन्दू समाजमा पनि मातृसत्ता थियो ।’ तर, इतिहासले त्यस्तो बुझाउँदैन । हाम्रो समाजमा प्रचलित बनेको महाभारतको कथा त सबैले सुनेका छन् । “पाँच भाइ पाण्डव” र “सयभाइ कौरव” सत्ताको लागि आपसमा युद्ध गरेको मूल कथा छ यसमा ।

यद्यपि, मातृसत्ताको प्रसंगमा ठ्याम्मै नमिल्ने कुरा यहाँनेर के छ भने, आफूले जन्माएका चारभाइ छोरा भएर पनि कुन्तिले सधैं आफूले जन्माएका चारमध्ये एकलाई लुकाएर केवल तीनजना गन्नुपऱ्यो भने उनकी सौता माद्रीका दुइपुत्र जोडेर सधैं पाण्डवहरुलाई पाँच गनिरहनु पऱ्यो ! यथार्थमा ती पाँच पनि असली पाण्डुपुत्र थिएनन् ।

अर्कोतिर जम्मा ९९ भाइ छोराकी आमा गान्धारीले दासी सौताको छोरो युयुत्शुलाई मिसाएर सधैं आफ्ना सयभाइ छोराको हिसाब लगाइरहनुपऱ्यो ।

कुरो के थियो भने, कुन्तिले पाण्डुसँग विवाह हुनपूर्व कर्णलाई जन्माएर फालेकी थिइन् । अन्य तीनपुत्र पनि पाण्डुबाट नभई यमराजबाट युधिष्ठिर, वायुबाट भीम र इन्द्रबाट अर्जुनलाई जन्माएकी थिइन् । कुन्तीकी सौता माद्रीले पनि अश्वीनीकुमारको ऋतुदानबाट नकुल र सहदेवलाई जन्माएकी थिइन् ।

यता गान्धारीतिर कुरो के थियो भने गान्धार देशका राजा सुबलकी छोरी गान्धारीको विवाह अन्धा कुरुराज धृतराष्ट्रसित भएको थियो । उनीहरुबाट ९९ छोरा र एउटी छोरी दुशाला जन्मिएका थिए । पछि योवनकालमा दुशालाको विवाह जयन्द्रथसित भएको थियो ।

पुत्रमोहले आशक्त धृतराष्ट्रले आफू दृष्टिविहीन भएको कारण देखाएर जेठो दुर्योधनलाई सानैदेखि राजोत्तराधिकार सुम्पिएका थिए ।

केही समयपछि धृतराष्ट्र, दुर्योधनको दरबार र हस्तिनापुरभरि अनौठो हल्ला फैलियो । हल्ला के थियो भने, गान्धारीको पहिले नै विवाह भएको र उनको पहिलो पति मरेको थियो। आफ्नी छोरी विधवा भईकन पनि राजा सुबलले धृतराष्ट्रसित पुनः विवाह गरिदिएका भन्ने अभियोग थियो। यो हल्लापछि दुर्योधनले राजा सुबलका सपरिवारलाई हस्तिनापुरमा ल्याएर बन्दी बनाएको थियो ।

असलमा भएको के रहेछ भने, घाउ-खटिरा वा अपसकुनबाट जोगाउन बाल्यकालमा कन्याहरुको विवाह, कुकुर वा बाख्रासित गरिदिने चलन त्यसबेलाको अफ्गानिस्तानमा रहेछ । सानी छँदा धेरै घाउ-खटिरा आएको कारण त्यसबाट जोगाउन गान्धारीको विवाह एउटा बाख्राको बोकासित गरिएको रहेछ । पछि त्यो बोका बलि दिइएको कारण गान्धारीलाई विधवा मानिएको रहेछ । (गान्धार देशकी राजकुमारी भएको कारण उनी गान्धारी भइन् र तत्कालीन गान्धार देश भनेको अहिलेको अफ्गानिस्तानको राजधानी कान्दाहर हो ।)

उता गान्धारी विधवा भन्ने हल्ला फैलिएपछि राजा धृतराष्ट्रले गान्धारीप्रति घृणा गर्नथाले । गान्धारीलाई आफ्नो शयनकक्षसम्म आउनसमेत मनाही गरेर अन्धा धृतराष्ट्र एउटी दासीको खोपीमा गई सहवास गर्नथाले । सोही दासीबाट जन्मिएको युयुत्शुलाई पछि कौरवको समूहमा गाभियो र ‘सयभाइ कौरव’ भनियो । महाभारतको युद्धताका कौरवसेना छोडेर युयुत्शु पाण्डवसेनासित मिल्न गएको प्रसंग पनि छ ।

यता कैदमा रहेको राजा सुबलको सम्पूर्ण परिवारलाई दुर्योधनको आदेशमा दिनको एक औंस पानी र एकमुठी अन्नमात्र खान दिइन्थ्यो । यो देखेर राजा सुबलले सो अन्न र पानी आफ्नो सबैभन्दा सानो पुत्रलाई दिन आग्रह गरेका थिए । अन्ततः राजा सुबल परिवारका अन्य सबैको कैदी अवस्थामै मृत्यु भएर पनि त्यो अन्न र पानीको बलमा सुबलको कान्छो पुत्र शकुनीको प्राणरक्षा भएको थियो । पछि कौरवहरुले शकुनीलाई जीवनदान दिएको घोषणा गरी आफ्नै देश फर्किने वा हस्तिनापुरमै बसेर भाञ्जाहरुको राजकाजमा देखभाल गर्ने आफूखुशी चयन गर्न अवसर प्रदान गरेका थिए । यही अवसरको उपयोग गर्दै शकुनीले आफ्नो वंशविनाशको साटो फेर्ने अठोट बनाए । घरी जुवाको अड्डा, घरी लाहाको घर अनि कहिले द्रौपदीको नखरा आदिजस्ता बहाना गर्दै पाण्डवहरुका विरुद्ध कौरवहरुलाई वहकाइरहे । र, कुरुवंशको अन्त्यसम्म शकुनीले निक्कै चतुर्ताका साथ कौरवहरुलाई दुष्ट्याइँका लागि उक्साइरहे ।

मैले यहाँनेर निष्कर्षमा भन्न खोजेको कुरो के भने निः कुन्तिले जन्माएको छोरो गन्नै नपाउनु र गान्धारीले नजन्माएको छोरो गन्नैपर्ने स्थितिलाई हामी कसरी हेर्नसक्छौं-मातृसत्तात्मक कि कठोर पितृसत्तात्मक ? यो कुराको निर्क्यौल गर्ने जिम्मा पाठक स्वयंलाई छोडें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *