नयाँ वर्षको शुभकामना र स्वागत
साहित्य परिषद् भूटान
Ref: Date: 01-01-2015
अग्रेजी गणना अनुसार आएको नववर्षमा सबै हितचिन्तक र सहयोगी पक्षलाई सुभेच्छा व्यक्त गर्दै साहित्य परिषद-भूटानको तर्फबाट यहाँहरुको साहित्यिक अठोट र लगनशीलतामा हरदम सफलता मिलोस, हौसला र जाँगरले सगर चुमोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
गएको वर्षमा जान-अन्जानमा जो कसैको तर्फबाट जे जति गल्ती-कमजोरीहरु भए, ती सबैलाई अब राम्रोको लागि बिर्सिएर, मनमा रहेका कल्मषहरु सबै हुत्याएर भाषाको रक्षा तथा साहित्यको विकास गरौं भन्ने नाराका साथ साझा कल्याणको बाटोमा लाग्न सबैसमक्ष आह्वान गर्न चाहन्छौं ।
विगत वर्षसम्म हामीले साहित्य परिषदलाई भूटानी नेपालीहरुको भाषा-साहित्यको रक्षार्थ एउटा प्रतिनिधिमूलक संस्था बनाउन कसरत गऱ्यौं र त्यसमा केही हदसम्म सफल पनि भएका छौं । जे भए पनि यस वर्षको सुरुवातभन्दा पहिले नै ठोस प्रारूप प्रदान गरी हामीले परिषदलाई निर्देशन गर्ने प्रतिष्ठित निकाय निर्देशक मण्डली (बोर्ड अफ् डाइरेक्टरस्) सफलतापूर्वक गठन गरेका छौं ।
यसका अतिरिक्त परिषदको कार्यसमिति पनि बनेको छ । अहिलेसम्मको यात्रामा केही तलमाथि अवश्य भएका छन्, यसो भन्दैमा कसैले धारे हात पारेर तथानाम गाली गरे जस्तै ‘फोहोरी खेल’ हामीले कहिल्यै खेलेका छैनौं । समय र परिवेश अनुसार विषयको वस्तुस्थिति नबुझ्ने त्यति धेरै ‘अपरिपक्व’ पनि हामी छैनौं किनकि हामीसँग कार्यविधिका त्रुटी र सागंठनिक औपचारिकताका कमजोरीहरु एक लवज सुन्दैमा वा एक झलक हेर्दैमा छुट्याइदिने विद्वान् र अकलमन्द सचेतकहरु पनि हामीसँगै छन् ।
केही नगर्नेहरुले भन्दा केही गर्न चाहने र गर्नेहरुले नै धेर गल्ती गर्छन् । यो कुरालाई मनन् गरी सबैले पुराना खिन्नताहरु पन्साएर सकारात्मक अठोटका साथ आजको बद्लिँदो परिवेशमा हाम्रो भाषा-साहित्यको रक्षा र उन्नति गर्दै समाजको अस्तित्व धरोहर बँचाउनुपर्ने हामी सबैको जिम्मेवारी हुन आएको छ ।
परिषदकै सवालमा अडिएर कुरा गर्दा सबैको साहित्यिक योगदानलाई मूल्यांकन गर्ने एउटा आधिकारिक निकाय पनि साहित्य परिषद-भूटान भएकोले कसैको ऐतिहासिक लगन र मेहनतलाई अबमूल्यन गरिने छैन । साहित्य परिषद-भूटान एक साहित्यिक सगंठन भएकोले कुनै राजनीति गर्ने प्रकृतिका विषयवस्तु र विचारमा दलाली गर्ने थलो यसलाई नबनाउँ । यो त केवल भाषिक-साहित्यिक योगदान गर्नेहरुको साझा चौतारी हो । इतिहासले सबैको पराक्रमलाई समेटेर राख्छ नै; यसमा कुनै द्विविधा छैन ।
आजको परिवेशमा समाज र साझा हितको लागि काम गर्नचाहने दक्ष र सिर्जनशील साहित्यिक सर्जकहरुको अभाव रहेको कुरा सबैलाई थाहा छ । यस अवस्थामा स्वयंसेवी बनेर सार्वजनिक हितको लागि समय दिँदै आएका र समय दिन चाहनेहरुको मनोबलमा ह्रास आउने प्रकृतिका टिप्पणीहरु रोकौं र कुनै साहित्यिक सिर्जनाहरुकै बारेमा चर्चा-परिचर्चामा विवेक र समय खर्च गरौं । सबै मिलेर आजको संक्रमणकालीन अवस्थामा समाजको पहिचान र भाषा-साहित्यको रखवालीमा जुटौं । यस कालखण्डको ऐतिहासिक जिम्मेवारीलाई कर्तव्यको रूपमा बुझेर भाषा-साहित्यप्रतिको जागरुकता र समयको लगानी गर्नसक्ने जो कसैलाई परिषदमा सौहार्द्रतापूर्ण स्वागत गर्दछौं ।
कुनै पनि सांगठनिक संरचनाभित्र बसेर काम गर्ने सिलसिलामा निश्चित नियमावलीहरु हुन्छन् । व्यक्तिगत हक-अधिकारलाई कहिलेकाहीं सामूहिक स्वार्थका लागि पर सार्नुपर्ने अवस्था पनि आउनसक्छ । यस्ता सबै विधिवत् कुराहरुलाई शिरोप्पर गरी नियमबद्ध बनेर साहित्य परिषद-भूटानमा सम्मिलित हुनचाहने सबैका लागि परिषदको आधिकारिक प्रकाशन www.bhutaneseliterature.com मा सदस्यता आवेदन फारम समावेश छ । यसमा आफ्ना विवरणहरु भरेर सदस्यताको लागि पेश गर्नसक्नु हुनेछ । सदस्यताको लागि पूरा विवरण भरिएको फारम lcobmembership@gmail.com नामक इमेल बक्समा पठाउनु पर्नेछ ।
भक्त घिमिरे
कार्यसमिति अध्यक्ष-
साहित्य परिषद-भूटान