नयाँवर्ष-मेरो शुभकामना !
शिवलाल दाहाल
खुदुनाबारी
फेरि एकपटक
हिउँदको यो चिसो बिहान
फुस्फुस हुस्से खसेको छ,
धर्तीको आङमाथि
मन चर्केको छ,
धर्ती फाटेको छ
रुख विरुवा सुकेका छन्
हो !
रोग,भोक र बासको त कुरा नगर
काकाकूल तृष्णा व्याप्त छ,
पानीको खाँचो परेको छ,
कमसेकम शीत खसेको छ,
चौरीभरि छरिएर दुबोमा
नयाँ वर्षको यो बिहान,
एक मनको हात्ति पाइलाले किचिरहेछ
यो छाप्रो भित्र थिचिएको मान्छेलाई,
म सोच्थेँ,
नयाँ वर्ष
प्वाँखभन्दा हल्का भएर आउने छ,
पानीभन्दा सेतो र सफा हुने छ,
नीलो आकाश झैं निर्मल र कञ्चन हुने छ
तर,
घाम नउदाएको यो बिहान
कुहिरो भित्र हराएको काग झैं
आफैंभित्र हराइरहेको छ
किन म देख्तिन,
यो बिहानको नयाँ अनुहार ?
चुहिरहेछ थोपा–थोपा अश्रुधारा !
यो नयाँ वर्षको शुभकामना लेख्ने मुहूर्तमा,
मेरो हात कठ्याङ्ग्रिरहेकोछ,
खोइ म के लेखूँ,
शीत लहर र हिमपात
लिएर आएको यो वर्ष,
सदा झैं रक्तपात र युद्ध
दिएर नजाओस् !
‘शान्ति,प्रगति र सफलता’
मेरो शुभकामना !
(रचनाः जनवरी १, २००४)