नव वर्षको उपहार उनीलाई
बुद्धमणि ढकाल,
अमेरिका
शुभकामना, शुभकामना
सप्रेम सम्झँदै उनलाई
नयाँ वर्षको
कोसेली उपहार दिनुथ्यो
पोहोर साल नबित्दै
डाँडाको रातो टाटो घाम
ओरालो लाग्नुसंग
नागबेली परेर तल तल
म ओर्लिए
नयाँ वर्षको थालनी यात्राभरि मनाउन पुग्यो |
मनभरिका भावना उम्लेर
आँखा ब्युझिरहेछन्
बिचारहरु सप्तरंगी बन्दै गएछन्
जीवन यात्राभित्रको, यो
एउटा यात्रा नै थियो
मन रमाइरह्यो, नाचिरह्यो
त्यो सीमारात्रीमा |
त्यो रातमात्र पनि
जून आकाशबाट हराएको भए
म अन्धो भएको हुनेथें
आँखाभरि
छताछुल्ल पोखिएको चाँदनी
म कसरी उठाउँथे
क्षणभर देखिएका
त्यो दृश्यमालामा
एक टुक्रो बगर
एक झल्को, बाबियो सिउरेर
उभिएका पहाड
एक चोक्टो टारी खेत
कान्ला र बारीहरु
हतारमा उनिँदैगए
तर पनि
लम्पट सडकभरिको
यात्रा सकेर बिसाउँदा
म खाली हात भएँछु |
टम्म भरिएको हृदयको पोको
खोल्दैछु, शब्दहरु ओकलेर
उनलाई नववर्षको प्रेमोपहार
त्यही पोखिएको जून
पात पातबाट टिपेर
शब्दहरु दिँदैछु
नववर्षको नयाँ कामना
जूनझैं शीतल, सौम्य
जीवन उज्यालिइरहोस्
धरती जगमगाइरहोस्
उनको प्रेम प्रेरणाले
शुभकामना, शुभकामना
सप्रेम सम्झँदै उनलाई
यो चाँदनीरातको
शब्द उपहार |
जनवरी ९, १९९९
बिराटनगर