निलो किताब

रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

कथाकार
कथाकार

प्रोस्पेक्ट पार्क जाँदै थिएँ | सडक छेउमा एक बस बिसौनीमा हर्कमान दाइ अरू दुईजनासँग उभिएर गफ गरिरहेको देखेँ | सडकको एक छेउमा गाडी रोकें |

‘होइन तपाईँकै कुरा गर्दा-गर्दै टुप्लुक्क आइपुग्नुभो नि:’, हर्कमान दाइले मतिर हेर्दै मुसुक्क हाँस्तै भने |

‘खोइ मेरो त घाँटी खस्खसाएन त?’ मैले ठटेउली गरें|

‘तपाईँको आयु लामो रहेछ | कसैको कुरा गर्दा-गर्दै टुप्लुक्क आई पुग्यो भने उसको आयु लामो हुन्छ अरे’ | हर्कमान सँगै उभिएका हेमलाल दाइले थपे | ‘ल-ल तपाईँहरूको आशीर्वाद लागोस्’ भन्दै सेक्सपियरको “यदि सबै शुभकामनाहरु घोडा भइदिएका भए भिखारीहरुले समेत चड्ने थिए”, भन्ने उक्ति मनमनै सम्झिएँ |

छेवैको ट्राफिक लाइटले पनि अन्धविश्वासको भाषा बुझेछ कि के हो | केही अघिसम्म धिपिक्-धिपिक् गरिरहेको बत्ती एक्कासि हरियो-पहेँलो-रातो गरी नियमित भो | दिनभरिको कामले लखतरान भएका ज्यामी सवार गाडी पालैपालो ट्राफिक लाईटले अराए अनुसार आ-आफ्ना दिशा लिँदै थिए |

पिट्सबर्ग आसपास माघ महिना मध्य बैँसले उन्माद थियो | सडकका छेउछाउदेखि परसम्म देखिने रुखहरु सेताम्मे ठिङ्ग उभिएका थिए | बिजुलीका खम्बामा टाँगिएका तारहरु सबै सेतो कपासले मोरेका झैँ देखिन्थे | प्रोस्पेक्ट पार्क आसपास पहिलोचोटि आउने जो कसैका लागि पनि कान्ला-कुन्ली बोकेको त्यो पाखो ध्यानमा लीन भएको तपस्वीझैँ सेतो बर्की ओडेर ध्यानमग्न देखिन्थ्यो |

हर्कमान दाइ, हेमलाल र अर्का एकजना त्यहीँ नजिकै एक आफन्तका नानीको जन्मदिन मनाएर घर फर्किन बस पर्खी रहेका रहेछन् |

‘कतिको हतार छ,? पर मेकेन स्ट्रिटमा बस्ने कमलकी आमाले तपाईँको कुरा गर्दै हुनुहुन्थ्यो | कोनी के काम छ बुढी मान्छेको, भ्याएर पनि जाईदिनु होस् अरे’, -एउटा अर्को सानो काम थपे हर्कमानले- भने झैँ लाग्यो | ‘मामा घर नपुगेको पनि निकै भो भोलि जानु छ, त्यहीबेला म निक्लिन्छु नि है’ भनी दिएँ |

त्यतिकैमा बस आएर बिसौनीमा रोकियो | तिनैजना बसमा चढे, म पनि बाटा लागेँ |

भोलिपल्ट नानीहरूलाई मामा घरमा ओरालेर कमलकी आमाका घरतिर लागें | दैलो आधी खुलै रहेछ सङ्केत गरेँ | ‘को हो भित्रै आउँनु’ एउटा वृद्धाको आवाज आयो | म भित्र पसें | सिटिंग रुममा कमलकी आमा र खवासनी भाउजू गन्थन गरेर बसिरहेका रहेछन् |‘ए हर्कमानले बोलाई दे’छ…लु यहाँ बस् नानी’ कमलकी आमाले भनिन् |

‘दैलो खुलै राख्नु हुँदो रहेछ, यसो गर्नु राम्रो होइन नि’ एउटा कुर्सीमा बस्तै भनेँ | कुर्सी पनि को बस्छ र लढाउँ भनेर दाऊ हेरिरहेको जस्तो, म बस्नासाथ खुट्टो खुस्केको रहेछ म सँगै लढ्यो | एक छिन् कोठो हाँसोले भरियो | अल्झीएर, चिप्लिएर लढ्दा र बाबुआमाले गाली गर्दा जतिनै मान्छे भएका ठाउँमा भएपनि शरम मान्नु पर्दैन भन्ने सुनेको थिएँ | त्यही सम्झेर म पनि हाँस्तै उठीदिएँ | छेवैको अर्को कुर्सीमा बसें र दैलो खुलै नराख्ने सल्लाह कमलकी आमालाई दिएँ |

खवासनी भाउजूले पनि अघि थपिन-‘मैले पनि ख्याल गरिनछु, दैलो लाको नलाको | यी बुढी मान्छेलाई कति चोटि भनिसकें- भूटानको चिराङमा हुँदा जस्तो होइन | भूटानमा राजाले बस्न नदे पनि गाउँमा कति सन्चो थियो | दैलो लाए पनि नलाए पनि केही हुँदैन थियो’, “राजाले बस्न नदे पनि”, भन्दा कोनी किन हो कमलकी आमा रिसाएजस्तो गरेर खवासनी भाउजूतिर हेरिन | मैले बुझ्न सकिन र सोध्न पनि चाहिनं | खवासनी भाउजू एकोहोरो भन्दै गईन्, ‘शिविरमा पनि पैला-पैला त के को दैलो ? झिक्राको बार, पलस्टिकको छानो, त्यसो हुँदा पनि पो सन्चै थ्यो | पछि-पछि यता आउने बेलामा भने दुले-चोर लाग्थ्यो है हाम्रो गोलधापमा पनि !

निकै कुराको ख्याल रहेछ खवासनी भाउजूलाई | कमलकी आमालाई राम्ररी बुझाइन् |

‘हो यहाँ धेरै कुराको ख्याल राख्नु पर्छ | भाषा मिल्दैन; नचिनेकालाई हत्तपत्त दैलो खोल्नु हुँदैन”, मैले भने |

‘ए भाइ, तैले सुनेको रहेनछ- अस्ति जर्जियामा बिजुलीको बिल हेर्ने भनेर को आयो अरे सबै ढुक्क भएछन् लटीपटी पारेर गएछ | यहाँ ता संसारका सबै देशका मान्छे छन्, हरेक खाले छन् | हामीलाई कतिले आनौठा देख्ता हुन् | हामीले देखे जस्तै’,- धेरै कुराको जानकार भएको आभास दिलाइन् भाउजूले |

‘अई साईली, अलिकति चिया पकान ल, म यो नानीलाई धेरै कुरो देखाउनु छ’, कमलकी आमाले भनिन् र बुढी मान्छे भित्र पसिन | एकछिन् पछि एउटा पुरानो झोला र बाघमुखे थैली लिएर आइन् | ‘होइन आज थैलीबाट के दिन आँट्नुभो नि बजैले?’, मैले हँसेउली गरेँ |

‘हेर नानी यहाँ एउडा कुरो छ | मेरो छोराले पढेको छ भन्नु कि छैन भन्नु, मेरो कुरो सुन्दैन | म अमेरिका आ’को यो माघमा दुई बर्ख भो | सत्तरी र आठ बर्खकी भएँ, अझै त अलि-अलि भत्ता दिंँदैछ र सारो-गारो, तिरो-भरो भ’को छ | आको सात बर्ख पुगे पछि सितिन….के रे भन्न पनि आएन | सिन्सेस पनि होइन, त्यो भूटानमा हाम्रो जुङदाले खोसेको थ्यो नि?’, आमै अक्मकिन..|

‘सिटिजन सिप (नागरिकता) भन्छ’, आमै मैले सघाएँ |

‘अँ हो तेइ, सिटिजिन भनेको | यहाँ सुन कथा लामो छ | कमलेले बुझ्दैन, तैले बुझ्छस् जस्तो लागेर बोलाको | सुन्छु अरू कस्कसले त लटर-पटर…हिस्-नो भन्छन् अरे, मेरो त छैन’, थैलीको एउटा पत्रबाट एउटा डेविड-कार्ड निकाल्दै कुरो रोकिन | म चुपचाप हेरीरहें |

‘नानी यसमा पोइसा हुन्छ अरे, कहाँ हुन्छ यहाँ भन्त? कमललाई सोधो-तिमीलाई आउदैन हो भन्छ’ |

बजैले अप्ठ्यारो पारिन् | अब मैले उनकै भाषामा बैङ्क, डेविड-कार्ड, एटिएम् म्यासिन बुझाउनुपर्ने भो |

त्यतिकैमा खवासनी भाउजू चिया लिएर आइन् | सबै थोक चिया पकाउँदै सुनीरहेकी रहिछन्, चिया राख्तै थालिन् डेविड-कार्ड पढाउन,-‘व्याङमा आपिसले भत्ताको पोइसा पठाइदिन्छ | यो कार्डमा लम्बर हुन्छ, यसको लम्बर व्याङमा मिल्छ | एउटा कम्पुटर भ’को मिसिन हुन्छ त्यसमा यो कार्ड लगाएपछि लम्बर मिलो भने कति पोइसा छ देखाउँछ, कति निकाल्ने हो अंक थिचो पोइसा आउँछ | भित्रै गएर माग्दा पनि दिन्छ | ए, चारवोडा लम्बरची चाबी होनी त्यो पनि जान्नु पर्छ’| भाउजूले उनकै भाषामा बुझाएर मलाई हल्का पारिन् | मनमनै मुसुमुसु हाँसे |

‘हेर के-के हुँदोर’छ?, नानी मलाई एकदिन लगिदे ल’, आशातित मुद्रामा मलाई हेर्दै भनिन् | ‘हुन्छ, म समय मिलाएर लगी दिन्छु, गएर भाउजूले भनेजस्तै गर्नुपर्छ’, भने | बजै खुसी भइन् |

‘तेरी आमालाई कस्तो छ?’ बजैले सोधिन् |

‘चिसोले पनि होला आजभोलि अलिक सञ्चो छैन | पाको शरीर भो, हात-खुट्टाका जोर्नी दुख्छन्, औषधि खाँदै हुनुहुन्छ’, भने |

‘माइत आए पिछे निक्लिन्छिन् बरा’ | अब त असी बर्ख पनि नाघिन है बुढी मान्छे | हिं..जो जस्तो लाग्छ- त्यो डम्फू बजार पा..री मजुवाको बाटो कालीपोखरी हुँदै खुच्चीखोला ग’को | ब्यानका राती, कोई बेलात रातीको बाह्र बजी पनि दियालो र मालिंगाको राँको बालेर गोठ गयो | गोठालालाई खाजा सामल लगो अनि भुनेमा मोई बोकेर आयो गरेको| मानेका पातको सोलीमा पानी बोकेर पनि खाइयो, रुखका फेदीमा थकाइ मार्न बस्ता कति खेप निदाइयो’|

झल्याँस्स आफैलाई मनमनै गाली गरेँ ‘आज मैले क्यामरा बोक्नु पर्ने रहेछ | यी सबै कुरा कैद गर्थें आमैकै स्वरमा | फेरि आउँदा यसरी नै भन्छिन कि भन्दिनन्?, कुनैदिन कति कामको हुनेछ?’

‘आमै भूतको डर लाग्दैन थ्यो ?’ सोधेँ | ‘भूत भनेको मनको डर हो नानी | हेर्दा-हेर्दै सानो ढुङ्गो पनि ठुलो हात्ती जत्रो हुन्छ | जुनकिरी पनि कुममा बत्ती बालेर हिडेको मुर्कुटो देखिन्छ, कान्ला-कान्ली, खोल्सा-खोल्सी तस्कर हिड्दा घाँसको भारी बोकेर हिडेको जस्तो हुन्छ | मनका कुरा जङ्गलमा रुखहरुले बोल्छन नानी | भूत भनेको मनको डर मत्रै हो | भरे घरमा आमालाई सोध्न?’- मलाई नतमस्तक बनाइन् |

बजै भन्दै गइन, ‘के के पो गरिएन र नानी ? शिविरको त कुरो नगरु | गोलधापको आगोले सबै लगो | मात्रै यो झोला र थैली बाँचो,’ बाघमुखे थैलीको तुना खोल्दै भनिन् |

‘के थियो त्यस्तो यो पुरानो झोलामा, बजै?’- जिज्ञासा राखें |

काखमा पुरानो झोला राखेर हातले सुम्सुम्याउँदै ‘यो झोला मेरा ससुराका पालाको हो | सबै कथा यसैले भन्छ । यो झोला नधोको चालिस बर्ख जति भो होला’,- पुरानो खागीको जस्तो देखिने नाम्लाको पातो जस्तै, केस्रै-कस्रा बनाई बाटेझैँ उजिन्डो, भएको झोला देखाउँदै भनिन्, ‘हेर यस झोलाले मेरो एउटा छोरो हरायो | हाम्रा घरकाको होसै गयो | कहिले फर्केन | पछि भूटानबाट भाग्दा आसामको अखौ भन्ने ठाउँमा बसियो, मछेटले खाएर भन्थ्ये दुई मुइना थला परे बिचरा हाम्रा घरका,(सुँक-सुँक गर्दै)…नेपाल पुग्नै पाएनन् | यही झोला हो नानी सबै थोक गर्ने’ |

मेरो धितै मरेन, फेरि बजैलाई सोधेँ-‘ के थ्यो यो झोलामा?’

‘यहाँ हेर’, एउटा सानो तर बाक्लो गाता भएको निलो किताब देखाउँदै भनिन्, ‘यो भूटानको उसबेलाको निसाफ दिने..के रे..कानुनको किताब हो, तिमेरु जान्दैनौ | यसभित्र त्यो बेला पनि यी कागज थे’, मधुरो अक्षेरमा लेखिएका दुईवटा पुराना कागज थिए, यसो हेरेँ नेपालीमा ‘भूटान स्टेट सरकार’ लेखिएका १९५७-१९५८ सालमा भूटानमा खजना तिरेका रसिद रहेछन्, तीन छक्क परें |

बजै बोलीरहिन्-

‘भूटानमा यी कागज हुनेलाई सरकारका मान्छेले खेद्दैन भन्ने कुरो थ्यो | हाम्रामा कागज छन् भनेर ढुक्क थियौँ | नहुने बेलाको दसो- तीन मुईना यो झोला घारमा हरायो, कति खोज्दा पनि भेट्टेन | त्यो डासुको नाम अझै थाहा छ कर्मा हो | सिन्सेस आयो हाम्रो चिराँखमा डासु कर्मा मालिक थियो | यी कागज देखाउनु भनो | ठुलो छोराले कागज छन् तर भेटेको छैन भनो | हप्ता दिनको म्याद द्यो, यो झोला भेट्टेन | छोराले ढाँटो अरे सरकारलाई | उसलाई समातो | पर माने डाँडासम्म लछारपछार पारेर लगेको देखेँ | के-के भनी र’को थ्यो | त्यसपछि ठुलो छोरो पनि…..’ बजै रोक्किन | ‘ठुलो छोरो पनि हरायो, घरकाको पनि होस् हरायो, कमल सानो थ्यो… एक दिन बैदारले घारमा फारम ल्यार दे, यो भरेर बुझाउनु अरे भने | बिचरा उनले पनि अराको काम गरे | फारम नभरी भागेर हिनेका नानी हामी ता | भाग्ने दिन ढिकुटीको धान दिलमाया र चप्रासी मईलालाई दिनुपरो अलिकति बाटाखर्च हुन्छ भनेर निकाल्दा पो यो झोला ढिकुटीमा धानले छोपेर लुकाको र’छ | झोला भेटेपछि सोधुँ भन्दा घरकाको होसै थेन | उनले नै जतन गरेका हुँन जस्तो लाग्छ | यो झोला बोकेरै नेपाल आएँ, गोलधापको आगोमा पनि जोगाएँ र यहाँसम्म ल्याकी छु | अई नानी, यी कागजले यहाँ के रे ..त्यो डासुले दिने’? ‘सिटिजन-सीप’, मैले सघाएँ | यस मुलुकां पार लाइँदैन, हुँदैन होला नि नानी?’

बजैले अप्ठ्यारो पारिन, मनमनै भने-

‘कति उदेकलाग्दो यो कागज र मसीको खेल, हिजो हुँदा-हुँदै नभेटीँदा त्यही कागजले इतिहास मेटायो, सन्तान गुमायो, बेहोसी बनाएर लगो | आज त्यही कागज हुँदा एक बृद्धाका सामु असम्भव परिस्थिति, हुनै नसक्ने आशा पिलाइरहेछ’ |

त्यो तीन आत्मा सम्मिलित अनौठो भेट एकछिन चुपचाप भो, मैले उनको कहानी सुनिदिँदा मात्र पनि बजैलाई धेरै सन्च भएको अनुभूति लिएँ | खवासनी भाउजू तेस्तै भूमिका जानाजान हो या उसै मलाई सघाईरहेकी थिइन अघि देखि, यस पटक पनि मुख खोलिन्-

‘हाम्रा ससुराले भन्थे- बितेको कुराबाट सिक्नु अरे, बितेको कुरा दु:खको छ भने धेरै नसोच्नु नत्र दिमागमा त्यसले बास लिन्छ अरे, आइतबार पछि सोमबार आएजस्तै जैले नयाँ कुराको खोजी गर्नु अरे, नयाँ कुरा आज भोलिका लागि मिल्ने गरी बनाको हुन्छ अरे | म ता हाम्रा ससुरा नपढेंका भए पनि ठुला मान्छे जस्तै लाग्छ | ससुराले भने जस्तै मैले त मेरै घरबाटै इंग्लिस सिक्न थालेकी छु’ | बजैले बिचैमा कुरा काटिन,-

‘के भन्छे हो यो साइली | घरमै कसरी सिक्छेस?’,

‘एक दिन छोरा बुहारीलाई सँगै राखेर रोइदें मता | मैले भूटानमा हुँदा मेलो पर्म गर्दै पढाएँ, शिविरमा गिटी पनि कुटेँ, बस्तीमा हाँजिरामा सकी नसकी काम पनि गरेँ र पढ़ाएं | कति चोटि त मट्टी तेल र दाल-चामल बेचेर दमकमा डेरा बसाएँ | मैले आमाको काम पुरा गरेकी छु | मलाई सुनका गहना, फूलका गुच्छा पर्दैन बरु, मलाई यस देशको भाषा सिकावो र नागरिकता निकाल्ने बनावो भनी दिएँ | घतमा गएछ छोरो, बुहारी र नातिनीले पालैपालो शुक्रवार, शनिवार र आइतबार एक-एक घन्ट पढाउँछन् | एक कान दुई कान भएछ अरूले पनि थाली सके | हाम्रै घारमा यो आइतबार देखि छ जना हुन्छन् | मन मिलो भने चहि हुन्छ है, नहुने भन्ने केही छैन’, सुनेको सुनै बनाईन भाउजूले |

भाउजूको पारिवारिक प्रयास एक नमुना प्रयास झैँ लाग्यो | यो तरिका धेरैले सुन्नु पर्छ र सुरु गर्नु पर्छ भन्ने लाग्यो | कुरो सुन्दै निलो किताबका पाना एक पछि अर्को गर्दै पल्टाउँदै रहें| लाग्यो भूटानमा एक समय यस्तो पनि रहेछ जतिबेला कानुन नेपालीमा लेखिने गरिन्थ्यो | त्यही किताबको एक पानामा एउटा अर्को रसिदको चिर्कटो भेटें | यसो हेरेँ १९८८ मा भूटानका चौथा राजाले चारवटी रानी बिहे गर्दा सरकारले जनताबाट उठाएको चन्दा तिरेको रसिद रहेछ | उसबेला तीस रुपयाँ तिरेको रहेछ | अलि अर्को पानामा भूटानका चार पुस्ता राजाका तस्बिर एउटै पातामा रहेछन् | लाग्यो बजै र उनको परिवार पनि राजाका एकतर्फी भक्त रहेछन्, त्यही भएर होला अघि खवासनी भाउजूले “राजाले बस्न नदे पनि” भन्दा बजैले रिसाएर हेरेको भन्ठाने, ‘ हेर बजैको राजा प्रतिको एकलौटी आधुरो प्रेम’ मनमनै भनें| झोला भित्र के के छ हेर्न मन भो र हेरेँ |

झोला भित्र अघि थैली हलिछन बजैले | झोला च्याप-च्याप थियो, फाट्छ भनेरै नधोको होला | कत्तिको मकाको होला भनेर थोरै, बजैले नदेखी, तानें | धेरै दरो रहेछ | खागीको भन्दा पनि यतिका वर्ष माउ लागेर नकाटीएको विशेष धागाको जस्तो लाग्यो त्यो झोला |

झोलामा एउटा कलम रहेछ निकालें, अनौठो खाल्को कलम | मसी वाला कलम अलिक मोटो र लेख्ने टुंढो सानो काठ र धातुको जस्तो | सोधेँ, ‘यो कलम कसको हो बजै?’

‘सोह्र सालमा’ मनमनै गणना गरेँ बजै १९६०को कुरा गर्दै छन्, ‘हाम्रा ससुरा लेखापढी गर्थे, सरकारको कागज लेख्थे | तेतीबेलाका राजाले राम्रो काम गरेको भनेर यो फुल्टिन र यो झोला सेबासी देको हाम्रा ससुरालाई’ |

‘नानी यस धर्तीमा मान्छे के न के गर्न आ’को हुन्छ भन्थे । म चाहिं दु:ख भोग्न आएकी  बिकामे रछु । न बेलामा आँखा खुलो, न ऐले हात समाईदिने मान्छे’, बिस्म्त मान्दै लामो सुस्केरा मारिन बजैले ।
यतिका बर्ष पछि एक छोटो बसाईमा अथाहा इतिहासको बोध गर्न पाएकोमा म आफैंलाई भाग्यमानी ठानें ।

‘बजै तपाईं बिकामे हुनुहुन्न । तपाईं त इतिहासको संरकक्षण गर्ने एक महान आमा हुनुहुन्छ’, भनें । बजैका मुहारमा थोरै भए पनि मुस्कुराहट देखें ।
ती सबै दुर्लभ सामाग्री पुन: एक चोटी हेरें ।  ‘कुनै दिन काम लाग्छ बजै जतन गर्नु भएकोमा खुसी लाग्यो’,  भन्दै त्यही च्याप-च्याप गर्ने झोलामा जतन साथ राखीदिएँ ।

One Reply to “निलो किताब”

Leave a Reply

Your email address will not be published. Required fields are marked *