नील डाम, समय र सपना
रमेश सायन
शनिश्चरे ७, मोरंग
फूल मरेको बगैंचामा, बजेको सगींत
भर्खरै आँसु निथ्रिएको, आँखाको सपना
भर्खरै चराले चुच्चोमा च्यापेर लगेको घाम भुलेर,
जुनकीरीहरु बटुल्दै छ, यतिखेर समय ।
मेरो घरको दैलोमा लडेको समय
अझै उठेको छैन,
यो लाटो समयलाई अझै थाह छैन
हिउँ पनि बल्छ
र, आगो पनि जम्छ कुनै दिन भनेर,
अझै थाहा छैन,
टेस्ट्युवमा शुक्रकिटको खेती गरिन्छ भनेर,
धावनमार्गमा उड्न नसकेर थाकेको समय,
मन भरी खटिरा जमाएर, सपना देख्छ हिमालमा घाम खसेको,
आफ्नै अनुहारको प्रतिबिम्ब भुलेर,मंगलग्रहमा बसाईसरेको
पुतलीहरुसगं खेल्ने यो समय
दौडमा पराजीत भएपछि, आङ्ग भरि निल डामहरु बोकेर लडेको छ सडकमा,
यो लाटोकोशेरो समय,
आँखा भरि छिचिमिराको पखेटा खसेको आकाश बोकेर
उज्यालोलाई पनि अध्यारो देख्छ
खोलामा तिर्खा बगाएर,
जिब्रोले सित चाट्छ यो काकाकुल समय,
आफ्नै पैतलाको भरिया बनेर,
अरुलाई दास बनाउने सपना देख्ने, यो समय,
मेरो भूगोलमा अडिएर,
जीवनको जेलमा जन्मकैद भुक्तान गरिरहेको छ ।